शुक्रबार, ३० कात्तिक २०८१
ताजा लोकप्रिय
माछापुच्छ्रे सहकारी घोटाला प्रकरण

ठगीमा संलग्न प्रभाकर थापालाई कांग्रेसकै आडमा उन्मुक्ति

सञ्चालक समितिका अध्यक्ष अमलेश कर्ण पक्राउ पर्दा १ करोड ६० लाख अनियमितता गरेका थापालाई अझै उन्मुक्ति
शुक्रबार, ०४ असोज २०८१, १५ : ३६
शुक्रबार, ०४ असोज २०८१

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाका विश्वास पात्र मानिएका मोरङ विराटनगरका प्रभाकर थापा सहकारीको रकम अपचलन गरेको अभियोग लागेपछि फरार छन् । विराटनगर–७ स्थित माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सर्वसाधारणको ९ करोडभन्दा बढी बचत रकम हिनामिना गरेको आरोप छ ।

उक्त सहकारीलाई प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयले समस्याग्रस्त घोषणा गर्ने तयारी गरेको छ । प्रभाकर थापा सोही सहकारीका सचिव थिए । सहकारीका अध्यक्ष अमलेश कर्णलाई भने पक्राउ गरिसकेको छ । गत भदौमा ९५ जना सहकारी पीडितले अध्यक्ष कर्ण, सचिव थापासहित १५ जना सञ्चालकविरुद्ध सहकारी ठगीमा उजुरी दिएका छन् ।

पक्राउ परेका कर्णसहित चार जना सञ्चालकले सहकारीका बचत गरेका एक हजार बढी बचतकर्ताहरूको ९ करोड २५ लाख ९१ हजार ६०१ रुपैयाँ हिनामिना गरेको छानबिन प्रतिवेदनले देखाएको छ । जसमा सहकारी पूर्वसचिव तथा व्यवस्थापक अमित कार्की, बहालवाला सचिव तथा सञ्चालक समिति सदस्य प्रभाकर थापा र सहकारीका कोषाध्यक्ष राधादेवी लिम्बूसहित १५ जनाले सहकारीको रकम हिनामिना गरी ठगी गरेको उजुरीमा उल्लेख छ ।

प्रहरीमा उजुरी दिएपछि अध्यक्ष कर्णबाहेक अन्य १४ जना फरार छन् । उनीहरूको खोजी भइरहे पनि पक्राउ नपरेको प्रहरीले जनाएको छ । ठगीमा संलग्न रहेका कार्की र थापा दुई जना नै कांग्रेसका स्थानीय नेता हुन् । ‘प्रभाकर थापा त महामन्त्री गगनकुमार थापाका निकट हुन्,’ कांग्रेसकै एक कार्यकर्ताले भने, ‘मोरङमा गगन थापाका चिनिएका नेता भनेकै प्रभाकर र कृष्ण कार्की हुन् ।’

थापा नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दल मोरङका पूर्वसभापति पनि हुन् ।

Gagan

उक्त स्रोतका अनुसार सहकारीमा समस्या आएर पक्राउ पर्ने अवस्था आएपछि थापा काठमाडौँ पुगेर प्रहरीको उच्च तहमा महामन्त्री गगन थापामार्फत फोन गराउने गरेका छन् । ‘काठमाडौँ बसेर गृहमन्त्री रमेश लेखक र महामन्त्री गगन थापामार्फत जिल्लाका प्रहरी अधिकारीलाई पक्राउ नगर्न दबाब दिइरहेका छन्,’ उक्त स्रोत भन्छ ।

उक्त सहकारीका विरुद्धमा अहिलेसम्म ९५ भन्दा बढीले उजुरी दिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अहिलेसम्म कर्णबाहेक अन्य पक्राउ परेका छैनन् ।

जिल्ला सहकारी संघ मोरङका सञ्चालक समिति सदस्य उमेश गुरुङको संयोजत्वमा चार सदस्यीय समितिले तयार पारेको छानबिन प्रतिवेदन अनुसार सबैभन्दा बढी घोटाला सहकारीका पूर्वसचिव तथा व्यवस्थापक अमित कार्कीले गरेका छन् । उनले चार करोड ७३ लाख ७४ हजार ९५६ रुपैयाँ हिनामिना गरेको प्रतिवेदनमा उल्लेख छ ।

यस्तै सचिवसमेत रहेका प्रभाकर थापाले एक करोड ६० लाख ३३ हजार ४०२ रुपैयाँ घोटाला गरेका छन् । अध्यक्ष अमलेश कर्णले १ करोड ४७ लाख ८३ हजार २७५, कोषाध्यक्ष राधादेवी लिम्बूले १ करोड ४३ लाख ९९ हजार ९६६ रुपैयाँ घोटाला गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशले असार २५ गते दुई हप्तभित्रमा सहकारीको हिसाब छानबिन गरी प्रतिवेदन बुझाउन समिति गठन गरेको थियो । जिल्ला सहकारी संघ मोरङको सञ्चालक समितिको सदस्य उमेश गुरुङको संयोजत्वमा राष्ट्रिय सहकारी बैंक लिमिटेड विराटनगरको प्रमुख प्रभु पोखरेल, माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्था सेयर सदस्य उत्तम ढुंगेल र सहकारीका सदस्य श्यामराज कोइराला छानबिन समितिमा थिए ।

उक्त समितिले तयार पारेको प्रतिवेदन प्रदेश सहकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालय कोशी प्रदेशका निमिक्त रजिष्ट्रार हरिबहादुर खत्रीलाई बुझाइसकेको छ ।

घोटाला गर्ने सञ्चालकहरूले सहकारीको नियम, मूल्य मान्यताविपरीत हिनामिना गरी जग्गामा लगानी गरेको देखिएको छ । उनीहरूले आफन्त र नातागोता व्यक्तिलाई सहकारीको रकम विनाधितो कर्जा दिएको पाइएको छ ।

धितो नराखी २ करोडभन्दा बढी रकम ऋण दिएको देखिन्छ । चार जना सञ्चालकको नाममा रहेको जग्गा पनि छानबिन समितिले रोक्का राख्न सुझाव दिएको छ । प्रभाकर थापाको सबैभन्दा बढी जग्गा रहेको देखिएको छ । थापाको झापाको धुलाबारी–२ मा १७ कट्ठा जग्गा देखिएको छ ।

कित्ता नम्बर ९६ रहेको ४ कट्ठा १० धुर र ३०७० कित्ता नं. रहेको ४ कट्ठा १० धुर जग्गा धुलावारीमा देखिएको छ । यसैगरी थापकी श्रीमतीको नाममा पनि १०६ र ८१२ कित्ता नंं. को १७ कट्ठा जग्गा देखिएको छ । सहकारीको निक्षेप जग्गामा लगानी गरेको देखिएको छ ।

कार्कीको निजी खातामा सहकारीको ५ करोड

व्यवस्थापक अमित कार्कीको नाममा रहेको बैंक खातामा सहकारीको पाँच करोड बढी रकम देखिएको छ । सिटिजन इन्टरनेशनल बैंकको खाता नं. ००२००२००००९३९ एस. ए. १६ फ्रेब्रुरी २००९ देखि र एक्सल डेभलपमेन्ट बैंक विराटनगर शाखाको खाता नंं. ०१२०११०००४७१४३०००००१ मा ४ अक्टुबर २०१२ देखि सहकारीको करिब ५ करोड ७५ लाख जम्मा गरेको देखियो । जुन रकम शंकास्पद र थप छानबिनको घेरामा ल्यानुपर्ने देखिएको प्रतिवेदनमा उल्लेख छ ।

२०७९ मंसिर २८ गते भएको खेला परीक्षण अनुसार १ करोड ४९ लाख ३७ हजार २९३ रुपैयाँ ऋण लगानी भएकोमध्ये अधिकांश म्याद नाघेका, पुराना, कागजी प्रक्रिया पूरा नगरी दिएको पाइएको छ । ९५ प्रतिशत लगानीमा देखाएको ऋण जोखिममा रहेको अवस्था छ । ऋण लगानी जम्मा २०५ जनामा देखाएकोमध्ये ५ जनाको मात्र धितो जमानीमा ऋण लगानी गरेको देखाएको छ । ऋण लगानीको संयोजकमा अमित कार्की थिए । कार्कीले २०६९ साउन ५ देखि २०७१ फागुन २९ गतेसम्म ३८ पटक बैठक बसी ऋण लगानी गरेको प्रतिवेदनमा उल्लेख छ । कार्कीले गरेको ऋण लगानी अहिले जोखिममा छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप