१० बजे, १० समाचार
आज २०८१ असोज ७ गते सोमबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- महाधिवेशनको चटारो
नेकपा माओवादी केन्द्रबाट अलग भएका वामपन्थी दलहरू कोही महाधिवेशनको तयारीमा छन् भने कोही पुनर्मिलनको पर्खाइमा छन् । पूर्वमाओवादी विभिन्न घटकमध्ये अहिले मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी र बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) महाधिवेशनको तयारीमा छन् ।
- सहकारी संकट
झापाको कमल गाउँपालिका २ मा रहेको पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाको करोडौँ रकम सञ्चालक समितिका पदाधिकारीहरूले आफ्नै कम्पनीमा लगेको पाइएको छ । उक्त सहकारी झापामै ठुलो सहकारीको रूपमा परिचित छ । सहकारीका पूर्व पदाधिकारीहरू र व्यवस्थापकहरूले आफ्ना कम्पनीमा गरेको १८ करोडभन्दा बढी कर्जा लगानी उठ्न सकेको छैन ।
प्रहरीले झापाको शिवसताक्षी नगरपालिका ३ स्थित उन्नति बचत तथा ऋण सहकारी संस्थाबाट ठगीमा परेका सेयर सदस्य तथा बचतकर्तालाई उजुरी दिन सार्वजनिक सूचना टाँस गरेको छ ।
काठमाडौँको शंखमुलबाट पक्राउ परेर पोखरा ल्याइएका पूर्वडीआईजी छविलाल जोशीको सहकारी ठगी मुद्दामा मंगलबारदेखि मात्रै बयान सुरु हुने भएको छ । सरकारी वकिलको कार्यालय कास्कीले उनीसँग मंगलबारदेखि बयान लिने भएको हो ।
- प्रसाईं पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई अपराधको कुनै प्रमाण नै संकलन नगरी हचुवाको भरमा पक्राउ गरिएकाले तत्काल रिहाइको माग गर्दै उनका छोरा निराजन प्रसाईँका तर्फबाट बन्दीप्रत्यक्षीकरणको निवेदन दर्ता भएको छ ।
- दसैँ–तिहार सुरक्षा योजना
उपत्यका छाड्नेको लर्कोका कारण यात्रुको टिकटमा ठगी, खाद्यान्नमा कालोबजारी, चोरी र डकैतीका घटना हरेक वर्ष हुन्छन् । चाडपर्वमा सबैभन्दा धेरै अपराधका घटना काठमाडौँ, भक्तपुर र ललितपुरमा हुने गरेका छन् । चाडपर्वमा हुने आपराधिक घटना नियन्त्रण गर्न प्रहरीले सुरक्षा योजना बनाएर सुरक्षाकर्मी परिचालन गर्ने गरेको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रहरीले अहिले सुरक्षा योजना तयार गरिरहेका छन् ।
- पत्रकार महासंघको निर्वाचन
सर्वोच्च अदालतले नेपाल पत्रकार महासङ्घको निर्वाचन तोकिएको समयमा हुन नसकेको बारे जवाफ दिन आदेश गरेको छ। सर्वोच्च अदालतमा आइतबार दर्ता भएको रिटमा पहिलो सुनुवाइ गर्दै लिखित जवाफ माग गर्ने आदेश गरेको छ भने अन्तरिम आदेश जारी गर्न भने अस्वीकार गरेको छ।
- चिनी आयात
सरकारले चाडपर्वका लागि भन्सार छुटमा ल्याउन अनुमति दिएको चिनी दसैँअघि नआउने निश्चित भएको छ । भदौ २४ गतेको मन्त्रिपरिषद् बैठकले साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई ५० प्रतिशत भन्सार छुटमा १५/१५ हजार मेट्रिक टन चिनी ल्याउन अनुमति दिएको थियो ।
- सडक अलपत्र
कर्णाली प्रदेश सरकार बनेको ७ वर्ष बित्यो । तर मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को गेटअगाडिको छोटो बाटो अहिलेसम्म बन्न सकेको छैन । उक्त सडकले प्रदेश सरकारलाई गिज्याइरहेको मात्रै छैन, प्रदेश सरकार विकास कार्यमा कत्तिको दत्तचित्त छ भन्ने उदाहरण समेत प्रस्तुत गरिदिएको छ ।
- मेलम्ची खानेपानीमा भ्रष्टाचार
विशेष अदालतले मेलम्ची खानेपानी आयोजनामा भएको भ्रष्टाचारमा दोषी ठहर भएका पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई जनही ८ वर्ष १ महिना कैद हुने फैसला सुनाएको छ। विशेष अदालतले भदौ २५ गते मेलम्ची खानेपानी आयोजनाको अनियमितता प्रकरणमा पूर्वसचिव गजेन्द्र ठाकुरसहित चार जनालाई दोषी ठहर गरेको थियो । आज उक्त फैसलामा सजाय निर्धारण गरेको हो ।
- ५ बुँदे आचारसंहिता
सत्तारुढ दल नेकपा एमालेले आफ्ना नेता कार्यकर्तालाई 'बुर्जुवा जीवनशैली' (पुँजीपति वा उच्च कुलीन वर्गको पक्षपोषण गर्ने जीवनशैली) अपनाउने छुट नभएको भन्दै त्यस्तो जीवनशैली र कार्यशैली परिवर्तन गर्न पाँच बुँदे आचारसंहिता लगाएको छ ।
- तिब्बतीयनसँग नेपाली नागरिकता
बौद्धमा जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका तिब्बतीयन नागरिक सोनाम वाङ्गेलको साथमा नेपाली नागरिकता फेला परेको छ । २४ वर्षीय सोनामले जिल्ला प्रशासन कार्यालय धादिङबाट सोनाम तामाङको नाममा नागरिकता लिएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय ब्याट्सम्यानको निराशाजनक प्रदर्शन, पहिलो दिन ११ विकेट खस्यो
-
वरिष्ठ अमेरिकी सेना थिए ट्रम्पको होटल अगाडि पड्किएको ट्रकको चालक
-
पशुपति क्षेत्र विकास कोषका दुई जना परिषद् सदस्यविरुद्ध दायर रिट खारेज
-
कर्तव्यज्यान मुद्दाका आरोपी प्रहरी कार्यालयमा हाजिर
-
एमसीसीद्वारा नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर सहयोग स्वीकृत
-
कीर्तिमानी पर्वतारोही मिङ्मालाई भव्य स्वागत, तस्बिरहरू