बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
चोरी

काठमाडौँका ६ ठाउँ मोटरसाइकल चोरीको ‘हट स्पट’

दुई महिनामा उपत्यकाबाट ४ सय मोटरसाइकल र स्कुटर हराए
शुक्रबार, ०४ असोज २०८१, २० : ००
शुक्रबार, ०४ असोज २०८१

काठमाडौँ । काठमाडौँको चाबहिलमा पार्किङ्ग गरेको करिब आधा घण्टामा नै रामेछाप घर भएकी स्वीकृति थापा (नाम  परिवर्तन)को स्कुटर गायब भयो । संविधान दिवस (असोज ३) मा हराएको स्कुटर खोज्न उनले उपत्यका ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिएकी छन् । स्वीकृतिले जस्तै प्रत्येक महिना काठमाडौँ उपत्यकाबाट १६० देखि १७० जनाले आफ्ना मोटरसाइकल र स्कुटर हराएको निवेदन दिन्छन् ।

हराएका मध्ये प्रत्येक महिना ५० देखि ६० वटासम्म दुईपांग्रे सवारीसाधन फेला पर्ने गरेको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता (एसपी) विश्वराज खड्काले रातोपाटीलाई बताए । उनले भने, ‘उपत्यकाका विभिन्न ठाउँबाट चोरी भएकामध्ये प्रत्येक महिना ५०–६० वटा मोटरसाइकल फेला पारेर हामी सम्बन्धित धनीलाई बुझाउँछौँ ।’ चोरीमा संलग्न आरोपी पक्राउ परेको अवस्थामा ट्राफिक प्रहरीले उनीहरूलाई चोरी मुद्दामा अनुसन्धान गर्न स्थानीय प्रहरीलाई पत्राचार गर्ने गरेको छ ।

२०८१ साउन र भदौ महिनामा मात्र काठमाडौँ उपत्यकाबाट ४०१ वटा मोटरसाइकल हराएको निवेदन रामशाहपथस्थित उपत्यका ट्राफिक प्रहरीमा परेको छ । दुई महिनामा १३६ वटा शंकास्पद मोटरसाइकल ल्याएर अनुसन्धान गरिएको र ९६ वटा मोटरसाइकल धनीलाई जिम्मा लगाएको एसपी खड्काले जानकारी दिए । उनले भने, ‘साउन र भदौमा चोरीमा संलग्न १७ जनालाई पक्राउ गरेर मुद्दा चलाउन सम्बन्धित प्रहरी वृत्तमा लेखेर पठाएका छौँ ।’ प्रारम्भिक अनुसन्धान गर्दा आरोपीहरूले चोरेको पुष्टि भएका १३ वटा मोटरसाइकल र स्कुटर ट्राफिक प्रहरीले दसीको रूपमा मुद्दा चलाउने युनिटहरुमा बुझाएको छ । ट्राफिक प्रहरीलाई मुद्दा चलाउने अधिकार छैन । त्यसैले चोरी भएका मोटरसाइकल र चोरीमा संलग्नलाई पक्राउ गरेर मुद्दा चल्ने प्रहरीका युनिटहरुमा पठाउने गरिन्छ ।

आर्थिक वर्ष २०७९–०८० मा १ हजार ८५० जनाले आफ्नो मोटरसाइकल र स्कुटर चोरी भएको उजुरी गरे । तर, २०८०–०८१ मा उजुरकर्ताको संख्या बढेको छ । गत आर्थिक वर्षमा २ हजार ४०२ वटा निवेदन आएको एसपी खड्काले जानकारी दिए । चालु आर्थिक वर्षको साउन र भदौ महिनामा मात्र ४०१ जनाले मोटरसाइकल चोरी भएको निवेदन दिएका हुन् ।

tt

६ स्थान हट स्पट

काठमाडौँको पशुपतिनाथ मन्दिरमा साउन महिनाभर कोटिहोम आयोजना गरिएको थियो । सो अवधिमा पशुपतिनाथ मन्दिर आसपासका क्षेत्रबाट धेरै मोटरसाइकल र स्कुटर हराए । भिडभाड हुने समय बाहेक पनि गौशाला क्षेत्र मोटरसाइकल चोरीको ‘हट स्पट’मा पर्छ ।

पछिल्लो समय महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरबाट पनि मोटरसाइकल र स्कुटर धेरै हराउने गरेको छ । मोटरसाइकल चोरी हुने पहिलो नम्बरको हटस्पटमा पर्छ, बौद्ध ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयले गरेको अध्ययन अनुसार बौद्ध, महाराजगञ्ज, गौशाला, काँडाघारी,बालाजु र स्वयम्भू क्षेत्र मोटरसाइकल चोरी हुने ‘हट स्पट’ हुन् ।  चोरीमा संलग्नहरूले लक तोड्ने ‘टी’आकारको साँचो बनाएर चोर्ने गरेका छन् । चोरेपछि आरोपीहरूले तत्काल नम्बर परिवर्तन गर्नेगरेको एसपी खड्काले जानकारी दिए । उनले भने, ‘नम्बर परिवर्तन गरेर चलाएको अवस्थामा हाम्रो चोरी अनुसन्धान शाखाबाट खटिएका अनुसन्धानकर्मीहरुले फेला पार्छन् ।’

धेरै चोरीने टु–ट्वान्टी पल्सर

काठमाडौँ उपत्यकामा सबैभन्दा धेरै चोरी हुने मोटरसाइकलमा पर्छ टु–ट्वान्टी पल्सर । बजाज कम्पनीका मोटरसाइकल २०८१ साउन र भदौमा मात्र २७९ वटा चोरिएका छन् । आर्थिक वर्ष २०७९–०८०मा पल्सर मोटरसाइकल १ हजार ४८७ वटा र आर्थिक वर्ष २०८०–०८१ मा १ हजार ७४६ वटा हराएका थिए ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार प्रत्येक महिना चोरी हुने संख्यामध्ये करिब ८० प्रतिशत पल्सर मोटरसाइकल चोरी हुन्छ । मासिक रूपमा १० प्रतिशत डुक मोटरसाइकल चोरी हुन्छ । धेरै चोरी हुने मोटरसाइकलको तेस्रो नम्बरमा पर्छ रोयल इन्फिल्डको ‘बुलेट’ । स्कुटरमा सबैभन्दा धेरै हराउँछ ‘डिओ’ । आर्थिक वर्ष २०७९–०८० देखी हालसम्म ७ वटा भेस्पा स्कुटर हराएको छ ।

उपत्यका ट्राफिक प्रहरी कार्यालयमा चोरी भएका मोटरसाइकल र स्कुटरबारे अनुसन्धान गर्न १८ जना ट्राफिक प्रहरी छन् । जुनियर अधिकृतको कमाण्डमा उनीहरुले चोरी भएका दुईपांग्रेबारे अनुसन्धान गर्छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराधसम्बन्धी रिपोर्टिङ गर्छन् 

लेखकबाट थप