बुधबार, ०२ माघ २०८१
ताजा लोकप्रिय

प्रयास मञ्च नेपालद्वारा खेलकर्मी सम्मानित

बिहीबार, ०३ असोज २०८१, १७ : ५२
बिहीबार, ०३ असोज २०८१

काठमाडौँ । प्रयास मञ्च नेपालले खेलकुद क्षेत्रमा हासिल गरेको उपलब्धि तथा खेलकुदको विकास र विस्तारमा पुर्याएको महत्त्वपूर्ण योगदानको कदर गर्दै एथलेटिक्स खेलाडीसहित विभिन्न खेलकर्मीलाई बिहीबार सम्मान गरेको छ ।

कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा मञ्चले आयोजना गरेको बुद्धवीर लामा १३ औँ साङ्गीतिक साँझका अवसरमा खेलकर्मीलाई सम्मान गरिएको हो । गीतकार लामा गत असारमा बङ्गलादेशको ढाकामा भएको अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगिताको पुरुष ६५ वर्षभन्दा माथिको स्पर्धामा पाँच हजार मिटर दौडका स्वर्ण पदक विजेता पनि हुन् ।

दक्षिण एसियाली खेलकुदका कीर्तिमानी पूर्वधावक वैकुण्ठ मानन्धर, प्रहरी संगठनबिच हुने अन्तर्राष्ट्रिय हाफ म्याराथन र १० हजार मिटर दौडका स्वर्ण विजेता सिंगापुर प्रहरीका निवृत्त निरीक्षक निमेश गुरुङ र बङ्गलादेशको ढाकामा भएको अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगिताको पुरुष ६५ वर्षमाथि १० हजार मिटर दौडका स्वर्ण विजेता पुष्पलाल श्रेष्ठलाई सम्मान गरियो ।

यसैगरी, बङ्गलादेशको ढाकामा भएको अन्तर्राष्ट्रिय खुला भेट्रान एथलेटिक्स प्रतियोगिताको पुरुष ५० वर्षमाथि ५ हजार र १० हजार मिटर दौडका स्वर्ण विजेता धर्म महर्जन, अन्तर्राष्ट्रिय माउन्टेन क्रस कन्ट्री च्याम्पियनसिपकी स्वर्ण विजेता इन्द्रकला नेम्वाङ (निक्की) र विश्वका चर्चित लन्डन, बर्लिन, न्युयोर्क र बोस्टन म्याराथनमा सहभागिता जनाएका शम्भुप्रसाद दाहाल पनि सम्मानित भए ।

यसैगरी, कार्यक्रममा एथलेटिक्सका पूर्वप्रमुख प्रशिक्षक मधुशमशेर राणा, एथलेटिक्स परिवार नेपालका अध्यक्ष राजन खत्री, पूर्वखेलाडी रमेश सुनार, धावक त्रिरत्न मानन्धर, इलाम जिल्ला खेलकुद विकास समितिका अध्यक्ष खगेन्द्र बास्तोला र पूर्वधाविका रोशनी शाह पनि सम्मानित भए ।

सोही अवसरमा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो । शिक्षासँगै आफ्नो विद्यालयमार्फत खेलकुद प्रतियोगिता आयोजना गरेर विभिन्न खेलको राष्ट्रिय खेलाडी उत्पादन गर्दै खेलकुदको विकास र विस्तारमा अतुलनीय योगदान पुरयाएवापत ज्ञानोदय बाल वाटिकाकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बालाई ‘महान नारी रत्न सम्मान–२०८१’ बाट सम्मान गरिएको थियो ।

शिक्षा क्षेत्रकै माया लामा, जीवन खड्का, भीमकुमार श्रेष्ठ, दीपक योञ्जन, टंकप्रसाद गैरे, नेत्रप्रसाद दाहाल, भक्त राजभण्डारी, अम्बिरकुमार कटुवाल, मोहन कार्की, शिवप्रसाद अधिकारी, ईश्वर पोखरेल, अशोकसुनदर श्रेष्ठ र भावना सुवेदीलाई पनि सम्मान गरियो ।

गीत, संगीत र चलचित्रतर्फ गोपाल कर्माचार्य, रगुन गुरुङ, अर्जुन चैनपुरे र सिर्जनामाया लामा सम्मानित भए । विविध क्षेत्रबाट बलरा नगरपालिका सर्लाहीका मेयर रामाशंकर प्रसाद कुशवाहा, वरिष्ठ अधिवक्ता देवराज कटुवाल, समाजसेवी गोले दम्पती गणेश र विन्दुदेवी, समाजसेवी एवं व्यवसायी सन्तोष राई र कर्मचारी बालकृष्ण कोइराला पनि सम्मानित भए । सोही अवसरमा विदेशमा रहेर नेपाललाई चिनाउन अहम् भूमिका निर्वाह गर्ने व्यक्तित्वलाई पनि सम्मान गरिएको थियो ।

उनीहरूलाई पूर्व प्रधानमन्त्री झलनाथ खनाल, प्रयास मञ्च नेपालका अध्यक्ष शिवध्वज कार्की, कार्यक्रम संयोजक जशु लामा, ज्ञानोदय बालवाटिका माविकी संस्थापक प्रिन्सिपल इन्दिरा याक्थुम्बालगायतले कदरपत्रसहित सम्मान गरे । सो अवसरमा बुद्धवीर लामाले कार्यक्रमको टिकट विक्रीबाट उठेको रकम मध्ये ५१ हजार एक सय ११ रुपैयाँ काठमाडौँको चोभारमा सञ्चालित असहाय बाल गृहलाई सहयोग स्वरूप हस्तान्तरण गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप