एमालेमा ‘बुर्जुवा जीवनशैली’ अपनाउन प्रतिबन्ध, अनुशासनमा बाँध्न ५ बुँदे आचारसंहिता
काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले आफ्ना नेता कार्यकर्तालाई 'बुर्जुवा जीवनशैली' (पुँजीपति वा उच्च कुलीन वर्गको पक्षपोषण गर्ने जीवनशैली) अपनाउने छुट नभएको भन्दै त्यस्तो जीवनशैली र कार्यशैली परिवर्तन गर्न पाँच बुँदे आचारसंहिता लगाएको छ ।
नेता कार्यकर्ताहरूमा प्रचलित कानुन, सामाजिक प्रबन्ध र नैतिकताका दृष्टिले अनुचित क्रियाकलाप देखापर्न थालेपछि उनीहरूलाई नियन्त्रण गर्न भन्दै एमालेले एक वर्षे कार्य योजनामा नै पाँच बुँदे आचारसंहिता समेत बनाएर त्यसको कार्यान्वयन गर्न पार्टी पङ्क्तिलाई निर्देशन दिएको हो ।
‘हामीलाई बुर्जुवा कार्यशैली वा जीवनशैली अपनाउने छुट छैन । हाम्रो कार्यशैली र जीवनशैली निःसन्देह सर्वहारा श्रमजीवी वर्ग पक्षधर हुनुपर्छ’, एमालेले आचारसंहितामा भनेको छ, ‘हाम्रो आचरण, व्यवहार र जीवन जिउने काइदा मुलुकको संविधान, प्रचलित कानुन र सामाजिक नैतिकताको सीमा अनुकूल हुनुपर्छ ।’
एमालेले आर्थिक, यौनिक आचरणमा कानुनी र नैतिक बन्धन तोड्न खोज्ने विकृति हुर्किँदै गएको उल्लेख गर्दै भनेको छ, ‘आफूलाई अरूभन्दा विशेष ठान्ने र आफ्ना लागि विशेष व्यवस्थाको अपेक्षा गर्ने प्रवृत्ति देखा परेका छन् । प्रचलित कानुन प्रतिकूल, नैतिक दृष्टिले अनुचित र अपारदर्शी आर्थिक क्रियाकलापसमेत देखापर्न थालेका छन् ।’ नेता कार्यकर्तामा हुर्किएको यस्तो विकृतिले समग्र पार्टीलाई जनताबाट अलग गर्ने खतरा पैदा भएको एमालेको निष्कर्ष छ ।
आचारसंहिताका ५ बुँदा
१.आर्थिक पारदर्शिताका लागि वार्षिक बजेट प्रणालीलाई कडाइका साथ लागू गर्ने । सबै कमिटीहरूले आर्थिक कारोबार बैङ्किङ प्रणालीमार्फत गर्ने ।
२.आर्थिक बक्यौता रहेकाहरू कसैलाई पनि अधिवेशनहरूमा र जननिर्वाचित निकायहरूमा उम्मेदवार बन्न नपाउने व्यवस्थालाई कडाइका साथ लागू गर्ने ।
३.आर्थिक अनियमितता, भ्रष्टाचार, नैतिक आचरणका आरोपी स्वयंले आफूमाथि लागेको आरोपका सत्य–तथ्यका बारेमा पहिलो जानकारी पार्टीलाई गराउने प्रणाली विकास गर्ने । राजनीतिक रूपमा प्रतिशोध साँध्न लगाइने झुट्टा आरोप र अफवाहको पार्टीले प्रतिवाद गर्ने । मुद्दाको प्रकृति हेरी मुद्दा चलाइएकाहरूले कानुनबमोजिमको छानबिनमा राज्यका निकायहरूलाई सहयोग गर्ने । फैसला नभएसम्म बहाल रहेको पदबाट निलम्बन गर्ने,े दोषी ठहरिएमा मात्र पदमुक्त गर्ने । ४.पार्टी तथा जनसंगठनका विभिन्न तहका नेता तथा कार्यकर्ता, जनप्रतिनिधिहरू र पार्टीको तर्फबाट राजकीय तथा सार्वजनिक ओहोदामा रहेका व्यक्तिहरूका विषयमा उठेका आर्थिक, नैतिक र चारित्रिक प्रश्नहरूमा प्रश्नको प्रकृति हेरी पार्टीको तर्फबाट तत्काल अध्ययन गरी सो सम्बन्धी धारणा सार्वजनिक गर्ने ।
५.पार्टी जीवनको शुद्धीकरणका सम्बन्धी पार्टी निर्णय र जारी आचारसंहिताको कडाइका साथ पालना गर्ने/गराउने ।
किन चाहियो छुट्टै आचारसंहिता ?
सामान्यतया कतिपय राजनीतिक पार्टीले नेता तथा कार्यकर्तालाई अनुशासनमा बाँध्न अनुशासन पालना गराउने आयोग नै गठन गरेका हुन्छन् । एमालेले पनि त्यस्तो आयोग बनाएको छ । एमाले अनुशासन आयोगको प्रमुखमा हाल केशव बडाल छन् । जुनसुकै पार्टीमा रहने आयोग स्वायत्त मानिन्छन् र तिनले सम्बन्धित पार्टीका नेता कार्यकर्ताको अनुशासन कार्यान्वयनको निगरानी गर्ने गर्छन् ।
यस्तो अवस्थामा एमालेलाई छुट्टै पाँच बुँदे आचारसंहिता किन आवश्यकता पर्यो ? भन्ने जिज्ञासामा पार्टी उपमहासचिव समेत रहेका नेता प्रदीप ज्ञवालीले आम रूपमा यो समस्या नभए पनि एकाध रूपमा घटनाहरू देखा परेकाले सजगतास्वरुप आचारसंहिता बनाइएको दाबी गरे ।
‘ती एकाध घटनाहरू गम्भीर हुन्छन्’, उनले भने, ‘एउटा कम्युनिस्ट पार्टी जसले सामाजिक रूपान्तरणसहितको एजेन्डा बोकेको हुन्छ त्यस्तो पार्टीका कार्यकर्तामा नैतिक मूल्य मान्यता, आचारसंहिता र विधानविपरीत हुनु आफैमा गम्भीर कुरा हो ।’
त्यस्ता गतिविधि समयमै नियन्त्रण नभए विपक्षीहरूले त्यसैलाई ठुलो हतियार बनाउने र पार्टीको सार्वजनिक छविलाई नै असर गर्ने ज्ञवालीको तर्क छ । नेता ज्ञवालीले कतिपय पार्टीमा त्यस्ता गम्भीर खालका गतिविधि बढ्दा अधोपतनकै स्थितिमा पुगेपनि एमालेभित्र त्यो अवस्था भने नरहेको दाबी गरे ।
‘त्यसैले पनि हामी कम्युनिस्ट पार्टीको नाताले पार्टीमा शुद्धतालाई बढी नै जोड दिनुपर्छ’, ज्ञवालीले भने, ‘यस्ता कुराहरूलाई कारबाहीको विषय बनाइएन र सजग भइएन भने भोली फैलन सक्ने जोखिम हुन्छ ।’
एमालेले पार्टी नेता कार्यकर्ताका लागि कडाइका साथ पालना गर्न भनेको आचारसंहितामा पार्टी विधान र देशको कानुनले वर्जित गरेका गतिविधि नगर्न तथा सामाजिक आचरण विपरीतका गतिविधिमा संलग्न नहुन भनिएको छ ।
सामान्यतया कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरू पार्टी अनुशासनप्रति अत्यन्तै प्रतिबद्ध हुने गरेपनि पछिल्लो समय नेता कार्यकर्तामा अनुशासन उल्लङ्घन र विचलनका घटनाहरू बढ्दै गएका देखिन्छन् । यसो हुनुमा नेता ज्ञवाली दुई तीन वटा कारण हुनसक्ने बताउँछन् ।
‘समाजको असर स्वाभाविक रूपमा पर्छ । पार्टीहरू पनि समाजभित्रकै अङ्ग हुन्’, ज्ञवालीले भने, ‘समाजमा जुन ढङ्गले विकृतिहरू उपभोक्तावाद, व्यक्तिवाद,आर्थिक वा यौनको मामला नै किन नहोस् यस्ता अराजकता र नैतिक बन्धनहरूको बाछिटा पार्टीहरूमा पर्छ ।’ यही कारण पार्टीहरूले आफूभित्रको शुद्धीकरणमा हरबखत चनाखो राख्नुपर्ने ज्ञवालीको भनाइ छ ।
त्यस्तै राजनीतिक पार्टीहरूले गुणस्तर कायम गर्ने भन्दा पनि विस्तारमा जोड दिएकाले पनि यस्ता प्रवृत्ति बढ्न पुगेको ज्ञवालीको अनुभव छ ।
‘चुनावी आवश्यकता वा प्रतिस्पर्धात्मक राजनीतिले पार्टीहरूलाई एकातिर ठुलो बनाउनुपर्ने र अर्कोतिर अनुशासित बनाउनुपर्ने छ । यस्तो अवस्थामा सन्तुलन मिलाउन नसकेको जस्तो पनि देखिन्छ’, ज्ञवालीको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रिपरिषद्बाट अनुदान सम्बन्धी दुई कार्यविधि स्वीकृत
-
बयान लिन सैफको घरमा पुग्यो प्रहरी
-
डार्क वेब सिल्क रोडका सर्जकलाई ट्रम्पले दिए माफी
-
विश्व स्वास्थ्य संगठनले भन्यो– अमेरिकाले आफ्नो निर्णयबारे पुनर्विचार गर्नुपर्छ
-
अस्ट्रेलियासँग हारेसँगै उपाधि होडबाट बाहिरियो नेपाल
-
कांग्रेस बागमती सभापति बानियाँ र राजदूत डा.शर्माबिच भेटवार्ता