‘सोह्र श्राद्धको पृथक् वैज्ञानिक कारण छ’
लक्ष्मण पन्थी अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिको सदस्य सचिव हुन् । उनी नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिको सदस्यको जिम्मेवारीमा पनि छन् । अर्घाखाँचीको छत्रदेवमा जन्मिएका उनी नेपाल संस्कृत विश्वविद्यालयबाट आचार्य (एमए) हासिल गरी हाल विद्यावारिधि गरिरहेका छन् ।
उनी हिन्दु संस्कार, संस्कृति, ज्योतिष शास्त्र एवं वास्तुकलाको पनि गहिरो अध्ययन गरिरहेका छन् । यसै सिलसिलामा हिन्दुहरूको महान् पर्व बडादसैँको पूर्व सन्ध्यामा सुरु भएको सोह्र श्राद्ध र आउँदै गरेका चाडपर्वबारे गरिएको कुराकानीको सम्पादित अंश
सनातन हिन्दुहरूका लागि साउन, भदौ, असोजमा किन महत्त्वपूर्ण छन् ? किन यी महिनामा चाडपर्वहरू धेरै पर्ने गर्छन् ?
हिन्दु संस्कार र संस्कृतिमा विशेषगरी साउनदेखि मङ्सिरसम्म एकदमै ठुला चाडहरू हिन्दु धर्मालम्वीहरुले मनाउने गर्छन् । किनकि यो वैज्ञानिक धर्म हो । सुरुमा नागपञ्चमी हुन्छ, जहाँ नागलाई शिवजीको गहनाको रूपमा पुजिन्छ । नागलाई पूजा गर्नुको विश्वसनीय वैज्ञानिक आधारहरू छन् । नागलाई मात्र होइन चराहरूलाई पूजा गर्छौँ । कागलाई पूजा गर्छौँ । गाइलाई सम्पूर्ण चराचुरुङ्गी जगत् सबैलाई पूजा गर्दछौँ । त्यति मात्र होइन प्रकृतिलाई पनि पूजा गर्छौ ।
अब पर्वको कुरा गर्दा नाग पञ्चमीबाट सुरु भयो । जनैपूर्णिमा, मातृसम्मान दिवस, पितृ सम्मान दिवस र लगतै अहिले सोह्र श्राद्ध सुरु हुन्छ । आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्ममा १६ वटा तिथिमा दिवङ्गत पितृलाई सम्मानका साथतर्पण, सिदादान र पिण्ड दान गरिने भएकाले सोह्र श्राद्ध भनिएको हो । सोह्र श्राद्ध भनेको पितृ कार्य गर्ने हो ।
त्यसपछि दुर्गा पक्ष सुरु हुन्छ, दुर्गा पूजा गरिन्छ । क्रमशः लक्ष्मीपूजा, भाइ पूजा गरिन्छ । मह भनेर आफ्नो शरीरलाई आफै पूजा गरिन्छ । त्यसैले हिन्दु धर्म एकदमै वैज्ञानिक छ । सबैलाई समान गर्दछ । यो जगत् वा ब्रह्माण्ड रहनको लागि सबैको उत्तिकै महत्त्वपूर्ण योगदान छ । त्यसैले सबैको पूजा गर्ने प्रचलन हाम्रो हिन्दु संस्कारमा छ ।
धर्म शास्त्रहरू तिथि प्रधान हुन्छन् । त्यसैले कुन तिथिमा के गर्ने भन्ने हुन्छ । आश्विन कृष्ण पक्षलाई पितृ पक्ष मानिन्छ । यो समयमा पितृ पक्षलाई पूजा गरिन्छ । यसपछि लगतै आउने आश्विन शुक्ल पक्षमा चाहिँ देवीको पूजा गरिन्छ । शक्तिको पूजा गरिन्छ । त्यसमा विभिन्न देवीका रूपहरू महाकाली, महालक्ष्मी ,महासरस्वतीले जय विजया गरेको दिनलाई पूजा गरिन्छ ।
कार्तिकको कृष्ण पक्षमा लक्ष्मी पूजा गरिन्छ । महाकाली, महालक्ष्मीको पूजा गरिन्छ ।हामीलाई जति नै पितृसत्तात्मक भनेता पनि मातृ शक्तिलाई धेरै महत्वको रूपमा अगाडि बढाएको पाइन्छ ।
त्यसपछि लगतै कार्तिक शुक्लपक्ष सुरु हुँदाहुँदै द्वितीया आउँछ ।त्यो भनेको भाइटिकाको पूजा हुन्छ । त्यसैगरी दिदीबहिनीलाई पूजा गरिन्छ । अहिले रक्षा बन्धनमा राखी भन्ने चलन भारतबाट आएको हो । त्यसमा बहिनीले दाजुभाइलाई बाँध्ने चलन हो । खासगरी रक्षाबन्धनको दिन गर्ने भनेको ऋषितर्पणी, ऋषिहरूको नाममातर्पण दिने,पूजा गर्ने र रक्षाबन्धनधारण गर्ने हो । आफ्नो सुरक्षाको लागि रक्षाकवजको रूपमा रक्षा बन्धनले काम गर्छ भन्ने मान्यता छ । सोहीअनुसार पूजा गरिन्छ, त्यही भएर पनि हाम्रा चाडपर्वहरू वैज्ञानिक छन् ।
सनातन धर्मशास्त्रले श्राद्धलाई किन महत्त्व दिन्छ ? यसका प्रकारहरू पनि हुन्छन् ?
चाडबाडहरू सुरु भएसँगै देवकार्यहरु सुरु भएका हुन् । पूजा गर्नुभन्दा अगाडि पितृकार्यहरुलाई पूजा गर्नुपर्छ भन्ने चलन छ । हिन्दु संस्कार अनुसार कसैको घरमा ठूलो हवन पूजालगाउँदा पहिला भगवानलाई पूजा गर्नुभन्दा अगाडि पितृहरूलाई पूजा गरिन्छ र श्राद्ध गरिन्छ । पितृलाई खुसी नबनाएसम्म विभिन्न देवीदेवताका कर्महरु पूरा हुँदैन भनिन्छ । जति पनि चाडपर्वमा भगवान्हरूको पूजा गरिन्छ, त्यो भन्दा पहिला पितृहरुको पनि चाड मान्नुपर्छ । पितृहरुको बास चन्द्रमाको शिरमा हुन्छ भनिन्छ । प्रत्येक चन्द्रमासको जुन एक महिना हुन्छ त्यो चन्द्रमास पितृको एक दिन हुन्छ र एक वर्ष १२ दिन हुन्छ । र १२ दिन सकिने बित्तिकै एउटा चन्द्रमासको समय सकिन्छ । त्यसपछि कृष्ण पक्ष सुरु हुन्छ । जतिपनि पितृकार्य गरिन्छ, कृष्ण पक्षमा गरिन्छ ।
बितेर गएका पितृहरूले आश गर्ने गर्छन् । पितृपक्षको समयमा आफ्ना सन्तानहरूले कसरी मानिराखेको छन्, कत्तिको श्राद्ध गरिराखेका छन् भन्ने हेरिराखेको हुन्छन् । पितृहरूले घरमा कहिले आउँछन् भन्दा जुन दिन बितेर गएको तिथि परेको हुन्छ त्यो तिथिमा उहाँहरू आउनुहुन्छ । श्रद्धाको प्रकारमा यसलाई महालयको श्राद्ध भनेर मानिन्छ । १५दिनको जुन पितृ पक्ष समय छ यसलाई महालय श्राद्ध भनेर चिनिन्छ । श्राद्धको अर्थ श्रद्धा पनि हो । पितृलाई मान्ने चलन अथवा बितेर गएकाहरूको लागि मानिने र सम्मान गर्ने दिन भनेको श्रद्धा गर्ने दिनलाई भनिन्छ । पितृको तिथिको दिनमा नै गर्नुपर्छ । त्यो तिथिमा गर्न मिलेन भने एकादशीमा गर्न सकिन्छ र गर्नैपर्छ । पितृले हेर्छन् र देवताले दिन्छन् । पितृ खुशी भएनन् भने हामीले जीवनमा नै काम सफलता पूर्वक गर्न सक्दैनौ ।
महालय श्राद्धमा सकेसम्म हजुरबुबाको तिथिमा गर्ने, त्यसपछि बुबाको तिथिमा गर्ने चलन छ । तर खास बुबाको तिथिमा नै गर्दा पितृहरूले तर्पण पाउँछन् भन्ने चलन छ । पितृहरूलाई खुसी बनाउनको लागि बचनहरू एकदमै मिलाउनुपर्ने हुन्छ ।
यो श्राद्ध एकै दिन र एकै ठाउँमा गर्नुपर्छ भन्ने छ, यस्तो किन गरिन्छ ?
मृत्यु कुन दिन भएको हो त्यसको तिथिको दिनमा नै श्राद्ध गरिन्छ । यसमा फेरि पिताहरूको मात्र तिथि जोडिन्छ, माताहरूको जाडिदैँन् । पिताको तिथिको दिनमा सबैको श्राद्ध गर्ने चलन छ । त्यो दिनमा गर्नपाएन छुट्यो भने त्यसलगत्तै एकादशी तिथि पर्छ भने त्यो दिन गर्ने हो । त्यो पनि सकिएन भने आमा औंशीतिथिमा गर्न सकिन्छ ।
तपाईँ नेपाल पञ्चाङ्ग निर्णय विकास समिति सदस्य पनि हुनुहुन्छ । विकास समितिले यति बेला के काम गरिरहेको छ ?
नेपालको विशेषगरी पञ्चाङ्ग निर्णायक विकास समिति भनेको नेपाल सरकार एक मात्र ज्योतिष अथवा धर्मशास्त्रलाई आधार मान्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयअन्तर्गत पञ्चाङ्ग निर्णायक विकास समिति पर्छ । यसले पञ्चाङ्गहरू प्रकाशन गर्छ । तिथिहरूको निर्क्योल गर्छ, मुहूर्त, साइत, तिथिहरू पनि निर्णय गर्ने गर्छ । विभिन्न समयमा आउने चाडपर्वहरूको पनि निर्णय गर्छ ।
यो धेरै महत्त्वपूर्ण संस्था हो तर पछि परेको छ । राज्यले यसलाई हेर्ने दृष्टिकोण फरक छ । राज्यको निकायकै व्यक्ति भएर मैले भन्न सुहाउँछ कि सुहाउँदैन तर धर्मशास्त्र र ज्योतिषसँग सम्बन्धित कुराहरू धेरै यसमा पर्छ । नेपाल सरकारले सार्वजनिक विदा दिने कुरामा पनि कुनकुन दिन विदा दिने भनेर हामीसँग सल्लाह गर्नुपर्छ । यो दिन यस्तो तिथि छ, दिवस छ भनेर सबै खालका निर्णय गर्ने यही समितिले हो ।
समितिले गर्ने निर्णय एकदम आधिकारिक हुन्छन् । यतिकै हचुवातालमा निर्णय गर्दैन । विभिन्न सम्बन्धित क्षेत्रका विद्वानहरूसँग बसेर निर्णय गर्ने गरिन्छ । नेपालमा १५ जना पञ्चांगकार हुनुहुन्छ, उहाँहरूले निकालेको पञ्चाङ्गहरू नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृत प्रदान गर्छ । त्यसकै आधारमा सार्वजनिक हुन्छ ।
नेपालमा एउटा भ्रम पनि छ, सामाजिक सञ्जालमार्फत थोरै ज्ञान भएकाहरूले पनि भविष्यवाणी गरिरहेको कुरा छन् । त्यसलाई नियमन पनि यही समितिले गर्छ । के गर्न हुने के गर्न नहुने, धर्म शास्त्रभित्र के के नियमहरू छन् भन्ने बारेमा जानकारी पनि यो समितिले गर्छ ।
अहिले विगत दुई वर्षदेखि हामीले के गरिरहेका छौ भने नेपालमा जति पनि क्यालेन्डरहरू प्रकाशन हुन्छन्, ती क्यालेन्डरहरू पनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिसँग स्वीकृत लिएर, दर्ता गरेर निश्चित शुल्क तिरेर मात्र प्रकाशन गर्न पाउने भनेर पनि निर्णय गरेका छौ । यसलाई एउटा सूत्रको रूपमा, एकताबद्ध बनाउनको लागि पञ्चाङ्ग निर्णायक विकास समितिले काम गर्ने हो ।
तपाईँहरूले तिथि तोक्दा पनि कुनै समुदायले अघिल्लो दिन मनाउने कुनैले अर्को दिन मनाउने हुन्छ, यो किन यस्तो भएको हो ?
यस्तो कुराहरू धेरै भएका छन् । यस्ता कुराहरूलाई सकेसम्म घटाउने प्रयासमा नै छौ । यो समितिले चाडपर्वहरूको बारेमा निर्णय गर्दै गर्दा तिथिको आधारमा भएर गर्छौ । कुन पर्व कसरी मनाउने भनेर हाम्रो धर्मशास्त्र, ग्रन्थहरू छन् । ग्रन्थहरूले तोके अनुसार काम गर्ने हो । यो अघिल्लो दिन मनाउने कुनैले अर्को दिन मनाउने भन्ने कुरा मान्छेले नबुझेर हो ।
आफूले गरेका कर्मबाट राम्रो फलप्राप्त गर्ने हो, त्यसैले राम्रो कर्म राम्रो समयमा गर्नुपर्छ । निदृष्ट समयमा गर्नुपर्छ । उपयुक्त समयमा गर्नुपर्छ । त्यस कारण धर्मशास्त्रहरुले कुन समयमा कुन काम गर्ने भनेर भनेको छ, त्यही समयमा हामीले गर्नुपर्यो नि । जुन जुन समयमा जे जे काम गर भनेर धर्मशास्त्रले भनेको हुन्छ त्यही तिथिअनुसार निर्णय गरेका हुन्छौँ । अहिले मान्छेहरूमा धर्मबारे थोरै ज्ञान भए पनि धेरै कुरा बुझेजस्तो गरिरहेका हुन्छन् । त्यसैले आफ्नो अनुकूलअनुसार चाडबाडहरू मनाउने चलन छ । त्यो धर्मशास्त्रले निदृष्ट गरेअनुसार छैन । धर्मशास्त्रले गर भनेको समयमा गर्दैनन् । हामीले यसबारेमा निर्णय गर्दैगर्दाखेरि धेरै पुराणहरू, वेदहरूको अध्ययन गरेर मात्र चाडहरू निर्णय गरेका हुन्छौँ ।
अस्ति भर्खर जनैपुर्णिमा मनाउँदा पनि विवादजस्तो आयो । जनैपुर्णिमाको दिनकुन बेलामा के गर्ने भनेर फरक फरक समयमा काम गर्ने गरियो । पछि विज्ञप्ति नैनिकालेर यो विषयमा बोल्नुपर्यो । धर्मशास्त्रले के निदृष्ट गरेको छ भने कुन पर्व मान्दाखेरि कसरी गर्ने ? हामीले दिने साइतहरू पनि धर्मशास्त्रका आधारमा दिएका हुन्छौँ । तर समाजमा धेरै कुरा अध्ययन नगरीकन अल्प ज्ञान भएका व्यक्तिहरूले धर्मग्रन्थलाई आधार मानेर व्याख्या गरिरहनुभएको हुन्छ । त्यस कारण कुनै कुरामापनि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले हचुवाको तालमा निर्णय गर्दैन ।
समितिले गरेका निर्णयहरू एकदमै आधारित निर्णयहरू हुन्छन् । कसैले पनि यसमा दुबिधामा रहन जरुरी छैन । अहिले पनिदशैंको साइतको बारेमा अष्ट्रेलियामा र नेपालमा अलिकति फरक छ । किन फरक भयो भन्नुहुन्छ भने दशमी तिथिलाई धर्मसिन्धुहरुले जसरी भनेका छन् त्यहिअनुसार भन्नुपर्यो । त्यहिअनुसार निर्णय गर्नुपर्यो । निर्णय गर्दै गर्दा अघिल्लो दिन पर्छ कि पछिल्लो दिन पर्छ हेर्नुपर्यो । राजनीतिक निर्णय त होइन नि यो त, यो त टेक्निकल निर्णय हो । टेक्निकल निर्णय गर्दै गर्दा कसैलाई आधार मानेर, कसैको मुख हेरेर निर्णय गर्ने कुरा त होइन नि । हामीले गर्नेकर्मले राम्रो फल प्राप्त गर्छौँ भने कर्म राम्रै समयमा गर्नुपर्यो नि । दिने साइत धर्मशास्त्रको अध्ययन र विज्ञहरूको सल्लाहमा दिने भएका कारण त्यही समयमा हरेक चाड मनाउन म आग्रह समेत गर्दछु । अल्प ज्ञान भएका र सामान्य निर्णय दिन सक्ने व्यक्तिहरूको पछि नलाग्न आग्रह गरेको छ ।
तर, पञ्चाङ्ग निर्णायक समितिले गरेका निर्णयहरू समुदायमा नपुग्ने र त्यहाँका स्थानीय ज्योतिषहरूले आफ्नै हिसाबले निर्णय गर्ने गरेको पाइन्छ । ज्योतिषहरूमा एकरूपता देखिँदैन । यसका लागि सरकारबाट सञ्चालित समितिले के गरिरहेको छ ?
हो, अहिले अधिकांश ज्योतिषहरूले आचार संहिता पालना गरेको देखिँदैन । समुदायका सबै पण्डित र ज्योतिषहरूले न्यूनतम आचार संहिता पालना गर्नुपर्दछ । पालन गरिएन भने त्यसरी गर्नेकर्महरु राम्रो हुँदैनन् । ज्योतिष भनेको त समाज र धर्मशास्त्रलाई पनि मार्ग निर्देशन गर्ने माध्यम हो । ज्योतिषीले नै सही हिसाबले व्याख्या गरेन भने समाज पनि गलत मार्गमा जाने भयो । सही मार्गमा जानको लागि सही ज्योतिषीको जानुपर्यो । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिमा पनि केही समस्याहरू छन् । हामी ति समस्याहरू समाधान गर्नेतिर गइरहेका छौँ ।
नेपालमा विश्वविद्यालयबाट अध्ययन गरेर आएका ज्योतिष मात्र छैनन् । घर परिवारका पिता पुर्खाबाट सिकेर आएका ज्योतिषहरू पनि छन् । विश्वविद्यालय पढेर आएका पिएचडीधारी ज्योतिष पनि छन् । सबै ज्योतिषहरूमा एकरूपता ल्याउन कुन माध्यमबाट जाँदा ठिक हुन्छ, सो कुरालाई एकरूपता ल्याउने प्रयास गरिरहेका छौँ । डाक्टरहरू र इन्जिनियरहरूको लाइसेन्स हुने शिक्षकको लाइसेन्स हुने तर ज्योतिषको चाहिँ किन नहुने भन्ने प्रश्नहरू उठेका छन् । यस विषयमा गम्भीर भएर काम पनि गरिरहेका छौँ ।
धेरै ज्योतिषहरूलाई कारबाही समेत गरेका छौँ । स्पष्टीकरण सोधेका छौँ । ज्योतिषले के भविष्यवाणी गर्न हुने र के नहुने भन्ने विषयमा सरकारले आचारसंहिता बनाएर कार्यान्वयन गर्नुपर्दछ । ज्योतिषहरूले पनि न्यूनतम आचारसंहिताकार्यान्वयन गर्नुपर्दछ । कँहिकतै राज्यमा प्रधानमन्त्रीका बारेमा भविष्यवाणी गरेको पनि देखेको छु त्यो सजिलो छैन । ज्योतिष भनेको त विज्ञान हो नि । यसले जे भन्छ त्यो समयमा भएकै हुन्छ । सूर्य ग्रहण, चन्द्र ग्रहण, सूर्योदय र सूर्यास्त समयमै हुन्छ । त्यहिभएर आवश्यक अनुसन्धान र अध्ययनविना भविष्यवाणी गर्न पाइँदैन । यी विषयमा नियमन गर्नुपर्ने देखिएको छ । यसमा हामी आवश्यक सरसल्लाह गरेर अगाडि बढेर काम पनि गरिरहेका छौँ । जो पायो त्यहिसँग चिना हेराउन नजानुहुन आग्रह गर्दछु ।
अन्त्यमा नेपाली धर्म संस्कृति, संस्कारले पर्यटन विकासमा कस्तो प्रभाव पार्छ ?
अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विगतका वर्षदेखि अमेरिका र क्यानडा पञ्चाङ्ग प्रकाशन गरिरहेको छ । यस्तै न्यूजिल्यान्ड र अष्ट्रेलियाको पनि पञ्चाङ्ग निकाल्छौँ । त्यस्तै भाइटीकाको साइत, विजया दशमीको साइत पनि ३२÷३५ देशको अन्तर्राष्ट्रिय रूपमा रहेका स्थानहरुको साइतहरू लिइरहेका हुन्छौँ । ती पाटोमा आउने अन्तर्राष्ट्रिय लेबलमा जस्तै अक्षाशं देशान्तर, त्यहाँको मानवसमय, स्ट्यान्डर समय, सुर्योदयकालिन समयमा तिथिको अवस्था हेरेर पञ्चाङ्ग निर्णय गर्छौँ । कतिपय तिथिहरु कहिलेकाहीँ घटबढ भइरहेको हुन्छ, घटबढ भइरहँदादशैं नेपाल र अष्ट्रेलियाको एक दिन अगाडि पछाडि परेको छ । यस विषयमा धेरै अध्ययन गरेर निर्णय गरेका हुन्छौँ । एउटा ग्रन्थलाई मात्र आधार मानेर निर्णय गर्दैनौं । नेपाल धर्म संस्कृतिको ठुलो धनी देश हो । धेरै संस्कृतिहरू र चाडबाडहरू मनाइन्छ । शान्तिको प्रतिकबुद्ध जन्मेको देश नेपालभएकाले र पशुपतिनाथजस्ता ठुला शक्ति पीठ भएका कारणले नेपालमा विभिन्न देशमा व्यक्तिहरू भ्रमण गर्न चाहन्छन् । यसैबिच पर्यटन क्षेत्रमा पनि राम्रै फाइदा भइरहेको हुन्छ । नेपाल भनेको तपो भूमि हो, देव भूमि हो । तप रध्यान गर्यो भने फल प्राप्त हुन्छ । तर नेपालमा गरेको तपध्यान अमेरिका अथवा अन्य देशमाध्यान र तप गर्यो भने फलप्राप्त नहुन सक्छ । विदेशीहरू नेपालमाआएर आफ्नो जन्मदिन मनाउँछन् । पूजा गर्छन, राम्रो नजरबाट विदेशीहरू पनि नेपाललाई हेरिररहेका कारणले नेपालको संस्कृति पर्यटनलाई प्रवद्र्धन गरिरहेका छौँ ।
विभिन्न ढंगबाट नेपालमाचाँही र्सास्कृतिक, ज्योतिष, धार्मिक रुपबाट नेपालमा विदेशीहरू ल्याउन सक्छौँ । नेपाल पूर्ण रूपमा शक्तिप्राप्त गरेको देश हो । देवताको भूमि हो, देवता जन्मेको ठाउँ हो । नेपालमा गरेका कर्महरू पूर्ण रूपमा सफल हुन्छन् । एकमात्र सुर्योदयको देश भनेर नेपाललाई मान्न सकिन्छ किनभने सूर्योदयभन्दा सुरुमा सबैभन्दा अग्लो सगरमाथा नेपालमा रहेको छ । वास्तुका हिसावमा पनि नेपाल उच्च लेबलमा छ । उच्चले बलमा भएका कारणले ब्रम्हान्डबाट आउने शक्तिहरु, उर्जाहरु, औराहहरु नेपालमामात्र धेरै प्राप्त गर्न सकिन्छ । नेपालमा गरेका कर्महरू जतिपनि सफलतातिर लाग्न सकिन्छ भने बाहिर गरेका कर्महरुको परिणाम नेपालको रेसियोमा प्राप्त गर्न सकिँदैन ।
त्यसैले पर्यटन प्रवर्द्धनमा पनि अन्तर्राष्ट्रिय सभा सम्मेलन पनि गरिरहेका हुन्छौँ । आगामी दिनमा नेपालमा अन्तर्राष्ट्रिय ज्योतिष सभा सम्मेलन गर्नेछौँ । यसरी कहिले नेपालमा त कहिले बाहिर पनि सभा सम्मेलन गरिरहेका हुन्छौँ । विषेशगरी नेपाललाई बढि तार्गेट गरेर नेपालमा अन्तर्राष्ट्रिय सभा सेमिनारहरु ज्योतिष, वास्तु, धर्मशास्त्रका क्षेत्रबाट, समग्र पूर्वदर्शनको क्षेत्रबाट सभा सम्मेलन गरेर पर्यटन प्रवर्धन गरिरहेका छौँ । धार्मिक, सांस्कृतिक माध्यमबाट स्पेसल टुरिजम बनाउन सक्छौँ । यसका लागि सरकार, पर्यटन मन्त्रालय, संस्कृति मन्त्रालयले यसलाई बढी फोकस गर्यो भने पर्यटन प्रवर्द्धनमा धेरै गर्न सकिन्छ ।
नेपालमा पर्यटन क्षेत्रलाई प्रवद्र्धन गर्नको लागि धेरै आयामहरू छन् । एउटा आयाम ज्योतिष क्षेत्र पनि हो । चाडबाडहरू रितीरिवाजहरु, संस्कृतिहरुलाई भड्किलो रूपमा नबनाएर राम्रोसँग फल कसरी प्राप्त हुन्छ ? कर्महरूले फलप्राप्त गर्नेगरी कर्महरू गर्नुपर्छ । विकृति सबै क्षेत्रमा छ । विशेष गरी यो विकृतिलाई भित्र्याउन दिन हुँदैन । भएको गहनालाई चिन्न जरुरी छ । ज्योतिष र धर्मशास्त्र क्षेत्रलाई हामी सबैले चिन्नुपर्छ । नेपाल न्युज बैंक
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कृषकको आर्थिक अवस्था सुधार्ने नीति बनाएर काम गर्नमा उपप्रधानमन्त्री सिंहको जोड
-
प्रियंका र सरोजको मन छुने प्रेमकथामा ‘मनको तिर्सना’
-
राष्ट्रिय परिचयपत्र विवाद : सरकारको भ्याकेटले सर्वाेच्चमा सुनुवाइको पालो नै नपाएपछि...
-
निर्वाचन प्रचारमा १० भन्दाबढी झण्डा र चुनाव चिह्न प्रयोग नगर्न आयोगको निर्देशन
-
दैलेख बस दुर्घटना अपडेट : ८ जना घाइते
-
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा थप गरिएका सदस्यलाई कार्यादेश प्रदान