दसैँमा ४ फिल्म : लगानी १२ करोड, कमाइको अपेक्षा कति ?
काठमाडौँ । नेपाली फिल्मको बजार सानो छ । सानो बजार भएको कारण व्यापारिक घराना नेपाली फिल्ममा आकर्षित हुन सकेका छैनन् ।
यहाँ फिल्म बनाएर मात्रै हुँदैन । त्यसको उचित प्रदर्शन हुन सकेन भने लगानी ‘बालुवामा पानी बराबर’ हुन्छ । त्यसैले पनि नेपाली फिल्म क्षेत्रमा बनाउनभन्दा प्रदर्शन गाह्रो भएको निर्माता निर्देशक बताउँदै आएका छन् ।
निर्माता तथा वितरकले चाहेको मितिमा फिल्म प्रदर्शनमा ल्याउन कठिन छँदै छ । त्यसमा पनि नयाँ वर्ष, दसैँ, तिहार, माघेसंक्रान्ती जस्ता चाडपर्वमा प्रदर्शनका लागि डेट पाउन मुस्किल पर्छ । कतिपयले त यस्तो मितिका लागि निर्माण अगाडि नै डेट रिजर्भ गर्छन् ।
नेपाली फिल्म प्रदर्शनका लागि सबैभन्दा राम्रो मानिने पर्व मध्य एक दसैँ पनि हो । यो मितिमा तीनवटा फिल्म भिड्दा पनि सबैको राम्रो व्यवसाय भएको थुप्रै उदाहरण छन् । त्यसैले यो मिति सबै निर्माताको आँखामा पर्ने गरेको छ ।
नजिकिँदै गरेको दसैँलाई लक्षित गरेर ४ फिल्म प्रदर्शनमा आउँदैछ । फिल्म हुन्– ‘बेहुली फ्रम मेघौली’, ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साप’ । यी ४ फिल्ममध्ये तीन ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साप’ एक अर्कासँग एकै मिति फूलपाती (असोज २४)मा भिड्न लागेका हुन् । ‘बेहुली फ्रम मेघौली’ भने घटस्थापनाको दिन (असोज १७) प्रदर्शनमा आउँदैछ ।
घटस्थापनामा रिलिज हुने ‘बेहुली फ्रम मेघौली’ विवाहको संस्कृतिमा निर्माण भएको फिल्म हो । स्वस्तिमा खड्का, निश्चल बस्नेत, विजय बराल, टीका पहारी, बसुन्धरा भुसाल लगायतको अभिनय रहेको फिल्म साजन काफ्ले र आकाश बरालले मिलेर बनाएका हुन् ।
त्यस्तै एकसाथ भिड्न लागेका तीन मध्य ‘छक्का पञ्जा ५’ एक पुरानो प्रेमकथामा बनेको फिल्म हो, भने ‘ज्वाइँ साप’ छोरीको श्रीमान् ज्वाइँको कथामा निर्माण भएको हो । त्यस्तै ‘१२ गाउँ एक्सन–थ्रिलर कथामा बनेको हो ।
दीपाश्री निरौला निर्देशित ‘छक्का पञ्जा ५’ दीपकराज गिरी, केदार घिमिरे, वर्षा राउत लगायतको अभिनय देख्न सकिन्छ । ‘ज्वाइँ साप’मा जितु नेपाल र नीति शाहको मुख्य भूमिका छ । फिल्मको निर्देशन वसन्त निरौलाले गरेका हुन् । ‘१२ गाउँ’ पुराना एक्सन अभिनेता बिराज भट्टको निर्माण निर्देशनमा बनेको र समीर भट्ट, न्यान्सी खड्का, सनिशा मुरलीधर, कनिज कोइराला, नरेन खड्का, दीया मास्के लगायतको अभिनय रहेको छ ।
- लगानी १२ करोड
पछिल्लो समय नेपाली फिल्ममा लगानी राम्रो हुने गरेका छन् । केही फिल्म छोडेर भन्ने हो भने २ करोड कम लागतका फिल्म पाउन मुस्किल छ । दसैँमा रिलिज हुन लागेका ४ फिल्मको कुरा गर्ने हो भने पनि सबै दुई करोड माथिका फिल्म छन् । सबै फिल्मको लगानी हिसाब गर्ने हो १२ करोड ५० लाख भन्दा बढी छ ।
दसैँको अवसरमा सबैभन्दा पहिले घटस्थापनाको दिनमा प्रदर्शनमा आउने फिल्म ‘बेहुली फ्रम मेघौली’ रिलिजसम्म दुई करोड २५ लाख लागत पुग्ने कार्यकारी निर्माता शंकर पाण्डेले बताए । फिल्म अभिनेत्री स्वस्तिमा खड्का र अभिनेता निश्चल बस्नेतले बनाएका हुन् ।
त्यस्तै, फूलपातीमा प्रदर्शन हुने ‘छक्का पन्जा ५’ दीपकराज गिरी र दीपाश्री निरौलाको समूहले निर्माण गरेको हो । फिल्म लागत रिलिजसम्म ३ करोड पुग्ने निर्देशक समेत रहेकी दीपाश्री निरौलाले बताइन् ।
विराज भट्ट फिल्म पोडक्सनको प्रस्तुति रहेको फिल्म ‘१२ गाउँ’ अभिनेता बिराज भट्टकै लगानीमा बनेको हो । फिल्म निर्माण लागत ५ नाघ्ने अभिनेता भट्टले बताए ।
यस्तै, फिल्म ‘ज्वाइँ साप’ रेड आई फिल्मस्को प्रस्तुति र मौसम फिल्मस्को सहकार्यमा यो फिल्म निर्माण भएको हो । फिल्मका प्रस्तुतकर्ता राजकुमार पण्डित हुन् । फिल्मको बजेट २ करोड २५ लाख बताइएको छ ।
- व्यावसायिक अपेक्षा कस्तो
नेपाली फिल्मको व्यवसाय कस्तो हुन्छ भन्ने पूर्वानुमान गर्न सकिने अवस्था छैन । कतिपय अवस्थामा एउटै फिल्मले २२ करोडसम्म व्यवसाय गरेको रेकर्ड छ । कतिपय समय ५ लाख पनि उठाउन मुस्किलको अवस्था पनि हो ।
दसैँमा रिलिज हुन लागेका ४ फिल्म ‘बेहुली फ्रम मेघौली’, ‘छक्का पञ्जा ५’, ‘१२ गाउँ’ र ‘ज्वाइँ साप’को लगानी एकमुस्ट हिसाब गर्दा १२ करोड रुपैयाँभन्दा बढी छ । यी फिल्मका निर्माताको लगानी उठाउन कम्तीमा ३० करोड बढी व्यवसाय गर्नुपर्ने देखिन्छ । किनभने फिल्मको सार्वजनिक प्रदर्शनबाट उठेको रकमको ५० प्रतिशत हलले राख्छ । बाँकी ५० प्रतिसतमा ५ देखि १५ प्रतिशत वितरक र बचेको निर्माताको भागमा पर्छ ।
दसैँमा रिलिज हुने ४ फिल्म मध्ये ‘बेहुली फ्रम मेघौली’का निर्माताले फिल्म दर्शकले रुचाए र लगानी उठाउने अपेक्षा गरेका छन् ।
‘१२ गाउँ’का निर्माता, निर्देशक बिराज भट्ट पनि राम्रो नेपाली फिल्म हेर्ने दर्शकको चाहनाका लागि फिल्म बनाएको बताउँछन् । उनी पनि फिल्म दर्शकले रुचाउने र लगानी सुरक्षित हुनेमा आसावादी छन् ।
फिल्म ‘ज्वाइँ साप’को निर्देशक वसन्त निरौलाको कुरा पनि त्यस्तै छ । उनले पनि फिल्मले निर्माता घाटामा नपर्ने अपेक्षा गरेका छन् ।
उनले भने, ‘एकै समय तीन फिल्म रिलिज हुँदैछ । व्यावसायिक असर सबैलाई पर्छ । राम्रो मिति भएकोले फिल्म फाइदामा रहन्छ होला ।’
‘छक्का पन्जा ५’को निर्माता तथा निर्देशक दीपाश्री निरौला पनि फिल्मले राम्रो व्यवसाय गर्नेमा ढुक्क छिन् । फिल्म यस अगाडिका सिक्वेलभन्दा धेरै दर्शकले हेर्छन् भन्ने उनको अपेक्षा छ । ‘त्यो भए लगानी सुरक्षित हुन्छ । कति कमाउँछ भनेर अहिले भन्न सकिँदैन,’ उनले भनिन् । दीपा निर्देशित यही समूहको यस अगाडिका फिल्मले २२ करोडसम्म कमाएको रेकर्ड छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा
-
विधानसभा निर्वाचन : महाराष्ट्रमा भाजपाले खाता खोल्यो
-
नवलपरासी जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय
-
प्रधानमन्त्री ओलीका बुबा अस्पताल भर्ना
-
यी हुन् सबैभन्दा बढी आयात भएका १० वस्तु