रविले स्वीकारेको सत्य : लोकप्रियतामा रम्दा रास्वपाको ‘डीएनए’ स्थापित भएन
काठमाडौँ । नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा दुई दिन सञ्चालित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को राष्ट्रिय भेला सम्पन्न भएको छ । असोज १ र २ गते बसेको भेलाले पार्टीको प्रथम महाधिवेशन मिति घोषणा गरेको छ । पार्टी सभापति रवि लामिछानेले सोही भेलाबाट वर्तमान कार्यसमिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण भइसकेको घोषणा गरिसकेका छन् ।
सभापतिका रूपमा रविले भेलाको अन्तिममा राजनीतिक प्रतिवेदन वाचन गरे । २० पृष्ठको उक्त प्रतिवेदनबाट केही सत्य उनी आफैँले स्वीकार गरेको स्पष्ट हुन्छ ।
आफ्नै कारण पार्टी कमजोर
प्रतिवेदनमा रविले आफ्नो कमजोरी स्वीकार गरेका छन् । बाहिर जति चर्का र राजनीतिक भाषणबाजी गरे पनि उनले ‘कयौँ निजी मामिलालाई हल्का रुपमा लिनु र तिनको समयमै उचित कानुनी निकास दिन नसक्नु’ आफ्नो कमजोरी भएको उल्लेख गरेका छन् । भलै उनले लगाइएको आरोपमा सत्यता छैन भनेर दाबी गरे पनि त्यसले पार्टीमा क्षति भएको स्वीकार गरेका छन् ।
‘मेरा कुनै बेलाका गैरराजनीतिक तथा अत्यन्त व्यक्तिगत विषयको भारी सिङ्गो पार्टीले अनाहकमा बोक्नु पर्यो, यसमा म दुःखी छु,’ रविको प्रतिवेदनमा लेखिएको छ ।
रविले आफ्नो तागतको हेक्का नराखी बोलिएका बेलगाम बोली, जनतामा बाँडिएको बडेमानका आश्वासन र त्यसलाई पूरा गर्न नसक्दा त्यसको क्षति पार्टी र आफ्नो राजनीतिक भविष्यमा परेको स्वीकारेका छन् ।
‘मान्छेका रूपमा मेरा कयौँ कमजोरी होलान् । तर, मबाट अनैतिक, असामाजिक र अराजनीतिक काम भएको छैन । राजनीति यतिसम्म निर्मम र निकृष्ट हुन्छ भन्ने अनुमान र त्यसको पूर्वतयारी गर्न नसक्नु मेरो कमजोरी हो,’ रविले करिब दुई हजार पार्टीपंक्ति अगाडि स्वीकार गरेका छन् ।
न कुनै राजनीतिक पृष्ठभूमि, न कुनै छनक । सञ्चार माध्यमबाट उदाएर राजनीतिमा हामफालेका रविले पार्टी सञ्चालनको छोटो समयमै लोभलाग्दो र चकित पार्ने सफलता हासिल गरेको सत्य हो । तर, राजनीतिमा आएपछि उनीमाथि लागेको एकपछि अर्काे आरोपले दलको र उनको ‘पपुलारिटी’को ग्राफ घटेको छ । यसलाई रविले स्वीकार गर्दै प्रतिवेद नै तयार पारेका छन् । उनले यी सबै विषयलाई प्रहारको संज्ञा दिएका छन् ।
रविले आफ्नो प्रतिवेदनमा संसदीय राजनीतिमा आफूहरू सफल भएको दाबी प्रस्तुत गरेका छन् । सरकारमा नजाउँ, प्रतिपक्षमा बस भन्ने जनमत भए पनि पाँच महिना सरकारमा बस्दा एकपछि अर्काे सफल काम गरेको दाबी उनले प्रस्तुत गरेका छन् । चुनाव लड्दा जे गर्छु भनेर सबैभन्दा ठुलो स्वरले भनियो, सरकारमा त्यही गर्न गएको अनि सरकारमा गएर त्यो भटाभट काम गरेको उनको दाबी छ ।
‘हाम्रो खेलकुद मन्त्रीका कयौँ निर्णयले खेल जगतमा इतिहास रचेको छ । शिक्षामन्त्रीका प्रयासको चर्चाले मात्रै पनि आम युवामा राजनीतिप्रतिको आशा जगाएको छ । श्रममन्त्रीका प्रयासले करोडमा होइन, अर्बमा राज्य कोषको पैसा जोगिएको छ,’ उनले लेखेका छन् ।
तर, उनले आफू गृह मन्त्रालय गएको विषयमा चतुर्याइँपूर्ण जवाफ लेखेका छन् । ‘यदाकदा सुनिन्छ कि गृहमन्त्री पायो भने यसलाई केही चाहिन्न । पदलोलुप रहेको भए प्रधानमन्त्री बन्ने प्रस्तावलाई किन नकार्थे होला र ? पदलोलुप मान्छेले देशकै सर्वाेच्च पद कार्यकारी प्रधानमन्त्री हुने प्रस्ताव छोड्छ ?’ प्रतिवेदनमा उनले लेखेका छन् ।
रविले पार्टीको साङ्गठनिक क्षेत्रमा काम गर्न नसकेको पार्टी संरचना निर्माण र विस्तारमा अलमलमा परेको स्वीकारेका छन् । राजनीतिक–साङ्गठनिक प्रशिक्षण दिन नसक्दा वा पार्टी काममा लाग्ने गरी अभियान दिन चुकेको, साङ्गठनिक स्वरूप र ढाँचाको अन्योल, पार्टी विस्तारको सुस्त गति, परिभाषित कार्यक्षेत्र र जिम्मेवारीको अभाव, कमजोर समानुपातिक समावेशी प्रतिनिधित्वको अभाव पार्टीमा भएको उनको स्वीकारोक्ति छ ।
रविले केन्द्र नियन्त्रित साङ्गठनिक संरचना, तदर्थवादको संस्थागत सुरुवात, लोकप्रियतावाद प्रतिको रुचि हाबी भएको भन्दै लेखेका छन्, ‘हामी लक्षित तथाकथित विभिन्न प्रकरण र तीप्रतिको निम्छरो प्रतिवाद, कमजोर आन्तरिक सूचना प्रणाली एवं नेता–सदस्यबिचको दोहोरो अन्तरक्रिया अभाव पनि हाम्रा कमजोरी हुन् ।’
पार्टी विचार धाराको ‘कन्फ्युजन’
रविले पार्टीमा विभिन्न धारबाट मानिसहरू एकत्रित भएको तथा पुरानै विचार र दृष्टिकोणको धङधङी कायम राख्दा र कतिपयको गैरराजनीतिक पृष्ठभूमि हुँदा ‘रास्वपा डीएनए’ स्थापित गर्न बाँकी रहेको लेखेका छन् । साथै पूर्वमहामन्त्री मुकुल ढकालबाट भएको विश्वासघातले पनि सदस्य, समर्थक र शुभेच्छुकलाई क्षणिक रूपमा चिन्तित बनाएको उनले स्वीकारेका छन् ।
रविको प्रतिवेदन पार्टीको धार र विचार धार के हुने भन्नेमा स्पष्ट देखिँदैन । उनले आफैँले दुई वर्ष सङ्गठन कस्तो बनाउने भन्ने बहस र प्रयोगमा बिताएको जिकिर गरेका छन् । साङ्गठनिक स्वरूप र संरचना कस्तो बनाउने भन्ने स्पष्ट भइनसकेको उनको भनाइ छ ।
रविले जनता उन्मुख (मास बेस) वा कार्यकर्ता उन्मुख (क्याडर बेस) पार्टी बनाउने भन्ने दोधारमा आफू रहेको उल्लेख गरेका छन् । उनले यी दुई पद्धतिको फ्युजन गरेर मध्यमार्गी बाटो अपनाउन सकिन्छ कि भन्ने प्रस्तावमात्र राखेका छन् । उनले क्याडर बेस केन्द्रित हुँदा पार्टीलाई भार पर्ने तथा ‘मासबेस’ बनाउँदा पनि पार्टीको खास साङ्गठनिक संरचनाको पहिचान स्थापित गराउन गाह्रो हुने उल्लेख गरेका छन् ।
‘हामी मिश्रित प्रणालीमा जाँदा उपयुक्त हुन्छ कि भन्ने मेरो बुझाइ छ । जस्तोः केन्द्रीय समिति र विभाग तथा प्रदेश समिति र विभाग सानो, जिल्ला, पालिका र वडास्तरीय समिति अलि ठुलो र निर्वाचन क्षेत्र समितिलाई समन्वयात्मक बनाउने,’ उनको प्रस्ताव छ ।
रविले सिकाइले परिष्कृत बनाउने भन्दै रास्वपा पार्टी बन्ने चरणमा रहेको उल्लेख गरेका छन् ।
शासकीय स्वरूप अस्पष्ट
रविको राजनीतिक प्रतिवेदन संविधान संशोधन गर्नुपर्ने पक्षमा छ । संविधान संशोधन गरेर स्वतन्त्र, गैरदलीय र प्रतिष्ठित व्यक्ति राष्ट्रपति बन्नुपर्ने उनले उल्लेख गरेका छन् । त्यसैलाई काट्ने गरेर उनले लेखेका छन्, ‘निर्वाचन अगावै हाम्रो पार्टीबाट सिफारिस हुने राष्ट्रपतिको नाम सार्वजनिक गरिनेछ ।’
उनले गैरदलीय र स्वतन्त्र मानिस राष्ट्रपति हुने लेखे पनि दलले व्यक्ति सिफारिस गर्ने वाक्यांश घुसाएका छन् । उनको आशय आफैँमा विरोधाभास देखिएको छ ।
रविले राष्ट्रिय सभा अध्यक्ष नै उपराष्ट्रपति बन्ने, प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री बन्ने र प्रधानमन्त्रीले आफ्ना मन्त्री योग्य र विषय विज्ञ नेपाली नागरिकबाट छान्न पाउने व्यवस्था गरिने उल्लेख गरेका छन् । राष्ट्रिय सभालाई राष्ट्रिय एकता झल्किने गैरदलीय र समावेशी ‘विद्वतासभा’ बनाइने उनले प्रतिवेदनमा उल्लेख गरेका छन् ।
रास्वपा प्रदेश सभा खारेजीको पक्षमा उभिने रविको प्रतिवेदनमा लेखिएको छ । उनले प्रदेशको सङ्ख्या ७ नै रहने र स्थानीय तहको सङ्ख्या भने सात सय ५३ बाट झारेर पाँच सय मुनि राख्ने अवधारणा ल्याएका छन् ।
‘प्रदेश सभा खारेज गर्दै स्थानीय तहका जनप्रतिनिधि सम्मिलित प्रदेश परिषद्लाई नै विधायीकी अधिकार दिन सकिने उन्नत विकल्पबारे छलफल सुरु गरिनेछ । साथै, विज्ञले नेतृत्व गर्ने गरी प्रत्यक्ष निर्वाचित मुख्यमन्त्रीसमेत गरी पाँच वटा प्रदेश मन्त्रालय रहने व्यवस्था, बहु आयामिक पहिचान झल्काउने ७ वटा प्रदेश कायम राख्दै स्थानीय पालिकाहरूको सङ्ख्या भने ५ सयभन्दा मुनि झारिनेछ,’ प्रतिवेदनमा भनिएको छ ।
रविले निर्वाचन प्रणाली खर्चिलो भएकाले पूर्ण समानुपातिक निर्वाचन प्रणाली राख्नुपर्ने प्रतिवेदनमा लेखेका छन् । २०७९ असार ७ गते पार्टी स्थापनाको घोषणा गर्दा रास्वपा लाई धेरैले ‘अराजनीतिक लहड’ भनेका थिए । जुन विषय रवि आफैँले प्रतिवेदनमा स्वीकार गरेका छन् ।
रविले स्वीकार गरेको अर्को तथ्य हो, ‘इलामले हाम्रो टाउकोमा घण्टी बजायो र भन्यो– यतिले पुगेन । अझ तीक्ष्ण, चतुर र सचेत परिश्रम गर ।’