बिहीबार, ०१ कात्तिक २०८१
ताजा लोकप्रिय

पहिलो टेस्ट क्रिकेट : बंगलादेशविरुद्ध भारतले पहिलो पालीमा ३७६ रन बनायो

शुक्रबार, ०४ असोज २०८१, ११ : १५
शुक्रबार, ०४ असोज २०८१

काठमाडौँ । बंगलादेशविरुद्धको पहिलो टेस्ट क्रिकेटको दोस्रो दिन शुक्रबार घरेलु टोली भारत आफ्नो पहिलो पालीमा तीन सय ७६ रन बनाउँदै अलआउट भएको छ । चेन्नईमा जारी पहिलो टेस्टमा भारतले टस हारी पहिले ब्याटिङको निम्तो पाएको थियो ।

भारतीय टोलीका लागि रविचन्द्रन आश्विनले सतकीय तथा रविन्द्र जडेजा र यशस्वी जैसवालले अर्धसतकीय पाली खेले । आविश्वनले एक सय १३ रनको योगदान गरे । उनले एक सय ३३ बलको सामना गरी दुई छक्का र ११ चौका हिर्काए ।

आश्विनले एक सय दुई रनको स्थितिबाट शुक्रबारको खेल अगाडि बढाएका थिए । ३८ वर्षीय आश्विनले टेस्ट क्रिकेटमा बनाएको यो छैटौँ सतक हो । टोली अप्ठ्यारो स्थितिमा रहँदा आश्विन र जडेजाले महत्वपूर्ण साझेदारी गरेका थिए ।

यसैगरी, जडेजाले ८६ रन बटुले । उनले एक सय २४ बलको सामना गरी दुई छक्का र १० चौका हिर्काएका थिए । अघिल्लो दिनको खेल सकिँदा पनि जडेजा ८६ रनमै अविजित थिए । दोस्रो दिन उनले सात बलको सामना गरे पनि रन भने थप्न सकेनन् । ३५ वर्षीय जडेजाले टेस्ट क्रिकेटमा बनाएको २१औँ अर्धसतक हो ।

त्यसअघि ओपनर ब्याट्सम्यान जैसवालले ५६ रन बनाएका थिए । उनले लामो समय क्रिजमा टिकेर एक सय १८ बलको सामना गरी नौ चौका हिर्काएका थिए । २२ वर्षीय जैसवालले टेस्ट क्रिकेटमा बनाएको यो पाँचौँ अर्धशतक हो ।

भारतले पालीको निराशाजनक सुरुवात गरेको थियो । भारतले खेलको प्रारम्भमै तीन विकेट गुमाएको थियो । टोलीको कुल स्कोर केवल ३४ रन रहँदा भारत तीन विकेट गुमाएको हो । कप्तान रोहित शर्मा ६ रनको ब्यक्तिगत स्कोरमा पहिलो विकेटका रुपमा पेभेलियन फर्किएका थिए ।

त्यसलगत्तै शुभमन गिल पनि पेभेलियन फर्किएका थिए । उनले त खातासम्म खोल्न सकेनन् । तेस्रो विकेटका रुपमा विराट कोहली पनि केवल ६ रन बनाउँदै पेभेलियन फर्किएका थिए । विकेटकिपर ब्याट्सम्यान ऋषभ पन्तले पनि टोलीको खातामा ३९ रनमात्र थपे ।

केएल राहुल १६ रनमै आउट भए । छैटौँ विकेटका रुपमा केएल राहुल पेभेलियन फर्किँदा भारतको कुल स्कोर एक सय ४४ रन रहेको थियो । त्यसपछि सातौँ नम्बरका ब्याट्सम्यान रविन्द्र जडेजा र आठौँ नम्बरका ब्याट्सम्यान रविचन्द्रन आश्विनले टोलीको स्कोरलाई तीन सय ४३ रनको बलियो स्थितिसम्म पु¥याएका थिए ।

बंगलादेशका बलर हसन महमुदले पाँच विकेट लिए । उनले २२.२ ओभरमा चार मेडनसहित ८३ रन खर्चिएका थिए । तास्किन अहमदले पनि तीन विकेट हात पारे । नाहिद राणा र मेहदी हसन मिराजले पनि एक–एक विकेट लिए । भारतीय टोली पहिलो पालीमा ९१.२ ओभरमा अलआउट भएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप