एरिका ऐतिहासिक स्वर्णनजिक
![एरिका ऐतिहासिक स्वर्णनजिक](https://npcdn.ratopati.com/media/news/erika_O3pilxxmJH.jpg)
काठमाडौँ । नेपालीकी एरिका गुरुङले २० औँ एसियाली सिनियर कराते च्याम्पिन्सिपको महिला ६८ केजीमाथि शुक्रबार फाइनलमा प्रवेश गर्दै इतिहास रचेकी छन् । फाइनलमा स्थान सुरक्षित गरेसँगै एरिकाले कम्तीमा रजत पदक पक्का गरेकी छन् । एसियाली सिनियर करातेको विगतका सबै संस्करणसम्म नेपाल पदकविहीन थियो ।
चीनको हाङझावस्थित स्पोट्र्स सेन्टर जिम्न्याजिममा एरिकाले प्रिक्वाटरफाइनलमा फिलिपिन्सकी इसाबेल अरिएन्ने ब्रिटोलाई ४–० ले पराजित गर्दै क्वाटरफाइनलमा पुगेको टोलीका मुख्य प्रशिक्षक कुशल श्रेष्ठले जनाएका छन् । क्वाटरफाइनलमा एरिकाको प्रतिद्वन्द्वी काजकिस्तानकी सोफ्या बेरुल्टसेभा थिइन् । एरिका र सोफ्याबिचको खेल १–१ को बराबरीमा टुंगियो । ‘रेफ्री’ निर्णयका आधारमा एरिका विजयी भइन् । पहिलो अंक एरिकाले बटुलेकी थिइन् । सोफ्या तीनै खेलाडी हुन जसले एरिकालाई १९ औँ एसियाली खेलकुदको फाइनलमा ३–० ले पराजित गर्दै स्वर्ण जितेकी थिइन् । १९ औँ एसियाली खेलकुदको कराते पनि अहिले भइरहेको प्रतियोगिताको हलमै भएको थियो ।
सेमिफाइनलमा एरिकाले थाइल्यान्डकी केवालिन सोङक्लिनलाई ८–० ले पाखा लगाउँदै फाइनल यात्रा तय गरिन् । एरिकाले फाइनलमा भियतनामकी नाओन थि नुयेन विरुद्ध आइतबार प्रतिस्पर्धा गर्नेछिन् ।
एरिकाको यो पाँचौँ अन्तर्राष्ट्रिय सहभागिता हो । कुनैपनि प्रतियोगितामा एरिका पदकविहीन हुनु परेको छैन । एरिकाले इन्डोनेसियाको जकार्तामा भएको १० औँ विश्व सितोरियो कराते च्याम्पियनसिपमा स्वर्ण, चीनको हाङझावमा भएको १९ औँ एसियाली खेलकुदमा ऐतिहासिक रजत, अमेरिकाको टेक्सास्मा भएको युएस ओपन कराते च्याम्पियन्सिपमा स्वर्ण र रजत तथा भुटानको थिम्पुमा भएको आठौँ दक्षिण एसियाली कराते च्याम्पियनसिपमा स्वर्ण जितेकी थिइन् । यी सबै प्रतियोगिता करिब १ वर्षको अवधिमा भएका थिए । सबै प्रतियोगितामा कुशल प्रशिक्षकको भूमिकामा थिए ।
प्रशिक्षक कुशलका अनुसार कुमुतेकै अन्य स्पर्धामा प्रतिस्पर्धा गरेका सबै नेपाली खेलाडी प्रतियोगिताबाट बाहिरिएका छन् । पुरुष ६० केजीमुनि मिनबहादुर तामाङ, ६७ केजीमुनि सन्तोष श्रेष्ठ, ८४ केजीमुनि मोहम्मद शेखु आलम र ८४ केजीमाथि आशिष श्रेष्ठले नेपालको चुनौती प्रस्तुत गरेका थिए । महिला ५५ केजीमुनि जिया कार्की तथा ६१ केजीमुनि निरुपा दोङले प्रतिस्पर्धा गरेका थिए ।
महिला टिम कातामा एलिसा रास्कोटी मगर, मेघा लिम्बू र टप्पी थापाले कौशल प्रदर्शन गर्ने छन् । एलिसाले एकल कातामा पनि सहभागिता जनाउने छिन् । पुरुष एकल कातामा स्वनिम मानन्धरले खेल्ने छन् । काता शनिबार हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
च्याम्पियन्स ट्रफीअघि युवा अलराउन्डर बेथेल घाइते भएपछि इङ्ल्यान्ड दवावमा
-
आईपीओ निष्काशन गर्दै अर्बिट इनर्जी
-
‘कुनै पनि माइकलालले आएर अर्को पार्टीको चुनाव चिन्हमा मत हालौँ भन्ने आँट गर्न सक्दैन’
-
एकीकृत समाजवादी गण्डकी प्रदेश अध्यक्षमा नेपाली निर्वाचित
-
माओवादी केन्द्रीय विभागमा कार्य विभाजन : प्रचण्ड स्कुल, जनार्दन संगठनको कमान्डर
-
गाजा किन्ने भनाइमा अडिग छन् ट्रम्प