कार्यकर्ताहरूलाई रास्वपा पार्टी कार्यालयमा जम्मा हुन सर्कुलर
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना पार्टी कार्यकर्ताहरूलाई पार्टी मुख्यालयमा तत्कालै उपस्थित हुन सर्कुलर जारी गरेको छ । मोबाइलमा सन्देशमार्फत तुरुन्त पार्टी कार्यालयमा आउन आग्रह गरिएको एक कार्यकर्ताले रातोपाटीलाई जानकारी दिए ।
सर्कुलरसँगै पार्टी मुख्यालयमा भिडभाड बढ्न थालेको छ । ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’ले सहकारीको रकम गोर्खा मिडिया नेटवर्कमा भित्र्याएका रवि लामिछानेसहितलाई कारबाहीको सिफारिस गरेको छ ।
आजै सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले पूर्वडीआईजी छविलाल जोशीलाई पक्राउ परेका छन् । उनलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
उनी गोर्खा मिडिया नेटवर्कका सञ्चालक हुन् । पूर्वगृहमन्त्री लामिछाने प्रबन्ध निर्देशक रहेको गोर्खा मिडियामा पाँच वटा सहकारीबाट ६५ करोड ५४ लाख अपचलन भएको सहकारी छानबिन समितिले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ ।
सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राई, लामिछाने र जोशी व्यापारिक साझेदार हुन् ।