बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
सहकारी छानबिन समिति प्रतिवेदन

सहकारी क्षेत्रका बेलगाम ‘जायन्टहरु’, कुन कसरी बिग्रिए ?

शुक्रबार, ०४ असोज २०८१, १९ : ०७
शुक्रबार, ०४ असोज २०८१

काठमाडौँ । प्रतिनिधि सभाले सहकारी बचत रकम दुरुपयोग सम्बन्धमा छानबिन गर्न गठन गरेको संसदीय विशेष छानबिन समितिले साढे तीन महिना लगाएर गरेको छानबिन प्रतिवेदनको पूर्णपाठ सार्वजनिक भएको छ । समस्याग्रस्त एवं सार्वजनिक रूपमा प्रश्न उठेका ४० वटा सहकारीको समस्यामा केन्द्रित भएर गरिएको उक्त प्रतिवेदनको पूर्णपाठ शुक्रबार सार्वजनिक गरिएको हो ।  

प्रतिवेदनले सहकारी सञ्चालकहरूको खराब नियत, जथाभाबी कर्जा लगानी तथा तरलता र जोखिम व्यवस्थापन गरिएको उदासीनता सहकारीको समस्याको प्रमुख कारणको रूपमा औँल्याएको छ । 

प्रतिवेदनमा सार्वजनिक रूपमा प्रश्न उठेका सबैजसो संस्थाका सञ्चालकहरुले सहकारी ऐन तथा नियमावली विपरीत प्राकृतिक व्यक्ति बाहेकका निजी कम्पनीहरूमा कर्जा प्रवाह गरेको, एउटै व्यक्ति वा समूहका सदस्यलाई ठुलो रकम कर्जाको रूपमा प्रवाह गरेको, बचत निक्षेपकै हाराहारीमा तथा कतिपय अवस्थामा त्योभन्दा बढी समेत कर्जा प्रवाह गरेको देखाएको छ । सहकारी ऋणकै ‘जायन्ट’ मानिएका यी संस्थाको गलत अभ्यासले समग्र सहकारी क्षेत्र तहसनहसको अवस्थामा पुगेको छ । 

हेर्नुहोस् १४ वटा सहकारीको अवस्था 

सुमेरु सेभिङ एण्ड क्रेडिट 

भरत महर्जन नेतृत्वको ललितपुरस्थित सुमेरु सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडले ८ अर्ब ९६ करोड रुपैयाँ बराबरको ऋण प्रवाह गरेको छ । जबकि सहकारीको सिस्टममा ७ अर्ब २३ करोड रुपैयाँ बराबरको बचत संकलन गरेको संसदीय समितिको प्रतिवेदनमा उल्लेख छ ।

ऋण लगानी गरिएको रकममध्ये दुई कम्पनी सुमेरु सिटी हस्पिटल र सुमेरु कम्युनिटी हस्पिटलको नाममा मात्रै ५ अर्ब ९९ करोड रुपैयाँ ऋण प्रवाह भएको देखिएको छ । अन्य व्यक्ति तथा संस्थाको नाममा ३ अर्ब ३८ करोड रुपैयाँ ऋण प्रवाह भएको देखिएको छ । नियमविपरीत सीमित कम्पनीमा मात्रै लगानी र अपर्याप्त तरलता व्यवस्थापनले सहकारीमा समस्या आएको देखिएको छ । 

शिवशिखर बहुउद्देश्यीय सहकारी 

शिवशिखर सहकारीले ४ अर्ब ७४ करोड रुपैयाँ बराबरको ऋण कम्पनीलाई र ७७ करोड रुपैयाँ ऋण लगानी गरेको छ । कम्पनीले प्रवाह गरेको कुल ७ अर्ब ४८ करोड रुपैयाँमध्ये यो क्रमशः ६३.३९ प्रतिशत र १०.३० प्रतिशत हो । यो केदारनाथ शर्माको सहकारी हो । 

यो सहकारीबाट बचत मागदाबी मात्रै ९ अर्ब ४९ करोड रुपैयाँ बराबरको भएको छ । सिस्टममा भने ९ अर्ब ५८ करोड बचत देखिएको छ । संस्थाका अध्यक्ष केदारनाथ शर्माको नाममा मात्रै ७० करोड रुपैयाँ कर्जा प्रवाह गरेको भेटिएको छ । सहकारीले २५ ठुला ऋणीको नाममा मात्रै ९१ प्रतिशत कर्जा प्रवाह गरेको छ । 

श्री लालीगुराँस सेभिङ एण्ड क्रेडिट

सुरेन्द्र भण्डारीको नेतृत्व रहेको श्री लालीगुराँस सेभिङ एण्ड क्रेडिट को–अपरेटिभले १ अर्ब ९१ करोड रुपैयाँ (४२.७६ प्रतिशत) कम्पनीलाई र २ करोड ३० लाख रुपैयाँ (०.५१ प्रतिशत) सहकारी संस्थालाई प्रवाह गरेको भेटिएको छ । यो सहकारीबाट बचतकर्ताले हालसम्म ७ अर्ब १७ करोड रुपैयाँ बराबरको मागदाबी गरेका छन् । 

यो सहकारीको सिस्टममा कुल बचत रकम ६ अर्ब ३४ करोड रुपैयाँमात्रै देखिएको छ । अरू सहकारीमा मागदाबी भन्दा धेरै देखिएको बचत रकम यसमा मागदाबी भन्दा कम देखिएको हो । सहकारीले ५० ऋणीको नाममा ७७ प्रतिशत कर्जा प्रवाह गरेको भेटिएको छ । 

कान्तिपुर सेभिङ एण्ड क्रेडिट

सीबी लामाको कान्तिपुर कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभले कुल ३ अर्ब १० करोड रुपैयाँ ऋण प्रवाह गरेको देखिएकोमा कम्पनीलाई २० करोड ११ लाख रुपैयाँ तथा सञ्चालकलाई ३२ करोड ४० लाख रुपैयाँ प्रवाह गरेको देखिएको छ । यो क्रमशः ६.४९ प्रतिशत र १०.४५ प्रतिशत हो । यो सहकारीमा ७ अर्ब ९७ करोड रुपैयाँ बराबरको निक्षेप रहेको देखिएको छ । त्यसमध्ये हालसम्म ६ अर्ब ८७ करोड रुपैयाँ बराबरको मागदाबी परेको छ । 

यो सहकारीबाट सीबी लामाले मात्रै ५४ करोड ७१ लाख रुपैयाँ बराबरको ऋण लिएको भेटिएको छ । बहादुर तामाङले २१ करोड १ लाख रुपैयाँसहित एकै समूहको परिवारका सदस्यलाई ९२ करोड ९९ लाख रुपैयाँ कर्जा लगानी गरेको देखिएको छ । 

गौतमश्री बचत तथा ऋण सहकारी

सहकारी समस्याको सुरुवात भएको गौतमश्री सहकारीमा ४ अर्ब ५८ करोड रुपैयाँ बराबर बचत निक्षेप रहेको देखिएको छ । बचतकर्ताले भने हालसम्म ३ अर्ब १ करोड रुपैयाँ बराबरको मागदाबी प्राप्त भएको छ । यो कम्पनीले २ अर्ब ६९ करोड रुपैयाँ मात्रै कर्जा प्रवाह गरेको भेटिएको छ । संस्थाको खातामा हाल ६२ करोड रुपैयाँमात्रै छ । 

अध्यक्ष रामबहादुर गौतमको एकल निर्णयमा सञ्चालन भइरहेको यो सहकारीबाट उनको नाममा ऋण प्रवाह भएको देखिएको छैन । तर, ४७ जनाको नाममा कुल ऋणको ५७ प्रतिशत लगानी भएको देखिएको छ । 

स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी

ग्यालेक्सी टेलिभिजनको सञ्चालक कम्पनी गोर्खा मिडिया नेटवर्कका अध्यक्ष  गितेद्रबावु (जीबी) राईको नेतृत्वमा रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले २ अर्ब ६५ करोड रुपैयाँ बचत संकलन गरेको भेटिएको छ । यसमध्ये कुल २ अर्ब ५२ करोड रुपैयाँमध्ये २३ करोड १० लाख रुपैयाँ कम्पनीको नाममा प्रवाह गरेको छ । 

उक्त सहकारीबाट ३३ जनाको नाममा मात्रै ७६ प्रतिशत ऋण प्रवाह भएको छ । यसमध्ये उमेश गुरुङको नाममा मात्रै २० करोड रुपैयाँ कर्जा प्रवाह गरिएको छ । त्यस्तै, हर्बो इन्टरनेशनलको नाममा १० करोड २७ लाख, हर्बोकै सञ्चालक पुष्पराज पौडेलको नाममा ८ करोड लाख करोड तथा जीबी राई स्वयंको नाममा ६ करोड २७ लाख रुपैयाँ कर्जा प्रवाह भएको देखिएको छ । 

गोर्खा सेभिङ ऐण्ड क्रेडिट को–अपरेटिभ

डीबी बम्जनको गोर्खा सेभिङले १ अर्ब ५२ करोड रुपैयाँ बराबरको कुल कर्जा प्रवाह गरेको भेटिएको छ । यसमध्ये १७.७५ प्रतिशत बराबर हुन आउने २७ करोड ४ लाख रुपैयाँ कम्पनीलाई प्रवाह गरिएको छ ।

गोर्खा सेभिङको नाममा हालसम्म ३ अर्ब २३ करोड रुपैयाँ बराबरको मागदाबी परेको छ । सहकारीको सिस्टममा भने ४ अर्ब १२ करोड रुपैयाँ बचत संकलन रहेको देखिएको छ । उक्त संस्थाबाट ३३ जनाले मात्रै ७६ प्रतिशत ऋण लिएका छन् । अध्यक्ष बम्जन आफैँले ५६ करोड ४० लाख रुपैयाँ ऋण लिएका छन् ।

सानो पाइला बचत तथा ऋण सहकारी

जीबी राईकै नेतृत्व रहेको हेटौंडाको सानो पाइला बचत तथा ऋण सहकारीले कुल १ अर्ब ३५ करोड रुपैयाँ ऋण प्रवाह गरेको छ । यसमध्ये ५ करोड १० लाख रुपैयाँ बराबरको ऋण कम्पनीलाई प्रवाह गरेको छ । 

संस्थाको सिस्टममा कुल १ अर्ब ४५ करोड रुपैयाँ बराबरको बचत संकलन गरेको देखिएको छ । यो सहकारीले कम्पनीलाई प्रवाह गरेको रकम कम भए पनि ५५ जनालाई एक करोडभन्दा धेरै र एकै जनालाई ६ करोडसम्म ऋण दिएको भेटिएको छ । ग्यालेक्सी टेलिभिजनका कुमार रम्तेलले ८४ लाख रुपैयाँ बराबरको ऋण लिएको पाइएको छ । 

सुप्रिम बचत तथा ऋण सहकारी

जीबी राई नेतृत्वको बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाले ९९ करोड ४४ लाख रुपैयाँ कर्जा प्रवाह गरेकोमा २६ करोड ५९ लाख रुपैयाँ बराबरको रकम कम्पनीको नाममा गएको छ । 

कम्पनीले प्रवाह कुल ऋणमध्ये १९ ठुला ऋणीको नाममा ७४ प्रतिशत रकम प्रवाह भएको छ । उक्त सहकारीको कुल बचत १ अर्ब ३ करोड रुपैयाँ बराबर रहेको छ । त्यसमध्ये स्प्रिङउड रियलस्टेटको नाममा १५ करोड, जीबी राई ग्रुप अफ कम्पनीको नाममा ११ करोड रुपैयाँ कर्जा गएको छ । 

कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था

तेजबिक्रम थापाले नेतृत्व गरेको ललितपुरको कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाले कुल ६६ करोड रुपैयाँ ऋण लगानी गरेकोमा १५ करोड ७४ लाख रुपैयाँ (२३.७८ प्रतिशत) कम्पनीलाई र ९ करोड ३७ लाख (१४.१६ प्रतिशत) सञ्चालकलाई प्रदान गरिएको छ । 

उक्त सहकारीमा २ अर्ब ९७ करोड रुपैयाँ बराबरको बचत रकम रहेको देखिएको छ । हालसम्म २ अर्ब ८२ करोड रुपैयाँ बराबरको बचत फिर्ताका लागि मागदाबी प्राप्त भएको छ । यो सहकारीले २५ जनाको नाममा मात्रै ९२ प्रतिशत ऋण प्रवाह गरेको छ । 

सहारा बचत तथा ऋण सहकारी

सहारा बचत तथा ऋण सहकारीले कुल ५२ करोड रुपैयाँ ऋण प्रवाह गरेकोमा ३१ करोड ९९ लाख रुपैयाँ बराबरको ऋण कम्पनीको नाममा प्रवाह गरेको छ । यो ६१.०४ प्रतिशत बराबर हो । योमध्ये गोर्खा मिडिया नेटवर्कमा मात्रै १० करोड २१ लाख रुपैयाँ प्रवाह भएको भेटिएको छ । 

यो संस्थाको नाममा ५० करोड रुपैयाँ बचत निक्षेप देखिएको छ । यो सहकारीलाई समस्याग्रस्त घोषणा गरेर मागदाबी आह्वान नगरिएकोले कति मागदाबी पर्यो यकिन छ्रैन । यो पनि जीबी राईकै नेतृत्वको सहकारी हो । 

सूर्यदर्शन बचत तथा ऋण सहकारी

सूर्यदर्शन सहकारी संस्थाको बचत संकलन १ अर्ब ३५ करोड रुपैयाँ रहेको छ ।  त्यसमध्ये १ अर्ब ३१ करोड रुपैयाँ ऋण प्रवाह भएको छ । त्यसमध्ये २७ करोड १८ लाख रुपैयाँ बराबर कम्पनीको नाममा गएको छ । यो कुल ऋणको २०.६७ प्रतिशत बराबर हो । 

एक्त सहकारीको बचतमध्ये २९ जनालाई मात्रै ६१ प्रतिशत रकम प्रवाह भएको छ । त्यमध्ये अधिकांश ऋण विना धितो प्रवाह भएका छन् । ती प्रत्येकका नाममा १ करोड रुपैयाँभन्दा धेरै ऋण छ । यो सहकारीको नेतृत्व पनि जीबी राईले गर्दै आएका थिए । 

आइडियल यमुना बचत तथा ऋण सहकारी

एमाले सहकारी विभागमा तत्कालीन सदस्य समेत रहेका केबी उप्रेतीको नेतृत्व रहेको आईडियल यमुना बचत तथा ऋण सहकारीले ६ अर्ब २६ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ८६ करोड रुपैयाँ कर्जा दिएको भेटिएको छ । 

यो सहकारीबाट कसले कति ऋण लिए भन्ने सम्बन्धमा प्रतिवेदनमा केही उल्लेख गरिएको छैन । 

तुलसी बचत तथा ऋण सहकारी 

केदारनाथ शर्मा नेतृत्वमा रहेको तुल्सी बचत तथा ऋण सहकारी संस्थाबाट १ अर्ब ४३ करोड रुपैयाँ बचत संकलन गरेर ४२ करोड मात्रै कर्जा प्रवाह भएको पाइएको छ । उक्त सहकारीसँग १ अर्ब ३० करोड रुपैयाँ बराबरको सम्पत्ति रहको विवरणमा उल्लेख छ । 

उक्त सहकारीबाट गैरसदस्यलाई प्रवाह भएको कर्जामध्ये तुलसी मोटरपम्प उद्योगबाट २१ अर्ब ९७ करोड तथा अन्य तीन कम्पनीबाट झण्डै १५ करोड रुपैयाँ उठाउन बाँकी रहेको देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप