शुक्रबार, १९ पुस २०८१
ताजा लोकप्रिय

आर्मी क्लबका मुकेश र बाँकेकी गीता ‘१० किमी नाइट रन’ च्याम्पियन

शुक्रबार, ०४ असोज २०८१, १४ : १३
शुक्रबार, ०४ असोज २०८१

काठमाडौँ । ‘नेपालगन्ज १० किमी नाइट रन’ को उपाधि त्रिभुवन आर्मी क्लबका मुकेश पाल र बाँके नरैनापुरकी गीता साहुले जितेका छन् । संविधान दिवसको अवसरमा बिहीबार राति नेपालगञ्जमा भएको रात्री दौडमा पाल ३१.०७.२१ मिनेटमा १० किलोमिटर दौड पूरा गर्दै च्याम्पियन बने ।

उक्त स्पर्धामा सशस्त्र प्रहरी बलको एपीएफ क्लबका सन्तोषविक्रम बिष्ट दोस्रो र किरणसिंह बोगटी तेस्रो भए । सन्तोषले ३२ः४८ः४४ मिनेटमा निर्धारित दुरी पार गरे पनि किरणले ३२ः५४ः६३ मिनेटमा दौड पुरा गरे ।

धारा नेपालगन्ज म्याराथनको १०औँ संस्करण विशेष बनाउन ’दशौंमा दस इभेन्ट’ अन्तर्गत पहिलो कार्यक्रमका रुपमा भएको १० किलोमिटर रात्री दौडमा महिला खुलातर्फ गीता पहिलो भइन् । उनले ५९ः१६ः५२ मिनेटमा दौड पुरा गरिन् ।

उक्त स्पर्धामा कोहलपुरकी स्वस्तिका शाही दोस्रो र सलिना थारु तेस्रो भए । स्वस्तिकाले ५१ः०६ः३७ मिनेटमा निर्धारित दुरी पार गरिन् । सलिनाले भने निर्धारित दुरी पुरा गर्न एक घण्टा ६ मिनेट ४८ सेकेन्ड समय खर्चिएकी थिइन् ।

पुरुष तथा महिला खुलातर्फका शीर्ष तीनजना धावकले क्रमशः २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । लुम्बिनी प्रदेश खेलकुद परिषदका सदस्यसचिव तिरनदाज गौतम, केएल दुगड ग्रुपका सीईओ प्रदीप छाजेड, नेपालगन्ज म्याराथनका संरक्षक सदस्य केसरबहादुर आले, राखेपका सदस्य दिपेन्द्र बिष्टलगायतले खेलाडीलाई पुरस्कार प्रदान गरे ।

जीवनमा पहिलोपटक रात्री दौडमा दौड्न पाउँदा निकै खुशी लागेको मुकेश पालले बताए । ’मैले उपाधि नै जितेँ, इतिहास बनाउने अवसर पनि पाएँ,’ उनले भने–’रात्री दौडको मज्जा नै बेग्लै हुने रहेछ । निकै खुशी लागेको छ ।’

पहिलो पटक ठुलो स्पर्धामा भाग लिएकी बाँके नरैनापुरकी गीताले आफूले नसोचेको नतिजा हात पारेको प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘पहिलो पटक यति धेरै पैसा जितेकी छु । यो पैसा आमालाई दिन्छु । अब त अझै धेरै खेल्छु ।’

भेट्रान पुरुषतर्फ रेवत दाहाल पहिलो भए । उनले ३८ः०८ः७१ मिनेटमा दुरी पुरा गरे । उक्त स्पर्धामा बाँके खजुराका भरत श्रेष्ठ (४८ः५६ः२३ मिनेट) दोस्रो र महेन्द्र बज्राचार्य (४९ः१९ः२५ मिनेट) तेस्रो भएका थिए । लुम्बिनीका निवर्तमान सदस्यसचिव भीम ओली र समाजसेवी लिलबहादुर थापाले भेट्रानतर्फको विजेतालाई पुरस्कृत गरे ।

नेपालगन्ज उपमहानगरपालिका प्रवेशद्वार अगाडि निर्मित नाइट रन गेटबाट सुरु भएको दौड बीपी चोक, धम्बोजी चोक, पुष्पलाल चोक, कारकादो चोक हुँदै राँझा नजिकै पुगेर पुनः सोही रुट हुँदै बीपी चोकमा पुगेर सम्पन्न भएको थियोे । नेपालमै पहिलो पटक नाइट रन आयोजना गरिएको हो । यसअघि नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त बिष्टले नाइट रनको उद्घाटन गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप