शुक्रबार, १८ असोज २०८१
ताजा लोकप्रिय
राजनीति

महाधिवेशनबाट नेतृत्व हत्याउन राप्रपामा एकवर्ष अघिदेखि नै अन्तरसंघर्ष

लिङ्देनविरुद्ध इतर समूहबाट को उम्मेदवार ?
शुक्रबार, ०४ असोज २०८१, १६ : १३
शुक्रबार, ०४ असोज २०८१

काठमाडौँ । विधानअनुसार ४ वर्षमा हुनुपर्ने नियमित महाधिवेशन आउन एक वर्षभन्दा बढी समय बाँकी हुँदै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा अन्तरसंघर्ष बढ्न थालेको छ । आगामी महाधिवेशनबाट पार्टी नेतृत्वमा पुग्ने रणनीतिका साथ नेताहरू दुई समूहमा बाँडिएर सोहीअनुसारको गतिविधि गर्दै एकअर्काको प्रतिस्पर्धीको रूपमा प्रस्तुत गर्नसमेत थालिसकेका हुन् ।

पूर्वपञ्चहरूको बाहुल्यता रहेको राप्रपामा एक समूहको नेतृत्व अध्यक्ष राजेन्द्र लिङ्देनले नै गरेका छन् भने अर्को समूहमा महामन्त्री धवल शमशेर राणालगायतका नेता छन् । दुई समूहले आफूलाई बलियो देखाउन पार्टीभित्र प्रस्ट देखिनेगरी नै गतिविधि गर्न सुरु गरिसकेको नेताहरूको भनाइ छ ।

राप्रपाको २०७८ मंसिरमा सम्पन्न एकता महाधिवेशनबाट अध्यक्षका बलिया उम्मेदवार कमल थापालाई पराजित गर्दै राजेन्द्र लिङ्देन निर्वाचित भएका थिए । ‘युवा नेतृत्व’को रूपमा पार्टीको ‘पोस्टर’ बनाइएका लिङ्देनकै आडमा राप्रपाले गत निर्वाचनमा प्रतिनिधि सभामा १४ सिट र प्रदेश सभामा २८ सिट जितेको थियो ।

तर, नेतृत्वमा आएको तीन वर्ष पुग्दै लाग्दा लिङ्देनलाई विगतमा सहयोग गर्ने धवलशमशेर राणालगायतबाटै चुनौती दिने काममात्रै भएको छैन, सोहीअनुसारको चुनावलक्षित गतिविधिसमेत हुन थालिसकेको छ । राप्रपाका निर्वाचित केन्द्रीय सदस्य जनकराज पाठक पार्टीको महाधिवेशन आउन एक वर्षभन्दा बढी समय बाँकी रहे पनि आ–आफ्नो तर्फबाट तयारी हुनु स्वाभाविक भएको बताउँछन् । पार्टीभित्र हुने छलफल, बहसलाई अन्यथा लिन नहुने उनको तर्क छ ।

राप्रपाको भदौ २३ गते बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले वडादेखि सबै तहको अधिवेशन सम्पन्न गर्न आवश्यक निर्णय गरेसँगै पार्टीभित्र चुनावी माहोल थप तातेको बताइएको छ । प्रचार विभाग प्रमुख तथा प्रवक्ता मोहनकुमार श्रेष्ठका अनुसार पार्टीको वडादेखि सबै तहको अधिवेशन गर्ने प्रयोजनका लागि कार्यसम्पादन समितिका सदस्य तोरण बहादुर गुरुङको अध्यक्षतामा गठित केन्द्रीय निर्वाचन समितिलाई पूर्णता दिइएको छ । समितिमा केन्द्रीय सदस्य राजाराम श्रेष्ठ, कार्यसम्पादन समिति सदस्य अधिवक्ता निरुपमा यादव, सहमहामन्त्री अमृत पुडासैनी, सहायक महामन्त्री रमानन्द न्यौपाने, केन्द्रीय सदस्यहरू डा जयन्तनाथ खनाल, भरतजंग उप्रेती र स्वाति थापा छन् ।

यस्तै समितिको सदस्यसचिवमा सहमहामन्त्री श्याम बहादुर शाही छन् । पार्टीका अनुसार वडादेखिका अधिवेशन वैशाखभित्र सम्पन्न गर्नेगरी कार्यतालिका बनाइएको छ ।

उसो त राप्रपाले यही असोज महिनादेखि नै पार्टी प्रवेश कार्यक्रमलाई अभियानको रूपमा सञ्चालन गर्ने, २०८१ साललाई नै पार्टी प्रवेश वर्षको रुपमा मनाउने निर्णयमात्रै गरेको छैन, संगठन विस्तारलाई पनि महत्त्व दिएको नेताहरू बताउँछन् । राप्रपाले पार्टीमा युवाको आकर्षण बढाउने उद्देश्यका साथ ४० वर्षमुनिका २० जनालाई केन्द्रीय सदस्य मनोनीत गरेको छ ।

राप्रपाको ‘नवीन राप्रपा’ कार्ययोजना अन्तर्गत ४० वर्षमुनिका २० युवालाई केन्द्रीय सदस्यमा मनोनीत गरेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

पार्टीका उपाध्यक्ष ध्रुवबहादुर प्रधान संयोजक रहेको छनोट समितिले विभिन्न मापदण्डका आधारमा अन्तर्वार्ता लिएपछि १० पुरुष र १० महिलालाई पार्टीको केन्द्रीय सदस्य पदमा छनोट गरेको श्रेष्ठले बताए । राप्रपाले केन्द्रीय सदस्यमा मनोनीत गरेका २० युवामध्ये मिस नेपाल वर्ल्ड आश्मा कुमारी केसीसमेत छिन् । संगठनको कार्यशैलीमा व्यापक सुधार गर्दै एक वर्षमा दुई लाख सक्रिय सदस्य पु‍¥याउने लक्ष्य लिइएको श्रेष्ठको भनाइ छ । 

निर्धारित समयमै गर्ने हो भने राप्रपाको महाधिवेशन २०८२ मंसिरभित्र हुनुपर्छ । त्यसमा एक वर्ष थप समय लिन सक्ने अधिकार अध्यक्षलाई भए पनि यसअघि नै ‘अर्ली महाधिवेशन’को कुरा उठेकाले आन्तरिक चुनावको माहोल तात्न पुगेको बताइएको छ ।

राप्रपाको गत असारमा बसेको कार्यसम्पादन समितिको बैठकले जिल्ला अधिवेशनको कार्यविधि, २०८१ संशोधनसहित पारित गरेको थियो । त्यतिबेला राप्रपाले ‘अर्ली महाधिवेशन’ मा जान सकिनेसमेत बताएको थियो । जसअनुसार केन्द्रीय समिति बैठकले समेत स्थानीय तहको आगामी निर्वाचन लगायतलाई ध्यान दिइ पार्टीको सबै तहको निर्वाचन चाँडो गर्ने निर्णय गरेको थियो ।

प्रवक्ता श्रेष्ठ भने पार्टी संगठनलाई चुस्त दुरुस्त राख्न स्थानीय तहको अधिवेशन ०८२ वैशाख मसान्तसम्म सक्नेगरी पार्टी अघि बढेको बताउँछन् । महाधिवेशनको विषयमा अहिले नै प्रवेश नगरिएको उनको भनाइ छ ।

‘२०७८ को महाधिवेशनका लागि जुन संरचना बनेका थिए, तीमध्ये कतिपय संरचना अहिले निष्क्रिय छन्’, श्रेष्ठले भने, ‘ती संरचनालाई पुनर्ताजगी गर्न वडादेखिका कमिटी बनाउँदै जिल्लाको अधिवेशन सक्ने हाम्रो तालिका हो । तर, त्यसपछिको विषयमाचाहिँ हामी प्रवेश गरेका छैनौँ ।’

तर, अहिलेसम्म नियमित समयमै महाधिवेशन गर्ने पक्षमा पार्टी रहेको प्रवक्ता श्रेष्ठको भनाइ छ ।

पार्टीभित्रको आन्तरिक समीकरण

राप्रपा अध्यक्ष लिङ्देनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै पूर्वअध्यक्ष लोकेन्द्र बहादुर चन्दले खुलेर असन्तुष्टि जनाउँदै आएका छन् । लिङ्देनले सबैलाई नसमेटेको भन्दै उनले दुई पटक नेताहरूलाई बोलाएर आफ्नो निवास लोकन्थलीमा छलफलसमेत गरेका थिए ।

चन्दको चासोमा नेताहरू प्रकाशचन्द्र लोहनी, हरि बहादुर बस्नेत, नवराज सुवेदी, पशुपति शमशेर राणालगायत समेत सहमत रहेको बताइएको छ । चन्दले आफ्ना निकट नेताहरूसँग लिङ्देनले पार्टीको आधारस्तम्भ नै ध्वस्त बनाएको गुनासो गर्ने गरेको एक नेताले बताए । ती नेताका अनुसार पार्टी नेता बनाउन फारम भराउनेदेखि आवश्यक समन्वय र परामर्शसमेत नगर्ने लिङ्देन प्रवृत्ति घातक रहेको चन्दले बताउँदै आएका छन् ।

367417755_1614952102363447_7400146178572560719_n_cFC15YwU1r

चन्दको सो भनाइमा लोकन्थलीको बैठकमा जाने सबैजसो नेता सहमत रहेको र आगामी महाधिवेशनमा यो प्रवृत्तिविरुद्ध एकजुट हुुनपर्ने उनीहरूको निष्कर्ष छ ।

यस्तै उपाध्यक्ष विक्रम पाण्डे, महामन्त्री राणासहितका नेताहरूले पनि पार्टीभित्र आफ्नो पक्षमा लबिङ बढाउन अध्यक्ष इतर पक्षलाई एकीकृत गरिरहेका छन् ।

लिङ्देनविरुद्ध एक समूह एकताबद्ध भए पनि उनी पनि कमजोर भने छैनन् । उनलाई उपाध्यक्ष बुद्धिमान तामाङ, ध्रुवबहादुर प्रधानदेखि केही प्रभावशाली नेताको दह्रो साथ छ ।

लिङ्देनविरुद्ध इतर समूहबाट को उम्मेदवार ?

आगामी महाधिवेशन तोकिएको समयमा वा छिटो–ढिलो जे भए पनि अध्यक्षमा दोहोरिने योजनाका साथ लिङ्देनले फेरि उम्मेदवारी दिने पक्कापक्की रहेको नेताहरू बताउँछन् । इतर समूहबाट अध्यक्षमा उम्मेदवारी कसले दिने भन्ने निश्चित भइसकेको छैन । पार्टीभित्र प्रभावशाली भूमिकामा रहेका महामन्त्री राणा लिङ्देनविरुद्ध उम्मेदवारी दिनेमा सबैभन्दा अगाडि छन् । उनले पार्टीभित्र आफूले अध्यक्ष उठ्ने बताउन थालिसकेका छन् ।

यसबाहेक विक्रम पाण्डेको पनि नाम आएको छ । तर, उनको विषयमा त्यति ठुलो माहोल भने नरहेको बताइन्छ ।

‘धवलशमशेर राणाको साथसाथै विक्रम पाण्डेको पनि इतर समूहबाट नाम आएको छ । तर जो भए पनि सहमतिमा हुन्छन्’, एक नेताले रातोपाटीसँग भने, ‘इतर समूहका उम्मेदवारलाई लोकेन्द्रबहादुर चन्द, डा प्रकाशचन्द्र लोहनीदेखि महामन्त्री कुन्ती शाहीलगायतको साथ हुन्छ ।’

रोचक त के छ भने गत महाधिवेशनमा लिङ्देनलाई अध्यक्ष बनाउन राणाले ठुलो भूमिका खेलेका थिए । तर अहिलेको अवस्थासम्म आइपुग्दा उनीहरू दुई विपरीत कित्तामा उभिएका छन् । 

फरक राजनीतिक प्रस्ताव पेस गर्ने राणाको तयारी

महाधिवेशनलाई नै लक्षित गरेर महामन्त्री राणाले फरक राजनीतिक प्रस्ताव ल्याउनेबारे छलफल भइरहेको उनी निकट एक नेताले बताए । ‘अब केन्द्रीय समिति बैठकमै महामन्त्रीबाट अध्यक्षलाई काउन्टर दिनेगरी राजनीतिक प्रस्ताव आउँछ । त्यसमा लिङ्देनको भन्दा फरक मत राखिन्छ । त्यो प्रतिवेदनले एकखालको कित्ताकाट नै गर्ने देखिन्छ’, ती नेताले भने ।

पछिल्लो समय लिङ्देन र राणाबीच समन्वयको अभावसमेत देखिने गरेको नेताहरू बताउँछन् ।

अहिले पार्टीले गर्ने भनिएको आन्दोलन परिचालन समितिको संयोजकमा राणा छन् । तर, त्यसलाई काउन्टर दिँदै अध्यक्षको नेतृत्वमा मूल आयोजक समिति बनाइएको छ । आन्दोलन परिचालन समितिका सदस्यसमेत रहेका केन्द्रीय सदस्य पाठकले अब महामन्त्रीको नेतृत्वमा छिटै केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम गर्न लागिएको बताए ।  त्यसले ७७ जिल्लामा प्रशिक्षण कार्यक्रम गर्ने र २० हजार युवा छानेर संगठन निर्माणमा लागिने उनको भनाइ छ ।

पार्टीमा दुई समूह सक्रिय रहेको बेला साझा विवेकशील पार्टीबाट राप्रपामा प्रवेश गरेका रवीन्द्र मिश्र भने मौन देखिन्छन् । इतर समूहका एक नेताले भने, ‘पार्टीलाई राजनीतिक रूपमा स्थापित गर्न हामी अर्को महाधिवेशनमा नेतृत्व परिवर्तन गर्छौं । यसमा हामी लागिसकेका छौँ ।’

तर रवीन्द्र मिश्रचाहिँ खुल्न नसकेको केन्द्रीय एक नेताले बताए । कार्यकर्ता तहमा ‘होल्ड’ नभएकै कारण मिश्र कतै पनि खुल्न नसकेको ती नेताको बुझाइ छ । 

राप्रपाका अर्का प्रवक्ता सगुन लावतीले विगतको अभ्यास हेर्दा पार्टीमा सर्वसम्मत नेतृत्व चयन हुने अवस्था नरहेको बताए । ‘अब विधान बमोजिम वडादेखि केन्द्रसम्म प्रक्रिया हुने नै भयो । अहिलेसम्मको र विगतको अनुभव हेर्दा तल्लो निकायमा सहमति पनि भएको छ । तर, केन्द्रमा पदाधिकारीदखि केन्द्रीय सदस्यसम्म चुनाव नै भएको देखिन्छ’, उनले भने, ‘त्यो क्रम जारी रहन्छ होला ।’

लावतीले नेताहरूले चुनावी रणनीति बनाउनु स्वाभाविक भए पनि पार्टीभित्र गुट भनेर सीमाङ्कनचाहिँ नभएको दाबी गरे । उनले समूह या गुट बन्न नदिने मूल जिम्मेवारी पार्टी नेतृत्वको भएको प्रस्ट पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप