शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

प्रवासका नेपालीसँग प्रचण्डले भने- माओवादीलाई बलियो बनाएर अबको चुनाव एक्लै लड्ने हो

शनिबार, ०५ असोज २०८१, १५ : ३८
शनिबार, ०५ असोज २०८१

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी सङ्गठनलाई बलियो बनाएर आगामी चुनाव एक्लै लड्ने बताएका छन् । आउने चुनावमा पहिलो पार्टी बन्न सम्भव रहेको बताउँदै प्रचण्डले पार्टीको अब बस्ने केन्द्रीय समितिले ठोस कार्ययोजना ल्याउने बताए ।

‘हामी २०६४ को जस्तै अबको चुनावमा पहिलो शक्ति बन्नको लागि सङ्गठन निर्माणमा जोड दिनुको विकल्प छैन’ नेकपा (माओवादी केन्द्र) पश्चिम अन्तर महादेशीय प्रवास सङ्गठन समितिसँग शुक्रबार भएको परामर्श बैठकमा प्रचण्डले भने, ‘अब बस्ने हाम्रो केन्द्रीय समितिले ठोस योजना ल्याउनेछ हामी एक्लै चुनाव लड्ने र पहिलो हुने गरी अघि बढ्ने हो ।’

उनले आफू प्रधानमन्त्री हुँदा भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा राम्रो काम गरेकाले नै कांग्रेस एमाले मिलेको बताउँदै माओवादी आफ्नै खुट्टामा उभिएर चुनावमा लड्ने र पहिलो हुने योजना सुनाएका हुन् ।  ‘हामी सरकारमा रहँदा भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा राम्रो काम गरेको जनताले बुझेका छन्, अब फेरि जनताको गएर पहिलेजस्तै पहिलो भएर धेरै काम गर्नुपर्नेछ’ उनले– ‘जब भ्रष्टाचार विरुद्ध हामीले इतिहासमै राम्रो काम गरियो यसबाट कांग्रेस एमाले डराएर मिलेका हुन् ।’

प्रचण्डले माओवादी पार्टी एकढिक्का रहेको सुनाउँदै अब सबै नेता कार्यकर्ताले जनयुद्धमा जस्तै जनताको घरदैलोमा पुगेर काम गर्ने बताए । ‘हामी नेताहरु बिग्रिएका छौँ, अब हामी फेरि उठेर जनताको काम गरेर मन र मत दुवै जित्ने छौँ,’ प्रचण्डले प्रवासका नेपालीलाई सुनाए, ‘अब नेपालमा रहेका नेता योजनाबद्ध रूपमा लाग्दैछौ, तपाईँ प्रवासका कमरेडहरू पनि जे जसरी सम्भव हुन्छ लाग्नुहोला ।’ 

देशभर घुमेर परामर्श बैठकमा आएका सुझावलाई समेटेर केन्द्रीय समिति बैठकमा पेस गर्ने प्रतिबद्धता जनाएका प्रचण्डले प्रवासमा रहेका नेपालीले आर्जन गरेको ज्ञान र सिपलाई नेपालमा प्रयोग गर्नुपर्ने धारणा राखे । अहिलेको समय सूचना प्रविधिको युग भएको बताउँदै प्रचण्डले माओवादी सरकारमा हुँदा गरेका राम्रा कामहरूको व्यवस्थित तवरले प्रचार गर्नुपर्ने आवश्यकता औँल्याए । 

जुम प्रविधिबाट भएको परामर्श बैठकमा नेकपा (माओवादी केन्द्र)का पदाधिकारीका अधिकांश नेता, पश्चिम अन्तर महादेशीय प्रवास सङ्गठन समितिमा रहेका पार्टीका केन्द्रीय सदस्यहरू र समितिका पदाधिकारीको सहभागिता रहेको थियो । 

बैठकमा बोल्दै पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले सङ्गठन निर्माणमा होमिनु पर्ने आवश्यकता औँल्याए । ‘हामीले बलियो पार्टी निर्माण गर्नुको विकल्पै छैन,’ उनले भने, ‘सरकारमा रहँदा हामीले धेरै राम्रो काम गरियो, यसलाई व्यवस्थित रूपमा जनतालाई बुझाउनु पर्नेछ ।’ 

नेकपा (माओवादी केन्द्र) का उप(महासचिव जनार्दन शर्माले पार्टीलाई एकताबद्ध बनाउन र नेतृत्व विकास गर्न फरक मत राखेको विचार व्यक्त गर्दै पार्टी सङ्गठनहरू व्यवस्थित र बलियो बनाउनुपर्नेमा जोड दिए ।  नेकपा (माओवादी केन्द्र) का सचिव तथा पश्चिम अन्तर महादेशीय प्रवास सङ्गठन समितिका इन्चार्ज राम कार्कीले  समय अनुसार विचारको विकास गर्दै समाजवादमा पुग्नुपर्ने कुरामा जोड दिए । 

परामर्श बैठकमा नेकपा (माओवादी केन्द्र) का वैकल्पिक केन्द्रीय सदस्य तथा पश्चिम अन्तर महादेशीय प्रवास सङ्गठन समितिका सह इन्चार्ज सुरेन्द्र भुसालले जनयुद्धको क्रममा प्रवासमा रहेका कार्यकर्ताको मुख्य भूमिका रहेको बताउँदै परिवर्तन ल्याउने माओवादी कमजोर हुँदा जनताका अधिकार खोसिने हुन् कि भन्ने चिन्ता बढेको भनाई राखे । बैठकमा नेकपा (माओवादी केन्द्र) का वैकल्पिक केन्द्रीय सदस्य मोहनमान स्वाँरले पार्टीका सबै गुटहरू भत्काउनु पर्नेमा जोड दिए । 

नेकपा (माओवादी केन्द्र) पश्चिम अन्तर महादेशीय प्रवास सङ्गठन समितिका संयोजक उदयराज गौतमले लिखित रूपमा सुझावहरू राख्दै कूटनीतिक नियुक्ति, पर्यटन दूत ,बाणिज्य दूत लगायत यस्तै नियुक्तिहरूमा प्रवासका पार्टी सङ्गठनहरूसँग परामर्श गर्नुपर्नेमा जोड दिए ।  परामर्श बैठकमा सह–संयोजकहरू नारायण कँडेल, सुष्मा भुषाल, सचिव तिलक केसी, सह–सचिवहरू अच्युत फुयाँल, सुनिता रेग्मी, सह–कोषाध्यक्ष महेशकुमार खाती, नेपाली जन प्रगतिशील मञ्च युरोपका अध्यक्ष चित्र सुवेदी लगायतले विभिन्न किसिमका सुझाव राखेका थिए । 

पश्चिम अन्तर महादेशीय प्रवास सङ्गठन समितिमा युरोप, अमेरिका र अस्ट्रेलिया महादेशमा रहेका माओवादीका नेता कार्यकर्ता जोडिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप