१० बजे, १० समाचार
आज मिति २०८१ साल असोज महिनाको ३ गते अर्थात संविधान दिवस । आज दिनभर भएका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुती ‘रातोपाटी ब्रिफिङ’ लिएर उपस्थित भएका छौँ–
१. संविधान दिवस मनाइयो
संविधान दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइएको छ । बिहीबार संघ, प्रदेश र स्थानीय सरकार, राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था, नागरिक समाज, निजी क्षेत्र र सामाजिक संस्थाहरूले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाएका हुन् ।
२. दरबारमार्गमा कन्सर्ट
संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८१ का अवसरमा काठमाडौँको दरबारर्गस्थित सडकमा आयोजित ‘नेसनल डे कन्सर्ट’ मा प्रधानमन्त्री केपी शर्मा ओली सहभागी भएका छन् ।
नागरिकस्तरबाट आयोजित विशाल कन्सर्टमा कलाकार र सहभागीलाई उत्साहित तुल्याउन प्रधानमन्त्री ओली कार्यक्रमस्थलमा पुगेका हुन् । हातमा राष्ट्रिय झण्डा बोकेर फहराउँदै कन्सर्टको स्टेजजमा प्रधानमन्त्री ओली पुग्दा सहभागीहरुले तालीको गडगडाहटबाट स्वागत गरेका थिए ।
यसबीच कन्सर्टमा काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहका समर्थक कुटिएका छन् । बालेनको पक्षमा नारा लगाएका उनलाई युवाहरुको अर्को समूहले कुटपिट गरेको हो । दरबारमार्गमा बिहीबार अपराह्न ४ बजेदेखि सुरु भएको ‘नेशनल डे कन्सर्ट’मा ती युवकले ‘बालेन १ बालेन १’ भनेर नारा लगाउन थालेपछि कुटपिट भएको हो ।
३. विरोधमा कालो दिवस
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालले भने आज संविधान दिवसको विरोधमा सडक प्रदर्शन गरेको छ । ‘असोज तीन कालो दिन’ भन्दै सो पार्टीका नेता कार्यकर्ताहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
४. खुल्यो धरहरा
आजदेखि सर्वसाधारणका लागि खुला गरिएको धरहराको टिकट आइतबारसम्मका लागि बुक भएको छ । सहरी विकास तथा भवन निर्माण विभागअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन एकाइका प्रमुख कोषनाथ अधिकारीले धरहरा चढ्नका लागि आइतबारसम्मका लागि टिकट बुक भइसकेको जानकारी दिए ।
५. १६ राजदूत अनुमोदित
संसदीय सुनुवाइ समितिले १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको छ । बिहीबार सिंहदरबारमा बसेको बैठकले सरकारले सिफारिस गरेका १७ मध्ये १६ देशका लागि नेपाली राजदूतको नाम अनुमोदन गरेको सभापति ईश्वरी न्यौपानेले जानकारी दिइन् ।
६. न्यायधीश सिफारिस कहिले ?
नयाँ प्रधान न्यायाधीश आएपछि मात्र सर्वोच्च र उच्चमा न्यायाधीश सिफारिस हुने भएको छ । प्रधान न्यायाधीशका लागि सिफारिस भएका प्रकाशमान सिंह राउतविरुद्ध संसदीय सुनुवाइका लागि उजुरी आह्वान भएको छ ।
७. माओवादीको निष्कर्ष
नेकपा माओवादी केन्द्रले देशभर अराजकता बढेको निष्कर्ष निकालेको छ । साथै सो पार्टीले भू–राजनीतिक अवस्था थप जटिल र पेचिलो बन्दै गइरहेको निष्कर्ष निकालेको छ ।
८. दसैँ बजार
नेपालीहरूको महान् चाड दसैँ नजिकिएसँगै बजारमा बिस्तारै चहलपहल बढ्न थालेको छ । थोक व्यवसायीहरूले सामान आयात बढाएका छन् भने स्वदेशी वस्तुको उत्पादन पनि जोड दिइएको छ ।
तर, यस वर्षको चाडबाड थोरै महँगो हुने व्यवसायीहरू बताउँछन् । व्यवसायीहरूले यो वर्ष आयात गर्दा नै हरेक सामान ५–१० प्रतिशत सम्म महँगो भएर आएको बताएका छन् । नेपाल कपडा उद्योग संघका महासचिव उमेश लाखेले भने, ‘आयात गर्दा नै सामान्य साडीको १०० रुपैयाँ बढेको छ । यसले खुद्रा बजारमा कम्तीमा ५ प्रतिशत मूल्य बढी हुन सक्छ ।’
९. सहुलियत मूल्य पसल
बिहीबारदेखि सुरु गरेको सहुलियत मूल्य पसलबाट सरकारले ५० हजार क्विन्टल खाद्यान्न बिक्री गर्ने भएको छ । दाल, चामल, गेडागुडी कर्णालीका रैथाने उत्पादन, तेल, घ्यूसहित ५० हजार क्विन्टल खाद्यान्न बिक्री सुरु गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले जनाएको छ ।
१०. स्वास्थ्य सेवा
सरकारले ज्येष्ठ नागरिकलाई उपचार सेवा प्रदान गर्न ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा थप गरेको छ । सरकारले देशभर ६२ वटा स्वास्थ्य सेवाबाट ज्येष्ठ नागरिकलाई सेवा प्रदान गर्दै आएकोमा यो वर्ष दुई वटा स्वास्थ्य संस्था थप गरी ६४ वटा संस्थाबाट सेवा प्रदान गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाँकेमा लागु औषधसहित दुई जना पक्राउ
-
‘बबल एन्ड क्र्यास’को कथा
-
सामाजिक सञ्जाल नियमन गर्ने विधेयक संसदमा पेस गर्ने सरकारको निर्णय
-
नागरिकमा आशा जगाउने काम गरिरहेका छौँ : उपप्रधानमन्त्री सिंह
-
आशिका तामाङलाई थप ५ दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति
-
पोखरेलका पूर्व स्वकीय सचिव अनिलविरुद्ध अदालतमा मुद्दा दर्ता