जीवनको त्यो क्षण : सर्प र बिच्छीहरूको जङ्गलमा–१
सुखद् वर्तमानमा उभिएर दुःखद् अतीतलाई नियाल्नु सायद आनन्ददायी हुन्छ । मानिसले आफूले छिचोलेको अतीतको विकट बाटो आफ्नो स्मृतिपटको ऐनामा देख्छ । उसले त्यसमा आफूले लडेका कष्टपूर्ण लडाइँका नानावली दृश्यहरूको दर्शन गर्छ । सङ्घर्षको प्रक्रियामा जीवनको रूप र गुण क्रमशः फेरिँदै गएको अनुभूत गर्छ ।
मानिसलाई आफ्ना कष्टसाध्य प्रयत्नहरूको सार्थकता बोध हुन्छ । त्यसबाट उसमा आत्मगौरव, आशावाद र आनन्दका भावनाको घनीभूत फोहरा फुट्छ । र, आफ्ना सन्तति र प्रियजनहरूको भविष्यका क्षितिजको उज्यालो प्रकाश उसका आत्माका आँखामा खेल्छ । र, मानिस उल्लासले, उमङ्गले, जीवनको उत्कट मोहले छताछुल्ल हुन्छ— अहा ! धर्तीमा मानिस भएर जन्मनु र मानवोचित जीवन जिउनु, अन्याय र असमानताविरुद्ध जुध्नु र जित्नुमा कत्रो गौरव छ !
तर नेपाली इतिहासको जुन कालखण्डमा म जन्मेँ र बाँचिरहेँछु, त्यसमा त्यस्तो गौरवको अनुभूति गर्ने अवसर इतिहासले मलाई दिएन । तसर्थ दुःखद् वर्तमानमा उभिएर दुःखद् अतीतको वर्णन गर्नुमा के आनन्द छ ? के सार्थकता छ त्यसमा ? आखिर के प्रयोजन छ त्यसको ?
अहिले र लामो पञ्चायती कालरात्रिका बिचमा ०४६ सालको जनआन्दोलन छ । जनआन्दोलनमा कतै उत्सुक रमितेका रूपमा, कतै क्रियाशील कर्ताका रूपमा आफू पनि सामेल भएका आला सम्झनाहरूको ताँती मनमा अझै छँदै छ । जीवनको थोत्रो जगलाई भत्काएर नौलो जीवनको जग खडा गर्ने आन्दोलनको धोको कति उमङ्गपूर्ण थियो ! त्यस उमङ्गले ठुलो जोस र सुर्याइँलाई जन्मायो । जीवनको अँध्यारोलाई पन्छाएर उज्यालोको सिर्जना गर्न, अन्यायलाई मासेर न्यायको रीत खडा गर्न नागरिकले बडो उल्लासपूर्वक आफ्नो जिउज्यानको आहुति दियो । उथलपुथल, बलिदान, विप्लव... सहरव्यापी आँधीमय बबन्डर, अहो !
आँधीपछि वर्षा हुन्छ । वर्षापछि प्रकृतिमा हरियाली लहलहाउँछ, फूल फुल्छ, सुवास फैलिन्छ, पुतली उड्छन्, मौरी भुनभुनाउँछन्, छहरा छङ्छङ् गर्दै हामफाल्छन् र पहराहरू हर्षले सुसाउँछन् । र यसरी प्रकृति जीवनले ओतप्रोत हुन्छ । सबैलाई थाहा छ, प्रकृतिमा सालिन्दा यस्तो हुन्छ । अनि जीवनमा ? के बलिदानबाट बगेको अनमोल रगत र आँसु, उल्लास र शोकको फोहरापछि पनि हरियाली नछाउनु नै जीवनको नियति हो त ?
२०४६ सालको जनआन्दोलनपछि जम्मा ६ वर्ष बितेर गए । तर ६ वर्षअघिको त्यो जनआन्दोलन सुदूर अतीतको, झन्डैजसो विस्मृतिको गर्तमा बिलाउन लागिसकेको घटनाजस्तो लाग्छ । जीवनमा त्यसको जिउँदो छाप कतै कति पनि शेष नरहेझैँ प्रतीत हुन्छ । मानौँ आन्दोलन भएकै होइन । मानौँ निरङ्कुश शासनलाई हाक्काहाक्की हाँक दिँदै सडक–सडकमा टायर बालिएकै होइनन् ।
मास्टरी आन्दोलनलाई उराल्ने अगुवा टोलीमा म पनि थिएँ । भावुक र उत्तेजक भाषण गर्नुपर्यो कि मेरो पालो आउँथ्यो । घोषणापत्र र पर्चा लेख्नुपर्यो कि मेरो खोजी हुन्थ्यो । बिन्तीपत्र र विज्ञप्तिका चिप्ला व्यहोरा रच्नुपर्यो कि त्यो जिम्मा मेरै काँधमाथि आइलाग्थ्यो ।
मानौँ प्रहरीका लाठा र गोलीसँग निःशस्त्र नागरिकहरू इन्साफी चेतनाको सहाराले जोडतोडका साथ लडेकै होइनन् । मानौँ चैत २४ गतेको ऐतिहासिक दिन आएकै होइन । मानौँ राजा महेन्द्रको सालिकमाथि जनआकांक्षाको प्रचण्ड वर्षा भएकै होइन । मानौँ महेन्द्रका सालिकबाट विप्लवकारी नागरिकलाई तारो हानेर खसालिएकै होइन । मानौँ त्यो सब मिथ्या हो, केवल मनचिन्ते भ्रम हो त्यो । त्यो त मानौँ फगत ध्रुवचन्द्र गौतमको अचम्मको स्वैरकल्पना हो । मानौँ त्यो मोहनराज शर्माको स्वैरकल्पनाजति पनि वास्तविकताको नजिक छैन ।
कटु यथार्थ साक्षी छ, ०४६ सालको जनआन्दोलनले जीवनको कुरूप र घृणित रूपलाई बलिदानबाट बगेको अनमोल रगतले धोएर सुन्दर र स्वच्छ पार्न सकेन । यस्तो लाग्छ— जीवन सर्प र बिच्छीहरूको बिगबिगी भएको एउटा जङ्गलबाट निस्केर सर्प र बिच्छीहरूकै बिगबिगी भएको अर्को जङ्गलमा भित्रियो । जङ्गलको रूप फेरियो, सर्प र बिच्छीहरू मासिएनन् । सर्प र बिच्छीहरूको डसाइ र चिलाइको रूप फेरियो, डस्दा र चिल्दाको पीडा घटेन । सर्प र बिच्छीहरूको एकछत्र रजाइँ चलेको पुरानो जङ्गलमा छँदा मैले पनि एकाध डसाइ र चिलाइको पीडा झेल्नु परेथ्यो । दुःखीहरूलाई दुःखको यो कथा सुनाउनुको के अर्थ हुन्छ मलाई थाहा छैन । तर जीवनको त्रासद् नाटकमा मैले लेखकको अभिनय गर्ने पाठ रोजेको छु र सार्थक होस् वा निरर्थक, यहाँ म आफ्नो पाठ अनुसारको अभिनय गर्छु ।
कुरा २०३९ सालको कुरा हो । तिनताक म चितौनको भरतपुर क्याम्पसमा मास्टरी गर्थें । क्याम्पसको मास्टरी थाल्नुअघि म नारानघाटको बालकुमारी माध्यमिक विद्यालयमा नानी–बाबुहरूलाई अंग्रेजी पढाउँथेँ । ठुलो मानसिक द्वन्द्व र खिचातानीका बिचमा मैले छँदाखाँदाको जागिर छाडेँ । जागिर छाड्नुका पछाडि छनलाई कारणहरूको माखेसाङ्लोको जोल्ठिङ परेको थियो । २०३६ सालको जनमत सङ्ग्रहअघि चर्को युवा–आन्दोलन भयो । युवा–आन्दोलनको धक्काले पञ्चायती शासनका क्रूर पन्जाको नेपाली समाजमाथिको अँठ्याइलाई किञ्चित् खुकुलो पार्योे । त्यो मौका छोपेर मुलुकभरिका हेलाँहोचो र पेलानमा परी निस्सासिएका मास्टर–मास्टर्नीहरू जुर्मुराउँदै उठे । पेसागत हक र नागरिक प्रतिष्ठाका निम्ति तिनले आन्दोलन छेडे । पञ्चायती दबदबालाई हाक्काहाक्की हाँक दिँदै तिनले सङ्गठनको मौलो गाडे ।
विद्यालयको सञ्चालक समिति शाही सत्ताको गुलामतुल्य थियो । त्यस गुलामका वक्रदृष्टि ममाथि यसै पनि छँदै थिए । अब त त्यो पाजी मलाई झन् निहुँ खोज्ने आँखाले हेर्न थाल्यो ।
मास्टरी आन्दोलनलाई उराल्ने अगुवा टोलीमा म पनि थिएँ । भावुक र उत्तेजक भाषण गर्नुपर्यो कि मेरो पालो आउँथ्यो । घोषणापत्र र पर्चा लेख्नुपर्यो कि मेरो खोजी हुन्थ्यो । बिन्तीपत्र र विज्ञप्तिका चिप्ला व्यहोरा रच्नुपर्यो कि त्यो जिम्मा मेरै काँधमाथि आइलाग्थ्यो । पञ्चायती हुकुमी शासनका लागि शिक्षक आन्दोलन नाभीको काँडो बन्योे । एक त इस्कुले मास्टर–मास्टर्नीको गोलो साह्रै ठुलो, अर्को कुरा राजधानी सहरदेखि मुलुकका कुना–कन्दरा र विकट भीर–पहरासम्म ती पैmलिएका । सरसुविधामा ती ठगिएका, लट्ठक पञ्चहरूका लहडी उन्मादबाट ती पेलिएका । सत्ताको लखेटाइमा परेका विरोधी राजनीतिक दलहरू भूमिगत थिए । खुला धरातलमा रहेका मास्टर र विद्यार्थीहरू राजनीतिक दलहरूका हातखुट्टाजस्ता थिए । ती थिए तिनका सन्देशवाहक, तिनका मेरुदण्ड, तिनका खुला मुख, तिनका प्रवक्ता । अनुदार सत्ता र त्यसका विलासी शासकका नजरमा मास्टर–मास्टर्नीहरूको चहलपहल चाकाबाट बिच्केको अरिङ्गालको गोलोको भुनभुनाइभन्दा पनि भयङ्कर भयो । शिक्षक सङ्गठनलाई सत्ताले पेसागत सङ्गठनका रूपमा होइन, अघोषित कम्युनिस्ट पार्टीका रूपमा हेर्यो । हेर्यो त्यसरी र त्यसै हेराइ बमोजिम व्यवहार गर्यो ।
सारङ्गी पेटधारी मास्टर–मास्टर्नी सामन्तवादका किलामा बाँधिएर निसासिएका थिए । आन्दोलन तिनका लागि किलाको दाम्लो छिनाएर खुला हावामा मुक्त मुद्रामा, उल्लासको सुन्दर वाटिकामा विचरण गुर्नसरह थियो । तिनले झेल्नुपरेका समस्या थिए अनगिन्ती र विकराल । आर्थिक समस्या, शैक्षिक समस्या, इज्जत र मर्यादाका समस्या, पटमूर्ख पञ्चहरूका पन्जाबाट छुटकाराको निकास खोज्ने समस्या । त्यसैले त सालिन्दा शिक्षक आन्दोलन हुनु एउटा नियमित क्रमजस्तै भयो । जतिजति आन्दोलन भए, हुँडार मनोवृत्तिका स्थानीय प्रशासकका नजरमा म त्यति नै नाङ्गिएँ । कहिले आन्दोलनको तयारीमा, कहिले बैठकमा, कहिले आन्दोलनका गोप्य गुफामा, कहिले पञ्चायती खोरमा— म विद्यालयको मास्टरी काममा घरीघरी गयल पर्न थालेँ ।
विद्यालयको सञ्चालक समिति शाही सत्ताको गुलामतुल्य थियो । त्यस गुलामका वक्रदृष्टि ममाथि यसै पनि छँदै थिए । अब त त्यो पाजी मलाई झन् निहुँ खोज्ने आँखाले हेर्न थाल्यो । मास्टरका रूपमा विद्यार्थीमाझ म लोकप्रिय थिएँ । तर म घरीघरी कक्षामा अनुपस्थित हुनु मेरो अलोकप्रियताको कारण बन्यो । प्रधानाध्यापक हुनुहुन्थ्यो कृष्णराज हमाल । बडो सज्जन र समझदार मानिस । उदार पुँजीवादी विचारका, राजनीतिमा भन्दा विद्यालयको उँभौलीमा बढी रुचि राख्ने र मरिमेट्ने स्वभावका । मेरो अप्ठ्यारो स्थिति उहाँलाई राम्रै थाहा थियो र त्यसप्रति उहाँको मूक समभाव र सहानुभूति पनि थियो । तर विद्यालयको रानोको हैसियतले उहाँका पनि आफ्नै समस्या थिए । सञ्चालक समितिको दबाब, विद्यार्थीको कचकच, विद्यालयको प्रगति अघिल्तिर लाग्ला भन्ने चिन्ता । विद्यालय प्रशासन मलाई फालीहाल्न चाहँदो हो । तर प्रधानाध्यापक र विद्यार्थीको मनसुवा त्यो थिएन । विद्यालयमा मेरो अनियमित हाजिरीको कारण एकातिर तिनमा मप्रति बढ्दो अरुचि थियो, अर्कातिर मेरो मास्टरी योग्यता र सार्वजनिक प्रतिष्ठाका कारण तिनको मप्रति केही न केही आकर्षण बाँकी नै थियो । फेरि म परेँ अङ्ग्रेजीको मास्टर र मेरा पक्षमा यो थियो ठुलो बल ।
के काङ के वाम— चिन्तन र जीवनशैलीको चुरोमा मण्डले मास्टरहरूमा भन्दा फरक र नयाँ चिज तिनमा मैले केही पनि पाइनँ । विद्यार्थीगणका कलिला, लचिला र जिज्ञासु मगजमा प्रासङ्गिक, प्राज्ञिक र नैतिक चेतना सञ्चार गर्ने गुरुजस्ता ती लागेनन् मलाई ।
कालक्रममा शिक्षक सङ्गठनको नेतृत्वमा दलीय गुटबन्दीरूपी रोगका लक्षण देखापर्न थाले । कतै अदृश्य कुनाबाट आएका निर्देशन र निर्णयमाझ सङ्गठनभित्र टक्कर पर्न थाल्यो । मलाई त्यो मनपरेन । शिक्षक नेतृत्वमा मनमुटाव, सञ्चालक समितिको वक्रदृष्टि, हुँडार मनोवृत्तिको पञ्चायती प्रशासनको निरन्तरको चियो गराइ । हैरानी पनि कति कति ! मास्टरी छाडेर पेट पाल्नका लागि म के गर्छु, मसँग कुनै सोचाइ र जुक्ति थिएन । उदासीनता, दुविधा र अत्यासका बिचमा मैले मास्टरीबाट राजीनामा दिएँ । गुलाम सञ्चालक समितिलाई खोजेजस्तै भयो— कुचो लगाउनुपर्ने कसिङ्गर बतासले उडाएर लग्यो ।
मानसिक खिचातानी, द्वन्द्व र थकानको गह्रुँगो पहरो दिमागबाट पन्छियो । अनि लगत्तै अर्को पहरो खसेर मलाई थिच्न थाल्यो । पेट पालन गर्दै आएको बाह्र–चौध वर्षदेखिको इलम चटक्कै छाडेँ । चारो जुटाउनुपर्ने बचेरा दुइटा भइसकेका छन् । श्रीमतीको नर्स जागिर छ, आयस्ताको अरु बन्दोबस्त केही छैन । केटाकेटीलाई अङ्ग्रेजीका गोटा माने सिकाउनुबाहेक कमाइ खाने सीप आफूसँग केही छैन । नाकै अघिल्तिर बन्दुक बोकेको पञ्चायती मैमत्त साँढे छ । त्यसका गिद्धेदृष्टि नित्य ममाथि छन् । ढाक्रे भइसकेपछि लामो सुस्ताइको सुस्केरासाथ मैले आफ्नै अन्तरलाई सोधेँ— भाइ कान्छा, अब कता ? उत्तरबिनाका चारै दिशा मौन छन् । मौन र बिलखबन्द ।
सबै झैझमेला बिर्सेर अलि दिन चुपचाप एकान्तमा सुस्ताउन मन लाग्योे । बेलामौकामा केही पुस्तक जोडेको थिएँ । पटक–पटक शाही प्रहरीले लुटेर पनि केही त अझै बाँकी नै थिए । हतारमा सर्सरी केही पढेको थिएँ, बाँकी सबै पढ्न बाँकी थिए । थाकबाट केही पुस्तक छानेँ । पढ्ने प्राथमिकताक्रम मिलाएँ । अनि ढोका लाएर, पलँेटी कसेर थालेँ पढ्न । आलोपालो गर्दै गोर्की, लु सुन, डिकेल्स, बाल्जाक र हेमिङ्वेका एकाध रचना पढेँ । तोल्सतोय पढ्न बडो चाखलाग्दा लागे, तर पढिसकेपछि भने मन त्यसैत्यसै खिन्न तुल्याउने । जीवनका सबै जटिल समस्या बटुलेर समाधानका निमित्त निराकार परमेश्वरको पाउमा सुम्पिदिने उनको जीवनदृष्टि मलाई उच्चाटलाग्दो लाग्योे ।
अल्बर्ट कामु पढ्न खोजेँं, सिसिफसको हैरानी देखेर मेरो थकानमाथि थकान थपियो । पढाइप्रति अरुचि भएको बखतमा कहिलेकाहीँ नारायणी नदीको किनारमा, चिल्लो चप्लेटी ढुङ्गोमा एक्लै घन्टौँसम्म गजधम्म बसेर छालहरू र जलतरङ्गहरू एकसुरले हेरेँ । नदीको जीवन–प्रवाहमा प्रकृतिको अविराम गति नियाल्दा आनन्दविभोर भएँ म । र सँगसँगै नदीको गतिका मुखेन्जी मानिसको जीवन जड, लोसे र टिठलाग्दो लाग्योे र मन भयो त्यसैत्यसै विरक्त । मनको सतह शान्त थियो, गहिराइमा चिन्ताका उत्ताल तरङ्गहरू परस्पर जोल्ठिँदै जीवनको दिशाबिनाका भित्तामा ठोक्किइरहेका थिए ।
एकाध दिन बिराएर एकाध विद्यार्थी मकहाँ आउँथे । ट्युसन पढ्ने निहुँ पारेर काखीमुनि कापी–पुस्तक च्यापेर ती आउँथे । राजनीतिका एकाध कुरा मलाई सुनाएर अनि मसँग एकाध कुरा सोधेर ती जान्थे । सामाजिक सम्पर्कका मेरा जीवन्त माध्यम तिनै त थिए । एक दिन तिनले मलाई सुनाए— छिप्पट पञ्च र जासुस प्रशासनमाझ म अब बाह्रमासे राजनीतिमा लाग्छु भन्ने कुराको गाइँगुइँ चल्न थालेछ । जिल्लाबाट लखेट्ने कि खोरमा जाक्ने कुरा चल्या छ भनेर तिनले मलाई सुनाउन भ्याइहाले । सोच्दै थिएँ, अब काठमाडौँतिर लाग्छु । पाए यसो अनुवादको काम गर्छु र केही रचनात्मक कुरा लेख्छु । जिल्लाको साँगुरो, निसासलाग्दो वातावरण हेरी काठमाडौँको वातावरण त केही खुकुलो होला । दमनकालमा सहरको कोलाहलमाझ हराउन साधारण नागरिकलाई तैबिसेक सजिलो हुँदो हो कि ?
यस्तैमा भरतपुर क्याम्पसका प्रमुखले मलाई डाकी पठाए । मैले अलिन्जेल वा लामै समय अङ्ग्रेजी पढाइदिए हुन्थ्यो भन्ने उनको मनसुवा मेरा कानमा पर्यो । पढाउने इच्छा रत्तिभर थिएन, तैपनि शिष्टाचार राखिहालुँ न त भनेर भेट्न गएँ । क्याम्पसप्रमुख विद्यार्थीको घेरामा थिए । खोजीमर्दा मास्टर नपाएर उनको हरिबिजोक भएको थियो । बिचल्लीमा परेका विद्यार्थी बेचैन थिए । भेट हुँदा क्याम्पसप्रमुखले बडो विनीत भावले आग्रह गरे । मैले कुरा साँधमा राखेर अलि दिनसम्म अरुचिका साथ आलटाल गरेँ । पेट पाल्न र जासुस र प्रशासनका मुखेन्जी आफ्नो जिउमा भ्रमको खोल हाल्न मैले केही न केही त गर्नु नै थियो । पढाउँ कि नपढाउँ भनेर दोमन हुँदाहुँदैै म पढाउन थालेँ । जटिलताको एउटा जन्जालबाट निस्केर जटिलताको अर्को जन्जालमा म फसेँ । तर क्याम्पसको मास्टर हुनलाग्दा मैले केही आकर्षणका कुरा पनि देखेको थिएँ । पहिलो कुरा, विद्यालयको भन्दा थोरै समय पढाएर म आफूलाई चाहिँदो चारो जोड्न सकुँला । फुर्सद मनग्गे होला र म केही रचनात्मक लेखन गर्न सकुँला । दोस्रो कुरा, क्याम्पसका गुरुजनहरूसँग केही बौद्धिक सरसङ्गत गर्ने, केही सिक्ने अवसर मिल्ला । तर त्यस्तो केही भएन ।
स्कुलका मास्टर हेरी क्याम्पसका मास्टर फरक अवश्य थिए । लवाइको चिटिक्कपनामा ती फरक थिए, ती पेटभरि खान पाएका र निश्चिन्तजस्ता देखिन्थे । तिनलाई हल्काफुल्का गफ गर्दै सियालमुनि सुस्ताउन वा चिया पसलमा घन्टौँ बिताउन मनग्गे फुर्सद थियो । तर तिनमा बौद्धिक जिज्ञासा, सामाजिक दायित्वको चेत र बौद्धिक अन्तत्र्रिmयाको चाहना शून्य बराबर थियो । क्याम्पस प्रशासनको पत्यारिलोे र साखुल्ले बन्नु, घन्टीको इसारामा कक्षामा पस्नु र थोत्रा डायरीमा टिपेका वा कण्ठ गरेका पाठका बासी बेहोरा ओकल्नु, प्रशासनका दृष्टिमा आफ्नो बफादारीको मात्रा घट्ला कि भन्ने डरले ज्वलन्त सामाजिक–राजनीतिक समस्याबारे प्रश्न उठाउन र तर्क गर्नबाट पन्छिनु— हो, प्रायः ती सबैको दिनचर्या यस्तै थियो । गफास्टक पनि थिए केही, तर तिनका गफमा टपर्टुय्याँपनबाहेक नयाँ कुरा केही थिएन । के काङ के वाम— चिन्तन र जीवनशैलीको चुरोमा मण्डले मास्टरहरूमा भन्दा फरक र नयाँ चिज तिनमा मैले केही पनि पाइनँ । विद्यार्थीगणका कलिला, लचिला र जिज्ञासु मगजमा प्रासङ्गिक, प्राज्ञिक र नैतिक चेतना सञ्चार गर्ने गुरुजस्ता ती लागेनन् मलाई । ती त दैनिक तालिकामा बाँधिएका, ताबेदारीका लाममा नारिएका, झर्रा जागिरेजस्ता मात्र लागे मलाई । हुन त तिनका माझमा सचेत र जिम्मेवार गुरु पनि हुँदा हुन्, तर त्यो जागिरमुखी ताबेदारी वातावरणको चापमा परेर होला, ती मौन मूर्तिबाहेक केही देखिएनन् । सुपठित छु भनी बकाइदा अभिनय गर्नेहरू पनि त्यहाँ नभएका होइनन्, तर तिनको चालढाल देख्दा मलाई लाग्योे, ती पठित होलान् नै तर ती जिउँदो बौद्धिक चेतना र सामाजिक दायित्वबिनाका कुपढहरू हुन् । अपेक्षा र आकर्षणका मेरा भावना यसरी सतचूर्ण भए ।
प्रशासनतिरबाट तिनले मेरोबारेमा के के सुनेका थिए र मप्रति तिनका चित्तमा मेरो कस्तो छवि छापिएको थियो त्यो मलाई थाहा छैन । तर अचम्म त मलाई के लाग्योे भने आफूलाई वाम बुद्धिजीवी भन्न रुचाउने मास्टरहरूमा मसित संवाद गर्ने, बौद्धिक सत्सङ्ग गर्ने अन्तरङ्ग अभिरुचि मैले लेस मात्र पनि पाइनँ । म खिन्न भएँ । क्याम्पसको नौलो त्यस परिवेशमा मैले आफैँलाई आफू एक्लो, बेग्लो र बिरानो पाएँ । विद्यालयका मास्टर–मास्टर्नीमाझ मेरो उपस्थितिको अर्थ फरक थियो— आत्मीय, अनौपचारिक र अन्तरङ्ग । एकाध सन्दिग्ध र सन्काहा मण्डलेबाहेक विद्यालयका सबै मास्टर–मास्टर्नी एक–अर्काका अभिन्न अङ्गजस्ता थिए— एक अर्कासित भित्रैसम्म भिजेका । तर क्याम्पसकाहरूसितको मेरो सम्बन्ध पछिसम्म पनि हाटबजारको हुलमा बिराना मानिसहरूको भेटघाटजस्तो मात्र रहिरह्यो । तैपनि गहिरो अनिच्छा र अरुचिका साथ मैले आफूलाई दिनदिनै घरदेखि क्याम्पससम्म घिसारिरहेँ ।
(बाँकी पछि)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाका सभापति रवि लामिछानेसहित १० जनाविरुद्ध चितवन प्रहरीमा जाहेरी
-
कीर्तिपुरको प्रमुख बन्न ११ स्वतन्त्र उम्मेदवार दौडमा‚ कसलाई सहयोग गर्ने अन्योलमा रास्वपा
-
सभामुख घिमिरे कम्वोडिया जाँदै
-
दुर्गा प्रसाईंको घरबाट पक्राउ परेका ९ जनालाई मुद्दा चलाउने निर्णय
-
गुन्डा नाइके विश्नोईको नाम लिएर नेपालका व्यवसायीलाई धम्कीपूर्ण १४१ कल
-
प्लाष्ट नेपालले भृकुटीमण्डपमा प्लाष्टिक प्रर्दशनी गर्ने