सोमबार, ०८ पुस २०८१
ताजा लोकप्रिय
अन्तरवार्ता

प्रचण्डले नेतृत्व छाड्छु भनेपनि कसैले छाड्न दिनेवाला छैनन् : हरिबोल गजुरेल

‘सरकार उत्ताउलो तरिकाले नगइदिए हुन्थ्यो’
आइतबार, ०६ असोज २०८१, १४ : ५३
आइतबार, ०६ असोज २०८१

नेतृत्वको विकल्प र पार्टी निर्माणबारे नेकपा (माओवादी केन्द्र)भित्र पटक पटक बहस हुँदै आएको छ । अघिल्लो स्थायी कमिटी बैठकमा यो विषय थप चर्कियो भने सोही बैठकपछि माओवादी केन्द्र पार्टी निर्माणबारे सल्लाह सुझाव लिन भन्दै सबै प्रदेशमा पुग्यो । प्रदेश तहका ती सबै बैठकमा सहभागी भएका उपमहासचिव हरिबोल गजुरेलसँग पार्टीको कमजोरी, पछिल्लो समय पार्टीभित्र देखिएको अन्तर्विरोध, नेतृत्व परिवर्तन, सरकारको भविष्यलगायतका विषयमा रातोपाटीले कुराकानी गरेको छ । प्रस्तुत छ, रातोपाटीकर्मी गणेश पाण्डेले गरेको कुराकानीको सम्पादित सार–

माओवादीभित्र देखिएको अन्तर्विरोध नेतृत्वको विकल्पका लागि हो कि पार्टी निर्माणका लागि हो ? 

यो दुइटै जोडिएर आएको विषय हो । तपाईँले भनेको जस्तै हो पनि होइन पनि । 

अहिलेको अन्तर्विरोधले पार्टी बनाउँछ कि भत्काउँछ ? 

जुन रूपमा आएपनि पार्टीभित्रको बहस ठिक ढङ्गले ह्यान्डल गरियो भने यसले फाइदै हुन्छ । बहसले पार्टी बिगार्दैन । बरु विभिन्न प्रवृत्तिहरू सतहमा आउँछन् । सबै विचार, चिन्तन एक ठाउँमा आइपुग्छ । पहिले लुकेका हुन्थे, अहिले बहस र छलफल भएपछि सबै खुलेर आएका छन् । खुल्नु भनेको राम्रो कुरा हो । यद्यपि बहस तर्क कति सान्दर्भिक छ वा छैन त्यो आफ्नो ठाउँमा छ । नेतृत्वले रूप र सार पक्ष के हो त्यो बुझ्नुपर्छ । आफ्नो मनोज्ञानबाट नेतृत्वले धारणा बनायो भने गलत हुन्छ । समस्या पहिचानसहित धारणा बनाएमा फाइदा गर्छ । 

विचारको विकास भन्दा पनि नेतृत्वको विकल्पको विषयमा बढी बहस केन्द्रित भएको देखिन्छ नि ? 

अहिले विचार, सिद्धान्ततिर मानिसको त्यति रुचि छैन । रुचि कसले के पाउने भन्नेमा छ । लिडरसिपले आफूलाई भ्यालु दियो भने दंग पर्छन् र भ्यालु पाएन भने निराश हुन्छन् । वैचारिक, राजनीतिक विषयमा कम बहस भएकाले नेतृत्वप्रति अवसर बढी हुने भयो । नेतृत्वमा यही बढी अवसर हुने भएकोले प्रतिस्पर्धा हुनु स्वाभाविक हुन्छ । नेतृत्वमा पुगेपछि आफ्नो प्रभाव विस्तार गर्न पाइन्छ । त्यसैले सबैको ध्यान त्यतातिर छ । 

परामर्श बैठकमा तपाईँ सबै ठाउँमा पुग्नुभयो । सबैको नाडी छाम्नुभएको छ । जनवादी केन्द्रीयताको अभ्यास गर्न भन्दा पनि नेतृत्व जनमत कतातिर पल्ला भारी छ भन्ने मत सर्वेक्षण गर्न आएको आरोप छ नि ? 

त्यस्तो बहस भएको छैन । विषयान्तर गर्नका लागि केहीले त्यस्तो भनेको हुन सक्छन् । रूपमा त्यही भन्दा पनि भयो तर सारमा भन्नुपर्दा बैठकको तयारीलाई बढी समय दिनुपर्छ भन्ने मेरो पनि जोड छ । हाम्रोमा बैठकको तयारीलाई बढी समय नदिने अनि बैठक लम्बिने हुन्छ । अन्ततः त्यसले प्रत्युत्पादक हुन्छ । पश्चिमा देशतिर हेर्नुभयो भने बैठकको तयारीका लागि एक हप्ताको समय दिन्छन् । बैठक २/३ घण्टामा सक्छन् । तर हाम्रोमा पहिला बैठक बोलाउने अनि लम्बिने हुन्छ । ७/८ सयको केन्द्रीय समिति लम्बिएपछि कसरी व्यवस्थापन गर्न सकिन्छ ? त्यसैले बैठकलाई प्रभावकारी बनाउनका लागि प्रत्यक्ष भेटघाट गर्नुपर्छ । जम्बो हलमा कसले कहाँबाट के बोल्यो थाहै हुँदैन । अहिले सीमित संख्यामा बैठक भयो । नेतृत्वसँग प्रत्यक्ष अन्तरक्रिया गर्न पाइयो । बल्ल केन्द्रीय समितिमा बसेको अनुभूति सबैलाई भएको छ । त्यसकारण बैठकको तयारीका लागि परामर्श बैठक राखिएको हो । पार्टीको ग्रासरूटमा समस्या के छ ? कार्यकर्ताले कसरी बुझिराखेका छन् ? पार्टीप्रति जनताको धारणा के छ ? स्थानीय नेतृत्वले कसरी बुझिराखेका छन् ? नेताहरू गएपछि बैठक मात्र हुँदैन अन्य विषयमा पनि छलफल हुन्छ । यसले समग्र स्थिति बुझ्नका लागि मद्दत पुग्छ । यसले बैठकलाई प्रभावकारी बनाउँछ । बैठक बोलाउने तरिकै यही हो । हामीले केन्द्रीय समिति बैठक बस्नुअघि प्रदेशस्तरमा बैठक राख्दा साथीहरूले किन बोलाएको भनेर प्रश्न गरे । परम्परागत ढाँचाबाट सोच्दा केन्द्रीय समिति बैठक नबोलाएर प्रदेशमा किन बोलाउनु पर्‍यो भन्ने लाग्छ । त्यो स्वाभाविक हो । जनवादको राम्रो अभ्यास गरेपछि केन्द्रीयकरण हुन्छ । नेतृत्वको केन्द्रीकरण बढी भयो । सबैको कुरा सुन्दा अहिले प्रचण्डको विकल्प छैन । तर त्यतातिर मात्रै सोच्न पनि हुँदैन । प्रचण्ड सरकारले राम्रो काम गरेको छ । त्यसको प्रभाव जनतामा राम्रो परेको छ । विरोधीहरूले घेराबन्दी गरेर सिद्धाउन खोजिएको छ । हामी एकजुट भएर प्रतिकार गर्नुपर्छ भन्ने पनि अधिकांशको मत रहेको छ । 

त्यसो भए प्रचण्डको उत्तराधिकारी अहिलेसम्म माओवादीमा भेटिएन ?

अरूलाई दोष दिनुभन्दा पनि हामीले उत्तराधिकारी बनाउनै सकेनौँ । 

यसमा प्रचण्डको कमजोरी हो कि तपाईँहरूको हो ? 

उत्तराधिकारी कसरी तयार हुन्छ भन्ने आधार तय गर्नै सकेनौँ । पहिला यसबारे छलफल नै भएन । पहिलो कुरा उत्तराधिकारी तयारी नेतृत्वसँग रचनात्मक प्रतिवाद गरेर हुन्छ । रचनात्मक सहयोग गरेर पनि उत्तराधिकारी जन्मन्छ । हाम्रोमा समर्थन गर्नेले पनि रचनात्मक सुझाव नदिने । लिडरसिपलाई फिडब्याक चाहिन्छ । नेतृत्वलाई राम्रो सूचना दिनुपर्‍यो र सल्लाह र सुझाव दिनुपर्‍यो । नत्र म अध्यक्षको पक्षमा छु भनेर के मद्दत पुग्छ ? 

अर्को कुरा, हाम्रोमा विरोध गर्नेले पनि सही ठाउँमा उभिएर विरोध गरेको देखिँदैन । सही ठाउँमा बसेर प्रतिवाद गर्नुपर्‍यो । गलत ठाउँमा बसेर प्रतिवाद गर्दा धोबीघाट भयो । किरणजीहरूले गलत ठाउँमा उभिएर प्रतिवाद गर्नुभयो । नेतृत्वलाई हामीले सही तरिकाले सुझाव र सहयोग गर्‍यो भने मात्र पार्टी अगाडि बढ्छ । उतिबेला बालाजुमा २२ सय जनाको विस्तारित बैठक भयो । गर्मी महिनामा एउटा हलभित्र बैठक हुन्छ ? कसले लगाइदियो त्यतिबेला नेतृत्वले त्यही पत्याए । सबैलाई बोलाएर कोच गरेपछि समस्या समाधान हुन्छ भनिदियो । नेतृत्वलाई पनि हो जस्तो लाग्यो, त्यो नै ब्याक फायर भयो । अहिले बालाजु विस्तारित बैठकको दस्ताबेज नै छैन हामीसँग । पेस भएको दस्ताबेज छ तर पारित भएको छैन । त्यस्तो विषयमा हामीले भन्न सक्नुपर्थ्यो । हामीले प्रचण्डलाई सहयोग गर्‍यौँ, लेख लेख्यौँ, दुनियाँ गरियो, तर त्यसले हुँदो रहेनछ  । 

नेता जनार्दन शर्माको १४ बुँदे सुझावलाई कसरी लिन सकिन्छ ? 

त्यसबारे अहिले केही भन्ने अवस्था छैन । पछि बहस हुँदै जाला । अहिले बुझ्ने कुरा उहाँले कुरा उठाउनुभयो । विधान अधिवेशनमा पनि उहाँ र मैले नै उठाएको हो । यद्यपि त्यहाँ हामीले बोल्ने समय मिलेन । अध्यक्षले हरिबोलजीको यसमा फरक मत छ भन्नुभएको थियो । जनार्दनको पनि फरक मत छ भन्नुभएको हो । मेरो असहमति निर्वाचन प्रणालीमा थियो । उहाँको पनि निर्वाचन प्रणालीमा थियो । जनार्दनले प्रत्यक्ष भन्नुभएको थियो मैले हुँदैन भनेको थिएँ । प्रत्यक्ष मतदान गर्ने चलन बुर्जुवाहरूको हो । बुर्जुवा पार्टीमा त्यो ठीक छ, प्रत्यक्ष त हुनुपर्छ तर मूल्याङ्कनको नम्बर पनि हुनुपर्‍यो । केन्द्रीयता बिनाको जनवादको कुनै अर्थ छैन । प्रत्यक्ष मतदानले जनवाद कसरी हुन्छ ? जस्तै एमालेमा प्रत्यक्ष मतदान हुन्छ । त्यहाँ केन्द्रीयता कसरी हुन्छ ? गुटको केन्द्रीयता हुन्छ । त्यहाँ जनवाद भयो त ? भद्दा केन्द्रीयता भएन ? मूल्याङ्कन समिति भयो भने जनवादको अभ्यास प्रत्यक्ष मतदानबाट ५० प्रतिशत हुन्छ । केन्द्रीयता ५० प्रतिशत हुन्छ । यसमा मूल्याङ्कन समिति बसेर नै बनाउने हो । केन्द्रीय समितिले बनाउँछ । नम्बरिङ भएपछि नेतृत्वले छनोट गर्दा भेदभाव भयो भने प्रश्न उठ्छ । यसले केन्द्रीयताको अभ्यास भयो । अहिलेको केन्द्रीयता गुट र स्वार्थ समुहको हुन्छ । कसलाई हराउने वा जिताउने पहिले नै योजना बनिसकेको हुन्छ । हेटौँडा महाधिवेशनपछि विराटनगरमा हामीले नै हेरिसक्यौँ । त्यहाँ प्रत्यक्ष निर्वाचन नै भयो । म पनि कोषाध्यक्षमा लडेको थिएँ आखिर के भयो सबैले देख्यौँ नि । लिडरले क–कसलाई लिस्ट बनाएर बढिदिन्छन् । भित्रभित्रै त्यो चलिहाल्छ । त्यसको के अर्थ भयो ? 

जनयुद्धको लिगेसीले अब तपाईँहरूलाई जनताले पत्याउनेवाला छैन । समग्र माओवादी आन्दोलन नै गम्भीर मोडमा उभिएको बेला गुमेको विश्वास कसरी आर्जन गर्नुहुन्छ ? 

नेतृत्वको विकल्पबारे अहिलेलाई हल भइसक्यो । भविष्यको नेतृत्व को–को हुन सक्छ भन्ने विषय हल भएको छैन । प्रचण्डलाई नै नेतृत्व बनाउने विषयमा सर्वसम्मत हो । प्रचण्डको दक्षता, क्षमता पछिल्लो समय सरकारमा देखियो । उहाँले जुन जोखिम लिनुभयो त्यसले उहाँको क्षमता देखाउँछ । 

सिन्धुलीका कांग्रेस पृष्ठभूमिका एक जनाले अब त माओवादीले गर्छ भन्ने जनतामा प्रभाव परेको छ भन्नुभयो । हामी तल जाँदा पनि देश र जनताको पक्षमा उभिने माओवादी नै रहेछ भन्ने प्रभाव परेको छ । यस्तो अवस्थामा नेतृत्वको भूमिकालाई सहयोग गर्ने हो । नेतृत्वको भूमिका प्रभावकारी देखियो । हिजो प्रश्न उठाउनु ठिकै थियो र मैले पनि उठाएकै हो । अहिले नेतृत्वको सन्दर्भमा नेता तथा कार्यकर्तामा आशा जागेको छ । यस्तो बेला हामीले सहज रूपमा लिनुपर्छ । जनार्दनजीले विभिन्न कोणबाट तीन विकल्प दिनुभएको छ । उहाँले नेतृत्वको विषयमा मात्र उठाउनुभएको छैन सरकारको काम कारबाहीको विषयमा पनि कुरा उठेको छ । यस्तै पार्टी निर्माणको विषयमा पनि कुरा उठेको छ । बाहिरकाले प्रचण्डको भित्री मनमा के छ, दस्ताबेजमा के छ भनेर सोच्दैनन् । बाहिर गएपछि जे देख्यो त्यसको आधारमा धारणा बनाउँछन् । त्यसैले लिखित पेस गर्दा त्यसका टेक्निकल पक्ष पनि बाहिर जान्छ भनेर पेस गर्नुपर्ने रहेछ । 

३५ वर्षसम्म लगातार अध्यक्षले नेतृत्व गर्नुभयो । अब तपाईँ अभिभावको भूमिकामा बस्नोस् अब हामी पार्टी चलाउँछौँ भन्ने आँट तपाईंहरुसँग छैन ?

पार्टी चलाउँछौँ भनेर हुने कुरा होइन । आफ्नो योग्यता, क्षमता र दक्षता चाहियो नि । बाहिर कार्यकर्ता, जनताले बोल्नुपर्‍यो नि । दक्षता हासिल गरे प्रचण्डले स्वतः छोडिहाल्छन् । प्रचण्डले दक्षता हासिल गरेपछि किरणले छोडेको होइन ? प्रचण्डले नेतृत्व गर्न सक्छन् भनेर किरणले नै अगाडि सारेका हुन् । नेतृत्वको लागि हामीले पहिला आधार बनाउनुपर्‍यो । आफूले म हो भनेर हुँदैन । नेतृत्वको विकास हुन धेरै चिज चाहिन्छ । एउटा मात्रै विषय भएर हुँदैन । सङ्गठन बनाउनुपर्‍यो। विचार चाहियो । साङ्गठनिक कार्यशैली चाहियो, तौरतरिका चाहियो । नेतृत्व रातारात तयार हुने विषय होइन । समय लाग्छ । त्यसकारण प्रचण्डले अहिले नेतृत्व छाड्छु भने पनि कसैले पनि छाड्न दिनेवाला छैनन् । 

जस्तै एंगेल्सले ठिक ठाउँमा बसेर मार्क्सको समर्थन गरेका थिए । स्वतः भए । किरणलाई ठिक ठाउँमा बसेर प्रचण्डले समर्थन गरेका थिए र उनी स्वतः उत्तराधिकारी भए । ठिक ठाउँमा बसेर विरोध गर्दा लम्बे अभियानमा माओलाई १९३५ मा नेता बनाएको होइन ? त्यसैले दुवै भूमिका हामी कसैले निर्वाह गर्न सकेनौँ । नसकेपछि नेतृत्वको दाबी गरेर के अर्थ हुन्छ ? सकेको भए स्वतः भइहाल्थ्यो । 

पार्टी एकताका लागि विप्लव र महिन्द्र राय नेतृत्वको पार्टीले निर्णय गरेको ६ महिना भइसक्यो । तर माओवादीले अहिलेसम्म संस्थागत निर्णय गर्न सकेको छैन, किन ?

हिजो हामीले एकता पटक पटक गर्‍यौँ । पूर्वतयारी नगरी एकता गर्दा दिगो हुँदैन रहेछ । वैचारिक राजनीतिक स्पष्ट नहटाई हतारमा एकता गर्दा के हुन्छ भनेर हामीले नेकपा बनाउँदा थाहा पाइसक्यौँ । परिणाम राम्रो आएन । त्यसैले तयारी गरेर नै एकता गर्नपर्छ । पहिला माओवादी पङ्क्ति एक  ठाउँमा आउनुपर्‍यो नि । बुझाइको एकरूपता हुनुपर्‍यो । उहाँलाई अहिले ल्याएर पनि के गर्ने ? फेरि उही स्थिति भयो भने के राम्रो हुन्छ ? 

विप्लव आएर कतै पार्टी कब्जा गर्ने हो कि भन्ने डर लागेर हो ? 

त्यस्तो होइन । विप्लव हाम्रै आन्दोलनको अङ्ग हो । बाहिरको मान्छे होइन । माओवादी आन्दोलनमा जनयुद्धमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेका व्यक्ति हुन् । 

त्यत्रो भूमिका निर्वाह गरेका व्यक्तिलाई स्वागत गर्न किन अप्ठ्यारो ? 

पार्टीभित्र छलफल चलिराखेको छ । निर्णय हुन्छ । उहाँलाई ल्याउनुपर्छ भनेर सबै सकारात्मक छन् । विप्लव मात्र होइन, किरण, बाबुरामलाई पनि ल्याउन पर्छ भन्ने नै छ । यसबारे छलफल चलिराखेको छ । अन्य वामपन्थीहरूलाई ध्रुवीकरण गर्नुपर्छ । अर्कोतिर एमालेभित्र पनि वामपन्थीको वर्चस्व छ । नेतृत्व गलत भए पनि त्यहाँभित्र पनि आकर्षण गर्ने हिसाबले हामीले गतिविधि गर्नुपर्छ । भोलिका दिनमा एमालेसँग सहकार्य नै हुँदैन भन्ने होइन । माओवादीसँग सहकार्य गरेर जानुपर्छ भन्ने एमालेभित्र ट्रेन्ड छ । अहिले नेतृत्वको वर्चस्व भएकाले बोल्न नसकेका हुन् । 

त्यसो भए विप्लवको पार्टीसँग एकता कहिले हुन्छ ? 

विप्लवसँग मोटामोटी सहमति भइसकेको छ । नेतृत्वको टकराब केही होइन । अलि तयारी गरेर नै एकता गरौँ भन्ने हो  । उहाँलाई पनि हतारो केही छैन । आज नै हतारो गरेर हुनेवाला केही छैन । निर्वाचन आउन पनि अझै समय बाँकी छ । पहिला आन्तरिक रूपमा एकताबद्ध भएर जाँदा दिगो हुन्छ भन्ने हाम्रो कुरा हो । उहाँलाई ल्याउन कसैको रोकथाम छैन । 

उता एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई पार्टी एकता गरौँ तपाईँलाई प्रधानमन्त्री बनाउँछौँ भनेर प्रचण्डले प्रस्ताव नै गर्नुभएछ हैन ? 

ती हल्ला मात्र हुन् । आधिकारिक प्रस्ताव केही होइन । हाम्रो पार्टीभित्र यसबारे कुनै छलफल भएको छैन । बजारका कुरा हुन् यी । कसैलाई प्रधानमन्त्री बनाउँछु भनेर एकता हुँदैन । भए पनि टिक्दैन । 

पार्टीभित्र अहिले चलिरहेको बहसले माओवादी फेरि जाग्छ भन्नेमा कत्तिका विश्वस्त हुनुहुन्छ ?

सजिलो कुरा छैन । अध्यक्षले कति आँट गर्न सक्नुहुन्छ त्यसमा भर पर्छ । कार्यकर्ता तहमा ढुक्क  हुने स्थिति छैन । नेतृत्वले आएका सुझावलाई कसरी कार्यान्वयन गर्नुहुन्छ, त्यो हेर्नुपर्छ । वैचारिक राजनीतिक बहसले सही दिशा पक्रियो र बेलैमा महाधिवेशन भयो भने राम्रै हुन्छ । हिजो हेटौँडा महाधिवेशनले उत्पादन बिग्रेड बनाउने कति राम्रो योजना बनाएको थियो । कार्यान्वयन हुन सकेन । अहिले पनि कार्यान्वयन हुन्छ कि हुँदैन भनेर कार्यकर्ताले आशङ्का गरेका छन् । उहाँ(अध्यक्ष)ले अब त्यस्तो हुँदैन भनिराख्नु भएको छ ।  हिजोको सन्दर्भ अर्कै थियो । अहिले देशको अवस्था अर्कै स्थितिमा छ । परिवर्तनका स्थिति पनि निकै सङ्कटमा छ । यो सन्दर्भमा नेतृत्व अगाडि बढ्छ । चुनुङवान बैठककै स्पिरिडमा नेतृत्व छ भनेर उहाँले भनिरहनुभएको छ । अगाडि नबढ्ने हो भने राष्ट्र नै खतरामा पर्ने स्थितिमा छ । 

०८४ को निर्वाचनमा माओवादीको हैसियत ४/५ लाख मतको हाराहारीमा पुग्छ भनेर प्रधानमन्त्री केपी ओलीले भविष्यवाणी गर्नुभएको छ त ? 

काम गरेपछि विश्वास जाग्छ । तर कुरै गरेको भरमा त विश्वास गरेका छन् । रवि लामिछानेको कुरैको भरमा पनि मत आयो नि त । उहाँले आन्दोलन सङ्घर्ष गरेको त होइन । बालेन ले पनि कुरैको भरमा भोट ल्याएका हुन् । हर्क साम्पाङले पनि कुरैको भरमा भोट ल्याएका हुन् । कामै गरेर देखाएपछि भोटको के खाँचो हुन्छ र ? अब पुराना पार्टीले कुरा गरेर पत्याउनेवाला छैन । काम गरेर जनताको विश्वास जित्नुपर्छ । नयाँ मान्छेलाई पो कुरा गरेर पत्याउँछन् । माओवादीलाई कुरा गरेर कसैले पत्याउँदैन । मेहनत गरेपछि मान्छेको ओइरो लागि हाल्छ नि । त्यसमा प्रचण्डले आँट गर्न सक्नुहुन्छ कि हुँदैन । आँट गर्नुभयो भने माओवादीप्रति फेरि धेरै ओइरो लाग्नेवाला छ । 

विगत र वर्तमानको अवस्थाबारे निर्मम समीक्षा गर्दा तपाईँको अन्तरआत्माले माओवादीको भविष्य के देख्नुहुन्छ । अबको राजनीति कता जान्छ ? 

हामीले विचारलाई दह्रोसँग समाउन सकेनौँ । वर्गलाई छोड्यौं । हाम्रो सबैभन्दा ठुलो कमजोरी त्यही भयो । वर्गसँग राम्रो सम्बन्ध भएमा विचारको विकास हुन्छ । नयाँ विचार जन्मिन्छ । नयाँ विचारसँगै वर्गसँग जोडियो भने शक्ति बन्छ । जनता नै इतिहासका निर्माता हुन् । माओवादी त्यही शृङ्खलामा अगाडि बढ्दै छ । 

अहिलेको सरकार पछिसम्म जान्छ ? 

यस्तो सरकार कसरी अगाडि जाला र ? जनता सरकारप्रति एकदमै नेगेटिभ छन् । जनसमर्थन नभई सांसद सङ्ख्याले मात्र टिकाउ हुन सक्दैन । श्रीलङ्कामा टिकेन । बङ्गलादेशमा टिकेन । यहाँ कसरी टिक्छ ? 

नेपालमा पनि त्यस्तै आन्दोलन हुन्छ भन्न खोज्नुभएको हो ? 

होइन, त्यस्तो हुँदैन । आन्दोलन कुन रूपमा जान्छ ? कसरी बन्छ, त्यो भोलिको कुरा हो । त्यसलाई कसले पहल लिन्छ ? अहिले भन्ने अवस्था छैन । 

माओवादी त्यसकै पर्खाइमा छ भनिन्छ नि ? 

हामी त्यो चाहँदैनौँ । संविधान निर्माणका बेला कांग्रेस र एमालेसँग जोडिएका हौँ । त्यस्तो नहोस् । संविधान निर्माण गर्ने दलहरू परिवर्तन विरुद्ध अर्को आ‍ओस् भन्ने चाहँदैन । तर सरकारले ठिक ढंगले काम गर्न नसकेपछि जनताको आक्रोश अगाडि आउँछ । त्यस्तो बेला आन्दोलनलाई सही मार्ग दिनुपर्‍यो नि । अराजक सिर्जना भएर भएको परिवर्तन गुम्नतिर जान दिनुभएन । हाम्रो चाहाना प्रमुख तीन दल एक ठाउँमा उभिउन् भन्ने नै हो । ठिक छ, ०८४ सम्म कांग्रेस र एमालेले नै सरकार चलाओस् । त्यो बेलासम्म सरकार उत्ताउलो तरिकाले नगइदिए हुन्थ्यो भन्ने हाम्रो चाहना हो । तर सरकार हरेक ठाउँमा हात हाल्दै, ब्याक भइरहेको छ । यस्तो अवस्था नहोस् कि सरकारको गलत गतिविधिले जनताको आक्रोश गलत दिशामा नमोडियोस् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

गणेश पाण्डे
गणेश पाण्डे

रातोपाटीका वरिष्ठ संवाददाता पाण्डे राजनीतिक तथा समसामियक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप