लुक्लामा शरदकालीन उडान सुरु, डेढ लाख पर्यटक पुग्छन् एभरेस्ट बेस क्याम्प
काठमाडौँ । नेपालकै सबैभन्दा ठुलो पदयात्रा (ट्रेकिङ) गन्तव्यको रूपमा रहेको एभरेस्ट बेस क्याम्प (सगरमाथा आधार शिविर) सम्म जाने पर्यटकका लागि हवाई उडान सुरु भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले शनिबारदेखि तीन एयरलाइन्स कम्पनीका ६ वटा जहाजलाई रामेछापको मन्थलीदेखि सोलुखुम्बुको लुक्ला तथा फाप्लु विमानस्थलमा उडान भर्न औपचारिक रूपमा अनुमति दिएको हो ।
उडानको औपचारिक सुरुवात हुनु एक साताअघि अर्थात् सेप्टेम्बर १६ (भदौ ३१ गते) देखि ती विमानहरूले पूर्वतयारी उडान गर्दै आएका थिए । शनिबारदेखि भने औपचारिक रूपमै उडान सुरु भएको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए । योसँगै सगरमाथा आधार शिविर सम्मको शरदकालीन पदयात्रा समेत सुरु भएको छ ।
कुन कुन जहाजले भर्दैछन् उडान ?
मन्थलीदेखि लुक्ला तथा फाप्लु विमानस्थल सम्मको उडानका लागि सीता एयर, समिट एयर र तारा एयरका दुई/दुई वटा विमानले अनुमति पाएका छन् ।
छोटो दूरीमा उडान गर्ने एयरलाइन्स कम्पनीमध्ये अहिले समिट एयरलाइन्ससँग चार वटा जहाज छन् । त्यसमध्ये एउटा–एउटा जहाज नेपालगन्ज र धनगढीबाट पहाडी जिल्लाहरूमा उडान गर्छन् । एउटा जहाजले पोखरा विमानस्थलबाट उडान गर्छ भने दुई वटा जहाज काठमाडौँबाट उडान गर्ने गरेका छन् । काठमाडौँबाट उडान गर्ने जहाजलाई अहिले मन्थली पठाइएको हो ।
तारा एयरलाइन्ससँग अहिले तीन वटा जहाज छन् । यसमध्ये एउटाले पोखरा र नेपालगन्जबाट पहाडी गन्तव्यहरूमा उडान गर्छ । एक सातामा पोखराबाट पाँच दिन र नेपालगन्जबाट २ दिन उडान गर्नेगरी सेड्युल गरिएको प्राधिकरणले जनाएको छ । बाँकी दुई जहाज लुक्ला उडानमा खटिएका छन् ।
त्यस्तै सीता एयरलाइन्ससँग पनि तीन वटा जहाज रहेकोमा अहिले दुई वटा जहाजले मात्रै उडान गरिरहेका छन् । यी जहाजहरू हप्ताको २ दिन नेपालगन्जबाट र बाँकी दिन काठमाडौँबाट उडान गर्दै आएका छन् । नेपालगन्जबाट हुने उडानलाई यथावत् राखेर काठमाडौँबाट हुने उडानलाई मन्थलीमा सारिएको छ । अब सीताका दुई जहाजले पनि लुक्लाका लागि सेवा दिनेछन् ।
यी तीनवटै कम्पनीका ६ वटा जहाजले लुक्लाको लागि उडान भर्ने प्राधिकरणले जनाएको छ । हप्तामा दुई दिन भने चार वटा जहाजले उडान भर्नेछन् । काठमाडौँ विमानस्थलको हवाई चापका कारण प्राधिकरणले लुक्ला वा फाप्लु विमानस्थल सम्मको उडानलाई मन्थलीमा सारेको हो ।
दैनिक एक हजार पर्यटक पुग्छन् लुक्ला
सामान्यतया एउटा जहाजले दैनिक १० वटा उडान भर्ने गरेको प्राधिकरणले जनाएको छ । यद्यपि यात्रुको चापको आधारमा १५ वटासम्म उडान भर्ने गरेका छन् । प्राधिकरणले एउटा चालक दललाई दैनिक अधिकतम पाँच वटा सम्म उडान गर्न अनुमति दिएको छ ।
अहिले उडान भरिरहेका जहाजमध्ये समिटले एक पटकमा १८ र सीता र तारा एयरले १६÷१६ जना यात्रु बोक्न सक्छन् । यो हिसाबले एउटा जहाजले दैनिक १० वटा उडान गर्दा झन्डै १ हजार पर्यटक लुक्ला विमानस्थलसम्म पुग्छन् । मौसमले साथ दिएको अवस्थामा यात्रुको चापका आधारमा दैनिक १५ सय यात्रुसम्म जाने गरेका छन् ।
अहिले नेपालीलाई मन्थलीदेखि लुक्लासम्मको उडानका लागि ६ हजार रुपैयाँ हाराहारीमा खर्च लाग्छ । विदेशीका लागि भने १८७ अमेरिकी डलर (करिब २४ हजार ८००) भाडादर निर्धारण गरिएको छ । यो दर घटबढ हुने गरेको ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का वरिष्ठ उपाध्यक्ष विष्णु लम्साल बताउँछन् ।
‘ट्रेकिङको आधा हिस्सा एभरेस्ट बेसक्याम्पको’
टानका वरिष्ठ उपाध्यक्ष लम्साल शरदकालीन सिजनमा मात्रै झन्डै डेढ लाख पर्यटकले सगरमाथा आधार शिविरको पदयात्रा गर्ने गरेको सुनाउँछन् । त्यसमध्ये धेरैजसोले लुक्लाबाट पदयात्रा सुरु गर्छन् । उनीहरूमध्ये अधिकांश त्यहाँसम्म जहाजबाटै जाने गरेका छन् ।
काठमाडौँबाट लुक्ला र त्यहाँबाट एभरेस्ट बेस क्याम्प सम्मको ट्रेकिङ पूरा गरेर फर्किन सामान्यतया १२ दिनको ट्रेकिङ प्याकेज हुने गरेको लम्सालको भनाइ छ । छिटोमा यो ट्रेकिङ १० दिनमा पुरा हुन्छ । यद्यपि ‘हाइ अल्टिच्युड’सँग सामना गर्नुपर्ने भएकोले १२ दिनको अवधिलाई स्ट्यान्डर्ड मानिएको उनको भनाइ छ ।
यो सिजनमा मात्रै डेढ लाख पर्यटकले यो पदयात्रा गर्ने अनुमान उनको छ । नेपाल आउनेमध्ये ६० प्रतिशत विदेशी पर्यटक ट्रेकिङकै लागि आउने र त्यसको आधा एभरेस्टलाई नै लक्ष्य बनाएर आउने गरेको उनको भनाइ छ । ‘वर्षमा १० लाख विदेशी पर्यटक आउँछन् भने औसत ६ लाख पर्यटक ट्रेकिङकै लागि आउँछन् । त्यसमध्ये तीन लाखजति त एभरेस्ट बेसक्याम्पमै जान चाहन्छन्,’ लम्साल भन्छन्, ‘गर्मी मौसमभन्दा यो सिजन अझै बढी रोजाइमा पर्ने भएकोले डेढ लाखभन्दा धेरै पर्यटक यो सिजनमा त्यहाँ जाने गरेको अनुमान गर्न सकिन्छ ।’
कतिपयले भने लुक्लाबाट नभएर दोलखा वा सल्लेरीदेखि नै पदयात्रा सुरु गर्ने गरेका छन् । सोलुखुम्बु जिल्लालाई सोलु र खुम्बु क्षेत्रमा बाँडिएको छ । सल्लेरी सोलु क्षेत्र अन्तर्गत पर्छ । त्यहाँबाट ट्रेकिङ गर्दै खुम्बु क्षेत्रमा रहेको सगरमाथा आधार शिविरसम्म समेत पर्यटकहरू पुग्ने गरेका छन् । एभरेस्ट ट्रेकिङले मात्रै प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा झन्डै ७०/८० हजारले रोजगारी दिने गरेको टानले जनाएको छ ।
कम्तीमा १५०० डलरसम्म खर्च गर्छन् विदेशी
काठमाडौँदेखि सगरमाथा आधार शिविरसम्मको पदयात्रा गर्दा एउटा विदेशी पर्यटकले कम्तीमा १५ सय अमेरिकी डलर हाराहारीमा खर्च गर्ने गरेको उपाध्यक्ष लम्साल बताउँछन् । यो खर्च हवाई भाडा, यातायात खर्च, ट्रेकिङ गाइड एवं खाना तथा आवास समेतको खर्च हो ।
ट्रेकिङको क्रम हुने स्वास्थ्य अवस्था तथा अन्य खर्चले यसलाई बढाउन सक्ने उनको भनाइ छ । ट्रेकिङको क्रममा स्वास्थ्य अवस्थामा समस्यामा आए आपत्कालीन हवाई उद्धार गर्नुपर्ने अवस्था आउन सक्छ । यद्यपि यस्तो खर्चका लागि अनिवार्य रूपमा बिमा गरिएकोले यस्तो खर्च बिमा कम्पनीले व्यहोर्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
के ट्रम्पले इलन मस्कलाई पनि मन्त्री बनाउँलान् ?
-
तनहुँमा बञ्चरो प्रहार गरी श्रीमानद्वारा श्रीमतीको हत्या
-
यी हुन् झाडापखाला रोक्ने पाँच घरेलु उपाय
-
कमलाले चुनाव हारेपछि बाइडेनले भने, 'हाम्रो लोकतान्त्रिक प्रणाली निष्पक्ष छ'
-
यौन सम्पर्कपछि तुरुन्तै किन निदाउँछन् पुरुष ?
-
लाङ्टाङमा हराएका पर्यटक मृत भेटिए