बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय
सहकारी ठगी प्रकरण

पक्राउ परेका जोशीमाथि तीन अभियोगमा अनुसन्धान हुने

जोशीको बयानपछि रविबारे निर्णय लिइने
सोमबार, ०७ असोज २०८१, १५ : १२
सोमबार, ०७ असोज २०८१

काठमाडौँ । सहकारीको रकम अपचलनमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीमाथि तीन अभियोगमा अनुसन्धान हुने भएको छ । जोशीमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा अनुसन्धान हुने जिल्ला सरकारी वकिल कार्यालय कास्कीका एक अधिकृतले बताए । 

‘पक्राउ परेका जोशीलाई तीन अभियोगमै अनुसन्धान हुने र त्यही दाबीसहित जिल्ला अदालतमा म्याद थपका लागि पेस गरेका छौँ,’ ती अधिकृतले रातोपाटीलाई भने । 

जिल्ला सरकारी वकिलको कार्यालयले १० दिनका लागि सुरुमा समय चाहिने दाबी गरेको छ । जिल्ला अदालतले उनीहरूको तर्क सुनेपछि म्यादबारे निर्णय लिने छ । पहिलो पटक म्याद माग भएका कारण पाँच दिन दिने देखिन्छ । 

संगठित अपराधमा ६० दिनसम्म थुनामा राखेर अनुसन्धान गर्न सकिन्छ । त्यस्तै सम्पत्ति शुद्धीकरणको अभियोग अहिले जिल्ला सरकारी वकिल कार्यालयबाटै जिल्ला अदालतमा दर्ता हुने भएकाले पनि यो अभियोग थपिएको हो ।

जोशीले गोर्खा मिडियाको सञ्चालकको रूपमा पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको अभियोगमा दर्ता भएको पूरक अभियोगपत्रमा अनुसन्धानका लागि आइतबार साँझ पक्राउ गरिएको थियो । 

जिल्ला अदालतले म्याद दिएपछि उनको बयान हुने छ । प्रहरीले जोशीको बयानका आधारमा थप व्यक्ति पक्राउ गर्ने तयारी गरेको छ । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पनि पूरक जाहेरी रहेको छ । त्यस्तै सहकारीको छानबिन प्रतिवेदन पनि पुगेको र विगतमा पोखरा महानगरपालिकाले गरेको छानबिन प्रतिवेदन पनि पुगेको छ ।  

यी सबैको अध्ययनपछि रवि लामिछानेबारे निर्णय लिइने र पक्राउ गर्नुपर्ने देखिएमा अदालतबाट पक्राउ पुर्जी लिएर मात्र पक्राउ गर्ने ती सरकारी वकिलले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप