शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
विचार

नेपालमा नयाँ शक्तिको उदय सम्भव छ ?

शनिबार, ०५ असोज २०८१, १९ : १७
शनिबार, ०५ असोज २०८१

लोसपा नेपालबाट अलग भएर राष्ट्रिय मुक्ति क्रान्ति अभियानको संयोजन गर्दै आएका राजेन्द्र महतोले ६ महिनापछि विधिवत रूपमा नयाँ पार्टीको घोषणा गरेका छन् । मंगलबार सो अभियानको विस्तारित बैठकले विधिवत रूपमा नयाँ पार्टी (राष्ट्रिय मुक्ति क्रान्ति नेपाल) को घोषणा गरेको हो ।

महतोले कात्तिक पहिलो साता सो पार्टीलाई निर्वाचन आयोगमा दर्ता गराउने तयारी गरेका छन् । यो पार्टीसँगै आयोगमा दर्ता हुने पार्टीको संख्या १२० पुग्नेछ । 

पछिल्ला वर्ष नेपालमा क्षेत्रीय (विशेषगरी तराई मधेसमा) र केही राष्ट्रिय पार्टी निर्माणको शृंखला अघि बढेको छ । जनमत पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी यसका उदाहरण हुन् । त्यति मात्र होइन, पछिल्ला निर्वाचनमा स्वतन्त्र उम्मेदवारका रुपमा लोकप्रिय मतसहित स्थानीय सरकारको नेतृत्वमा पुगेका कतिपयले समेत पार्टी निर्माण गर्ने चर्चा सुनिन थालेका छन् । 

नेपाली कम्युनिस्ट आन्दोलनमा देखापरेको फुटको शृंखलाबाट समेत स–साना पार्टीहरू निर्माण हुने प्रक्रिया चलेकै छन् । प्रजातान्त्रिक धारमा पनि त्यस्तै देखिन्छ । यस्ता पार्टीमध्ये कतिपयले निर्वाचनमा भाग लिएर केही सिट जिते पनि कतिपय पार्टी नाम मात्रका छन् । 

पछिल्लो समय हामीकहाँ कांग्रेस, एमाले र माओवादीबिच सैद्धान्तिक टकराब (अस्तित्व) देखिन्छ । यद्यपि यी तिनै दलसँग अब ‘आफ्नो सिद्धान्त’ नरहेको टिप्पणी हुन थालेका छन् । यसको अर्थ प्रजातान्त्रिक र प्रगतिशील विचारधारा उस्तै–उस्तै देखिन थालेको भ्रम जनतामा पर्न थालेको छ । यसबाट पनि ठुला राजनीतिक दलहरूमा सैद्धान्तिक खडेरी पर्दै गएको स्पष्ट हुन्छ ।


२००७ र २०४६ सालको परिवर्तन, माओवादी जनयुद्ध, ०६२/६३ को परिवर्तन हुँदै मुलुक आज लोकतान्त्रिक गणतन्त्रको बाटोमा हिँडिरहेको छ । योबिचमा पार्टीहरू जन्मिने क्रम झन्झन् बढिरहेको छ । परिवर्तनका संवाहक कांग्रेस, एमाले र माओवादी पार्टीको नेतृत्वको कमजोरीले समेत नयाँ दलहरू जन्मिने क्रम बढेको छ । यद्यपि, बहुदलीय प्रतिस्पर्धा भएको मुलुकमा नयाँ नयाँ दल आउनु स्वाभाविक प्रक्रिया हो ।

यतिखेर कांग्रेस (८८ सिट), एमाले (७९), माओवादी केन्द्र (३२), राष्ट्रिय स्वतन्त्र पार्टी (२१), राष्ट्रिय प्रजातन्त्र पार्टी (१४ सिट) राष्ट्रिय पार्टीका रूपमा छन् ।

नयाँ राजनीतिक दलहरू थपिँदा मुलुकलाई घाटा वा नाफा के भइरहेको छ ? त्यसको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक प्रभाव मात्रै होइन जनताको मनोविज्ञान कसरी विकास भैरहेको छ भन्ने कुरा पनि सोचनीय विषय भएको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

देशमा सयौँ दल आवश्यक छ ? सबैभन्दा बढी जनमत पाएका कांग्रेस, एमाले, माओवादी केन्द्र लगायत दलले कहाँनेर कमजोरी गरे र वैकल्पिक शक्ति चाहियो ? के आधा दर्जनभन्दा बढी दलले अघि सारेका राजनीतिक कार्यक्रम बिस्तारै असफल हुँदै गएका हुन् ? प्रश्न सतहमा आउन थालेका छन् । यही प्रश्नको घेराबाट हेर्दा २०८४ को निर्वाचनमा कुन दलको अस्तित्व के हुन्छ भन्ने आकलन अहिल्यै गर्दा छिटो हुने देखिन्छ । तर उनीहरूको राजनीतिक कार्यक्रमले सो निर्वाचनमार्फत आउने परिणाम प्रभावित हुने निश्चित छ । 

२०७९ सालको स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकामा बालेन शाह, धरानमा हर्क साङपाङ, धनगढी उपमहानगरपालिकामा गोपाल हमालले स्वतन्त्र रूपमा चुनाव जिते । उक्त चुनावी परिणामले जनमत कता जाँदै छ भन्ने संकेत दिन थालेको एकथरी राजनीतिक विश्लेषकहरूको टिप्पणी छ । यद्यपि, स्वतन्त्र रूपमा चुनाव जित्ने नेताहरूको राजनीतिक भविष्य पनि एक कार्यकाल हेरेर समीक्षा गर्नुपर्ने मत बढी देखिन्छ ।

  • सैद्धान्तिक स्खलन

नेपालको राजनीतिक इतिहासलाई नियाल्दा सुरुदेखि नै कम्युनिस्ट विचारधाराको नेतृत्व तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (अहिले विभिन्न पार्टीमा विभाजित) र प्रजातान्त्रिक विचारधाराको नेतृत्व नेपाली कांग्रेसले गर्दै आएको छ । 

कांग्रेसका संस्थापक नेता विश्वेश्वरप्रसाद (बीपी) कोइराला भारतीय स्वतन्त्रता संग्राममा सहभागी भएका थिए । उनले आफ्नो पार्टीको सैद्धान्तिक दृष्टिकोणलाई त्यसबेला विश्वभर भएका जागरण अभियानसँग जोडेर लगेका थिए । तर अहिले नेपाली कांग्रेसमा सैद्धान्तिक विचलन आएका टिप्पणी हुन थालेका छन् । सो पार्टी बीपीको राजनीतिक सिद्धान्त र परिकल्पनाभन्दा बाहिर गएको बहस हुन थालेका छन् । 

पुष्पलाल श्रेष्ठको नेतृत्वमा स्थापना भएको कम्युनिस्ट पार्टी रुस लगायत देशमा भएका कम्युनिस्ट आन्दोलनबाट प्रभावित थियो । बिस्तारै नेपाली कम्युनिस्ट धारमा रुस, चीन लगायत देशमा चलेका सर्वहारावादी क्रान्तिलाई कसरी हेर्ने भन्ने विषयमा मतभेद देखिँदै गयो । सोही कारण अहिलेसम्म कम्युनिस्ट पार्टीमा चिरा पर्ने क्रम जारी छ । केही वर्षअघि (नेकपा स्थापना भएका बेला) नेपालमा चिनियाँ कम्युनिस्ट पार्टीका तर्फबाट भएको स्कुलिङ त्यसैको उदाहरण हो । 

नेपालमा कम्युनिस्ट पार्टीहरूमा सैद्धान्तिक खडेरी परेको देखिन थालेको छ । नेपालको कम्युनिस्ट धारले सामरिक विश्वमा सफलतापूर्वक प्रयोग भइरहेका समाजवादी अभ्यासहरूबाट सिक्न थालेको छ । नेकपा एमाले र नेकपा माओेवादी केन्द्रले एउटै पार्टी निर्माणको अभ्यास गर्नु पनि त्यसको ज्वलन्त उदाहरण हो । मार्क्सवादलाई आधार बनाएर विश्वभर कस्ता कस्ता अभ्यास भइरहेका छन् भन्ने विषयमा ती पार्टीले अध्ययन गरिरहेका छन् । 

चीनमा राष्ट्रपति सी जिनपिङको नेतृत्वमा ‘चिनियाँ विशेषताको समाजवाद’को प्रयोग भइरहेको छ । नेपालमा पनि ‘नेपाली विशेषता’को समाजवादको बहस हुन थालेको छ ।

पछिल्लो समय हामीकहाँ कांग्रेस, एमाले र माओवादीबिच सैद्धान्तिक टकराब (अस्तित्वको) देखिन्छ । यद्यपि यी तिनै दलसँग अब ‘आफ्नो सिद्धान्त’ नरहेको टिप्पणी हुन थालेका छन् । यसको अर्थ प्रजातान्त्रिक र प्रगतिशील विचारधारा उस्तै–उस्तै देखिन थालेको भ्रम जनतामा पर्न थालेको छ । यसबाट पनि ठुला राजनीतिक दलहरूमा सैद्धान्तिक खडेरी पर्दै गएको स्पष्ट हुन्छ ।

पछिल्लो समय जन्मिएका केही नयाँ दलले ‘भाषण’मा सतही रूपमा जनताका मुद्दा उठाए पनि ती दलको राजनीतिक सिद्धान्त र विश्वदृष्टिकोण के हो भन्ने प्रश्न छ । सिके राउत नेतृत्वको जनमत पार्टीले ‘नौलो गणतन्त्र’ भनेको छ । ‘नौलो गणतन्त्र’ भनेको के हो ? र अन्य कम्युनिस्ट पार्टीले लिएको सैद्धान्तिक बाटोभन्दा यो कुन अर्थमा फरक छ भन्ने छुट्टयाउन सकिने स्थिति छैन । 

त्यस्तै रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीको समेत स्पष्ट विश्व दृष्टिकोण देखिँदैन । २०७९ असार ७ गते स्थापना भएको रास्वपा संवैधानिक समाजवाद र सहभागितामूलक लोकतन्त्रको पक्षमा रहेको बताइए पनि विश्वभर चलेका प्रतिनिधिमूलक दुई विचारधारा (पुँजीवाद र समाजवाद)को पक्ष र विपक्षमा देखिएको छैन । त्यस्तै विवेकशील साझा पार्टीको अस्तित्व संकट पनि यसको ज्वलन्त उदाहरण हो । अन्य साना दलमा पनि यो समस्या देखिन्छ ।  

  • वर्तमान विश्वमा दलीय अभ्यास 

त्यसो त बहुदलीय लोकतान्त्रिक अभ्यास भएका देशमध्ये हामीकहाँ मात्रै दलको संख्या बढी भएको होइन । भारत, चीन, पाकिस्तान, श्रीलंका, बंगलादेश, अमेरिका, बेलायत र युरोपेली मुलुकहरूमा पनि दलहरूको संख्या दुई वा दुई भन्दा बढी नै देखिन्छ । यद्यपि यी देशमा पनि सीमित राजनीतिक दलले सत्ताको नेतृत्व गरेको देखिन्छ । 

चीनमा एउटा मात्र पार्टी (चिनियाँ कम्युनिस्ट पार्टी– सीपीसी)को नेतृत्वमा सत्ता सञ्चालन भए पनि त्यहाँ अन्य आठवटा दलहरू अस्तित्वमा छन् । चिनियाँ कम्युनिस्ट पार्टी संसारकै सबैभन्दा ठुलो (धेरै सदस्य संख्या) भएको दल हो । सो पार्टीमा ९ करोड ८० लाखभन्दा बढी सदस्य छन् । यही पार्टीले चीनमा सत्ताको नेतृत्व गर्दछ तर अन्य साना दलहरूले नीति निर्माणका लागि सहयोग गर्छन् । चाइना डेमोक्रेटिक पार्टी चीनको दोस्रो ठुलो पार्टी हो । चाइना डेमोक्रेटिक पार्टी लगायत दलहरूले सीपीसीलाई नीति निर्माणका लागि सहयोगीको भूमिका खेलिरहेका छन् ।

त्यस्तै भारतमा पनि निकै ठुलो संख्यामा राजनीतिक दलहरू रहेका छन् । यद्यपि त्यहाँ राष्ट्रिय दलको संख्या ६ वटा मात्र रहेको छ । भारतीय जनता पार्टी, भारतीय राष्ट्रिय कांग्रेस, आम आदमी पार्टी, बहुजन समाजवादी पार्टी, भारतीय कम्युनिस्ट पाटी (मार्क्सवादी) र राष्ट्रिय जनता पार्टीले भारतमा राष्ट्रिय राजनीतिको नेतृत्व गर्छन् । तर ती पार्टीलाई क्षेत्रीय (प्रादेशिक–राज्य) तहका पार्टीले समेत राजनीतिक शक्ति सन्तुलनमा प्रभाव पारिरहेका हुन्छन् । भारतमा ५७ वटा क्षेत्रीय पार्टी (प्रादेशिक–राज्य) अस्तित्वमा रहेका छन् ।

चीनमा एउटा मात्र पार्टी (चिनियाँ कम्युनिस्ट पार्टी– सीपीसी)को नेतृत्वमा सत्ता सञ्चालन भए पनि त्यहाँ अन्य आठवटा दलहरू अस्तित्वमा छन् । चिनियाँ कम्युनिस्ट पार्टी संसारकै सबैभन्दा ठुलो (धेरै सदस्य संख्या) भएको दल हो । सो पार्टीमा ९ करोड ८० लाखभन्दा बढी सदस्य छन् । यही पार्टीले चीनमा सत्ताको नेतृत्व गर्दछ तर अन्य साना दलहरूले नीति निर्माणका लागि सहयोग गर्छन् ।

त्यस्तै बंगलादेशमा पनि राजनीतिक दलको संख्या निकै छ । त्यहाँ सातवटा पार्टी राष्ट्रिय राजनीतिमा देखिएका छन् भने निर्वाचन आयोगमा दर्ता भएका ५३ वटा छन् भने चारवटा पार्टीमाथि प्रतिबन्ध लगाइएको छ । श्रीलंकामा संसदीय गठबन्धनमा रहेका दलको संख्या सात रहेको छ । यस्तै, तमिल प्रगतिशील गठबन्धन, प्रजातान्त्रिक तमिल राष्ट्रिय फ्रन्ट र मुस्लिम राष्ट्रिय गठबन्धनले संसदभित्रै रहेर अर्को गठबन्धन गरेका छन् । त्यहाँ अर्का ११ वटा दलले गठबन्धन बनाएका छन् तर ती निष्क्रिय प्रायः छन् ।

श्रीलंकामा ३१ वटा पार्टी संसद्मा दर्ता भएका छन् । अन्य दर्ता भएका पार्टीको संख्या ५८ रहेको छ । श्रीलंकामा दर्ता नभएका र निस्क्रिय दलहरूको संख्या पनि निकै छ । पाकिस्तानमा १६ वटा राजनीतिक दल संसद्मा प्रतिनिधित्व गर्छन् भने १२ वटा दलले प्रदेशसभामा प्रतिनिधित्व गर्छन् ।

त्यस्तै संसदमा प्रतिनिधित्व नभएका तर प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलको संख्या पाकिस्तानमा ८ रहेको छ । त्यहाँ संसद र राज्यसभा दुवैमा प्रतिनिधित्व नगर्ने दलको संख्या भने ३० रहेको छ । उता विश्वभरका केही मुलुकबाहेक अमेरिका युरोपियन मुलुकहरूमा पनि यहि अभ्यास छ । अमेरिकामा दुई दलबिच राजनीतिक प्रतिस्पर्धा हुने गरेको छ । तर उनीहरूले लिएको विकासको मोडल आ–आफ्नो पार्टीको विचारधाराबाट प्रभावित पार्न खोजिएको देखिन्छ ।

चीन र अमेरिकाको विकास मोडल त्यहाँको राजनीतिक सत्ता (विचारधारा)ले प्रभाव पारिरहेको छ । यद्यपि चीन सन् १९७९ मा देङ सियाओ पिङको नेतृत्व अगाडि आएपछि सुधारवादी अर्थतन्त्र (पुँजीवादकै बाटो) अघि बढिरहेको छ । युरोपमा पनि आफ्नै किसिमका ‘विकास मोडल’ हरूको प्रयोग भैरहेको देख्नि सकिन्छ । 

  • नयाँ शक्तिको बहस

केही हप्ताअघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दलहरूले इतिहासबाट नसिके बंगलादेशको हबिगत बेहोर्नुपर्छ भनेर दिएको अभिव्यक्ति अहिले चर्चामा छ । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले उक्त अभिव्यक्ति कुन प्रसंगमा दिए, स्पष्ट नभए पनि उनको सो अभिव्यक्तिले मुलुकको राजनीति अस्थिर रहेको छ भन्ने स्पष्ट हुन्छ ।

पटक–पटक सरकारको नेतृत्व गरिसकेका नेताहरूले समेत यसरी आक्रोश पोख्नुको अर्थ राजनीतिक संकट गहिरिँदै गएको स्पष्ट हुन्छ । शनिबारै प्रचण्डले माओवादी घटकलाई पुनः एकता प्रक्रियामा आउन आह्वान गरेका छन् । उनले अझै कम्युनिस्ट धारबाट नयाँ शक्ति निर्माण हुन सक्ने बताइरहेका छन् ।

त्यस्तै तत्कालीन नेकपा माओवादीबाट छुट्टिएर नयाँ शक्ति पार्टी हुँदै नेपाल समाजवादी पाटी (नेसपा)को संयोजन गरिरहेका डा.बाबुराम भट्टराईले पनि नयाँ वैकल्पिक शक्ति स्थापनाको रटान छाडेका छैनन् । उनले पनि बंगलादेशमा भएको राजनीतिक उथलपुथलबाट नेपालजस्ता मुलुकको सत्ता नेतृत्वमा बस्नेहरूले पाठ सिक्नुपर्ने बताउँदै आएका छन् ।

पटक–पटक सरकारको नेतृत्व गरिसकेका नेताहरूले समेत यसरी आक्रोश पोख्नुको अर्थ राजनीतिक संकट गहिरिँदै गएको स्पष्ट हुन्छ । शनिबारै प्रचण्डले माओवादी घटकलाई पुनः एकता प्रक्रियामा आउन आह्वान गरेका छन् । उनले अझै कम्युनिस्ट धारबाट नयाँ शक्ति निर्माण हुन सक्ने बताइरहेका छन् ।

केही समयअघिको उनको एक लेखमा भनिएको छ, ‘दक्षिण एसियामा लोकतन्त्रको जग कमजोर भएको छ । यहाँ सामन्तवादी, रुढिवादी, कट्टरपन्थी चिन्तनको वर्चस्व छ । आर्थिक र सामाजिक संरचना रूपान्तरण भएको छैन । केही भित्री तथा बाहिरी शक्तिहरूले धार्मिक जडता र कट्टरपन्थ भित्र्याएर विषयान्तर गर्न खोजिरहेका छन् ।’ 

डा. भट्टराईले श्रीलंकामा पनि त्यहाँको शासक वर्गको अत्याचारका कारण राजनीतिक उथलपुथल आएको बताएका छन् । यद्यपि भट्टराईले थालेको नयाँ वैकल्पिक शक्तिको अभियान र उनको पार्टी भने एउटा समूहको रूपमा सीमित भएको छ ।

के नेपालमा त्यो खालको राजनीतिक परिवर्तन अहिले सम्भव छ । के नयाँ शक्तिको उदय सम्भव छ ? माओवादी धारबाटै छिन्नभिन्न भएर नेकपा गठन गरेका नेत्रविक्रम चन्द, मधेसबाट उदाएका सिके राउत नेतृत्वको जनमत, राजेन्द्र महतो नेतृत्वको पार्टीदेखि रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी समेत नयाँ राजनीतिक शक्तिका रूपमा उदाउने होडबाजीमा देखिन्छन् ।

त्यतिमात्र होइन, राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपाल पनि करिब २० वर्षअघि ढलेको राजसंस्था ब्युँताउने अभियानमा छन् । उनीहरूले पनि ०६२/६३ साल अघि र पछि उदाएका राजनीतिक दलले मुलुकका लागि केही गर्न नसकेको आरोप लगाइरहेका छन् । जनताले भने मुलुक निर्माणका लागि एउटा कुशल नेतृत्व खोजिरहेका छन् । जसरी ली क्वान युले सिंगापुर र देङ स्याओपिङले आधुनिक चीन निर्माणको जग बसालेका थिए । त्यस्तो नेतृत्व नेपाली जनताको चाहना छ ।   

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रंगलाल रिमाल
रंगलाल रिमाल
लेखकबाट थप