शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

यस्तो रह्यो भक्तपुरका जनप्रतिनिधिको एक वर्ष

सोमबार, ३१ वैशाख २०७५, ११ : ३०
सोमबार, ३१ वैशाख २०७५

भक्तपुर – पहिलो चरणमा स्थानीय तहको निर्वाचन भएको आज सोमबार एक वर्ष पूरा भएको छ । स्थानीय तहको पहिलो चरण निर्वाचन अन्र्तगत भक्तपुरमा २०७४ बैशाख ३१ गते  निर्वाचन भएको थियो । क्षेत्रफलको हिसाबले नेपालको सबैभन्दा सानो जिल्ला भक्तपुरका चार नगरपालिकाले २० वर्षपछि नयाँ जनप्रतिनिधि पाएको थियो । 

 भक्तपुरमा सूर्यविनायक, मध्यपुरथिमि, भक्तपुर र चाँगुनारायण गरेर चार नगरपालिकामा ३८ वटा वडाहरु रहेका छन् । दलिय प्रतिनिधित्वको हिसाबले हेर्दा निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस र नेपाल मजदुर किसान पार्टीका उम्मेदवार नगरप्रमखु र उपप्रमुखमा बिजयी भएका थिए । 

जसअनुसार सूर्यविनायक र चाँगुनारायण नगरपालिकाको नगरप्रमुख र उपप्रमुखमा एमालेले जित हासिल ग¥यो । मध्यपुर थिमिमा नगरप्रमुख एमाले र उपप्रमुखमा कांग्रेसले जित्यो । भक्तपुर नगरपालिकामा सबै वडा सहित प्रमुख र उपप्रमुखमा नेमकिपाको जित भयो । 
चाँगुनारायण नगरपालिका– 
प्रमुख सोमप्रसाद मिश्र 

नगर प्रमुख पदको सपथ लिएको मितिः २०७४ जेठ १७ 


भक्तपुरको अन्य नगरभन्दा भूगोल र आर्थिक स्रोत दृष्टिकोणले यो नगर अन्य भन्दा उत्कृष्ट रहेको छ । करीब ५७ प्रतिशत भू भाग ओगटेको यो नगरपालिकाको  प्रसिद्ध चाँगुनारायण मन्दिर, पर्यटकीय क्षेत्र नगरकोट, बालुवा माटो खानी र ईटा भट्टा मुख्य आर्थिक स्रोत हुन् । नक्सापास, मालपोत शुल्क अक्तिरिक्त आम्दानी हुने माध्यम हुन् । विगतमा कर्मचारीले संञ्चालन गरेको स्थानीय निकाय भन्दा जनप्रतिनिधि आएपछिको स्थानीय तहमा जनताले चाहेको जस्तो परिर्वनत पहिलो वर्षमा हुन सकेको देखिदैन । 

पहिलो वर्षको आफ्नो अनुभव सुनाउँदै नगरप्रमुख मिश्रले केही समय कानुनी अड्चन भएको सुनाए । संघीय सरकार र स्थानीय सरकारबीच कसले कुन काम गर्ने भन्ने कानुनी समस्या अझैँ कायम रहेको पनि उनले सुनाए । ‘संघीयता कार्यान्वयमा रहेकाले खारेजीमा रहेका सरकारी कर्मचारीहरुले सजिलो काम आफै गर्ने तर असजिलो काम भने नगरपालिकाले गर्छ भनेर देखाउने गरेका छन्,’ मिश्रले भने । ’

‘हाउस होल सर्भे’ गरेर नगरपालिकालाई चाहिने तथ्यांक समेत संकलन गरिसकिएकाले भविष्यमा जुनसुकै कार्य गर्न समेत सहज हुने नगर प्रमुख मिश्रको भनाई छ । खानेपानी र सडक पूर्वाधारको क्षेत्र र अन्य विकाश निमार्णका क्षेत्रमा करिब २० करोड रुपैया बजेटको काममा करिब ७० प्रतिशत सम्पन्न भईसकेको उनको भनाई छ । 

आगामी बाकीँ रहेको चार वर्षभित्रमा नगरपालिकामा खानेपानी समस्याको समाधान गर्ने, शिक्षामा देखिने गरेर गुणस्तरीय सुधार गर्ने, आउँने साउन १ गते देखि सम्पत्ति कर लागू गरिने, खानी क्षेत्रको विवाद समाधान गरेर व्यवस्थित गर्ने, नगरपालिकाभित्र रहेका ६ सय सडकलाई स्तरोन्नति गर्ने योजना रहेको नगरप्रमुख मिश्रले बताए । 
नगरपालिका भित्र रहेका दर्जनौ अवैध बालुवा खानीलाई मापदण्डमा ल्याउनुपर्ने उनीमाथि चुनौति रहेको छ ।  

 
भक्तपुर नगरपालिका– 
प्रमुख सुनिल प्रजापति

नगर प्रमुख पदको सपथ लिएको मितिः २०७४ जेठ ७ गते 

जिल्लाको सांकृतिक र एतिहाँसिक महत्व बोकेको यो  नगरपालिका भक्तपुरको पुरानो नगरपालिका हो । मुख्यतः लिच्छिविकालिन, मल्कालीन सम्पादहरुले भरिभराउ यो नगरपालिका मुख्य आर्थिक स्रोत केन्द्रिय सरकारले पठाउने बजेट बाहेक पर्यटन शुल्क, मालपोत र नक्सा पास शुल्क, नगरकर रहेको छ । सडक विस्तार प्रायः वडाहरुमा भइसकेको र कतिपय सडक विश्वसम्पदा सूचीमा सुचीकृत क्षेत्रभित्र पर्ने भएकाले ईटा र ढुङ्गा छापेर सुन्दर बनाइएको छ । 

आफू निर्वाचित भएर आएको एक वर्षमा पाचँवर्षमा पुरा गर्ने काम करिब २० प्रतिशत कार्य गरेको नगरप्रमुख प्रजापतिको दाबी । शिक्षा क्षेत्रमा नगरपालिकाले स्थानीय सरकार संचालनको ऐन अुसार आफैंले कक्षा १ देखि १२ सम्म जिम्मेवारी स्थानीय तहलाई दिए बमोजिम कक्षा १ र ६को पाठ्यक्रम बनाई सकिएको र जेठदेखि लागू गर्ने बताए । 

विगतदेखि नगरपालिकाले सञ्चालन गर्दै आएको ख्वप कलेजलाई अझै व्यवस्थीत गर्ने र अन्य कलेज, विद्यालयलाई समेत सोही अनुरुप संचालन गर्ने तयारी रहेको समेत उनले बताए । 
वि.स २०७२ सालमा भत्किएका सम्पदालाई नगरपालिकाले आफैं बनाउने क्रममा १०४ वटा निमार्णाधीन रहेका छन् । जसको लागत १९ करोड २३ लाख रहेको नगरप्रमुले जानकारी दिए । ‘ठेकेदारलाई कामको जिम्मेवारी नदिएर आफैंले विकास निमार्णको काम गर्दा कतैकतै कमजोरी होलान् तर हामी आफ्नो क्षेत्रमा उभिने तयारीमा छौ,’ प्रजापतिले भने । कानुनी जटिला, कर्मचारी संयोजनको जटिला र आर्थिक स्रोतको अभाव हुँदाहुँदै पनि नगरपालिकालाई सम्वृद्ध बनाउन आफू प्रतिवद्ध रहेको उनले बताए । 

भक्तपुर नगरपालिकामा फाहोर व्यवस्थापन र खानेपानीको माग पुरा गर्नु मुख्य चुनौती रहेका छन् । नगरक्षेत्र सफा भएपनि प्रवेशद्धार भने फोहोर देखिन्छ । नगरप्रमख प्रजापतिको भनाईलाई आधार मान्ने हो भने १ सय ४९ सफाई कर्मचारी कार्यरत छन् । एक केजी फोहोर व्यवस्थापनमा नगरपालिकाले ९ रुपैया ५० पैसासम्म लगानी गर्दा वार्षिक ६ करोड ५० रुपैया खर्च हुने गरेको छ । तरकारी खेतीको लागि उर्बरभूमि भक्तपुर नगरक्षेत्रमा खेतीयोग्य जमिनमा घर बनाउनेक्रम नरोकिएकाले खेतीयोग्य जमिनको सुरक्षा गर्नु पर्ने देखिन्छ । नगरकोटको मुहान पोखरीदेखि आउने खानेपानी र डिप बोरीङ्ग पानीले मात्र नगरभित्र रहेको खानेपानीको माग पुरा हुननसक्ने देखिन्छ । अर्कातर्फ भक्तपुर नगरको बजारभित्र थोरै क्षेत्रफलको जग्गामा धेरै परिवार बस्ने गरेका छन् । भुकम्पपछि सो जग्गाको स्वामित्व विवादका कारण समयमा नै पूर्ननिमार्ण हुन नसकेका निजि आवस निर्माण कार्यलाई पुरा गर्नु नगरप्रमुखको अर्को दायित्व हो । 
 

सूर्यविनायक नगरपालिका
प्रमुख बाबुदेव थापा


नगर प्रमुख पदको सपथ लिएको मितिः २०७४ जेठ १० गते 
सूर्यविनायक नगरपालिकामा अन्यत्रबाट बसाई सरेर आउनेको अत्यधिक चाप छ । नगरको सिरुटार, बालकोट, दधिकोट, कटुन्जे लगायतका स्थानमा घनाबस्ती बढ्दै गएको छ । सूर्यविनायक गणेश मन्दिर र डोलेश्वर–आशापुरी महादेव मन्दिर रहेकाले धार्मीक पर्यटनको आधार क्षेत्र रहेको छ । केन्द्रिय बजेट, मालपोत, नगर, नक्सा कर नै मुख्य आर्थिक स्रोत सूर्यविनायक रहेको छ । कर्मचारीले संचालन गरेको स्थानीय निकाय भन्दा जनप्रतिनिधि संचालन गरेको स्थानीय तहमा धेरै परिर्वतन भएको नगरप्रमुख बासुदेव थापाको भनाई रहेको छ । 

सबै १० वडामा  १ करोड ७५ लाखका दरले बजेट विनियोजन गरेकोमा ८० प्रतिशत काम भएको छ ।  ‘समयमै विनियोजित बजेटको काम सक्नु मेरो पहिलो प्राथमिकता हो’, थापाले भने । आफ्नो कार्यकालभित्रमा नगरको १ नम्बरदेखि १० नम्बर वडासम्म पुग्ने नगर सडक बनाउन गुरुयोजना तयार रहेको र निकट समयमा नै काम सुरु गर्ने जानकारी नगरप्रमख थापाले रातोपाटीलाई दिए ।

नगरपालिकाले फोहोरबाट बायोग्यास निकालेर एकवर्षभित्रमा करिब मासिक २ सय सिलिण्डर योजना रहेको छ । शिक्षा, स्वास्थ्य, सडकजस्ता पूर्वाधारको पहुँच सबै वडामा पु¥याउने लक्ष्य रहेको थापाले बताए । विकाशमा एकद्धार निति अपनाउदैं आएका थापाले वडामा आवश्यक विकाशका योजनाहरु वडा प्रतिनिधि र वडा अध्यक्ष मार्फत ल्याउन समेत सबैलाई सुझाव दिएका छन् । 

सूर्यविनायक नगरपालिकाको वडा नम्बर  ८ र ९ का केही स्थानका सर्वसाधारणहरुलाई अझैपनि नगरपालिकाको कार्यालय आउन १ घण्टाभन्दा धेरै समय लाग्ने गर्दछ । उनीहरुले सहजरुपमा सार्वजनिक यातायात समेत प्रयोग गर्न पाउदैनन् ।

त्यसैले यी क्षेत्रका बासिन्दालाई पहिला गाउविकाश समिति हुदाँ भन्दा अहिले नगरपालिका हुदाँ कर धेरै तिर्नु बाहेक अरु परिर्वतन महशुस गर्न नपाएको बताउदैं आएका छन् । नगरप्रमुख थापाले ति भेगका जनतालाई नगरपालिका भएको महशुस गराउनु नै उनको कार्यकालको मुख्य चुनौती रहेको छ । अर्का तर्फ नगरक्षेत्रमा तिव्र रुपमा बस्ती बिस्तार भइरहेको छ । स्मार्टसिटीको समेत अवधारणाले यो नगरलाई समेत समेटेको छ । त्यसैले व्यवस्थीत शहरीकरण हुन जरुरी छ । 
 

मध्यपुर थिमि नगरपालिका 
प्रमुख मदन सुन्दर श्रेष्ठ

यो नगरपालिका जिल्लाको दोस्रो पुरानो नगरपालिका हो । जहाँ सांस्कृति महत्वका धेरै जात्राहरु हुने गर्दछन् । नेपालको शिक्षाक्षेत्रका केन्द्रियस्तरका धेरै सरकारी कार्यलय यहिँ नगरपालिकामा पर्दछन् । आर्थिक स्रोतको रुपमा केन्द्रिय बजेट, नक्सापास, मालतोपकर, नगर कर मुख्य हुन् । 
यही बैशाख ८ गते अज्ञात व्यक्तिहरुले नगरप्रमुख श्रेष्ठमाथी ज्यान मार्ने प्रयास गर्दै आक्रमण गरेका थिए । हाल उनी घरमा नै आराम गरिरहेका छन् । पार्टीगत हिसावले अल्पमतमा रहेरपनि नगरपालिकाको विकासमा नगरप्रमुख श्रेष्ठ सक्रिय छन् । नेपाली कांग्रेसले उपप्रमुख सहित नगरका वडामा बहुमत जित हासिल गरेकाले यो नगरपालिकामा कहिले काहीँ पार्टीगत रंग देखिने गरेको छ । त्यसैले सबैलाई  मिलाएर लानु नै उनको मुख्य चुनौती हो । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप