क्यारेबियन प्रिमियर लिग : एकपछि अर्को बिवादले जब अम्पायर हायल–कायल भए...
काठमाडौँ । चर्चित फ्रेन्चाइज क्रिकेट प्रतियोगिता ‘क्यारेबियन प्रिमियर लिग’ को १२ औँ संस्करण अहिले चलिरहेको छ । जारी क्यारेबियन लिगमा एकपछि अर्को रमाइला घटना भइरहेका छन् । गत मंगलबार बार्बाडस रोयल्स र सेन्ट किट्स एन्ड नेभिस प्याट्रियोट्सबिचको खेलपछि रहकिम कर्नवाल समाजिक सञ्जालमा एकाएक भाइरल बनेका थिए ।
त्यो खेलमा बार्बाडस रोयल्सलाई जिताउन रहकिम कर्नवालको भूमिका महत्वपूर्ण रहेको थियो । वेस्ट इन्डिजका खेलाडी रहकिम एक्लैले पाँच विकेट लिएपछि बार्बाडस रोयल्सको सजिलो जित सम्भव भएको थियो । त्यो खेलपछि उनी समकालीन विश्व क्रिकेटकै सबैभन्दा मोटा खेलाडीका रुपमा समाजिक सञ्जाल र समाचारहरुमा चर्चित बनेका थिए ।
समाचारहरुमा दाबी गरिए अनुसार उनी वर्तमान विश्व क्रिकेटकै सबैभन्दा मोटा खेलाडी हुन् र उनको वजन एक सय ४० किलो रहेको छ । ६ फिटभन्दा पनि अग्ला ३१ वर्षीय रहकिमले टी–२० क्रिकेटको एउटै खेलमा पाँच विकेट लिएको यो पहिलो पटक हो ।
अहिले फेरि खेलाडीले अम्पायरलाई हायल–कायल बनाएको विषयलाई लिएर क्यारेबियन प्रिमियर लिग चर्चामा छ । बिहीबार राति ट्रिनबागो नाइट राइडर्स र एन्टिगुआ एन्ड बर्बुडा फाल्कन्सबिच खेल भएको थियो । उक्त खेलमा एन्टिगुआ एन्ड बर्बुडा फाल्कन्स ६ विकेटले विजयी भएको थियो ।
त्यो खेलमा पहिले ब्याटिङ गर्दै ट्रिनबागो नाइट राइडर्सले एक सय ३४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको एन्टिगुआ एन्ड बर्बुडा फाल्कन्सले १०औँ ओभरको खेल खेलिरहँदा बिवाद सुरु भएको थियो ।
१०औँ ओभरको खेलमा एन्टिगुआ एन्ड बर्बुडा फाल्कन्सका पाकिस्तानी ब्याट्सम्यान ईमाद वसिम क्रिजमा थिए । ट्रिनबागो नाइट राइडर्सका बलर सुनिल नारिनले बलिङ गरिरहेका थिए । सुनिल नारिनले ईमाद वसिमविरुद्ध एलबीडब्लू आउटको ‘अपिल’ गरे ।
तर, अम्पायरले ईमाद वसिमलाई एलबीडब्लू आउट दिएनन् । त्यसपछि सुनिल नारिनले डीआरएस (डिसिजन रिभ्यू सिस्टम) को माग गरे । सुनिल नारिनले डीआरएसको माग गरेपछि टेलिभिजन अम्पायरले ईमाद वसिमलाई एलबीडब्लू आउट घोषित गरे ।
त्यसपछि पाकिस्तानी खेलाडी ईमाद वसिम फिल्ड अम्पायरसँग झगडा गर्न पुगे । सोही कारणले लामो समय खेल अवरुद्ध हुन पुग्यो । उनले त्यो बललाई पुनः टेलिभिजन रिप्लेमा हेर्न र राम्ररी आँखा खोलेर निर्णय गर्न आग्रह गरे । सुनिल नारिनले फालेको बल पहिले ब्याटको कुनामा ठोक्किएर मात्र आफ्नो प्याडमा बजारिएको दाबी ईमाद वसिमले गरेका थिए ।
ईमाद वसिमले यस्तो दाबी गरेपछि अम्पायरहरुले टेभिलजिनमा पटक–पटक त्यो क्षणको रिप्ले हेरे । त्यतिबेलासम्म ईमाद वसिम मैदानबाट बाहिर गइसकेका थिए । टेलिभिजनमा रिप्ले हर्दा अन्ततः ईमाद वसिमको दाबी नै सही सावित भयो । सुनिल नारिनले फालेको बल पहिले ईमाद वसिमको ब्याटको छेउमा ठोक्किएर उनको प्याडमा बजारिएको थियो ।
त्यसपछि ईमाद वसिमलाई फेरि ‘नट आउट’ घोषित गरियो र उनलाई पुनः ब्याटिङका लागि क्रिजमा आउन आग्रह गरियो । अम्पायरको यस्तो निर्णयपछि ट्रिनबागो नाइट राइडर्सका कप्तान काइरन पोलार्ड अम्पायरसँग झगडा गर्न अघि सरे । त्यसपछि मैदानमा फेरि अर्को बिवाद सुरु भयो ।
एकपछि अर्को बिवादका कारण अम्पायरहरु नै हायल–कायम भएका थिए । लामो समय बिवाद भएपछि ट्रिनबागो नाइट राइडर्सका कप्तान पोलार्ड पनि ईमाद वसिमलाई पुनः ब्याटिङ गर्न दिन राजी भएका थिए । अन्ततः ईमाद वसिमले नै एन्टिगुआ एन्ड बर्बुडा फाल्कन्सलाई जितसम्म डो¥याएका थिए ।
ईमाद वसिमले २७ बलमा एक छक्का र दुई चौकाको मद्दतले अविजित ३६ रन बनाउँदै एन्टिगुआ एन्ड बर्बुडा फाल्कन्सलाई जित दिलाएका थिए । अहिले खेलाडी र अम्पायरबिच मैदानमा लामो समयसम्म भएको बिवादको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ ।
— Cricket Cricket (@cricket543210) September 20, 2024
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनपीएलको उपाधि जित्ने ‘काठमाडौं गोर्खाज’को लक्ष्य
-
ला लिगामा रियालको सहज जित
-
म्यान्चेस्टर युनाइटेडलाई बराबरीले लाग्यो घाटा
-
लिभरपुल विजयी, शीर्ष स्थानमा कब्जा कायमै
-
साढे एक लाख क्यूफिट सालको काठ त्यतिकै सड्दै, छैन सदुपयोग
-
१२ बजे, १२ समाचार : मधेस प्रदेशको सरकार फेर्न कांग्रेस-एमालेले कम्मर कसेकोदेखि सरकारकै कारण अधिकांश ठूला आयोजना निर्माणमा ढिलाइसम्म