चाडपर्वले बढाएन वैदेशिक व्यापार, भदौको आयात निराशाजनक
काठमाडौँ । चाडपर्वका लागि आयात हुने मुख्य महिनाको रुपमा रहेको भदौ महिनामा वैदेशिक व्यापारको अवस्था निराशाजनक देखिएको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो २ महिनामा २ खर्ब ६२ अर्ब रुपैयाँ बराबरको आयात भएको छ ।
यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १.०८ प्रतिशतले बढी हो । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २ खर्ब ५९ अर्ब रहेको थियो ।
त्यस्तै, यो अवधिमा कुल २५ अर्ब ९ करोड रुपैयाँ बराबरको मालवस्तु निर्यात भएको छ । यो अघिल्लो आवको सोही अवधिको तुलनामा ५.१२ प्रतिशतले कम हो । अघिल्लो वर्ष दुई महिनाको अवधिमा २६ अर्ब ४४ करोड रुपैयाँको आयात भएको थियो ।
अघिल्लो वर्ष अधिकमासका कारण दशैं कात्तिक महिनामा थियो । त्यसैले दशैंका लागि हुने अधिकांश आयात असोज महिनामा भएको थियो । यसो गर्दा स्वभाविक रुपमा भदौ महिनामा आयात कम हुन्थ्यो । यो वर्ष असोज महिनामा दशैं हुँदा समेत भदौ महिनामा आयात वृद्धि निराशाजनक देखिएको छ ।
भदौ महिनामा मात्रै यो वर्ष १ अर्ब ३४ करोड रुपैयाँको आयात र १२ अर्ब ८६ करोड रुपैयाँ बराबरको निर्यात भएको छ । यो अघिल्लो वर्षको भदौ महिनाको तुलनामा क्रमशः २.८ प्रतिशतको वृद्धि र ०.४० प्रतिशत बराबरको गिरावट हो ।
के–के छन् मुख्य आयात निर्यात ?
यो अवधिमा भएको आयातमध्ये ३६ अर्ब ८१ करोड रुपैयाँ बराबरको पेट्रोलियम पदार्थको आयात भएको छ । त्यस्तै, ७ अर्ब ७४ करोड रुपैयाँ बराबरको स्पञ्ज आइरन, ७ अर्ब ६६ करोड रुपैयाँ बराबरको युरिया तथा ६ अर्ब ९८ करोड रुपैयाँ बराबरको बिलेट आइरन आयात भएका छन् ।
यो अवधिमा ६ अर्ब ७० करोड रुपैयाँ बराबरको ४ लाख ५४ हजार वटा स्मार्टफोन आयात भएको भन्सार विभागले जनाएको छ । त्यस्तै, ५ अर्ब १८ करोड रुपैयाँको औषधि, ५ अर्ब १४ करोड रुपैयाँ बराबरको सनफ्लावर तेलको आयात भएको छ । २ अर्ब ३३ करोड रुपैयाँ बराबरको सोयाबिन तेल आयात भएको छ ।
यो अवधिमा १ अर्ब ७७ करोड रुपैयाँ बराबरका २६ हजार ६ सय ३३ वटा ल्यापटप आयात भएका छन् । १ अर्ब ४९ करोड रुपैयाँ बराबरका ४१ हजार मेट्रिकटन धान तथा १ अर्ब १९ करोड रुपैयाँ बराबरको ९ हजार २३० मेट्रिकटन बासमती चामल यो अवधिमा आयात भएको छ ।
यो अवधिमा २ अर्ब ५७ करोड रुपैयाँ बराबरको मोटरसाइकल आयात भएको छ । १२५ सीसीसम्मका १३ हजार १३३ वटा र १२५ देखि २०० सीसी क्षमताका ९ हजार ८ सय ४६ वटा रहेका छन् ।
इलेक्ट्रिक गाडीतर्फ ५० किलोवाट क्षमतासम्मका ५६० वटा, ५१ देखि १०० किलोवाट क्षमताका ९३८ वटा, १०० देखि २०० किलोवाट क्षमताका ९९ वटा, २०१ देखि ३०० किलोवाट क्षमताका तीनवटा र त्यसभन्दा माथिका दुईवटा गाडी आयात भएका छन् ।
यी गाडीहरुको भन्सार मूल्य ३ अर्ब ६९ करोड रुपैयाँ रहेको जनाइएको छ । यो अवधिमा भएको कुल आयातबाट सरकारले ७४ अर्ब ३१ करोड रुपैयाँ बराबरको राजश्व संकलन गरेको छ ।
निर्याततर्फ १ अर्ब ९९ करोड रुपैयाँ बराबरको कार्पेट, १ अर्ब १४ करोड रुपैयाँ बराबरको चिया, १ अर्ब ७ करोड रुपैयाँ बराबरको गार्मेन्ट तथा पश्मिना तथा ९२ करोड रुपैयाँ बराबरको जुस निर्यात भएको छ । यो अवधिमा १२३ वटा देशसँग व्यापार भएकोमा १०१ देशसँग व्यापार घाटाको अवस्था छ । २२ देशसँग भने ब्यापारमा नाफा रहेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तनहुँको डुम्रे बजारमा आगलागी
-
कर्णालीमा युवा महोत्सव हुँदै, ५ हजार युवाहरूको सहभागिता रहने
-
मूल्य बढ्नुमा नियत खराब छ : योगेश भट्टराई
-
कांग्रेस स्वास्थ्य विभाग प्रमुख थापाद्वारा दलित बालबालिकालाई ब्याग वितरण
-
खाने होइन त सिन्धुलीको जुनार ? (फोटोफिचर)
-
मूल्य वृद्धिको समस्या उद्योग मन्त्रीले समाधान गर्ने हो : जनार्दन शर्मा