स्थानीय चुनावको अन्तर्य र राजनीतिक दलहरूको हैसियत
बीबी श्रेष्ठ
दोस्रो चरणको निर्वाचन सकिएर मतगणना सम्पन्न हुने चरणमा पुगिरहँदा राजनीतिक दलहरूको हैसियतको बारेमा विचार विमर्श सुरु भएको छ । हिजोको जनादेशलाई आधार मानेर यो चुनावलाई पनि त्यही अनुरूपको सतही व्याख्यामा रम्नेहरूका लागि यो स्थनीय निकायको चुनावले सोच्न बाध्य बनाइदिएको छ ।
०६४ सालको संविधान सभामा पहिलो राजनीतिक शक्तिका रूपमा उदाएको माओवादी अहिले भएको संविधानसभामा सबैभन्दा पहिलो राजनीतिक शक्ति नेपाली काङ्ग्रेसको सहयोगी बनेर देखापरेको छ ।
लोकतन्त्र र समाजवादलाई आफ्नो जननी सम्झने नेपाली काङ्ग्रेस देशको नै सबैभन्दा ठूलो राजनीतिक पार्टी भएर पनि माओवादीको वैशाखी टेकेर पुनः ठूलो शक्ति बन्ने दाउपेचमा लागेको भए पनि नराम्रोसँग चिप्लिएको छ । योसँगै नेपाली काङ्ग्रेस पार्टीको साख गुमेको सहजै अनुमान लाउनेहरू बेग्रल्ती भेटिएका छन् । आखिर अहिलेको सबैभन्दा ठूलो पार्टी नेपाली काङ्ग्रेस किन माओवादीको वैशाखी टेक्नुपर्ने अवस्थामा पुग्यो, त्यसो गर्दा पनि किन ऊ ठूलो पार्टी बन्न सकेन । राजनीतिक वृत्तमा अहिलेको विशेष बहसको केन्द्र हुन पुगेको छ ।
समावेशिता, गणतन्त्र, स्वायत्तता, विशेषाधिकार, समानताको हिमायती सम्झने माओवादी अहिले राप न तापको दोसाँधमा रहेको पाइन्छ । माओवादीको काग्रेससँगको को कुम जोडाइले माओवादी साँच्चै कम्युनिस्टको नीति विचार तथा सिद्धान्त अवलम्बन गरिरहेको त छ भन्ने कुरा साोचनीय विषय बनेको छ ।
सैद्धान्तिक रूपमा माओवादी आफ्नो विचार मिल्ने भनेको एमालेसँग हो, जनमोर्चासँग हो तर केका लागि माओवादी काङ्ग्रेसको सारथी बन्न बाध्य भयो ? विचार शून्य भएर हो कि पतोन्मुख भएर ? काङ्ग्रेससँग तालमेल गरेर एमालेलाई जसरी पनि झुकाउने अभिप्रायको निर्णय गरिरहँदा क्रान्तिकारी कमरेडहरूले समान्य सिद्धान्त, विचार, बहस गर्न उचित ठाने अथवा ठानेन ? आखिर केका लागि तालमेल ? सिट धेरै ल्याउनका लागि कि विचारले स्थापित हुनका लागि ? विचार र भावना मिल्नेसँग तालमेल भन्ने हो भने एउटा पूर्व जाने, अर्को पश्चिम जाने, कसरी सम्भव भयो ? राजनीतिमा हरेक कुरा सम्भव हुन्छ भन्ने मान्यतालाई मात्र स्थापित गर्ने हो भने विचार, सिद्धान्त, नीति कार्यक्रमको कुनै अर्थ छैन । विगतमा एमालेलाई पश्चगामी र कम्युनिस्ट नै होइन भन्ने पुष्पकमल दाहाल अब कसरी कम्युनिस्ट ? केका आधार र मापदण्डलाई आधार मानेर गरियो तालमेल ? जगको प्रश्न यही हो । केही सङ्ख्या गाउँपालिका वा नगर प्रमुख जित्ने अभिलाषा र जसरी पनि एमालेलाई देखाइदिने सोचका साथ गरिएको तालमेलले प्रचण्डको वैचारिक, सैद्धान्तिक र राजनीतिक भविष्य कमजोर भएको देखाउँछ ।
हिजोका प्रचण्ड आज कसैको लगौटी बन्न विवश भइरहेका छन् । माओवादीको विचारधार र धरातल यसले पनि प्रष्ट पारेको छ ।
नेकपा एमालेको सरकारमा सारथी बनेको माओवादी केपी ओली सरकारलाई इतिहासको नै राष्ट्रवादी सरकार र ओलीलाई सर्वेसर्वा नेता भएका बताएका प्रचन्ड नेपाली काङ्ग्रेससँग कुर्सीको ९ महिना सम्झौतापछि उचित कारणबिना नेपाली काङ्ग्रेससँग गठजोड जोडेर प्रधानमन्त्री बन्न पुग्यो । ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएर संसदमा बोलिरहँदा राष्ट्रघाती सरकारलाई बोक्न सकिएन भन्ने अभिव्यक्ति दिएर आफ्नो राजनीतिक धरातल थप कमजोर बनाउन पुगे ।
काग्रेससँगको सहयात्रा र त्यसबाट हुने चुनावले सरकार र सत्ताको दुरूपपयोग गरेर स्थनीय चुनावमा जित हासिल गर्न सकिने अन्धभक्त सोचका कारण स्थनीय निकायका आफ्नो पहिचान, परिचय गुमाउन पुग्यो । समय र मासलाई हेरेर रङ फेर्न सक्ने माहिर प्रचण्डको यही दोधारे रणनीतिका कारण राजनीतिक र बौद्धिक वर्गमा अविश्वासको पात्र बनेर जग हसाइरहेका छन् । कार्ययोजना, नीतिलाई तिलाञ्जलि दिएर गरिने क्रियाकलाप क्षणिकताका लागि मात्र हुनेछ भन्ने कुरामा अझै माओवादी यानेको प्रचण्डको सद्बुद्धि आउने लक्षण देखिँदैन । यही गिर्दो साख र जनताको तिरस्कारका बीचमा अझै केही समय प्रचण्डका भूमिकाहरू देख्न सकिन्छ ।
सु्शील कोइरालाका पालामा संविधान जारी हँुदा नै आफ्नो अधिपत्य राख्न नाकाबन्दी गरेको भारतको त्यो बेलामा प्रधानमन्त्री सम्हालेको केपी ओली अथवा एमालेको अहिलेको मुख्य साख भनेको भारतसँगको आमने सामने, भारतीय विस्तारवादको विरोध र जनतामा जगाएको आशाको परिणाम नै हो । भलै ओलि सरकारले गरेका कामहरू अहिले कार्यान्वयनका चरणमा रहेको छ ।
त्यही भारतको अधिनायकवादको शैलीको चर्को विरोधको कारण नै अहिले पहिलो र दोस्रो चरणको स्थनीय चुनावमा एमाले पहिलो पार्टी बनेको छ । नेपाललाई जसरी पनि गलाउने रणनीतिमा रहेको भारत ओली सरकारको मुकाविला, नेपालको राष्ट्रियता, अखण्डता, स्वाभिमानतामा खेलेको भूमिकाले नै अहिले पहिलो पार्टी हुने कारण हो । नेपालका अघोषित नाकाबन्दी भइरहँदा नेपाली काङ्ग्रेसजस्तो देशको ठूलो पार्टी चुसम्म नबोल्ने, आफूलाई परिवर्तनका मसिहा सम्झने माओवादी भारतसँग घुँडा टेकेर याचना गर्ने भूमिकालाई जनताले नजिकबाट नियालेका थिए । त्यही भूमिकाका कारण देशको पहिलो पार्टी भएर पनि एक्लै लड्ने आँट नभएर तालमेल गर्न बाध्य बन्यो । यद्यापि त्यो न्यानो पनि लामो समय टिक्न सकेन ।
संविधानमा मधेसी जनताका हक अधिकार छिनिएको दाबी गर्ने मधेसी दलहरूको हैसियत पनि यो चुनावले उदाङ्गो पारिदिएको छ । मधेस बाहुल्य क्षेत्रमा मधेसी दलले भन्दा अन्य दलको उपस्थितिले उनीहरूको चरित्रमाथि पनि शङ्का थोपरिदिएको छ । मधेस केवल हाम्रो हो भन्ने दम्भलाई उल्ट्याइदिएको छ । मधेसमा छिर्न पनि आफ्नो अनुमति लिनुपर्ने चिन्तन बोकेकाहरूका लागि यो चुनाव अभिशाप बनेको छ । संसारमा प्रविधिले अग्रगामी छलाङ मारिसकेको सन्दर्भमा पनि पुरातनवादी सोच राख्ने मानसिकताका कारण धरातल कमजोर बन्दै गइरहेको छ । जनताहरू सोच्न सक्ने, विचार, विश्लेषण गर्न सक्ने भइसकेको यथार्थलाई अङ्गीकार गर्न नसक्दा स्वतः भूमिकाविहीन हुनुपर्ने कुरामा सबै सचेत बन्नै पर्दछ ।
विचार, सिद्धान्त र भूमिकालाई अहिलेका जनताले मूल्याङ्कन गर्न सक्ने भएका छन् । देश र जनता, राष्ट्रिय अखण्डता, स्वाभिमान र स्वतन्त्रतको रक्षा गर्ने एक मात्र पार्टी एमाले हो भन्ने आभासका साथ जनताले एमालेलाई पहिलो शक्ति बनाएका हुन् । देश जल्दै गर्दा छिमेकीले हेप्दै गर्दा एमालेले लिएको राष्ट्रवादको कडीलाई समग्रमा देशका हरेक भूभागमा जनताले साथ दिएको देखियो । यही सत्यतालाई मनन गर्दै समग्र राजनीतिक दलहरू देश र जनताका लागि मिल्नुको विकल्प छैन । जनताका नाममा राजनीति गर्ने तर सिन्को पनि नभाँच्ने परिपाटीले आफ्नो भूमिका शून्य शिवाय केही हुन सक्दैन ।