बिहीबार, ०६ मङ्सिर २०८१
ताजा लोकप्रिय
कृषि

तरकारीमा विषादीको विकल्प के छ ?

शनिबार, ०५ असोज २०८१, १८ : ०४
शनिबार, ०५ असोज २०८१

काठमाडौँ । काठमाडौँ उपत्यकाभित्र पर्ने दक्षिणकाली नगरपालिका वडा नम्बर ३ स्थित ४ रोपनी जग्गामा विषादी रहित (अर्गानिक) को व्यवसायिक तरकारी खेती गर्दै आएकी छन्, सिता केसी खड्का । उनले करिब २ वर्ष भयो विषादी रहित खेती सुरु गरेको । खड्काले जैविक रुपमा नै तरकारी फलाएर कालीमाटी तरकारी तथा फलफूल बजारमा बेच्दै आएकी छन् । उनले व्यवसायीक तरकारी खेती सुरु गरेको भने २७ वर्ष भयो । तर अर्गानिक खेती सुरु गर्नुअघि उनले पनि विषादीको प्रयोग गर्थिन् । 

‘अहिले मैले अर्गानिक उत्पादन गर्न थालेको छु,’ उनी भन्छिन्, ‘यहाँ जे भए पनि हेर्दा राम्रो तरकारी मात्रै खोज्ने गरेका छन् । अर्गानिक तरकारी हेर्दा नराम्रो भए पनि स्वास्थ्यलाई राम्रो गर्छ । यही कुरा मान्छेलाई कन्भेन्स गर्न २० वर्ष लाग्छ होला ।’

उनले तरकारी व्यसायबाट नै दुई छोरालाई डाक्टर पढाइन् । उनै डाक्टरले नै विषादी प्रयोग गरी तरकारी उत्पादन गर्दा स्वास्थ्यमा गम्भीर असर हुने भनेपछि खड्का अर्गानिक खेतीतर्फ लागेको सुनाउँछिन् । उनले विषादीको सट्टा तरकारी बालीमा लाग्ने रोग र किरा जैविक प्रविधिबाट नियन्त्रण गरेको बताउँछिन् । ‘विषादीको विकल्पमा गाईको गहुँत, खुर्सानी, कालो मुन्टे, तितेपाती प्रयोग गरी झोल तयार गर्छु,’ उनी भन्छिन्, ‘यसरी मिश्रित गरिएको झोल करिब ६ महिनामा तयार हुन्छ अनि रोग किरा लागेमा प्रयोग गर्छु ।’

विज्ञहरूका अनुसार स्थानीय वनस्पती र गहुँतबाट तयार गरिएको किरा र रोग नियन्त्रण गरिने झोलले बालीमा रोग, किरा मात्रै नियन्त्रण नगरी बालीमा नाइट्रोजनको मात्र प्रयाप्त पु¥याउँछ । यसले बाली बलियो हुने र रोग तथा किरासँग लड्न सक्ने बन्छ । खड्काको अनुभवमा यस्तो जैविक झोल विषादीको तुलनामा सस्तो पनि पर्छ । उनी भन्छिन्, ‘यसका लागि किसानले गाई, भँैसी पाल्नु पर्छ । यसले गहुँत पनि भयो, मल पनि भयो ।’

सीता जस्तै, विषादीरहित खेतीबाट उब्जाउ गर्ने अर्का कृषक तथा कृषि अभियन्ता हुन्, उद्धाव अधिकारी । उनीले तारकेश्वर नगरपालिकाको काभ्रेस्थलीमा २० वर्षदेखि प्रांगारिक खेती गर्दै आएका छन् । उनी विषको विकल्पका लागि पशुपालन आवश्यक रहेको बताउँछन् । ‘विषादीको विकल्प पशुपालन नै हो । गाईको गहुँत, स्थानीयस्तरमा पाइने तितो, पिरो, टर्रो वनस्पतीहरू ठुलो भाँडामा कुहाएर राख्ने । आवश्यक पर्दा प्रयोग गर्ने गरेको छु,’ उनले भने । 

यसले बाली विरुवालाई विभिन्न पोषण पनि हुने र पर्याप्त फल्ने अनुभव पनि सुनाए । अधिकारीले विषादीको विकल्प रोगको निदान भन्दारोग लाग्न नदिने उपाय अपनाउनु पर्ने सुझाउँछन् । यसको लागि माटो स्वास्थ राख्नुपर्ने अधिकारीको भनइ छ । ‘माटोको पिएच हेर्नु पर्यो, भाइरसजन्य रोग लागेको टिप्ने, प्राङगारिक विधिबाट त्यसलाई व्यवस्थापन गर्ने,’ उनी भन्छन्, ‘राती आउने खालका किरा छन् भने लाइट ट्यापहरु राख्न , दिउँसो देखिने खुम्रेलगायत किरालाई टिप्ने मार्ने गर्नुपर्छ । यस्ता विकल्प धेरै छन् । ’

फोरोमोन ट्याप पनि अर्को विकल्प भएको अधिकारीले सुनाए । किरालाई बासनाले आर्कषण गर्ने एक प्रकारको पदार्थलाई फोरोमोन ट्याप भनेर बुझिन्छ । यसको प्रयोगले किरा संकलन गरी किरा मार्न सकिन्छ । 

विज्ञहरूको भनाइमा विषादीको विकल्पमा जानु भनेकै माटोको स्वास्थ्य सुधार गर्नु हो । सुधारका लागि माटोको उर्वराशक्ति बढाउने वा माटोको स्वास्थ्य सन्तुलित राख्न जैविक खेतीको आवश्यक हुन्छ । कृषिविज्ञ डा. कृष्णप्रसाद पौडेलले विषादीको विकल्पले माटोको स्वास्थ्य सुधार हुने बताउँछन् । माटोमा किरा, ढुसी, ब्याक्टेरिया लगायत बस्ने गर्दछन् । ‘विषादीको विकल्पमा माटो सुधार गर्न आवश्यक छ,’ उनी भन्छन्, ‘जसका लागि जैविक खेती प्रणाली अपनाउने, स्थानीय बीउको प्रयोग गर्ने, प्राकृतिक उपायबाट बोट विरुवाको प्रतिरोध क्षमता बढाएमा रोग किरा लाग्दैन ।’ बालीमा रोग र कीरा लागि हालेमा जैविक विषादी प्रयोग गर्न उनी सुझाउँछन् । यसका साथै उनी मित्र जिव संरक्षण उत्तम विकल्प हुने पौडेलले बताए ।

  • सरकारलाई सुझाव 

सरकारले विषादीको निगरानी, प्रांगरिक खेतीको दस्तावेजीकरण, सचेतना, प्रविधि लगायतलाई जोड दिनु पर्ने सरोकारवालाले सुझाएका छन् । खेती प्रणालीमा विषादीको प्रयोग मात्रै नभइ मल, बिउबिजन लगायत विषयमा सरकारले ध्यान दिनुपर्ने कृषि अभियन्ता अधिकारीले बताए । ‘यो त विषको मात्र कुरा होइन, बीउभिजन, मल लगायतको पनि कुरा हो,’ उनी भन्छन्, ‘हामीसँग भएका प्राकृतिक रुपमा किरा, रोग निको पार्न सक्ने विभिन्न वनस्पति छन् । जसलाई किरा मार्न र भगाउने प्रयोग गर्न सकिन्छ ।’ 

प्राकृतिक रुपमा किरा मार्ने र रोग लाग्न नदिने वा रोग नियन्त्रण गर्ने प्रविधिबारे किसानलाई जनाकारी गराउन सरकारले प्राविधिको सहयोग गर्नुपर्ने अधिकारको भनाइ छ । ‘सरकारका अनुसन्धान केन्द्र पनि सबै विदेशी प्रोजेक्टहरुमा निर्भर छन् । तरकारीमा भएको विषादीको सही तरिकाले अनुसन्धान पनि भएको छैन,’ उनी भन्छन्, ‘यस कारण जैविक प्रविधि अपाउन सरकारले विशेष ध्यान दिन जरुरी छ ।’ 

व्यावसायिक खेतीप्रणालीमा सबै भन्दा बढी विषादी प्रयोग हुने गरेको अधिकारी सुनाउँछन् । ‘उत्पादन वृद्धिको नारा हरेक पालिकास्तरमा भएको पाइन्छ । उत्पादन वृद्धि भएको पनि छ । तर जथाभावी विषादी प्रयोगले मानव स्वास्थ्यमा गम्भीर असर पारेको छ,’ उनी भन्छन्, ‘क्यान्सरजस्ता घातक रोग बढाउन र नदेखिने अन्य रोगहरूमा विषादीको ठुलो भूमिका छ । यसबारे कसैले अध्ययन गरेको छैन ।’ 

कृषि व्यवसायी खड्का पनि विषादीको प्रयोगबारे सरकारले निगरानी गर्नुपर्ने सुझाउँछिन् । ‘जथाभावी प्रयोग गर्नेदेखि विषादी बेच्ने पसलहरूमा सरकारबाट निगरानी हुनुपर्छ,’ उनी भन्छिन्, ‘मनपरी विषादी बेचेका छन् । आज एउटा विषादी प्रयोग गर्न सुझाउँछन् ,भोलि अर्को । यसको असर हाम्रै स्वास्थ्यमा परेको छ ।’ 

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका बोर्ड सदस्य संचिता पाठक विषादी परीक्षणका लागि समिति लागिपरेको बताउँछिन् । उनी भन्छिन्, ‘हामीले स्रोतसाधनले भ्यायसम्म गरिरहेकै छौँ ।’ 

बल्खु कृषि तथा तरकारी बजारका व्यवस्थापक मोहनकुमार बस्नेतले कृषि उत्पादन हुने क्षेत्रमा नै विषादी परीक्षण गर्नुपर्ने बताउँछिन् । उनले बजारमा आइसकेको कृषि उपजमा विषादीको परीक्षण गर्दा व्यवसायी मारमा परेको दाबी गरे । ‘उत्पादन क्षेत्रमा नै विषादी परीक्षण गर्न सरकारले पहल गर्नुपर्छ,’ उनी भन्छन्, ‘बजारमा आइसकेपछि परीक्षण गर्दा सबैतिरका व्यवसायी र उपभोक्ता मारमा परेका छन् ।’ उत्पादन क्षेत्रमा नै विषादी परीक्षण गर्दा किसानलाई सचेत बनाउन सकिने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप