इरानको कोइला खानीमा विस्फोट, कम्तीमा ३० जनाको मृत्यु

तेहरान । पूर्वी इरानको एक कोइला खानीमा ग्यास चुहिएर भएको विस्फोटमा परी कम्तीमा ३० जनाको मृत्यु भएको छ भने २० जनाभन्दा बढीको अवस्था अज्ञात छ । “तबास खानी दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ३० पुगेको छ,” सरकारी समाचार संस्था इर्नाले सरकारी अधिकारीलाई उद्धृत गरी जनाएको छ । यसअघि १९ जनाको मृत्यु भएको जनाइएको थियो ।
खानी रहेको दक्षिण खोरासान प्रान्तका गभर्नर जावाद घेनातले सरकारी टेलिभिजनलाई बताएअनुसार उद्धार टोलीले फसेका २२ जना कामदारलाई उद्धार गर्ने काम गरिरहेको छ । स्थानीय समयअनुसार शनिबार राति ९ः ०० बजे भएको विस्फोटमा परी अन्य १७ जना घाइते भएको इर्नाले जनाएको छ ।
मिथेन ग्याँसको चुहावटका कारण खानीको दुई ब्लकमा विस्फोट भएको बताइएको छ । सरकारी टेलिभिजनले घाइतेलाई अस्पताल पुर्याउन एम्बुलेन्स र हेलिकप्टर घटनास्थलमा पुगेको फुटेज प्रसारण गरेको छ । इर्नाले सार्वजनिक गरेको अनलाइन फुटेजमा केही पीडितको शव खानीको ठेलामा राखेर घटनास्थलबाट बाहिर निकालिएको देखिएको छ ।
न्यूयोर्कमा हुने संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन प्रस्थान गर्नुअघि राष्ट्रपति मसूद पेजेस्कियानले सरकारी टेलिभिजनमार्फत सम्बोधन गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्दै घटनाको छानबिन गर्न आदेश दिएका छन् । “दुर्भाग्यबस, तबासको एउटा कोइला खानीमा एउटा दुर्घटना भएको छ र हाम्रा धेरै प्रियजनहरूले ज्यान गुमाएका छन्। म उनीहरूका परिवारजनप्रति समवेदना प्रकट गर्दछु,” पेजेस्कियानले भने ।
इरानका प्रथम उपराष्ट्रपति मोहम्मद रेजा अरेफले ‘आपतकालीन फलोअप’ सुनिश्चित गर्न र पीडित र उनीहरूका परिवारका लागि सहयोग सुनिश्चित गर्न मन्त्रिपरिषद्का सदस्यहरूसँग कुराकानी गरेको इर्नाले जनाएको छ। इरानको रेड क्रिसेन्टले खानीमा खोजी तथा उद्धार कार्य जारी रहेको र त्यहाँ केही कामदार फसेको जनाएको छ।
स्थानीय अभियोजक अली नेसेईलाई उद्धृत गर्दै इर्नाले भनेको छ, “खानीमा ग्याँस जमेकाले खोजी कार्य कठिन भएको छ।” “अहिले हाम्रो प्राथमिकता घाइतेलाई सहयोग गर्नु र भग्नावशेषमुनिबाट मानिसहरूलाई निकाल्नु हो,” नेसेईले भने । उनले भने, “सम्बन्धित संस्था वा खानीका अधिकारीको लापरबाही र गल्तीबारे छानविन गरिनेछ ।”
गतवर्ष उत्तरी शहर दमघानमा रहेको कोइला खानीमा भएको विस्फोटमा परी ६ जनाको मृत्यु भएको थियो भने सन् २०२१ को मे महिनामा सोही स्थानमा दुई जना कामदारको मृत्यु भएको थियो । सन् २०१७ मा उत्तरी इरानको आजाद शहरमा भएको विस्फोटमा ४३ जना कामदारको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने