पहिलो टेस्टमा भारतले सजिलै हरायो बंगलादेशलाई
काठमाडौँ । घरेलु टोली भारतले पहिलो टेस्ट क्रिकेटमा बंगलादेशलाई दुई सय ८० रनको फराकिलो अन्तरले हराएको छ । पाँच सय १५ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओर्लिएको भ्रमणकारी टोली बंगलादेश पहिलो टेस्टको चौथो दिन आइतबार केवल दुई सय ३४ रनमा अलआउट भयो ।
दोस्रो पालीमा पनि बंगलादेशी ब्याट्सम्यानले गतिलो प्रदर्शन गर्न सकेनन् । कप्तान नजमुल होसैन सान्टोवाहेक अन्य ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । कप्तान सान्टोले सर्वाधिक ८२ रन बनाए । उनले एक सय २७ बलको सामना गरी तीन छक्का र आठ चौका हिर्काएका थिए ।
ओपनर ब्याट्सम्यान सादमन इस्लाम ३५ र जाकिर हसन ३३ रनमा आउट भए । मोमिनुल हक र मुसफिकर रहिम १३–१३ रनमा पेभेलियन फर्किए । सकिब अल हसनले २५ रन बनाए । दोस्रो पालीमा बंगलादेशका अन्य ब्याट्सम्यानले दोहोरो सँख्यामा रन बटुल्न सकेनन् ।
दोस्रो पालीमा भारतीय टोलीका बलर रविचन्द्रन आश्विन एक्लैले ६ विकेट लिए । रविन्द्र जडेजाले तीन र जसप्रित बुमराहले एक विकेट हात पारे । त्यसअघि भारतले चार विकेटको नोक्सानीमा दुई सय ८७ रन बनाउँदै आफ्नो दोस्रो पाली समाप्तिको घोषणा गरेको थियो ।
भारतका लागि दोस्रो पालीमा सुभमन गिलले सतकीय पाली खेलेका थिए । उनले अविजित एक सय १९ रन बनाए । उनले एक सय ७६ बलको सामना गरी चार छक्का र १० वटा चौका पनि हिर्काएका थिए । रिसव पन्तले पनि दोस्रो पालीमा सतक बनाएका थिए । उनले एक सय २८ बलको सामना गरी चार छक्का र १३ चौकाको मद्दतले एक सय नौ रन बनाएका थिए ।
दोस्रो पालीमा बंगलादेशी बलर मेहदी हसन मिराजले दुई तथा तास्किन अहमद र नाहिद राणाले एक–एक विकेट लिएका थिए । त्यसअघि बंगलादेशी टोली आफ्नो पहिलो पालीमा केवल एक सय ४९ रन बनाउँदै अलआउट भएको थियो ।
पहिलो पालीमा ४७.१ ओभरमै बंगलादेशका सम्पूर्ण ब्याट्सम्यान पेभेलियन फर्किएका थिए । पहिलो पालीमा भारतले बंगलादेशसँग दुई सय २७ रनको अग्रता हासिल गरेको थियो । बंगलादेशले केवल ४० रनको कुल स्कोरमा पाँच प्रभावशाली विकेट गुमाएको थियो ।
ओपनर सादमन इस्लाम दुई र अर्का ओपनर जाकिर हसन तीन रनमै आउट भएका थिए । कप्तान नजमुल होसैन सान्टो पनि २० रनभन्दा अगाडि बढ्न सकेका थिएनन् । मोमिनुल हक शून्य रनमै पेभेलियन फर्किए भने मुसफिकर रहिम पनि आठ रनभन्दा अगाडि बढ्न सकेनन् ।
छैटौँ नम्बरमा क्रिज समाल्न आएका सकिब अल हसनले ३२ रन बनाए । सातौँ नम्बरका ब्याट्सम्यान लिटन दास २२ रनमा आउट भए । हसन महमुद पनि नौ रनमा आउट भएका थिए । मेहदी हसन मिराजले अविजित २७ रन बनाएका थिए । तास्किन अहमद र नाहिद राणाले ११–११ रन जोडे । बंगलादेशको पहिलो पालीमा भारतीय टोलीका बलर जसप्रित बुमराहले चार विकेट हात पारेका थिए । उनले ११ ओभरमा एक मेडन राख्दै ५० रन खर्चिएका थिए । मोहम्मद सिराज, आकाश दीप र रविन्द्र जडेजाले पनि दुई–दुई विकेट लिएका थिए ।
भारतीय टोली आफ्नो पहिलो पालीमा तीन सय ७६ रन बनाउँदै अलआउट भएको थियो । चेन्नईमा जारी पहिलो टेस्टमा भारतले टस हारी पहिले ब्याटिङको निम्तो पाएको थियो । भारतका लागि पहिलो पालीमा रविचन्द्रन आश्विनले सतकीय तथा रविन्द्र जडेजा र यशस्वी जैसवालले अर्धसतकीय पाली खेलेका थिए ।
आविश्वनले एक सय १३ रनको योगदान गरेका थिए । आश्विनले एक सय ३३ बलको सामना गरी दुई छक्का र ११ चौका हिर्काएका थिए । आश्विनले एक सय दुई रनको स्थितिबाट शुक्रबारको खेल अगाडि बढाएका थिए । ३८ वर्षीय आश्विनले टेस्ट क्रिकेटमा बनाएको यो छैटौँ सतक हो ।
टोली अप्ठ्यारो स्थितिमा रहँदा आश्विन र जडेजाले महत्वपूर्ण साझेदारी गरेका थिए । जडेजाले ८६ रन बटुलेका थिए । उनले एक सय २४ बलको सामना गरी दुई छक्का र १० चौका हिर्काएका थिए । अघिल्लो दिनको खेल सकिँदा पनि जडेजा ८६ रनमै अविजित थिए । दोस्रो दिन उनले सात बलको सामना गरे पनि रन भने थप्न सकेनन् । ३५ वर्षीय जडेजाले टेस्टमा बनाएको २१औँ अर्धसतक हो ।
ओपनर ब्याट्सम्यान जैसवालले पनि ५६ रन बनाएका थिए । उनले लामो समय क्रिजमा टिकेर एक सय १८ बलको सामना गरी नौ चौका हिर्काएका थिए । २२ वर्षीय जैसवालले टेस्ट क्रिकेटमा बनाएको यो पाँचौँ अर्धशतक हो ।
भारतले पहिलो पालीमा निराशाजनक सुरुवात गरेको थियो । भारतले खेलको प्रारम्भमै तीन विकेट गुमाएको थियो । टोलीको कुल स्कोर केवल ३४ रन रहँदा भारत तीन विकेट गुमाएको हो । कप्तान रोहित शर्मा ६ रनको ब्यक्तिगत स्कोरमा पहिलो विकेटका रुपमा पेभेलियन फर्किएका थिए ।
त्यसलगत्तै शुभमन गिल पनि पेभेलियन फर्किएका थिए । उनले त खातासम्म खोल्न सकेनन् । तेस्रो विकेटका रुपमा विराट कोहली पनि केवल ६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले पनि टोलीको खातामा ३९ रनमात्र थपेका थिए ।
केएल राहुल १६ रनमै आउट भएका थिए । छैटौँ विकेटका रुपमा केएल राहुल पेभेलियन फर्किँदा भारतको कुल स्कोर एक सय ४४ रन रहेको थियो । त्यसपछि सातौँ नम्बरका ब्याट्सम्यान रविन्द्र जडेजा र आठौँ नम्बरका ब्याट्सम्यान रविचन्द्रन आश्विनले टोलीको स्कोरलाई तीन सय ४३ रनको बलियो स्थितिसम्म पुर्याएका थिए ।
बंगलादेशका बलर हसन महमुदले पाँच विकेट लिए । उनले २२.२ ओभरमा चार मेडनसहित ८३ रन खर्चिएका थिए । तास्किन अहमदले पनि तीन विकेट हात पारे । नाहिद राणा र मेहदी हसन मिराजले पनि एक–एक विकेट लिए । भारतीय टोली पहिलो पालीमा ९१.२ ओभरमा अलआउट भएको हो ।
बंगलादेशविरुद्धको पहिलो टेस्टमार्फत नै भारतीय बलर जसप्रित बुमराहले अन्तर्राष्ट्रिय क्रिकेटमा चार सय विकेटको कोशेढुंगा पनि पुरा गरेका छन् । उनी अन्तर्राष्ट्रिय क्रिकेटमा भारतका लागि चार सय विकेट लिने १०औँ बलर बनेका छन् ।
बुमराहले भारतीय टोलीका पूर्वबलर हरभजन सिंहलाई पनि पछि पारेका छन् । बुमराहले दुई सय २७ पालीमा चार सय विकेट लिएका हुन् । हरभजनले भने दुई सय ३७ पालीमा चार सय विकेटको कोशेढुंगा पुरा गरेका थिए ।
सबैभन्दा कम पालीमा चार सय विकेट लिने भारतीय बलर भने रविचन्द्रन आश्विन हुन् । उनले केवल दुई सय १६ पालीमा चार सय विकेट पुरा गरेका थिए । आफ्नो समयका प्रभावशाली अलराउन्डर कपिल देबले पनि दुई सय २० पालीमा चार सय विकेट पुरा गरेका थिए ।
भारतका लागि सर्वाधिक विकेट लिने बलरको सूचिमा बुमराह छैटौँ नम्बरमा छन् । यो सूचिमा कपिल देब सबैभन्दा माथि छन् । उनले आफ्नो सक्रिय खेलजीवनमा कुल ६ सय ८७ विकेट लिएका थिए ।
दोस्रो स्थानमा रहेका जहिर खानले ६ सय १० र जवागल श्रीनाथले पाँच सय ५१ विकेट लिएका छन् । रविचन्द्रन आश्विन प्लेयर अफ दि म्याच घोषित भए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
युनाइटेड एयरलाइन्सको विमानमा युवकको शव फेला
-
विराट कोहली जब जानिजानी अस्ट्रेलियन युवा ब्याट्सम्यानसँग ठोक्किन पुगे !
-
ताइवानमा राष्ट्रपतिका पूर्वउमेदवारमाथि भ्रष्टाचार अभियोग
-
त्रिभुवन विश्वविद्यालयको ५०औँ दीक्षान्त समारोहमा १४ हजार ३ सय विद्यार्थी सहभागी हुँदै
-
स्वास्थ्य सेवा सुधारका निम्ति प्रयत्न थाली सेकेका छौँ: स्वास्थ्य मन्त्री पौडेल
-
आज बढ्यो सुनको मूल्य, कतिमा भइरहेछ कारोबार ?