प्रेस काउन्सिल नेपालद्वारा विभिन्न पुरस्कार घोषणा
काठमाडौँ । प्रेस काउन्सिल नेपालले आफ्नो ५५ औँ वार्षिक उत्सवका अवसरमा गोपालदास पत्रकारिता पुरस्कारसहित विभिन्न पुरस्कार घोषणा गरेको छ । यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक अखण्ड भण्डारी र नेपाल प्रेस इन्स्टिच्युट (एनपीआई)लाई संयुक्त रूपमा प्रदान गर्ने निर्णय भएको छ ।
तीन दशकदेखि पत्रकारिताका विभिन्न विधामा सक्रिय रही सामाजिक रूपान्तरण र प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षमा निरन्तर लाग्नुभएका पत्रकार भण्डारी र पत्रकारिता प्रशिक्षणमा अग्रणी संस्था एनपीआईलाई यो पुरस्कार प्रदान गरिने भएको हो । यो पुरस्कारको राशि एक लाख ५१ हजार रुपियाँ रहेको छ । पत्रकारिता तथा आमसञ्चार क्षेत्रको अध्ययन, अनुसन्धान, तालिम एवं प्रशिक्षण संस्थालाई गोपालदास पत्रकारिता पुरस्कारमा समावेश गरिएको काउन्सिलको इतिहासमा यो पहिलोपल्ट हो ।
नेपाली पत्रकारिता क्षेत्रमा आजीवन समर्पित भएर पत्रकारिता जगतको संस्थागत विकास र प्रतिष्ठाको निम्ति अद्वितीय योगदान दिनुभएका प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष स्व.गोपालदास श्रेष्ठको योगदानलाई चिरस्मरणीय बनाउन उनको स्मृतिमा यो पुरस्कार २०५७ सालदेखि प्रदान गरिँदै आएको हो । गत वर्ष यो पुरस्कार अग्रज पत्रकार निर्मला शर्मालाई प्रदान गरिएको थियो । शर्मा उक्त पुरस्कार पाउने पहिलो पत्रकार महिला हुन् ।
यस्तै, प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार बर्दिया स्थायी घर भएका अग्रज पत्रकार बद्री सिग्देललाई प्रदान गरिने निर्णय भएको छ । उक्त पुरस्कारको राशि १ लाख १० हजार रुपियाँ रहेको छ । काउन्सिलका संस्थापक अध्यक्ष सुरेन्द्रबहादुर बस्नेतको स्मृतिमा यो पुरस्कार स्थापना भएको थियो । पत्रकार सिग्देलले वि.सं २०४९ सालमा रेडियो नेपालबाट पत्रकारिता सुरु गरेका हुन् । उनले विभिन्न सञ्चारमाध्यममा राजनीति, कानुन, मानवअधिकार, वातावरणीय न्यायजस्ता विषयमा केन्द्रित रही पत्रकारिता गर्दै आएका छन् । उनी हाल अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे)को एसिया प्रशान्त क्षेत्रका कार्यकारी सदस्य समेत हुन् ।
यस्तै, प्रेस काउन्सिल आचारसंहिता पुरस्कार रातोपाटी डटकमलाई प्रदान गर्ने निर्णय समेत भएको छ । काउन्सिलको बिहीबार र शुक्रबार बसेको बोर्ड बैठकले विभिन्न पुरस्कारसम्बन्धी निर्णय गरेको हो । स्थापनाको ५५ वर्ष पुगेको अवसरमा असोज ६ गते आइतबार सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलको समुपस्थितमा काउन्सिलले यी पुरस्कार प्रदान गर्दैछ । सोही दिन काउन्सिलले सशक्त सञ्चारकर्मी, क्रियाशील, युवा, समावेशी, भाषागत, साहित्यिक, विधागतसहितका पुरस्कार र विभिन्न अग्रज पत्रकारलाई सम्मान समेत गर्ने निर्णय गरेको छ ।
वार्षिकोत्सवको पूर्वसन्ध्यामा काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पेसागत मर्यादा, प्रतिष्ठामा आँच नआउने गरी विश्वसनीय पत्रकारिता विकास गर्न नेपाली सञ्चारजगतले विशेष भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । मिडियामा युट्युबसहित सामाजिक सञ्जालको बाक्लो उपस्थिति भइरहेको सन्दर्भमा रचनात्मक पत्रकारिताको प्रयोगमार्फत यो क्षेत्रलाई बलियो बनाउन सञ्चार क्षेत्र र सम्बद्ध पक्ष गम्भीर भएर जुट्नुपर्ने खाँचो समेत उनले औँल्याए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पीएसजीको शानदार जित
-
च्याम्पियन्स लिग यात्रा बलियो पार्दै मोनाको
-
मोदीका अतिप्रिय अडानीमाथि अमेरिकाले कारबाहीको डण्डा चलाएपछि...
-
मधेसमा वडाध्यक्षका लागि घर-घर पुगेर भोट माग्दै विश्वप्रकाश
-
दक्षिणी लेबनान र बेरुतमा एकसाथ बमबारी, ५ चिकित्सक मारिए
-
भित्तामा टेपले टाँसेको एक कोसा केराको मूल्य ८४ करोड ५५ लाख रुपैयाँ