बिहीबार, १० असोज २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
धरहरा चढ्नेको अनु्भव

के भन्छन् धरहरा चढ्ने सर्वसाधारण ?

सुविधासम्पन्न धरहरा चढ्न जानेको लर्को
बिहीबार, ०३ असोज २०८१, १८ : ००
बिहीबार, ०३ असोज २०८१

काठमाडौँ । सर्वसाधारणका लागि बिहीबारदेखि धरहरा खुला गरिएको छ । खुला गरिएको पहिलो दिन अर्थात् बिहीबार नै धरहरा चढ्न जानेको लर्को लाग्यो ।

लामो समयमा निर्माण सकिएको धरहरा चढ्न मानिसहरू टिकट काउन्टर अगाडि ठेलमठेल गरी लाइनमा थिए । केही मानिस टिकट नै नकाटी भित्र छिरिरहेका थिए । टिकट काट्नेलाई पनि शुल्क त लिइएको छैन । तर व्यवस्थित तवरले भित्र जाने व्यवस्थाका लागि टिकट लिएरमात्र प्रवेश गर्ने व्यवस्था मिलाइएको थियो ।

सुरक्षाकर्मीलाई अटेर गर्दै तारबार नाघेर युवाहरू भित्र पसिरहेका थिए । नयाँ धरहरा चढ्नका लागि मानिसहरू निकै उत्साहित देखिन्थे ।

२०७२ सालको भूकम्पले धरहरा ढलेपछि नयाँ धरहरा निर्माण भएको हो । तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा उद्घाटन गरेका थिए । त्यतिबेला धरहरा निर्माण सकिए पनि अन्य संरचना निर्माण बाँकी रहेको भन्दै सर्वसाधारणलाई खुला गरिएको थिएन ।  धरहरा क्षेत्रका संरचना अझै पनि निर्माण कार्य पूर्ण रूपमा सकिएको छैन । यद्यपि संविधान दिवसकै अवसर पारेर बिहीबारदेखि सर्वसाधारणका लागि धरहरा खुला गरिएको हो ।

सर्वसाधारणका लागि धरहरा खुला गर्दा धरहरा अगाडिको सुन्धारा निर्माण अलपत्र परिरहेको देखिन्छ । छेउका संरचना पनि निर्माण हुन बाँकी छन् । धरहराको भूमिगत पार्किङमा निर्माण कार्य चलिरहेको छ । यस्तै बगैँचा, प्रशासनिक भवन र सङ्ग्रहालय पनि निर्माण सकिएको छैन ।

सहरी विकास मन्त्रालयका प्रवक्ता बिनु बज्राचार्यले धरहरा निर्माण नसकिए पनि अहिले परीक्षणका लागि मात्रै खुला गरिएको बताइन् । ‘परीक्षणकालमा सर्वसाधारणलाई निःशुल्क धरहरा चढ्ने व्यवस्था गरिएको हो,’ बज्राचार्यले भनिन्, ‘पूर्ण रूपमा निर्माण कार्य सकिएपछि शुल्क लिएर चढ्ने व्यवस्था गरिने छ ।’

निर्माण नसकिएकै भए पनि धरहरा चढ्न मानिस निकै उत्साहित देखिएका छन् ।

धरहराको टुप्पोमा पुगेपछि स्वयम्भुकी जमुना गुरुङ खुसी देखिइन् । उनी पहिलोपटक धरहराबाट काठमाडौँ नियाल्दै थिइन् । स्थायी घर काठमाडौँ भए पनि यसअघि धरहरा चढ्ने अवसरै नजुरेको जमुना सुनाउँछिन् ।

unnamed (2)

‘यहीँ घर भए पनि धरहरा चढ्न पाएकी थिइनँ । चढ्ने भन्दाभन्दै भूकम्पले ढल्यो । पछि नयाँ बन्छ भन्दा निकै खुसी लागेको थियो । बन्न निकै समय लाग्यो,’ जमुनाले भनिन्, ‘असोज ३ गते धरहरा खुल्छ भन्ने सुनेपछि पहिलो दिन नै धरहरा चढ्छु भनेर आएँ । आखिर चढेँ पनि ।’

यसअघिको धरहरा चढ्न नपाए पनि नयाँ धरहरामा चढ्न पाउँदा निकै खुसी महसुस भएको जमुना सुनाउँछिन् ।

धरहरा चढेर झरिसकेकी तिलक कुमारी परियार पहिलाको धरहराभन्दा नयाँ धरहरा सुविधासम्पन्न भएको सुनाउँछिन् ।

unnamed

‘पहिलाको धरहरा साँघुरो थियो । अहिलेको धरहरा फराकिलो छ, उज्यालो पनि छ,’ उनले भनिन्, ‘पहिला हिँडेरै जानु पर्थ्यो । अहिले त म लिफ्टबाट गएँ, आउँदा सिँढीबाट ओर्लिएँ ।’

पुरानो धरहरामा वृद्धवृद्धा र अशक्तलाई चढ्न सहज थिएन । तर नयाँ धरहरामा जो कोही पनि चढ्न सक्ने गरी सुविधासम्पन्न बनाइएको उनको अनुभव छ ।

यस्तै बानेश्वरका हरिप्रसाद दुलाल यसअघिको धरहरा पुरानो शैलीमा निर्माण भएकाले विदेशी पर्यटक आकर्षित हुने गरेको सम्झिन्छन् । तर नयाँ धरहरा आधुनिक शैलीमा बनाइएकाले पर्यटकका लागि खासै नौलो नभएको उनले बताए ।

Capture

‘पहिलो माटो, इँटा चाकु प्रयोग गरेर बनाइएको भनिन्थ्यो । त्यसैले कस्तो रहेछ भनेर हेर्ने इच्छा हुन्थ्यो,’ उनले भने, ‘अब यो कङ्क्रिटले बनाएको धरहरा खासै नौलो भएन । विदेशमा योभन्दा ठुला टावर छन् । यसमा विदेशी त चढ्दैनन् । नेपालीचाहिँ चढ्छन् ।’

अर्की अवलोकनकर्ता मनिषा सुनुवार नयाँ धरहरा चढ्न पाउँदा आफूलाई धेरै खुसी लागेको बताउँछिन् । पुरानो धरहरा चढ्ने तयारी गरेको दिन नै भूकम्पले ढलेको उनले सुनाइन् ।

image

‘२०७२ साल वैशाख १२ गते साथीहरूसँग धरहरा चढ्ने योजना बनाएको थिएँ । आउने तयारी गरिरहेका बेला भूकम्प आयो र धरहरा ढल्यो,’ उनले भनिन्, ‘पुरानो धरहरा चढन् नपाए पनि नयाँमा चढ्न पाएँ । खुसी लागेको छ ।’

तर पुरानो धरहराको जति नयाँ धरहराको महत्त्व नभएको उनले बताइन् । ‘यो धरहरा पहिलाको भन्दा धेरै सुविधासम्पन्न त छ । तर पहिलाको जति महत्त्व बोकेको छैन । पहिला माटो, इँटाबाट त्यति अग्लो संरचना बनाइएको थियो,’ मनिषाले भनिन्, ‘इँटा र माटोले बनाइएको भन्दा अचम्म लाग्थ्यो । तर अहिले कङ्क्रिटबाट बनाइएको छ । कङ्क्रिटबाट त सजिलै बनाउन सकिन्छ नि ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना घिमिरे
कल्पना घिमिरे
लेखकबाट थप