मानव–वन्यजन्तु द्वन्द्व घटाउने योजना तयार पार्दै लुम्बिनी
लुम्बिनी । लुम्बिनी प्रदेश सरकारले मानव–वन्यजन्तु द्वन्द्व घटाउने योजनाका कामलाई अघि बढाएको छ । प्रदेश सरकारले मानव–वन्यजन्तु द्वन्द्व घटाउने उद्देश्यले वन्यजन्तुको सुरक्षित बासस्थान, आहारा प्रजातिको व्यवस्थापन, पानीको मुहान तथा सिमसार संरक्षण, वनभित्र संरक्षण पोखरी निर्माण लगायतका योजनाका काम गरेको छ । सरकारले गत आर्थिक वर्षमा ३१ वटा पानी मुहान तथा सिमसार क्षेत्रको संरक्षण गरिएको र १३ वटा नयाँ संरक्षण पोखरी निर्माण सम्पन्न गरेको छ ।
वन्यजन्तुको बासस्थान नासिने, आहाराको अभाव हुँदा र पानीका मूलहरू सुक्दा वन्यजन्तु मानव बस्तीतर्फ पस्न थालेको विभिन्न अध्ययनले देखाएको छ । वन्यजन्तुको सुरक्षित बासस्थान, आहारा र पानीको स्रोत सुनिश्चित गर्न प्रदेश सरकारले योजनाबद्ध काम गरिरहेको वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले बताए । वन्यजन्तुको बासस्थान सुधारका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम गरिरहेको सचिव काफ्लेले बताए ।
लुम्बिनी प्रदेशमा मानव वन्यजन्तु द्वन्द्वका कारण गत आव २०८०–८१ मा पाँच जनाको मृत्यु भएको र आठजना घाइते भएको वन तथा वातावरण मन्त्रालयले जनाएको छ । बर्दिया जिल्लामा मात्र चार महिला तथा एक बालक गरी पाँच जनाको मृत्य भएको थियो ।
एक वर्षमा भेडा–बाख्रा २१७, गाई–भैँसी ३१, बङ्गुर ४५, हाँस–कुखुरा १८१ वटाको मृत्यु भएको छ भने स्याल, चितुवा, वनबिरालो, नीलगाई, अजिङ्गर, बँदेल, बाँदर गरी ४१ वटा वन्यजन्तुको पनि मृत्यु भएको छ । १४ वटा चितुवा र मृगसमेत घाइते भएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य मानव वन्यजन्तुको द्वन्द्व न्यूनीकरण गर्न वन्यजन्तुमैत्री पूर्वाधर निर्माण आवश्यक भएकाले सबै पक्ष संवेदनशील हुनुपर्ने बताउँछन् । पछिल्लो समय मानव वन्यजन्तु द्वन्द्वका घटना बढेका छन् । लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा अहिले पनि मानव वन्यजन्तु द्वन्द्वका घटनाहरूले चिन्तित बनाउँदै लगेको छ ।
प्रदेश सरकारले मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरणका उपायहरू खोजेर त्यसमा प्राथमिकता निर्धारण गर्न अपिल गरेको छ । सरकारी निकायको प्रयासले मात्र मानव वन्यजन्तुको द्वन्द्व समाधान गर्न नसकिने भन्दै यसमा सबै निकाय बीचमा सहकार्य हुनुपर्नेमा मुख्यमन्त्री आचार्यले जोड दिए ।
वनभित्र वन्यजन्तुको आहारा व्यवस्थापनदेखि पानीको स्रोत वृद्धिमा योजना निर्माण गरेर काम थालिएको छ । “पुराना पानीका मूलहरू सुके । ती मूलहरूका संरक्षण गरेर फेरि पानी चल्ने बनाउनुपर्छ । सरकारले संरक्षण पोखरीसँगै पुराना पानीको मूल संरक्षण गरेर बचाउन कार्यक्रम बनाएको छ”, उनले भने, “वातावरणमा आउने असन्तुलनले मानव जीवन र पर्यावरणमा कस्तो असर पर्छ सबैलाई महसुस भएको विषय हो । वन, वातावरण, जैविक विविधताको संरक्षणबाट सबैको अस्तित्व बचाउन सक्छौँ ।”