आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय
पुस्तक समीक्षा

कवि पुडासैनीको ‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’मा गतिशील प्रतिकृतिहरू

शनिबार, ०५ असोज २०८१, १४ : ४५
शनिबार, ०५ असोज २०८१

समकालीन वा आधुनिकोत्तर युगमा नेपाली कविताको खेती विश्वव्यापी बन्न गइरहेको पाइन्छ । नेपाली भाषा समाजको अधिकाधिक आधिपत्य रहेको नेपाल–भारत देशहरूपछि आज अमेरिका, इङ्ल्यान्ड, फ्रान्स, जापान, चिन, म्यानमार, थाइल्यान्ड, इजरायल, रुस, अफ्रिका, अस्ट्रेलिया, अबुधाबी, सिङ्गापुर, पोर्चुगल, इराक प्रभृत्ति देशहरूमा पुगेका वा बसेका नेपालीभाषी कवि प्रतिभाले समय–समयमा प्रदर्शित गर्दै आएका कवितात्मक अनुभूतिका प्रतिकृतिहरू सरोकारपूर्ण बन्दै गएको यथार्थलाई सहजै बिर्सन सकिन्न । 

नेपाल–भारत आफ्नै पुख्र्यौली माटोका कवि–प्रतिभाहरूबाहेक विदेशमा रहेका कवि–लेखकहरू डायस्पोरिक मान्न सकिए पनि आफ्ना सिर्जनात्मक रचनाबाट समग्र नेपाली विश्वसाहित्यकै निर्माणमा जुटेका ती सबल हातहरू हुन् ती ओजस्वी आवाज र स्वरहरू हुन् ।

साहित्यका विस्तृत फाँट र व्योममा धर्र्तीकै यथार्थ टेकेर जीवनका अनुभूत सत्यहरूलाई कविताका प्रतिकृतिहरूमा निर्माण गर्ने भव्य शिल्पी कवि डा. दामोदर पुडासैनी ‘किशोर’ चर्चायोग्य कवि–प्रतिभा हुन् । साठोत्तर उमेरको यात्रा गरिरहेका पुडासैनीको नेपाली साहित्यमा कति उल्लेखनीय भूमिका निर्वाह भइसकेको छ सो पक्ष अत्यन्त अविस्मरणीय देखिन्छ । कविताका क्षेत्रमा मात्र आफन्तका अनुहारहरू, आँखाको खोजीमा, आलोकित आयाम, आकारको खोजीमा, समयको सहीछाप, पहाड र प्रेम, उज्यालो खोजिरहेको घाम, सहरविनाको सहर, हिमालको आवाज, निर्वस्त्र घाम र लोलाएको साँझ अनि अरु पनि असङ्ख्य कविता संग्रहित कविता–कृतिलाई आलोकित गरिसकेका पुडासैनीको काव्ययात्राको लामो दूरत्व देख्न पाइन्छ । तिनका कविताले आफ्नो अलग्गै ऐतिहासिक पहिचान बनाइसकेको अनुभव हुन्छ । त्यसरी नै नियात्रा विधामा यात्राका प्रेमिल तरङ्गहरू, नमेटिएका चित्रहरू, मायालु हुम्ला, सिमानाका रङ्ग सिमानाका तरङ्ग, पर्खालभित्रको राजधानी, ग्रीष्मको नीलो बतास, डोल्पो ! ओ डोल्पो !! आदि नियात्रात्मक गद्य–कृतिहरूको प्रकाशनले पुडासैनीको गद्यलेखनको सामथ्र्य र तिनले प्रदर्शित गरेका वैचारिक मूल्य–मान्यतालाई अवलोकन र मूल्याङ्कन गर्ने ठाउँ प्रशस्त दिएको  देखिन्छ । विश्वका तीन दर्जन अधिक देशको भ्रमण गरिसकेका, आफ्नो देशका सम्पूर्ण जिल्लाको अवलोकन गरिसकेका डा. पुडासैनी कवि–नियात्राकारका रूपमा सुपरिचित र सुस्थापित भेटिन्छन् । देश–विदेशका असङ्ख्य सङ्घ–संस्थामा दायित्वशील पदभार लिई संलग्न रहेका, सामाजिक, साहित्यिक, सरकारी, सांस्कृतिक क्षेत्रबाट मनग्गे सम्मान, अभिनन्दन र पुरस्कार समेत प्राप्त गर्दै आएका डा. दामोदर पुडासैनी ‘किशोर’को व्यक्तित्वको स्वरूप भव्य भेटिन्छ, उदाहरणीय पाइन्छ । यिनै व्यक्तित्वबाट प्रस्फुटित काव्यसाधनाको नवीनतम कृति ‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’ आजको उपलब्धि हो ।

  • यस कृतिमा गतिशील प्रतिकृतिहरू 

कुनै पनि कविताले दर्शाउने भावना, कल्पना, विचार, अनुभूति, अभिव्यक्ति, विम्ब, प्रतीक, अभिव्यञ्जना, दर्शन, संकेत, शैली, भाषा, छन्द, लय, गति, आयाम, संरचना, स्वरूप आदि साझा अपेक्षाका विषय रहे पनि ती सबैको आंशिक वा सम्पूर्ण, सूक्ष्म वा विशाल, मूर्त वा अमूर्त, यथार्थ र अयथार्थ आदिका समष्टि रूप वास्तवमा मानस–विम्ब वा प्रतिकृति नै हुन् । सो प्रतिकृतिको निर्माण बेग्लाबेग्लै कविहरूले आ–आफ्ना ढङ्गले गर्न सकेका हुन्छन् । कविता रुचिप्रद हुनु, मनपर्दो हुनु वा लाग्नु कविता पाठकको आफ्नो मनमा लाग्ने हृदयस्पर्शिता, सम्प्रेषण र संवेदनामा निर्भर हुने कुरा हुन् । सबै कविता कविताजस्ता लाग्ने हुँदैनन् वा ती कविता कविता नै बन्न सकेका हुँदैनन् । कविता यस्तो हुन्छ वा हुनुपर्छ भन्ने कविताको परिभाषाले युगानुयुगदेखि यात्रा गरिरहेकै छ । राम्रा कविता, सशक्त कविता परिपक्व अनुभूति र दर्शनले बनेका हुन्छन् सायद । संरचना र शैलीको कलात्मक विशिष्टता, अनुभूति र बौद्धिकताको विलक्षण समायोजनले आजका कतिपय कविता उत्कृष्ट छन्, आलोच्य छन्, विश्लेष्य छन् र कविताको गरिमा महिमामण्डित छन् ।

कवि दामोदरको यस कृति अहिलेको जल्दोबल्दो युगको प्रतिच्छाया बोकेको विम्ब हो, प्रतिकृति हो । जम्मा त्रिपन्नवटा कवितामध्ये ‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’ शीर्षकको कविताले नै पुस्तकको नाम वरण गरेको छ । सबै कविताको शीर्षक हेर्दा— कति लोभलाग्दा छन्, कतै कहालीलाग्दा, कतै प्रतीकात्मक, कतै व्यञ्जनात्मक, कतै रहस्यात्मक र कतै चामत्कारिक समेत छन् । चार शब्द (‘मेन,’ ‘स्ट्रीट’, ‘कुदिरहेकी’ र ‘स्वास्नीमान्छे’) का क्रियाविशेषणमूलक वाक्यात्मक पदावलीले एउटा कविता मात्र नभएर सम्पूर्ण समावेश रहेका कविताका अन्तर्कथा पठन गर्नुपर्ने सङ्केत गरेको आभास हुन्छ । निक्र्योलमा भन्नु हो भने यो एउटै कविता उत्कृष्ट कविताका हाँचमा पहिलो पङ्क्तिमा रहेको छ । कविता आख्यानात्मक वर्णनमा आघृत छ । विश्वकै सर्वोच्च ऐश्वर्यपूर्ण शिखर देश अमेरिकामा एउटी नारीले आफ्नो गतिशील जीवनयात्रा कसरी व्यतीत गरिरहेकी छे— को वर्णनात्मक इतिवृत्त यो कवितामा अङ्कित छ । एउटा सुन्दर पद्यांशको दृष्टान्त हेरौँ ः

मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छेसँग

निद्रा हुँदैन, भोक हुँदैन र हुँदैन कुनै नाता सम्बन्ध

ऊ केवल मेसिन जिन्दगीको राप ताप्छे

र मेसिनभन्दा अलि दह्रो समयसँग कावा खान्छे

 

कुन बेला को आइपुग्छ आँखा जुधाउन, उसलाई थाहा छैन

कुन बेला रोकिनुपर्छ, कुन बेला हुँइकिनुपर्छ

त्यो पनि उसलाई केही थाहा छैन

थाहा छ त केवल एल्लो, ग्रीन र रेड सिग्नल

थाहा छ त केवल हप्तामा पाँच दिन कामले छोपेको अन्धकार

र दुई दिन प्रेमको हिसाब–किताब नमिलेर

नशाको हयाङ्ओभरले विस्फोट भइरहेको ब्रह्माण्ड

(मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे)

कविताले व्यस्त अमेरिकी जीवनशैलीलाई देखाउँदै आधुनिक नारीको जीवन भोगाइको तिक्तता र विवशतालाई मूर्तता प्रदान गरेको देखिन्छ । अकृत्रिम धाराप्रवाह वर्णनशैली प्रस्तुत कविताको सुन्दर गहना नै बनेको छ । ‘स्वास्नीमान्छे’लाई आजको नारी वा मान्छेको प्रतीकात्मक रूप दिएर कविले अमेरिकी अधिकांश व्यस्त र वाच्य जीवनको भव्य प्रतिकृति स्थापित गर्न सक्षम भएका छन् । यसै क्रममा अमेरिकन एक्सप्रेस, पार्कको प्रवेशद्वारमा, क्लाउड सिडिङ, बिग बेनको तरङ्ग, अमेरिकन ब्लुज, टोनार्डोका साइरनहरू, अमेरिकाले गाइरहेको गीत, गारल्यान्डमा बेबी सावर, साइरन, लेक मिसिगनको आवाज, अमेरिका ! ओ अमेरिका !!, (१) अमेरिका ! ओ अमेरिका !! (२) स्टारबक्स, इन्क्युबेटरमा ओथारो बस्छ, लेक मिशिगन–१, २, ३, ४, अग्निकुण्ड र लेक मिसिगन आदि कविताहरूका अतिरिक्त अन्य अधिकांश कविता अमेरिकी परिवेश, अमेरिकी सभ्यता, कर्पोरेट वर्चस्व, अमेरिकी अहंको दुन्दुभिसँगै त्यहाँको वैभव र ऐश्वर्यको महिमा गान भएको छ । अमेरिकी आधिपत्यको विश्वमा परेको प्रभाव र परिणाम, त्यहाँको प्रेमिल आकांक्षा र सम्बन्धका स्वरहरू, प्राकृतिक र नैसर्गिक पर्यावरणसँगै विज्ञानको होडबाजी, राष्ट्र–राष्ट्र माझको भौतिक सम्बन्ध र मानवीय भावनाहरूलाई कविले ती कवितामा प्रकट गरेका छन् । वैभवशाली अमेरिकाको सम्पन्नताको अङ्कन कविले कुनै न कुनै कविताका माध्यमबाट गरेकै छन् । कविको जीवनको सुखद अनुभूति तिनका यी कविताबाट प्रकट भएका भेटिन्छन् । सभ्यता र प्रगतिका हर पक्षहरू कोर्न कवि उद्यत् देखिन्छन् । अमेरिकी भूगोल, इतिहास, विज्ञान र सभ्यताका संसर्गमा रहेका कविलाई त्यहाँको महात्म्य अनुपम लाग्छ । स्वदेशपछिको आफ्नो सपनाको अर्को आफ्नो स्वदेश अमेरिका नै पर्याप्त छ कविलाई । प्रस्तुत कवितासङ्ग्रहका कतिपय कवितामा ‘अमेरिकी’ भावमूर्ति दर्शाउन कवि साँच्चै एकाग्र छन् । आजको मान्छेको जीवन, प्रकृति र विज्ञानको परिवर्तनशीलतामा देखिएका असरका परिणामलाई कविले सहज शैलीमा वर्णन गरेका छन् । प्रत्येक कवितामा नवीनता छ, प्रयोगात्मकता छ र छ भावानुभूतिको निजी अभिव्यक्ति । कविता लेख्तालेख्तै उनका भावानुभूतिहरू सरसतासँग अभिव्यञ्जित हुन आउँछन् ।

यो पङ्क्तिकारले अमेरिकी कवि वाल्ट ह्विटमनलाई यथासक्य शिरदेखि पुच्छरसम्मै पढेको हो । एक पङ्क्तिका कवितादेखि दुई सय अधिक पङ्क्तिका कविताका सङ्कलित रूप ‘लिभ्स अव् ग्रास’ समेत बनेका हुन् । ‘लिभ्स अव् ग्रास’लाई कुनै एकजना समीक्षकले बाइबल अब डेमोक्रेसीको नाम नै दिएको पाइन्छ । ह्विटमन जति अमेरिकी राष्ट्रवादी थिए, त्यति अहंवादी, प्रतीकवादी, यौनवादी र मानवतावादी कवि पनि थिए । यहाँ तिनको प्रसङ्ग किन हो भने कवि डा. दामोदर पुडासैनी ‘किशोर’ले आफ्ना ९० प्रतिशत कविताका भावभूमि अमेरिकी धरातल नै रोजेका छन् । विश्व, वैभव सम्पन्न अमेरिकाको ऐश्वर्य, शक्ति, सामथ्र्य र वर्चस्व जसरी ह्विटमनले देखेका थिए, कवि दामोदर तिनैमाथि थप आधुनिक दृष्टि पु¥याएर अहिलेका सन्दर्भमा पनि अमेरिका कस्तो र कति सर्वोपरि छ भन्ने वस्तुतथ्यलाई उजागर गर्न अग्रसर रहेका छन् । डायस्पोरिक अवधारणाका सन्दर्भमा यो कवितासङ्ग्रह मेन स्ट्रिटमा कुदिरहेकी स्वास्नीमान्छे स्वयंमा एउटा अन्यतम कवितासङ्ग्रह भन्ने लाग्छ । सङ्कलनमा परेका अमेरिका ! ओ अमेरिका !! कविताका दुई भाग छन् । दुवै कवितामा कविको अमेरिकाप्रतिको माया, प्रेम, आस्था–विश्वास, सपना–विपना, प्रगति–समृद्धि सबै सबैको समर्पणको भावना छ । आफू बाँचेको देशलाई उनी सार्वभौम देश नै मान्छन् । देशले गरेको सार्विक चमत्कार र वर्चस्वमा कवि रमाउन पुगेका  छन् । एउटा यथार्थको अङ्कन यहाँ दृष्टान्त छ ः

प्रत्येक मान्छे

आत्तिरहेछ जीवनसँग

र नआत्तिएको अभिनयले ग्रस्त छ जीवनभरि

मुट्ठीमा नअटाउने प्लानेट उचाल्न खोजिरहेछ मान्छे

मृत्युमा बोक्नैनसक्ने खजाना सङ्ग्रह गर्न खोज्दै छ जीवनभर

मृत्युलाई अब बसमा ल्याउने हो 

जीवनलाई अब निकाल्ने हो रहस्यको गुफाबाट

रमितेहरू सधैं रमिता हेर्छन् र क्रन्दन फ्याँक्छन्

हानेको गोलीको खोका अहिलेसम्म

एकपटक पनि फिर्ता भएको छैन

काम गर्नेहरू, कामकै कोकोहालो हाल्छन्

अमेरिका ! ओ अमेरिका !!

(अमेरिका ! ओ अमेरिका !!)

अमेरिकाकै पृष्ठभूमि, पर्यावरण, प्रचलन, प्रगति, सभ्यता, विज्ञान, दर्शन, संस्कृतिका गतिशील परिणाम र परिवर्तनहरूलाई कविले आत्मसात गरेका देखिन्छन् । कविले अरु केही नभ्याएर अमेरिकाभित्रै आफ्नो र आधुनिक मान्छेको जीवनको सार्थकता देखेका छन्— जो अस्वाभाविक होइन । कतै चोखो र रोमान्सेली भावनाको प्रस्फुटन, कतै आफ्नै र अरुकै पनि गहिरो जीवनबोध गर्न सकेका कविले प्रत्येक कवितालाई प्राणवान् बनाएका छन् । ह्विटमनका कविताका भाषाबारे इमर्सनले भनेजस्तै कवि दामोदरका कविताको भाषा साधारण मान्छेले बोल्ने भाषा छ । यिनका कविताहरू यति जीवन्त छन्, जसलाई काटे रगत आउँछ । यहाँ ‘गारल्यान्डमा बेबी सावर’ कविताको एउटा अंश द्रष्टव्य छ: 

धेरै धेरै चमत्कार भए संसारमा आजसम्म

संसारमा भएका सबै चमत्कारमध्ये

सबैभन्दा ठूलो चमत्कार हो मान्छेको जन्म 

एउटै मान्छेको जन्मले

फेरिनसक्छ संसारको पूरै अनुहार

 

हामी आह्वान गरिरहेछौँ

संसारको अनुहार फेर्ने मान्छेको लागि 

(गारल्याण्डमा बेबी सावर)

सरल–तरल भाषामा कवि दामोदरले यस्तै कैयन् कविताहरू प्रस्तुत कृतिमा समावेश गरेका छन् । भावना, कल्पना, अनुभूति, अभिव्यञ्जना, अभिव्यक्ति सँगसँगै अकृत्रिम प्रवाहमय सुन्दर शैलीका कारणले ती कविताहरू ओजपूर्ण र पठनीय बन्न पुगेका छन् । अमेरिका देशभित्रकै नद–नदी, समुद्र, धरोहर, वैज्ञानिक चमत्कार, सभ्यता, प्रगति र समृद्धिका अनेक थोकहरूलाई आलम्बन गर्दै रचिएका ती कविताले अमेरिका देश मात्र होइन, तर आधुनिक मान्छेका जीवन–अस्तित्वलाई मूल्य प्रदान गर्ने धृष्टता गरेको भेटिन्छ । कवि दामोदरले भावनामा जति डुबुल्की मार्नसकेका छन्, कल्पनामा त्यत्तिकै उडान भर्नसकेका छन् । सत्य–यथार्थको धरातलदेखि नभागी त्यहीँ भूमिमा उभेर गरेका उनका कविताहरू आजका वा आधुनिकोत्तर युगका गतिशील प्रतिकृतिहरू हुन् । सहज सरल दृश्यभूत प्रतीकहरू चुन्दै सुन्दर मनोविम्बहरू उतार्ने उनको ऊर्जस्वी सामथ्र्य प्रशंसनीय रहेको छ ।

स्ट्रोनबुक स्ट्रीटमा— कविताका प्रवाहमा आधुनिक कृत्रिम बुद्धिमताको प्रभाव अक्षुण्ण भेटिन्छ । कवि भन्छन्—

बुद्ध, क्राइष्ट, पैगम्बर, कृष्ण र जराथ्रुस्त कोही नभेटेपछि 

बृद्ध भइसकेका

माक्र्स, माओ र गान्धीलाई पनि वास्ता गरेन उसले

बरु सुमसुम्यायो स्टेफेन हकिन्सलाई

जगायो मार्क जुकरबर्गलाई

रुख र झाडीको आडमा उभिएका घरहरू

मौन चित्कार निकालिरहेछन्

बन्द नगर हतियार, बन्द नगर अकाल मृत्यु

हामीलाई हाम्रो सुरक्षा चाहिएको छ

हतियारले मात्र गर्नसक्छ अब मान्छेको सुरक्षा

मृत्युको पर्खालले मात्र जोगाइरहेछ हाम्रो जीवन

(स्टोनब्रुक स्ट्रीट)

आधुनिक जीवन भोगाइका तिक्त अनुभवहरू कटु यथार्थहरू, आशङ्काजनक आकस्मिकताहरू, विश्वले सर्वोच्च मानेको देश— अमेरिकाको युगौंदेखिको विश्ववर्चश्व, सभ्यता, दर्शन, विज्ञान, उद्योग, राजनीति, युद्ध अतिक्रमण, कूटनीतिक गति इत्यादिलाई कवि दामोदरले निकै नजिकबाट हेर्नसकेको  देखिन्छ । सम्पूर्ण कविताको सेरोफेरो गरेपछि कविले अमेरिकी भूगोल, इतिहास र सभ्यताको पृष्ठभूमिमा आधुनिक मान्छेको जीवनलाई रूपाङ्कन गर्न खोजेको देखिन्छ । 

अमेरिकी भूगोलमा अवस्थित लेक मिशिगन, टर्निङ पोइन्ट टेक्सास, वाटर फाउन्टेन, ताल, तालको प्रेमसूत्रजस्ता कविताहरूमा कविले पर्यादृष्टि पु¥याएका छन् । नद–नदी, ताल–पोखरी, छाल, हरित–प्रकृति, पहाड–पर्वत, बस्ती आदिका नैसर्गिक प्रतिरूप अधिकांश कविताहरूमा प्रदर्शित पाउँदा कविको पर्याप्रेम स्वतः अघि आएको देखिन्छ ।

यस सङ्ग्रहमा सङ्कलित कविताहरूबारे माथिका कुराहरू मात्र पर्याप्त होइन यसबाहेक धेरै गहन, काव्यिक र प्राज्ञिक विश्लेषण र मूल्याङ्कनको ठाउँ प्रशस्त रहेको छ । भावगत र कलागत पक्षको अलग्गै निरूपण हुनु अरु जरुरी छ । प्रवृत्तिगत दृष्टिले समकालीन कविताधारामा देखिने यो कृति मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे शुद्ध नवीनताको द्योतक छ । डायस्पोरिक चेतनाको गतिशील प्रक्षेपण कविबाट सक्षम ढङ्गमा भएको छ । अमेरिकी पृष्ठभूमिमा बाँचेको आजको युगीन मनुष्य समाज, नारी प्रेम, भौतिक उपलब्धी, सभ्यता र द्रूततर विश्व मानवसमाजलाई नै आफ्नो स्थितिबोध र अस्तित्वबोध गराउन खोज्ने कवि डा. दामोदर पुडासैनी ‘किशोर’को निष्फारित कवित्व प्रतिभा साँच्चै प्रशंसायोग्य पाइन्छ । कवितात्मक शैली धनी छ, भावनामय विचरणमा यथार्थको अप्रतिम प्रतिकृतिहरू निर्माण गर्न कवि शक्तिशाली देखिन्छन् । 

आधुनिक नेपाली कविताका पाठकहरूले मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे बाट कविताको चोखो रस आश्वादन गर्न पाउने नै छन्, तृप्ति पनि अवश्य पाउनेछन् । समयको गतिशीलन र परिवर्तनका रूपहरूसँगै बदलिरहने युगको आरोह–अवरोहहरूलाई कवि दामोदरले खुबै असल ढङ्गले अङ्कित गरेको यो कविताकृति आधुनिकोत्तर कविता र कविहरूका समाहारमा प्रतिनिधिक ठान्नु संशय छैन । मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे जस्तै उनका कविताप्रवाह कुदिरहनुपर्ने आभास हुन्छ । अमेरिकी पृष्ठभूमिमा युग–यथार्थको यति सजीव रूपाङ्कन सायदै कुनै नेपाली कविले आजसम्म गरेका होलान् । नेपाल–भारत बाहिर गएर अन्य देशलाई कर्मथलो बनाएका अरु कवि–प्रतिभाहरूले पनि कवि दामोदरले जस्तै यस्तै प्रतिभाको प्रस्फुटन गरे भने नेपाली विश्वसाहित्यलाई त्यो अप्रतिम प्राप्ति हुनेछ । समष्टिमा, कवि दामोदर पुडासैनी ‘किशोर’को मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे आजको डायस्पोरिक जीवनशैलीको सुन्दर प्रतिविम्ब हो, प्रतिकृति हो । यो कवितासङ्ग्रह समादृत हुनेछ सबैबाट भन्ने मेरो विश्वास छ । कृतिगत विशेषता र उपलब्धिको मूल्याङ्कन अवश्यम्भावी छ । कविज्यूलाई यो सुन्दर कविताकृतिका लागि मनग्गे बधाई र लछेप्रै शुभकामना सधैँलाई !

दार्जिलिङ, भारत

२०८१ आषाढ २३

(‘मेन स्ट्रीटमा कुदिरहेकी स्वास्नीमान्छे’ कविता संग्रहबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रा.डा. कृष्णराज घतानी
प्रा.डा. कृष्णराज घतानी
लेखकबाट थप