हारको शृङ्खला अन्त्य गर्ने नेपालको लक्ष्य
काठमाडौँ । आईसीसी क्रिकेट विश्वकप लिग–२ प्रतियोगिता प्रतियोगितामा आइतबार नेपालले क्यानडासँग उसैको घरेलु मैदानमा प्रतिस्पर्धा गर्दैछ । नेपाल र क्यानडाबिचको खेल नेपाली समय अनुसार, राति २०ः४५ बजे सुरु हुनेछ ।
जारी शृङ्खलामा नेपालले खेल्न लागेको यो तेस्रो खेल हो । यसअघि खेलिएको दुवै खेलमा नेपाली टोली पराजित भएको थियो । नेपाली टोली आफ्नो पहिलो खेलमा क्यानडासँग एक सय तीन रनको फराकिलो अन्तरले पराजित भएको थियो ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर दुई सय ५३ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले ४०.१ ओभरमै अलआउट हुनुअघि एक सय ५० रनमात्र बनाउन सकेको थियो ।
क्यानडाविरुद्धको खेलमा नेपालको बलिङ र ब्याटिङ दुवै कमजोर देखिएको थियो । ब्याटिङ त झनै निराशाजनक थियो । नेपालका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेका थिएनन् । केवल ५१ रनको कुल स्कोरमा नेपालले आफ्ना चार प्रभावशाली विकेट गुमाइसकेको थियो ।
ओपनर कुशल भुर्तेल एक रनमै पभेलियन फर्किएका थिए भने अर्का ओपनर आसिफ शेख पनि २० रनभन्दा अगाडि बढ्न सकेनन् । नेपालका लागि तल्लो क्रमका ब्याट्सम्यान करण केसी र सन्दीप लामिछानेले मात्र २० भन्दा बढी रन बनाउन सकेका थिए ।
करणले २७ र सन्दीपले २२ रन बटुलेका थिए । कप्तान रोहित पौडेल पाँच रनमै पभेलियन फर्किएका थिए । तेस्रो नम्बरका ब्याट्सम्यान भीम सार्की पनि १८ रन बनाउँदै आउट भएका थिए । नेपालका चार ब्याट्सम्यान बाहेक अन्य ब्याट्सम्यानले बनाएको रन त क्यानडाले अतिरिक्त रूपमा दिएको रनभन्दा पनि कम थियो । नेपालले अतिरिक्त रूपमा १६ रन पाएको थियो ।
यसै गरी, नेपाली टोली आफ्नो दोस्रो खेलमा ओमानसँग एक विकेटले पराजित भएको थियो । उक्त खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ओभरमा नौ विकेट गुमाएर दुई सय २० रन बनाएको थियो । जवाफमा ओमानले ४९.५ ओभरमा नौ विकेट गुमाएर विजय लक्ष्य पुरा गरेको थियो ।
नेपालका लागि कप्तान रोहित पौडेलले ६० र गुल्सन झाले ५३ रनको योगदान गरेका थिए । आरिफ शेखले पनि ३५ रन जोडेका थिए । अन्य ब्याट्सम्यानको प्रदर्शन भने सन्तोषजनक रहेन । ओपनर अर्जुन साउद पाँच र आसिफ शेख ११ रनमा आउट भएका थिए । बलिङतर्फ गुल्सन झा एक्लैले पाँच विकेट लिएका थिए । करण केसीले दुई तथा सन्दीप लामिछाने र आरिफ शेखले एक–एक विकेट लिएका थिए ।
लिग–२ प्रतियोगिता एकदिवसीय ढाँचामा खेलाइन्छ । नेपाल र क्यानडाबिच हालसम्म चारवटा एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलिएको छ । चारमध्ये तीन खेलमा नेपालले क्यानडालाई हराएको छ । तीनवटै खेलमा नेपालले घरेलु मैदानमा क्यानडालाई हराएको हो । एक खेलमा भने क्यानडाले नेपाललाई हराएको छ । त्यो हार नेपाली टोलीले यही शृङ्खलामा भागेको हो ।
यसै वर्षको फेब्रुअरी ८ तारिखमा खेलिएको पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा नेपाली टोलीले क्यानडालाई सात रनले हराएको थियो । नेपाली टोली फेब्रुअरी १० तारिखमा खेलिएको दोस्रो खेलमा चार विकेट र फेब्रुअरी १२ मा खेलिएको तेस्रो खेलमा नौ विकेटले विजयी भएको थियो ।
लिग–२ को दोस्रो संस्करणअन्तर्गत खेलिएको यो छैटौँ शृङ्खला हो । जारी लिग–२ प्रतियोगितामा नेपालले खेलेको भने यो दोस्रो शृङ्खला हो । जारी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको पहिलो शृङ्खला नेपालमै खेलिएको थियो । त्यो त्रिकोणात्मक शृङ्खलामा नेपाल, नामिबिया र नेदरल्यान्ड्स सहभागी थिए ।
आफ्नो पहिलो शृङ्खलामा पनि नेपालको प्रदर्शन निराशाजनक थियो । उक्त शृङ्खलामा नेपाली टोली आफूले खेलेको चारमध्ये तीन खेलमा पराजित भएको थियो । यसपटक नेपाली टोलीले क्यानडा भ्रमणका क्रममा कुल चारवटा एकदिवसीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नेछ ।
नेपालले आफ्नो चौथो तथा अन्तिम खेल मंगलबार ओमानसँग खेल्नेछ । एकदिवसीय शृङ्खला सकिएलगत्तै क्यानडामै त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि खेलिने छ । टी–२० शृङ्खलामा पनि यी तीन राष्ट्र नै सहभागी हुनेछन् ।
लिग–२ अन्तर्गतको प्रत्येक शृङ्खला सकिएलगत्तै त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय शृङ्खला खेलिने परम्परा रहँदै आएको छ । सोही अनुरूप, पहिलो टी–२० खेल सेप्टेम्बर २८ तारिखमा नेपालविरुद्ध क्यानडाबिच खेलिने छ । दोस्रो टी–२० सेप्टेम्बर २९ मा नेपालविरुद्ध ओमानबिच हुनेछ । सेप्टेम्बर ३० मा क्यानडा र ओमानबिच तेस्रो टी–२० खेलिने छ ।
चौथो खेल अक्टोबर १ मा नेपाल र क्यानडाबिच, पाँचौँ खेल अक्टोबर २ मा नेपाल र ओमानबिच तथा छैटौँ टी–२० अन्तर्राष्ट्रिय अक्टोबर ३ तारिखमा क्यानडा र ओमानबिच खेलिने छ । क्यानडा भ्रमणपछि नेपाली टोली लिग–२ अन्तर्गतको आफ्नो तेस्रो शृङ्खला खेल्न अमेरिका प्रस्थान गर्नेछ ।
अमेरिका भ्रमणका क्रममा पनि नेपाली टोलीले लिग–२ अन्तर्गत आयोजक राष्ट्र र स्कटल्यान्डसँग दुई–दुई खेल खेल्नेछ । लिग–२ शृङ्खलाको समाप्तिपछि अमेरिकामै तीन राष्ट्रबिच टी–२० अन्तर्राष्ट्रिय शृङ्खला पनि खेलिने छ ।
जारी लिग–२ प्रतियोगितामा आठ टोली सहभागी छन् । यसअघि लिग–२ को पहिलो संस्करणमा सात टोली मात्र सहभागी थिए । अघिल्लो संस्करणको आईसीसी क्रिकेट वर्ल्ड कप सुपर लिग अङ्क तालिकामा सबैभन्दा तल (१३औँ स्थानमा) रहेको राष्ट्र नेदरल्यान्ड्सलाई पनि यसपटक लिग–२ मा समावेश गरिएको हो । लिग–२ तालिकामा अहिले नेदरल्यान्ड्स नै पहिलो स्थानमा आसीन छ ।
नेदरल्यान्ड्सले हालसम्म आफूले खेलेको आठमध्ये ६ खेलमा जित र दुई खेलमा हारको नतिजाबाट १२ अङ्क जोडेको छ । १० खेल खेलेको क्यानडा ६ जित र चार हारबाट १२ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा आसीन छ । सात खेल खेलेको स्कटल्यान्ड नौ अङ्कसहित तालिकाको तेस्रो स्थानमा छ ।
यसै गरी, ६ खेल खेलेको अमेरिका चार जित र दुई हारबाट आठ अङ्क बटुल्दै तालिकाको चौथो स्थानमा रहेको छ । १० खेल खेलेको नामिबिया आठ अङ्कसहित पाँचौँ स्थानमा छ । ६ खेल खेलेको ओमान पाँच अङ्कसहित छैटौँ स्थानमा छ । ६ खेल खेलेको नेपाल एक जित र पाँच हारबाट दुई अङ्क जोड्दै सातौँ र पाँच खेल सकेको संयुक्त अरब इमिरेट्स (यूएई) दुई अङ्कसहित आठौँ स्थानमा आसीन छन् ।
लिग–२ प्रतियोगिता सहभागी टोलीहरूका लागि निकै महत्त्वपूर्ण छ । यो प्रतियोगिता सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपका लागि छनोटको आधारका रूपमा पनि रहेको छ । सन् २०२७ को एकदिवसीय विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा संयुक्त रूपमा आयोजना हुँदैछ ।
लिग–२ प्रतियोगिताको समाप्तिपछि अङ्क तालिकाको माथिल्लो चार स्थानमा रहने राष्ट्र सिधै सन् २०२७ मा आयोजना हुने एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछन् । लिग–२ तालिकाको अन्तिम चार स्थानमा रहने राष्ट्रले भने विश्वकप क्वालिफायरको प्ले–अफ चरण खेल्नु पर्नेछ ।
यसका अतिरिक्त, अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)बाट सन् २०१८ मा प्राप्त एकदिवसीय मान्तयता जोगाउन पनि यो प्रतियोगिताको भूमिका रहन्छ । हाल आईसीसीबाट अस्थायी रूपमा एकदिवसीय मान्यता पाएका नेपालसहितका एसोसिएट्स सदस्य राष्ट्रको उक्त मान्यता सन् २०२६ को विश्वकप छनोटसम्म कायम रहने छ । यो सूचिमा स्कटल्यान्ड, यूएई, नेदरल्यान्ड्स, नामिबिया, ओमान, अमेरिका र क्यानडा पनि रहेका छन् ।
त्यसैले यसपटक पनि लिग–२ प्रतियोगिता निकै महत्त्वपूर्ण रहेको छ । यसपटक लिग–२ तालिकाको माथिल्लो चारभित्र पर्न सके नेपाल सिधै विश्वकपको छनोट चरणमा प्रवेश गर्नेछ । अन्यथा नेपालले छनोट चरणमा प्रवेश गर्न प्ले–अफ खेल्नु पर्नेछ ।
लिग–२ अन्तर्गत क्यानडा र अमेरिकामा हुने त्रिकोणात्मक शृङ्खलाका लागि नेपाल क्रिकेट संघ (क्यान) द्वारा घोषित नेपाली टोलीमा रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन कुमार झा, रिजन ढकाल, सन्दीप लामिछाने र ललित राजवंशी रहेका छन् ।
देब खनाल पनि रिजर्भ खेलाडीका रूपमा क्यानडा प्रस्थान गरेका छन् । नेपाली टोलीको प्रशिक्षकमा मोन्टी देसाई रहेका छन् । लामो समय राष्ट्रिय टोलीका प्रमुख प्रशिक्षक रहेका जगत टमाटालाई पनि कन्सल्टेन्ट प्रशिक्षकका रूपमा टोलीमा समावेश गरिएको छ । नेपालले सन् २०१८ मा एकदिवसीय मान्यता पाउँदा जगत नै टोलीका प्रमुख प्रशिक्षक थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री विद्या भट्टराईले ६ महिनामा के–के गरिन् ?
-
दुर्गा प्रसाईंले बुझाए धरौटी, सहयोगीले बुझाउन सकेनन्
-
कास्कीबाट छुटेसँगै रवि लामिछाने थुनामुक्त हुन्छन् कि हुँदैनन् ? के हुन्छ अब ?
-
माघ १ गतेदेखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
-
कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने
-
रवि लामिछानेलाई पोखराबाटै रिहा गरिँदै