बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

सस्तैमा समेटियो बंगलादेश, पहिलो पालीमा भारतलाई २२७ रनको अग्रता

शुक्रबार, ०४ असोज २०८१, १६ : ०१
शुक्रबार, ०४ असोज २०८१


काठमाडौँ । भारतविरुद्धको पहिलो टेस्ट क्रिकेटको दोस्रो दिन शुक्रबार भ्रमणकारी टोली बंगलादेश आफ्नो पहिलो पालीमा केवल एक सय ४९ रनमा अलआउट भएको छ । ४७.१ ओभरमै बंगलादेशका सम्पूर्ण ब्याट्सम्यान पेभेलियन फर्किएका थिए ।

पहिलो पालीमा भारतले बंगलादेशसँग दुई सय २७ रनको अग्रता हासिल गरेको छ । पालीको खराब सुरुवात गरेको बंगलादेशले केवल ४० रनको कुल स्कोरमा पाँच प्रभावशाली विकेट गुमाएको थियो । ओपनर सादमन इस्लाम दुई र अर्का ओपनर जाकिर हसन तीन रनमै आउट भएका थिए । कप्तान नजमुल होसैन सान्टो पनि २० रनभन्दा अगाडि बढ्न सकेनन् ।

मोमिनुल हक शून्य रनमै पेभेलियन फर्किए भने मुसफिकर रहिम पनि आठ रनभन्दा अगाडि बढ्न सकेनन् । छैटौँ नम्बरमा क्रिज समाल्न आएका सकिब अल हसनले ३२ रन बनाए । सातौँ नम्बरका ब्याट्सम्यान लिटन दास २२ रनमा आउट भए ।

हसन महमुद पनि नौ रनमा आउट भए । मेहदी हसन मिराजले अविजित २७ रन बनाए । तास्किन अहमद र नाहिद राणाले ११–११ रन जोडे । भारतीय टोलीका बलर जसप्रित बुमराहले चार विकेट हात पारे । उनले ११ ओभरमा एक मेडन राख्दै ५० रन खर्चिए । मोहम्मद सिराज, आकाश दीप र रविन्द्र जडेजाले पनि दुई–दुई विकेट लिए ।

त्यसअघि दोस्रो दिनको सुरुमै भारतीय टोली आफ्नो पहिलो पालीमा तीन सय ७६ रन बनाउँदै अलआउट भएको थियो । चेन्नईमा जारी पहिलो टेस्टमा भारतले टस हारी पहिले ब्याटिङको निम्तो पाएको थियो ।

भारतका लागि रविचन्द्रन आश्विनले सतकीय तथा रविन्द्र जडेजा र यशस्वी जैसवालले अर्धसतकीय पाली खेलेका थिए । आविश्वनले एक सय १३ रनको योगदान गरेका थिए । आश्विनले एक सय ३३ बलको सामना गरी दुई छक्का र ११ चौका हिर्काएका थिए ।

आश्विनले एक सय दुई रनको स्थितिबाट शुक्रबारको खेल अगाडि बढाएका थिए । ३८ वर्षीय आश्विनले टेस्ट क्रिकेटमा बनाएको यो छैटौँ सतक हो । टोली अप्ठ्यारो स्थितिमा रहँदा आश्विन र जडेजाले महत्वपूर्ण साझेदारी गरेका थिए ।

यसैगरी, जडेजाले ८६ रन बटुलेका थिए । उनले एक सय २४ बलको सामना गरी दुई छक्का र १० चौका हिर्काएका थिए । अघिल्लो दिनको खेल सकिँदा पनि जडेजा ८६ रनमै अविजित थिए । दोस्रो दिन उनले सात बलको सामना गरे पनि रन भने थप्न सकेनन् । ३५ वर्षीय जडेजाले टेस्ट क्रिकेटमा बनाएको २१ औँ अर्धसतक हो ।

ओपनर ब्याट्सम्यान जैसवालले पनि ५६ रन बनाएका थिए । उनले लामो समय क्रिजमा टिकेर एक सय १८ बलको सामना गरी नौ चौका हिर्काएका थिए । २२ वर्षीय जैसवालले टेस्ट क्रिकेटमा बनाएको यो पाँचौँ अर्धशतक हो ।

भारतले पालीको निराशाजनक सुरुवात गरेको थियो । भारतले खेलको प्रारम्भमै तीन विकेट गुमाएको थियो । टोलीको कुल स्कोर केवल ३४ रन रहँदा भारत तीन विकेट गुमाएको हो । कप्तान रोहित शर्मा ६ रनको ब्यक्तिगत स्कोरमा पहिलो विकेटका रुपमा पेभेलियन फर्किएका थिए ।

त्यसलगत्तै शुभमन गिल पनि पेभेलियन फर्किएका थिए । उनले त खातासम्म खोल्न सकेनन् । तेस्रो विकेटका रुपमा विराट कोहली पनि केवल ६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले पनि टोलीको खातामा ३९ रनमात्र थपेका थिए ।

केएल राहुल १६ रनमै आउट भएका थिए । छैटौँ विकेटका रुपमा केएल राहुल पेभेलियन फर्किँदा भारतको कुल स्कोर एक सय ४४ रन रहेको थियो । त्यसपछि सातौँ नम्बरका ब्याट्सम्यान रविन्द्र जडेजा र आठौँ नम्बरका ब्याट्सम्यान रविचन्द्रन आश्विनले टोलीको स्कोरलाई तीन सय ४३ रनको बलियो स्थितिसम्म पुर्याएका थिए ।

बंगलादेशका बलर हसन महमुदले पाँच विकेट लिए । उनले २२.२ ओभरमा चार मेडनसहित ८३ रन खर्चिएका थिए । तास्किन अहमदले पनि तीन विकेट हात पारे । नाहिद राणा र मेहदी हसन मिराजले पनि एक–एक विकेट लिए । भारतीय टोली पहिलो पालीमा ९१.२ ओभरमा अलआउट भएको हो ।

बंगलादेशविरुद्धको पहिलो टेस्टमार्फत नै भारतीय बलर जसप्रित बुमराहले अन्तर्राष्ट्रिय क्रिकेटमा चार सय विकेटको कोशेढुंगा पनि पुरा गरेका छन् । उनी अन्तर्राष्ट्रिय क्रिकेटमा भारतका लागि चार सय विकेट लिने १० औँ बलर बनेका छन् ।

बुमराहले भारतीय टोलीका पूर्वबलर हरभजन सिंहलाई पनि पछि पारेका छन् । बुमराहले दुई सय २७ पालीमा चार सय विकेट लिएका हुन् । हरभजनले भने दुई सय ३७ पालीमा चार सय विकेटको कोशेढुंगा पुरा गरेका थिए ।

सबैभन्दा कम पालीमा चार सय विकेट लिने भारतीय बलर भने रविचन्द्रन आश्विन हुन् । उनले केवल दुई सय १६ पालीमा चार सय विकेट पुरा गरेका थिए । आफ्नो समयका प्रभावशाली अलराउन्डर कपिल देवले पनि दुई सय २० पालीमा चार सय विकेट पुरा गरेका थिए ।

भारतका लागि सर्वाधिक विकेट लिने बलरको सूचिमा बुमराह छैटौँ नम्बरमा छन् । यो सूचिमा कपिल देब सबैभन्दा माथि छन् । उनले आफ्नो सक्रिय खेलजीवनमा कुल ६ सय ८७ विकेट लिएका थिए । दोस्रो स्थानमा रहेका जहिर खानले ६ सय १० र जवागल श्रीनाथले पाँच सय ५१ विकेट लिएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप