बागमती सफा गर्न सामुदायिक नदीको अवधारणा अघि बढाउनुपर्ने सुझाव
काठमाडौँ । सरोकारवालाहरूले बागमती सफा गर्न सामुदायिक नदीको अवधारणा अघि बढाउनुपर्ने सुझाव दिएका छन् । तीव्र सहरीकरण र प्रदूषणको चपेटामा परेका बागमती तथा अन्य नदीहरू विवर्जित तुल्याउन ती नदीका खण्डहरू स्थानीय समुदायलाई हस्तान्तरण गर्नुपर्ने सुझाव अभियानकर्मीहरूले दिएका हुन् ।
विश्व नदी दिवस २०२४ को अवसरमा शनिवार बागमतीको उदगमस्थल क्षेत्र सुन्दरीजल नदी किनारमा आयोजित सफाइ कार्यक्रममा बोल्दै नेपाल नदी संरक्षण संस्थाका अध्यक्ष मेघ आलेले भने– ‘हामीले बागमती र अन्य नदी जोगाउने हो भने अब नदी संरक्षणको जिम्मेवारी स्थानीयवासीलाई दिने कानुनी व्यवस्था गर्नुपर्छ।’ उनले भने– ‘त्यसो गरेर उनीहरुले आआफ्नो क्षेत्रमा नदीलाई सफा राख्न र पर्यटकीय वा अन्य क्रियाकलाप गरेर सामुदायिक वनबाट जस्तै आय आर्जन गर्न सक्छन्।’
आले नेतृत्वको संस्थाले विगत २४ वर्षदेखि बागमतीमा डुङ्गा दौडाउने तथा सफाइ कार्यक्रम सञ्चालन गर्दै आएको छ। राजधानीको मुटुबाट बग्ने वाग्मती किनारमा ३० भन्दा बढी हिन्दु तथा बौद्ध तीर्थस्थलहरू रहेका छन्। तर बढ्दो जनसङ्ख्याका कारण बागमती र त्यसका शाखा नदीहरू सहरवासीले प्रशोधन नगरी विसर्जन गरेका ढलको नाल बोकेर बहन बाध्य छन् । जसका कारण बागमतीको पानी जलचरका लागि समेत बाच्न मुस्किल हुने अवस्थामा पुगेर मृत प्रायः भइसकेका छन्।
दाताको सहयोगमा विभिन्न स्थानमा प्रशोधन केन्द्र निर्माण भइरहे पनि ती पूरा हुन सकिरहेका छैनन् । त्रिभुवन विश्वविद्यालयको वातावरण विभागका अध्येता दीपनारायण शाहका अनुसार पछिल्लो समय नदीमा फ्याँकिएका साना प्लास्टिक माछाहरूले समेत खाने क्रम डरलाग्दो भइसकेको बताए।
विगत झन्डै ६०० हप्तादेखि बागमती सफाइमा जुटिरहेको सफाइ महाअभियानमा संलग्न सबै नगरवासीले आफ्नो घर घरबाटै सफाइ अभियान थालेर घर टोल सफा राख्ने अभियान थाले मात्रै बागमतीमा सफा पानी बहन सम्भव हुने उनले बताए।
अन्तर्राष्ट्रिय जल व्यवस्थापन संस्थाकी नेपाल प्रतिनिधि डा.मनोहरा खड्काले नदीनालाको संरक्षण गरेमा मात्रै दिगो भविष्य सम्भव हुने बताउँदै बागमती सफाइ तथा सौन्दर्यीकरणका लागि तीनै तहका सरकार स्थानीयवासी र अभियानकर्मीहरूले साझा पहल थाल्नु पर्नेमा जोड दिइन्।
बागमतीको किनारमै अवस्थित ओख्रेनी माध्यमिक विद्यालयका प्रधानाध्यापक देवराज भट्टराईले समुदायहरूलाई अघि सारेर बागमती र अन्य नदी सफा गर्ने अभियान थालनी गरेमा त्यसले राम्रो परिणाम दिने र नदीहरूको दिगो संरक्षण गर्न सकिनेमा जोड दिए।
सुन्दरीजलस्थित बीपी सङ्ग्रहालयका अध्यक्ष परशुराम पोखरेलले शिवपुरी निकुञ्जभित्र पर्ने बाग्मतीको मुहान क्षेत्रसमेत प्रदूषित हुन थालेकोमा चिन्ता व्यक्त गरे। नेपाली कांग्रेस वातावरण विभाग प्रमुख कल्याण गुरुङले पनि बागमती नदीको सफाइ तथा संरक्षण अभियानलाई वाग्मतीको मुहान रहेको वागद्वार क्षेत्रबाट थाल्न सबै जना एकजुट हुनु पर्नेमा जोड दिए। आइतबार सेप्टेम्बर २२ मा संसारभर विश्व नदी दिवस मनाउने कार्यक्रम छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माघ नसकिँदै देशभर तापक्रम बढ्न थाल्यो
-
युवाले खोलेका उद्योग नै चलेनन्, ६ महिनामा ३०० वटा खारेज
-
रातोपाटी बिफिङ : वामदेव एमाले फर्किने ‘च्याप्टर’ तत्काललाई क्लोजदेखि पूर्व उपराष्ट्रपतिलाई उपाध्यक्ष बनाउने प्रचण्ड योजना स्थगितसम्म
-
अखिल क्रान्तिकारी निर्वाचन : उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित
-
प्रेस सेन्टर उदयपुरको अध्यक्षमा अभिमन्यु लामिछाने चयन
-
दोस्रो पौवादुङमा गोल्ड कपको उपाधि राजगढ झापालाई