श्रीलंकामा चुनाव : के राजपक्षे परिवार सत्तामा फर्कन सक्ला ?
दुई वर्षअघि श्रीलंकाको राष्ट्रपति भवन विश्वभर चर्चामा थियो । दरबारको पौडी पोखरीमा आम मानिसहरु खुसीसाथ नुहाउँदै थिए ।
नजिकै उभिएका मानिसहरूको भीड प्रसिद्ध पापेयर ब्यान्डको धुनमा नाचिरहेको थियो। ब्याण्डका सदस्यहरूले पाइप र ड्रमका साथ उत्सवको धुन बजाइरहेका थिए।
१३ जुलाई २०२२ मा राष्ट्रपति भवन भीड प्रवेश गरेपछि यी दृश्यहरू विश्वभर देखिएका थिए। वास्तवमा श्रीलंकाका जनताको आन्दोलनपछि तत्कालीन राष्ट्रपति गोटाबाया राजपक्षे देश छोडेर भाग्नुपरेको थियो ।
यसपछि क्रोधित भीड उनको भवनमा प्रवेश गरेको थियो ।
- के राजपक्षे परिवारको कथा सकिएको हो ?
त्यो वर्ष, यो घटनाको केही दिन अघि, श्रीलंकाभर लाखौँ मानिसहरूले राष्ट्रपतिको दरबारतिर शान्तिपूर्ण रूपमा मार्च गर्न थालेका थिए।
तर, त्यसबेला कर्फ्यू जारी थियो र आन्दोलनकारीले प्रहरीबाट अश्रुग्यास र पानीको फोहोराको सामना गर्नुपरेको थियो ।
यो घटनाको केही साताअघि श्रीलंकाका राष्ट्रपति र उनको सरकारविरुद्ध आन्दोलन सुरु भएको थियो ।
मुद्रास्फीति, बेरोजगारी र अत्यावश्यक वस्तुको चरम अभावका बिच आन्दोलन जारी थियो । तर, जनआन्दोलनको बिचमा राजपक्षेले सातासम्म राजीनामा दिन अस्वीकार गरेका थिए ।
जनताको आक्रोशलाई शान्त पार्न उनका जेठा भाइ तथा प्रधानमन्त्री महिन्दा राजपक्षेले राजीनामा दिएका थिए । तर गोटाबाया आफ्नो पद छाड्न तयार थिएनन् ।
अन्ततः २०२२ को जुलाईमा जनआन्दोलनको कारण राजपक्षेले कसरी हतारमा र अपमानजनक ढंगले देश छाड्नुपर्यो, सारा संसारले देख्यो। जबकि केहि महिना अघिसम्म यो अवस्था कल्पना गर्न पनि गाह्रो थियो।
महिन्दा राजपाक्षेको नेतृत्वमा राजपाक्षे परिवारले विगत केही वर्षदेखि श्रीलंकाको राजनीतिमा आफ्नो पकड बलियो बनाएको थियो।
महिन्दा राजपक्षेले आफ्नो पहिलो कार्यकालमा एलटीटीई विद्रोहीहरूलाई हटाउन सफल भएका थिए।
यो जितले उनलाई बहुसंख्यक सिंहली जनसंख्या भएको देशको ‘मुक्तिदाता’ को रूपमा स्थापित गर्न मद्दत गर्यो।
उनका कट्टर समर्थकहरूले उनलाई सम्राटसँग तुलना गर्न थाले। महिन्दा राजपाक्षेसँगै उनको परिवार पनि शक्तिशाली भयो।
पहिले नै शक्तिशाली भइसकेका महिन्दा राजपक्षेले आफ्ना भाइ गोटाबायालाई रक्षा मन्त्रालयमा सचिव बनाएका थिए ।
महिन्दाका अन्य दुई भाइ बसिल र चमललाई अर्थमन्त्री र श्रीलंकाको संसदको सभामुख बनाइएको थियो।
परिवारलाई श्रीलंकाका बहुसंख्यक सिंहली राष्ट्रवादीहरूको ठूलो समर्थन थियो। तसर्थ, भ्रष्टाचार, अर्थतन्त्रको कमजोर व्यवस्थापन, व्यापक मानवअधिकार उल्लङ्घन र फरक मतको दमनका बाबजुद पनि राजपक्षे परिवार सत्तामा रह्यो।
तर २०२२ मा सबै कुरा परिवर्तन भयो, जब गोटाबाया राजपक्षे सरकारका केही नीतिका कारण श्रीलंका सबैभन्दा खराब आर्थिक संकटमा फस्यो।
आखिर, महिन्दा राष्ट्रपति बनेको १७ वर्षपछि, श्रीलंकामा मानिसहरूको भीडले राजपक्षे परिवारको पतनको उत्सव मनाइरहेको थियो। श्रीलंकाको राजपक्षे परिवारको कथा समाप्त भयो।
तर के यो कथा त्यहाँ समाप्त भएको थियो ?
- महिन्दाका छोरा नमल राष्ट्रपति पदका लागि चुनावी मैदानमा
राजपक्षे परिवारको जे हालत भयो, त्यसको दुई वर्षपछि महिन्दा राजपक्षेका छोरा नमलले शनिबार हुने राष्ट्रपतिको निर्वाचनमा आफ्नो दाबी प्रस्तुत गरेका छन् ।
दुई वर्षअघि महिन्दा राजपक्षेविरुद्धको विशाल प्रदर्शनमा भाग लिएका युनिभर्सिटीका विद्यार्थी लक्षण सन्दरुवानले भने, ‘संघर्षपछि भगाइएका मानिसहरू यो चुनावमा उभिनु भनेको निकै नराम्रो कुरा हो । योभन्दा नराम्रो के हुन सक्छ जब केही मानिसहरू अझै पनि यस परिवारलाई भोट गर्न चाहन्छन्।’
अर्कोतर्फ गोटाबाया राजपाक्षे ५० दिनपछि श्रीलंका फर्किएका थिए । गोटाबाया पहिले सिंगापुर र त्यसपछि थाइल्याण्ड पुगे । त्यसपछि श्रीलंका फर्किए ।
स्वदेश फर्किएपछि उनलाई पूर्वराष्ट्रपतिले पाउने सबै सुविधा दिइयो । उनलाई आलिशान बंगला दिइएको थियो । साथै उनीहरुको सुरक्षाको पूर्ण व्यवस्था मिलाइएको छ । र, यसको सम्पूर्ण खर्च सरकारले बेहोर्ने गरेको छ ।
गोटाबाया राजपाक्षेको सरकारको पतनपछि विपक्षी नेता रनिल विक्रमासिङ्घेलाई राजपक्षेको बाँकी दुई वर्षको कार्यकालका लागि राष्ट्रपति बनाइएको थियो।
एक परिवार (राजपाक्षे) ले नेतृत्व गरेको पार्टी श्रीलंका पोडु पेरामुना पार्टी अर्थात् एसएलपीपीको श्रीलंकाको संसदमा दुई तिहाइ बहुमत छ । यो पार्टीले विक्रमासिंघेलाई समर्थन गरेको छ ।
यही पार्टीको समर्थनमा ६ पटक देशको प्रधानमन्त्री भइसकेका विक्रमासिंघे अचानक राष्ट्रपति बने । जबकि विक्रमासिंघे उनको युनाइटेड नेशनल पार्टीका एक मात्र सांसद थिए । सन् २०२० को संसदीय चुनावमा उनको पार्टीले एउटा मात्र सिट जित्यो।
अब विक्रमासिङ्घेको सम्पूर्ण ध्यान देशको अर्थतन्त्रलाई आफ्नो खुट्टामा उभ्याउनमा छ। तर उनीमाथि राजपक्षे परिवारलाई संरक्षण गरेको आरोप लागेको छ ।
उनले राजपक्षे परिवारलाई पुनः एकीकरण गर्न सघाएको आरोप उनीमाथि लगाइँदैछ । विक्रमासिङ्घेमाथि उनीहरूलाई मुद्दाबाट जोगाउँछन्। तर, उनले यी आरोप अस्वीकार गर्दै आएका छन् ।
- विक्रमासिंघेले राजपक्षे परिवारलाई बचाएको आरोपमा कति सत्यता छ ?
विक्रमासिङ्घे राष्ट्रपति बनेलगत्तै कोलम्बोको गाले फेस (प्रदर्शनको केन्द्र) मा जम्मा भएका प्रदर्शनकारीहरूलाई हटाउन सेना परिचालन गरिएको थियो।
दर्जनौँ सिपाहीहरू प्रदर्शनस्थलमा प्रवेश गरेका थिए र प्रदर्शनकारीहरूको पाल र सामानहरू भत्काउन थालिएको थियो।
महिनौँ पछि, ती मानिसहरूलाई जेल पठाइयो, जो आन्दोलनको क्रममा गोटाबायाको भवनमा पसेका थिए र त्यहाँ राखिएका चीजहरू लिएर गएका थिए ।
राजनीतिशास्त्री जयदेव युआनगोडाले भने, ‘रनिलले राजपक्षे परिवारलाई जनताको क्रोधबाट बचाए । उनले एसएलपीपी नेतृत्वको संसदीय मन्त्रिपरिषद् र सरकारको निरन्तरतालाई कायम राखे पनि भ्रष्टाचार रोक्न केही गर्न सकेका छैनन् । यहाँसम्म कि राजपक्षे परिवारविरुद्धको अनुसन्धानलाई अगाडि बढ्न समेत दिइएको छैन ।’
उनले भने, ‘राजपक्षे परिवारलाई मानवअधिकार उल्लंघन र युद्ध अपराधको आरोप छ। यस सम्बन्धमा उनीहरुलाई दोषी ठहर गर्न अन्तर्राष्ट्रिय दबाब धेरै छ। तर रनिल विक्रमासिङ्घेले उनीहरुलाई यो दबाबबाट जोगाएका छन् ।’
यसका कारण अत्यन्तै सीमित स्रोतसाधनमा जीवन बिताइरहेका श्रीलंकाली जनताको ठूलो वर्ग निकै आक्रोशित छ । रनिल विक्रमासिङ्घेको सरकारले श्रीलंकाको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउनका लागि चालेका कदमहरूले श्रीलंकाका जनतालाई थप समस्याहरू निम्त्याइरहेको छ।
मुलुकमा विगतको जस्तो विद्युत्को अभाव नभए पनि यसको मूल्य भने ह्वात्तै बढेको छ । सरकारले बिजुली जस्ता अत्यावश्यक वस्तुमा दिइने अनुदान अन्त्य गर्दै जनकल्याणकारी कार्यक्रममा हुने खर्च घटाएको छ ।
विक्रमासिङ्घेले करको दर बढाएका छन् । जसका कारण जनताले बढी कर तिर्नु परेको छ । सरकारले राजस्व बढाउन करको दायरा बढाएको हो ।
- विक्रमासिंघे सरकारको कडा कदम
केही अर्थशास्त्रीहरू भन्छन् कि श्रीलंकाको अर्थतन्त्रलाई स्थिर बनाउन कडा कदम चाल्नु आवश्यक छ। वास्तवमा, श्रीलंकामा धेरै विदेशी ऋण छ। आईएमएफका सर्तहरू पूरा गर्न यी आवश्यक भएको बताइएको छ ।
यसको असर पनि देखिएको छ । सन् २०२२ मा श्रीलंकामा आर्थिक र राजनीतिक संकट चरम सीमामा हुँदा विदेशी मुद्रा सञ्चिति २ करोड डलरमा रहेको थियो तर अहिले बढेर ६ अर्ब डलर पुगेको छ ।
तर यसले लाखौं श्रीलंकालीहरूको जीवनमा ठूलो प्रभाव पारेको छ। नीति अनुसन्धान संस्था लिरिन एसियाले श्रीलंकाका १० हजार परिवारमा गरेको सर्वेक्षणले सन् २०२३ मा देशका करिब ३० लाख जनता गरिबीको रेखामुनि गएको अनुमान गरेको थियो ।
जसका कारण श्रीलंकामा गरिबको संख्या ४० लाखबाट बढेर ७० लाख पुगेको छ । यी परिवार भोकै बसेका छन् । उनीहरुलाई पैसाको कडा खाँचो छ । गरिबीका कारण उनीहरूले आफ्ना छोराछोरीलाई विद्यालयबाट निकाल्ने गरेका छन् ।
राजपक्षे परिवारले भने आफूले कुनै गल्ती नगरेको बताएको छ । तर २०२३ मा, देशको सर्वोच्च अदालतले २०१९ र २०२२ बीचको देशको अर्थतन्त्रको कमजोर अवस्थाका लागि गोटाबाया र महिन्दा दुवैका परिवारलाई प्रत्यक्ष रूपमा जिम्मेवार रहेको फैसला सुनायो।
अर्थतन्त्रको कमजोर व्यवस्थापनका कारण श्रीलंकामा यस्तो ठूलो आर्थिक संकट आएको थियो ।
कोलम्बो युनिभर्सिटीकी विद्यार्थी निमेशा हंसिनीले बीबीसी सिंहलालाई भनिन्, ‘मेरो विचारमा देशको आर्थिक संकटको लागि राजपक्षे परिवार प्रत्यक्ष रूपमा जिम्मेवार थियो किनभने उनीहरूको सरकारको समयमा विकास कार्यको आडमा गरिएको वित्तीय ठगीका कारण यस्तो भएको थियो । तर पनि परिवारको लागि केही परिवर्तन भएको छैन। उनीहरुको राजनीतिक शक्ति मात्र घटेको छ ।’
राजपक्षे परिवारको गढ मानिने हम्बनटोटामा खेतीपाती गरेर जीविकोपार्जन गर्दै आएकी रश्मि भन्छिन्, ‘मसँग भन्न धेरै छैन। तर उनीहरु (राजपाक्षे परिवार)ले जे गरे त्यसले गर्दा हामी कठिनाइको सामना गरिरहेका छौँ । हामीले उहाँलाई भोट दियौँ तर फेरि कहिल्यै भोट दिने छैनौँ ।’
नमल राजपक्षे त्यस्ता व्यक्तिहरूको मनोवृत्ति परिवर्तन गर्न चाहन्छन्। उनले त्यस्ता व्यक्तिहरुको साथ र सहयोग पाउने विश्वास व्यक्त गरे ।
नमलको चुनावी अभियान उनका पिता महिन्दा राजपक्षेको विरासतको वरिपरि घुमिरहेको छ।
केही श्रीलंकालीले महिन्दा राजपाक्षेलाई अझै पनि नायकको रूपमा हेर्छन्। यसका बाबजुद पनि केही अन्तर्राष्ट्रिय संघसंस्थाले उनीविरुद्ध युद्ध अपराधको मुद्दा चलाउन माग गरेका छन् ।
- के नमल राजपक्षेले चुनाव जित्न सक्छन् ?
संयुक्त राष्ट्रसंघका अनुसार श्रीलंकामा गृहयुद्धको अन्तिम चरणमा श्रीलंकाली सेनाले एक लाख मानिसको ज्यान लिएको थियो।
जसमध्ये ४० हजार तमिल नागरिक थिए। तर महिन्दा राजपक्षेलाई यी हत्याका लागि कहिल्यै मुद्दा चलाइएको थिएन। उनले यस्ता आरोपको प्रत्यक्ष खण्डन गरेका छन् ।
नमलको र्याली र उनको सामाजिक पोष्टहरूमा महिन्दा राजपक्षेको तस्बिरहरू छन्। जसमध्ये उनका बुवासँग उभिएका बाल्यकालका तस्बिर पनि छन् ।
नमल पनि आफ्नो बुवा जस्तै देखिन खोजेको देखिन्छ । उनको महिन्दा जस्तै जुँगा छ र उनको पहिचान बनेको रातो सल पनि लगाएका छन
अभियानले उनले ‘हामी चुनौतीहरूसँग डराउँदैनौँ’ जस्ता नाराहरू प्रयोग गर्दछन् । ‘बरु, हामी त्यसलाई स्वागत गर्छौं। यी कुराहरू मैले मेरो बुबाबाट सिकेको छु,’ उनी भन्छन् ।
अर्को पोस्टमा महिन्दा राजपक्षेलाई देशभक्त, साहसी र दूरदर्शीका रूपमा वर्णन गरिएको छ।
प्रोफेसर युआनगोडा भन्छन्, ‘मलाई लाग्छ कि नमल राजपक्षेले गलत सोचिरहेका छैनन्। आफ्नो बुबाको विरासतलाई जनतासामु राखेर मात्रै उनले आफ्नो समर्थनको आधारलाई कायम राख्न सक्षम हुनेछन्। यसले उनलाई चुनावी फाइदा दिनेछ।’
यो एसएलपीपीको मतदाताको आधार पुनर्निर्माण गर्ने तरिका हो। तर धेरै मतदाता नमल राजपक्षेको तर्क मान्न तयार देखिँदैनन्। अहिलेसम्मको चुनावी सर्वेक्षणमा नमल देशको सर्वोच्च पदका लागि बलियो उम्मेदवार देखिँदैनन् ।
चुनावसँग सम्बन्धित नमलको इन्स्टाग्राम पोष्टमा एउटा आलोचनापूर्ण टिप्पणी थियो, ‘राजपक्षे परिवारको नयाँ उत्तराधिकारीले राष्ट्रपतिको योजना बनाइरहेका छन्। यो परिवारको पुरानो व्यवसाय होइन?’
- के छ नमल राजपाक्षेको रणनीति ?
देशको उत्तरी क्षेत्रको भावुनियाका गाउँले एचएम सेपालिकाले बीबीसी सिंहलालाई भने, ‘म नमल राजपक्षेलाई कहिल्यै मतदान गर्दिनँ। यहाँ हाम्रो कठिन जीवनका दिनहरू उनका लागि श्राप जस्तै छन्।’
हम्बनटोटाको पसलमा काम गर्ने निशान्ति हरापिटिया भन्छिन्, ‘यस देशका जनता राजपक्षे परिवारबाट छुटकारा पाउन भनेर एकजुट भएर लडे, तर उनीहरुमा सत्ताको यति लोभ छ कि फेरि आएर भोट माग्न थालेका छन्।’
अरू कतिपयले नमललाई गम्भीरतापूर्वक लिन नसक्ने बताएका छन् । पूर्वी श्रीलंकाको काठकुडीका व्यापारी मोहम्मद हलादिन भन्छन्, ‘उनलाई हाम्रो भोट किन चाहियो । उनी अझै बच्चा छन् । अनुभव छैन । बाबुप्रति सहानुभूति राख्ने जनताले भोट दिएनन् भने उनले कहिल्यै जित्न सक्दैनन् ।’
अब सम्पूर्ण ध्यान श्रीलंकाको राष्ट्रपति चुनावमा तीन जना उम्मेदवारमा केन्द्रित छ। विपक्षी दलका नेता सजित प्रेमदास, वामपन्थी राष्ट्रिय जनता पार्टी गठबन्धनका कुमार दिसानायके र स्वतन्त्र उम्मेदवारका रुपमा विक्रमासिङ्घे छन् ।
तर नमल राजपक्षे लामो खेल खेल्न चाहन्छन् । धेरै देशहरूमा भर्खरै भएका चुनावहरूले अलोकप्रिय शक्तिशाली नेताहरूको परिवार र सहयोगीहरूले बलियो पुनरागमन गरेको देखाएको छ। फिलिपिन्सका बोङबोङ मार्कोस र इन्डोनेसियाका सुब्यान्तो प्राबोवोको परिवार जस्तै।
‘नमल राजनीतिक रूपमा सान्दर्भिक रहन चाहन्छन्,’ प्राध्यापक युआनगोडा भन्छन्। उनी एसएलपीपीको भोट आधार जोगाउन र २०२९ सम्म राजनीतिक रूपमा सक्रिय रहन चाहन्छन् ।’
सन् २०२२ को प्रदर्शनमा भाग लिने विश्वविद्यालयका विद्यार्थी लक्ष सन्दरुवान पनि यसमा सहमत छन्। उनले भने, ‘२०२९ को निर्वाचनको लागि मैदान तयार गर्न नमल यसपटक चुनाव लड्दै छन् । यसपटक उनी राष्ट्रपतिका लागि चुनाव लडिरहेका छैनन् । तर जनताले सोचेर काम गरेनन् भने फेरि एकपटक राजपक्षेलाई राष्ट्रपति बनाउनेछन् ।’