७० करोड लगानीमा बनेको अन्तर्राष्ट्रिय सभा हलमा जम्मा १० वटा कार्यक्रम
बुटवल । लुम्बिनीमा अन्तर्राष्ट्रिय सभा हल निर्माण भएको दुई वर्षको अवधिमा हल भाडामार्फत २१ लाख ५० हजार रुपैयाँ मात्रै सङ्कलन भएको छ । २०७९ जेठ २ गते २५६६औँ बुद्ध जयन्तीका अवसरमा उद्घाटन भएको 'अन्तर्राष्ट्रिय बौद्ध सभा तथा ध्यान हल'मा त्यसयता जम्मा १० वटा कार्यक्रम मात्र भएको लुम्बिनी विकास कोषले जनाएको छ।
उक्त हल प्रयोग गरे बापत आर्थिक वर्ष २०७९/८०मा भएका ७ वटा कार्यक्रमको भएकामा १३ लाख ५० हजार रुपैयाँ संकलन भएको थियो । आर्थिक वर्ष २०८०/८१ मा ३ वटा कार्यक्रम भएको र त्यसबापत ८ लाख रुपैयाँ रुपैयाँ सङ्कलन भएको लुम्बिनी विकास कोषका लेखा प्रमुख नबल यादवले रातोपाटीलाई जानकारी दिए ।
दुई चरणमा परेर ७० करोड रुपैयाँ खर्च गरेर अन्तर्राष्ट्रियस्तरको सुविधा सम्पन्न सभा हल निर्माण भएपछि लुम्बिनीका आन्तरिक र बाह्य कार्यक्रम बढ्ने विश्वास गरिए पनि त्यसो हुन नसकेको हो।
कुन कुन कार्यक्रम भए ?
लुम्बिनीमा सभा हल प्रयोग गर्दा दिनको १ लाख ५० हजारसम्म भाडा लिने कार्यविधि बनाइएको छ । यस्तै आधा दिन कार्यक्रम गरेको १ लाख रुपैयाँ लिने गरिन्छ। तर त्यो अनुसारको कार्यक्रम निकै कम भएका छन् ।
कोषका अनुसार २०८० सालको माघमा १० दिने राम कथा प्रवचनको कार्यक्रम र जीवविज्ञान प्रतिष्ठान काठमाडौँको ७ दिने कार्यक्रम गर्दा १० लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।
यस्तै हेफर इन्टरनेसनल नामको गैरसरकारी संस्था, सुनेयानी नामक संस्था, नेपाल शिक्षक सङ्घ, सत्य शाही सेवा सङ्गठन, श्रुति फाउन्डेसन, सुर्यता इन्टर नेशलन फाउन्डेसन इन्डिया र बुद्धिटहको कार्यक्रम सभा हलमा भएका छन् ।
ती कार्यक्रम अधिकांश एक दिने हुन्। जसबाट एक लाख ५० हजारदेखि दुई लाख ५० हजार रुपैयाँसम्म रकम लिइएको छ। दुई आर्थिक वर्षमा २१ लाख ५० हजार रुपैयाँ सङ्कलन भए पनि खर्चको अवस्था पनि उस्तै रहेको कोषका सदस्य सचिव सानुराज शाक्यले जानकारी दिए ।
कार्यक्रम गर्दा विद्युत्, पानी, फोहर व्यवस्थापन, जेनेटर व्यवस्थापन, सुरक्षा गार्डजस्ता शीर्षकमा धेरै खर्च आउने गरेको सदस्य सचिव शाक्यले रातोपाटीलाई बताए । उनले भने, ‘कार्यक्रम नभए पनि सुरक्षा गार्ड, विद्युत् र पानीको पैसा नियमित तिर्ने हुन्छ । अन्य खर्च पनि हुन्छ, तर खर्चको ठ्याक्कै विवरण छैन ।’
किन यस्तो ?
दुई चरणमा गरेर ७० करोड रुपैयाँ लागतमा निर्माण भएको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन गर्न हतार तर भित्र पूर्ण संरचना र कार्यविधि ल्याउन भने ढिलाइ भएको थियो । लुम्बिनीका होटेल व्यवसायी अकरण खानले अन्तर्राष्ट्रिय हल सञ्चालन आउँदा आफूहरूको व्यवसाय थप चलायमान हुने अपेक्षा गरे पनि त्यसो हुन नसकेको बताए । हलका कार्यक्रम नै शून्य जस्तो हुँदा व्यवसायमा उत्साह नदेखिएको उनको भनाइ थियो ।
आर्थिक अनुसन्धान केन्द्र लुम्बिनीका अध्यक्ष हुमराज भुसालले अन्तर्राष्ट्रिय सभा हल निर्माणपछि विकास कोषले संचालनका लागि बजारीकरण पनि गर्नुपर्ने बताए। उनले भने, ‘सभा हल सञ्चालन भए पनि ठिकै छ, नभए पनि केही हुँदैन भन्ने मानसिकता कोषमा देखिन्छ। अब त्यसरी हुँदैन, बजारीकरणका लागि जोड दिनुपर्छ ।’ लुम्बिनीका स्थानीयबासी एवं होटेल व्यवसायी खेम श्रेष्ठले मासिक एउटा पनि कार्यक्रम पनि नहुने स्थितिले कोषको काम गर्ने शैलीमाथि प्रश्न उठेको बताए ।
लुम्बिनी विकास कोषका सूचना अधिकारी डा हरिध्वज राईले सुरुमा सभा हल सञ्चालनको कार्यविधि निर्माण गर्न ढिलाइ भएकोले पनि कार्यक्रम कम भएको बताए। उनले पछिल्लो समय विभिन्न समूहसँग कार्यक्रम गर्नका लागि छलफल चलिरहेको खुलाए।
२०७३ सालमा २५६०औँ बुद्ध जयन्ती समारोहका लागि खडा गरिएको टेन्ट हावाहुरीले उडाएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यक्रम स्थलबाटै लुम्बिनीमा पाँच हजार जना अटाउने सभा हल निर्माण गर्ने घोषणा गरेका थिए । २०७५ साल वैशाख १७ गते २५६२औँ बुद्ध जयन्तीका दिन तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले सभा हलको शिलान्यास गरेकी थिइन्। दुई वर्षमा निर्माण सक्ने लक्ष्य राखिएको भए पनि चार वर्षमा निर्माण पूरा भएको उक्त सभा हल २०७९ जेठमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रुसले लामो दुरीको मिसाइल हान्यो: युक्रेन
-
अमेरिकामा धोकाधडीको आरोपपछि रक्ताम्मे बन्यो अदानीको कम्पनीका सेयर
-
विमानस्थलको ‘डेन्जर’ स्थानमा रहेको यस्तो छ निगमको डिपो, तस्बिरमा हेर्नुहोस्
-
सहकारी बचतकर्ताको बचत फिर्ता हुने अवस्था बनाउनुपर्छ: श्रेष्ठ
-
माइतीघरमा आन्दोलन चलिरहँदा सर्वाेच्चमा प्रधान न्यायाधीशसहितको टिमले के गर्ला मुद्दा ?
-
नेकपा बहुमतको नवौं महाधिवेशन माघ ४ गतेदेखि काठमाडौँमा