बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रास्वपाका सांसदहरू रविलाई बचाइदेऊ भन्दै कांग्रेस र एमालेका नेताहरूको घरघरमा दौडिरहेका छन् : भीमसेनदास प्रधान

‘रवि लामिछाने सबभन्दा फ्रड मान्छे हो, आचरण पनि खत्तम छ’
शनिबार, ०५ असोज २०८१, १७ : ३०
शनिबार, ०५ असोज २०८१

काठमाडौँ । नेपाली कांग्रेसका प्रभावशाली नेता तथा पूर्व रक्षामन्त्री भीमसेनदास प्रधानले रवि लामिछाने सहकारी ठगी प्रकरणमा दोषी देखिएकोले कारबाही हुनुपर्ने बताएका छन् । उनले रवि लामिछानेलाई फ्रडको संज्ञा दिए । 

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको विशेष साक्षात्कार कार्यक्रममा बोल्दै पूर्वमन्त्री प्रधानले लामिछानेको आचरण पनि खत्तम रहेको टिप्पणी गरे । उनले भने,‘रवि लामिछाने सबभन्दा फ्रड मान्छे । लाजसरम केही पनि छैन । नागरिकता नै दोहोरो छ । राहदानी नै दोहोरो, आचरण नै खत्तम छ । महिलाप्रति आचरण नै खराब छ । अहिले हेर्नुहोस् त क्लिन–चिट भनेर कत्रो स्वर ? चितवनका जनतालाई अब हामीले सोध्नुपर्छ कस्तो मान्छे जिताएको भनेर ?’

सहकारी ठगीसम्बन्धी समितिको प्रतिवेदन आएपछि सबै कुरा घामजस्तै छर्लङ्ग भएको भन्दै अब रवि लामिछानेका पक्षधरले वकालत गर्न जरुरी नभएको उनको भनाई छ । उनले भने,‘अहिले वास्तवमा सहकारी ठगी प्रकरणले समग्र मुलुक तातिएको छ । सडक आन्दोलन हुँदै सदनमा पनि कांग्रेसले हिजो माओवादी र एमालेको सरकार हुँदा कुरा उठायो । विशेषगरि गगन थापाले सहकारी ठगी प्रकरणमा यो कुरा उठाउनुभयो । अनिमात्रै छानबिन समिति बन्यो । सहकारी समिति गठन नहुँदै सूर्य थापाले बचाउ गर्नुभयो । त्यतिवेला मलाई रवि लामिछानेको केश फासफुस होला भन्ने लागेको थियो । एमाले र माओवादीको सरकार थियो। त्यो सरकारले डिफेन्स गर्ला भनेको थिएँ । सूर्य थापा त त्यतिबेला रवि लामिछानेको वकालत गर्ने मान्छे । ठिक ढङ्गले रिपोर्ट आउँदैन भन्ने थियो । पार्लियामेन्टमा रवि लामिछानेको पक्षमा उसले ठगी र भ्रष्टाचार गरेको छैन भनेर एमालेका सांसदहरूले नै धेरै बोलेका थिए । पछि कांग्रेस र एमालेको सरकार बन्यो । अहिले प्रतिवेदन आइसकेको छ, अब घामजस्तै छर्लङ्ग भैसकेको छ । रिपोर्टको चार नम्बर बुँदामा समितिले रवि लामिछानेलाई कारबाहीको सिफारिस गरेको छ ।’

उनले रवि लामिछाने पक्षधर साथीहरूले अब वकालत गर्न जरुरी नभएको टिप्पणी गरे । रवि लामिछाने दोषी नभएको भए रास्वपाका सांसदहरूले किन बचाउनुपर्‍यो भनेर कांग्रेस र एमालेका नेताहरूकहाँ गएर गुहार मागेको भन्दै उनले प्रश्न गरे । उनले भने,‘रवि लामिछानेलाई जोगाउन र बचाउनको लागि रास्वपाका माननीयहरू हाम्रो र एमालेका नेताहरू घरघरमा दौडिरहेका छन् । बचाउन किन त ? मैले भेटे एउटा माननीय एक नेताको घरमा आएको । सहकारी ठगी प्रकरणमा रवि लामिछाने मुछिएकै हो ।’

उनले प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण गर्छु भनेको स्मरण गराउँदै अब रवि लामिछानेमाथि कारबाहीको प्रक्रिया थाल्नुपर्ने बताए । उनले भने,‘रवि लामिछानेमाथि कारबाहीको प्रोसेस सुरु भइसक्यो । जहाँसम्म लाग्छ, उसलाई अदालतको कठघरामा उभ्याउनैपर्छ । अदालतले गर्ने हो–फैसला । आफैँले क्लिनचिट भन्ने होइन । हाम्रै पार्टीका साथीहरू पनि अदालतकै कारण जेल गएका छन् । अख्तियारको विल हामीले ल्याएका हौँ। गृहमन्त्री खुमबहादुर खड्काको पालामा अख्तियार गठन भयो। पहिले जेल खुमबहादुर खड्का नै गए । त्यही हो डेमोक्रेसीको ब्युटी भनेको ।’

पार्टी उपसभापति धनराज गुरुङमाथि पनि सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरु भएकोले तत्काल पार्टी र संसद्को जिम्मेवारीबाट राजीनामा दिनुपर्ने उनको आग्रह छ । उनले भने,‘यो त उहाँले आत्मनिर्णय र आत्मसमीक्षा गर्ने कुरा हो । विगतमा शेरबहादुर तामाङ, रामशरण महत, केशरबहादुर विष्टले पनि राजीनामा दिनुभयो । आत्मसमीक्षा गर्नुपर्छ । धनराजले संसद्मा नै यदि त्यस्तो हो भने ममाथि छानबिन होस भन्नुभयो । छानबिनले कारबाही सिफारिस गरेको छ । कांग्रेसले उहाँसँग छलफल गर्नुभन्दा अगाडि धनराजले छानबिनको रिपोर्ट नआएसम्म पार्टी र संसद्को बैठकमा उपस्थित हुन्नँ भन्नुपर्‍यो । अहिले नै संसद्बाट पनि राजीनामा दिन सकिन्छ । भुटानी शरणार्थी प्रकरणमा खाँणमाथि पनि राजीनामाको विषय उठेको थियो । स्वविवेकले राजीनामा दिनुपर्छ भन्ने हो मेरो त । उहाँले उपसभापतिबाट राजीनामा दिनुपर्छ ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप