मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

एमाजन भन्छ– कर्मचारी कार्यालय आउनैपर्छ, बेलायत सरकार मान्दैन

को हो सही ?
आइतबार, ०६ असोज २०८१, १३ : ४३
आइतबार, ०६ असोज २०८१

लन्डन । डेस्कमा बसेर काम गर्ने कर्मचारीले कसरी काम गर्दा राम्रो हुन्छ अनि उत्पादकत्व राम्रो आउँछ भन्नेबारे दुई विपरित धारणा पाइन्छन् । यतिबेला अमेरिकी खुद्रा कम्पनी एमाजन र बेलायत सरकार यही दुई धारमा बाँडिएका छन् ।

एमाजनले आफ्नो कर्मचारीहरूलाई हप्तामा पाँच दिन कार्यालयमै आएर काम गर्न आदेश दिएको छ । तर बेलायत सरकारले भने घरबाट काम गर्न दिने जस्ता लचिलो कार्य नीतिको म्याद थप्नमा जोड दिइरहेका छ ।

कार्यालयमा आएर काम गर्दा कर्मचारीहरूले राम्ररी आविष्कार, सहकार्य गर्न सक्ने अनि एक अर्कासँग प्रत्यक्ष सम्पर्कमा रहने भएकोले त्यसको आउट पुट पनि राम्रो आउने एमाजनको तर्क छ । तर कम्पनीले कर्मचारीहरूलाई कार्यालयमै आएर काम गर्न उर्दी जारी गरेलगत्तै बेलायत सरकारले लचिलो कार्य पद्धतिमा कर्मचारीको प्रदर्शन सुध्रिने, उनीहरू थप उत्पादनशील बन्ने र बफादार कार्यबलको सृजना हुने भनिरहेको छ ।

घर छाडेर कार्यालयमा आउँदा बुढा बाउ आमा वा कलिला छोराछोरीको हेरचाहको काम प्रभावित हुने केही बताउँछन् । तर कोरोना भाइरसको महामारी सुरु भएयताको ४ वर्षमा काम गर्ने प्रवृत्ति फेरिएको छ । कोभिडको समयमा माइक्रोसफ्टले कर्मचारीहरूको अध्ययन गरेको थियो ।

सन् २०२० को पहिलो ६ महिनामा अमेरिकामा बसेर काम गर्ने ६१ हजार कर्मचारीको इमेल, क्इालेन्डर, इन्ष्ट्यान्ट म्यासेज र कल आदिको विश्लेषण गरिएको थियो । यसको निष्कर्ष नेचर ह्यूमन बिहेभियरमा पनि प्रकाशित गरिएको थियो ।

कोभिडको समयमा कार्यालय नआइकन टाढै बसेर काम गर्ने कर्मचारीहरूले आफूसँग पहिला नै रहेको कर्मचारीको नेटवर्कमा बढी सहकार्य गरेको पाइयो । फरक नेटवर्कमा कम मात्रै सेतु बनाएको देखियो । रियल–टाइममा हुने कुराकानीमा कमी देखियो । वास्तविक जीवनमा भएका मिटिङ, देखभेट र कुराकानी अनलाइनमा नभएर पनि त्यस्तो भएको होला । बरु इमेल र इन्ष्टान्ट म्यासेजमा कुराकानी धेरै भयो । यस्ताेमा जटिल खालको सूचना दिन र बुझ्न गाह्रो भएको हुनसक्ने अध्ययनका लेखकहरूको ठम्याई छ । माइक्रोसफ्टले डाटामा आधारित रहेर सो अध्ययन गरेको थियो । मान्छेको अनुभव चाहिँ के त ?  

सन् २०२० मा चार्टर्ड इन्स्टिच्युट अफ पर्सनल एन्ड डेभलपमेन्ट (सीआईपीडी) ले गरेको सर्वेक्षणमा सङ्घ सङ्गठनहरूमा निर्णय तहमा रहेका हजार जना वरिष्ठ कर्मचारीहरूमध्ये एक तिहाइले कर्मचारीबिच अन्तरक्रिया र सहकार्य गर्न कठिन भएको फेला पारे । तर ४० प्रतिशतभन्दा धेरैले चाँहि घरबाट काम गर्दा बढी सहकार्य भएको बताए ।

स्ट्यान्फोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले पनि घरबाट काम गर्दा कर्मचारीहरू १३ प्रतिशत बढी उत्पादनशील भएको फेला पारेका थिए । घरबाट काम गर्दा ब्रेक कम वा थोरै लिने अनि बिरामी बिदा पनि कम हुने भएकोले पनि यस्तो भएको हुन सक्ने अध्ययनको निष्कर्ष थियो ।

कार्यालयसम्म आउन लामो यात्रा गर्नु पर्नेहरूले जागिर छाड्ने प्रवृत्तिमा कमी आएको थियो । तर अधिकांश अध्ययनमा कुराकानी गर्न अवरोध, कर्मचारीको निगरानी नहुने, सेल्फ मोटिभेशनमा कठिनाइ जस्ता समस्या पनि देखिएका थिए । पूरै समय कार्यालयमै आएर काम गर भन्ने एमाजन पहिलो कम्पनी भने पक्कै होइन । गोल्डम्यान श्याख्स, जेपी मोर्गन, मोर्गन स्ट्यानलीले पनि यस्तै नीति अपनाएका छन् । टेस्लाले पनि कर्मचारीलाई पूरै समय कार्यालयमै बसेर काम गर्नुपर्ने होइन भने जागिर छोड्न चेतावनी दिएको थियो ।

कोरोना भाइरसको महामारीले दशकौँ पुरानो काम गर्ने रुटिनलाई एक्कासि परिवर्तन गरिदियो । कार्यालयमा आएर काम  गर्दा वा घरबाट काम गर्दाको आ–आफ्नै फाइदा र घाटा छन् । कम्पनीहरूले कर्मचारीलाई कार्यालयमा फर्किन जबरजस्ती गरे पनि भविष्यको कार्य शैली भनेको हाइब्रिड अर्थात् केही समय घरबाट गर्ने अनि केही समय कार्यालयमै आएर काम गर्ने नै हो ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप