१० बजे, १० समाचार
‘रातोपाटी ब्रिफिङ’ मा हामी दिनभरका १० मुख्य घटनाक्रमसहित उपस्थित भइसकेका छौँ । आज मिति २०८१ साल असोज महिनाको ४ गते शुक्रबारका १० समाचार यसप्रकार रहेका छन्–
१. सहकारी ठगी प्रकरण
प्रतिनिधि सभाले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठन गरेको संसदीय विशेष छानबिन समितिले साढे तीन महिना लगाएर गरेको छानबिन प्रतिवेदनको पूर्णपाठ सार्वजनिक भएको छ । समस्याग्रस्त एवं सार्वजनिक रूपमा प्रश्न उठेका ४० वटा सहकारीको समस्यामा केन्द्रित भएर गरिएको उक्त प्रतिवेदनको पूर्णपाठ शुक्रबार सार्वजनिक गरिएको हो ।
२. लामिछानेविरुद्ध पूरक अभियोग लैजाने तयारी
पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध प्रहरीले पूरक अभियोग लैजाने भएको छ । सूर्यदर्शन बचत तथा ऋण सहकारी प्रकरणमा लामिछानेविरुद्ध प्रमाण संकलन गर्न प्रहरी प्रधान कार्यालयले जिल्ला प्रहरी कार्यालय कास्कीलाई भनेको छ ।
रास्वपा सभापति रवि लामिछाने गोरखा मिडिया नेटवर्कको प्रबन्ध निर्देशक रहँदा गोपीकृष्ण मुभिज प्रालिमा पनि रकम पेस्की गएको तथ्य बाहिर आएको छ । गोपीकृष्ण मुभिज रविका ससुरा तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता उद्धव पौडेलको संस्था हो ।
सूर्य थापा नेतृत्वको सहकारी बचत अपचलन छानबिन समितिले बुझाएको प्रतिवेदन अनुसार गोरखा मिडियाबाट गोपीकृष्ण मुभिज प्रालिमा ८१ लाख २५ हजार रुपैयाँ पेस्की गएको उल्लेख छ ।
३. प्रधानमन्त्री अमेरिका भ्रमणमा
नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा जारी संयुक्त राष्ट्रसङ्घ महासभाको ७९ औँ अधिवेशनमा भाग लिन त्यसतर्फ प्रस्थान गरेका छन् । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै प्रधानमन्त्री ओली नेतृत्वको टोली कतारको दोहा हुँदै अमेरिकाको न्युयोर्क प्रस्थान गरेको हो ।
४. समिति बैठक
संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले शुक्रबार एक घण्टा ढिलोगरी बैठक सुरु गरे । उनले बैठकमा छलफलका लागि ४६ जना संशोधनकर्ता सांसदलाई बोलाउँदा २५ जना आउने जानकारी प्राप्त भएको बताए पनि अन्तिममा ६ जनामात्रै आए ।
त्यसमा पनि नेपाली कांग्रेसबाट निर्वाचित सर्लाहीकी सांसद चन्दा चौधरी बिहान ११ बजेका लागि बोलाइएको बैठकमा दिउँसो १ बजेतिर आइपुगिन् । सांसद चौधरीले विधेयकमा संशोधन हालेकी थिइन् । उनलाई बैठकबारे पूर्वसूचना दिनुका साथै बैठक सुरु भइसकेपछि कर्मचारीहरूले पटकपटक फोन गरेका थिए ।
समितिमा निकै चर्चामा रहेको ‘विद्यालय शिक्षा विधेयक २०८०’ मा संशोधन हालेका सांसदहरूसँग छलफल जारी छ । गत २०८० पुस ८ गतेदेखि समितिमा विधेयकमाथि छलफल जारी छ ।
संशोधन हालेका सांसदहरू छलफलमा सहभागी हुन नखोज्दा विधेयकमाथिको छलफल लम्बिँदै गएको छ । विधेयकमा संशोधन हाल्ने सांसद छलफलमा भाग लिन आनाकानी गर्दै आएका छन् ।
५. राप्रपामा अन्तरसंघर्ष
विधानअनुसार ४ वर्षमा हुनुपर्ने नियमित महाधिवेशन आउन एक वर्षभन्दा बढी समय बाँकी हुँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा अन्तरसंघर्ष बढ्न थालेको छ । आगामी महाधिवेशनबाट पार्टी नेतृत्वमा पुग्ने रणनीतिका साथ नेताहरू दुई समूहमा बाँडिएर सोहीअनुसारको गतिविधि गर्दै एकअर्काको प्रतिस्पर्धीको रूपमा प्रस्तुत गर्नसमेत थालिसकेका हुन् ।
६. समितिको निर्देशन हुँदैन पालना
संसद्का विभिन्न समितिहरूद्वारा सरकारका लागि जारी निर्देशनहरूको कार्यान्वयनमा समस्या देखिएको नीति अनुसन्धान प्रतिष्ठानको अध्ययनले देखाएको छ ।
शुक्रबार सिंहदरबारस्थित सङ्घीय संसद्को संयुक्त समिति ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति’को बैठकमा नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष प्रा डा लेखनाथ शर्माले संसदीय समितिहरूले दिएका निर्देशनको पूर्णरूपमा पालना नहुनुका पछाडि विभिन्न कारणहरू औँल्याए।
७. माधव नेपालको चेतावनी
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीकै नेता(कार्यकर्ताहरूले पार्टीमा निराशा पैदा गर्नेगरी लेख्ने र बोल्ने गरेको भन्दै अबदेखि पार्टीविरुद्ध लाग्नेहरूलाई छुट नदिने चेतावनी दिएका छन् ।
शुक्रबार काठमाडौँमा आयोजित सन्देश सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केही केही नेता कार्यकर्ताहरूले पार्टीमा निराशा पैदा गर्नेगरी लेख्ने गरेको भन्दै यस्तो चेतावनी दिएका हुन् ।
८. मोटरसाइकल चोरीको समस्या
काठमाडौँको चाबहिलमा पार्किङ्ग गरेको करिब आधा घण्टामा नै रामेछाप घर भएकी स्वीकृति थापा (नाम परिवर्तन) को स्कुटर गायब भयो । संविधान दिवस (असोज ३) मा हराएको स्कुटर खोज्न उनले उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएकी छन् । स्वीकृतिले जस्तै प्रत्येक महिना काठमाडौँ उपत्यकाबाट १६० देखि १७० जनाले आफ्ना मोटरसाइकल र स्कुटर हराएको निवेदन दिन्छन् ।
हराएकामध्ये प्रत्येक महिना ५० देखि ६० वटासम्म दुईपांग्रे सवारीसाधन फेला पर्ने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता (एसपी) विश्वराज खड्काले रातोपाटीलाई बताए ।
९.सुनको मूल्यवृद्धि
नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा १ हजार ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख ५७ हजार १०० रुपैयाँ कायम भएको हो ।
१०. संसदमा पानीको खपत
संघीय संसद्मा एक वर्षमा १२ हजार ९३३ जार खानेपानी खपत भएको छ । २०८० साउनदेखि २०८१ असार मसान्तसम्म ३१ लाख ५३ हजार २८२ रुपैयाँको खानेपानी संसद्मा खपत भएको हो ।
संघीय संसद् सचिवालयका अनुसार सो १ वर्षको अवधिमा संघीय संसद् भवन र सचिवालयमा समेत गरी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडलाई २७ लाख ६३ हजार ९४४ रुपैयाँ भुक्तानी भएको छ ।
थप समाचार
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वरिष्ठ अमेरिकी सेना थिए ट्रम्पको होटल अगाडि पड्किएको ट्रकको चालक
-
पशुपति क्षेत्र विकास कोषका दुई जना परिषद् सदस्यविरुद्ध दायर रिट खारेज
-
कर्तव्यज्यान मुद्दाका आरोपी प्रहरी कार्यालयमा हाजिर
-
एमसीसीद्वारा नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर सहयोग स्वीकृत
-
कीर्तिमानी पर्वतारोही मिङ्मालाई भव्य स्वागत, तस्बिरहरू
-
पाँच महिनामा सात करोड बढी राजस्व सङ्कलन