मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

राज्यले उचित सम्बोधन नगर्दा खेलाडी पलायन बढ्दो छ : मन्त्री महर्जन

बिहीबार, ०३ असोज २०८१, १७ : ००
बिहीबार, ०३ असोज २०८१

हेटौँडा । बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले राज्यले खेलकुद क्षेत्रलाई सम्बोधन गर्न नसकेको बताएका छन् । उनले खेल क्षेत्र र खेलाडीहरूले नै देशलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने भए पनि राज्यले खेलकुद क्षेत्रमा लगानी बढाउन नसकेको बताए ।

बागमती प्रदेश सरकारले आयोजना गरेको खेलाडी सम्मान समारोहलाई सम्बोधन गर्दै मन्त्री महर्जनले खेलाडीहरूको उच्च सम्मानमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताए । राज्यले खेल क्षेत्रलाई उचित सम्बोधन नगर्दा खेलाडी विदेश पलायन हुने अवस्था बढिरहेको उनको भनाई छ ।

‘ऐतिहासिक पदक विजेता खेलाडी सविता राजभण्डारी नै नेपाल बस्नुहुन्न । दीपक विष्ट जस्ता खेलाडी कुन दिन विदेश हिँड्ने हो टुङ्गो छैन । दक्षिण एसियाकै पहिलो रेकर्डका रूपमा ८ औँ, ९ औँ, १० औँ संस्करणको साफ गेममा स्वर्ण पदक विजेता खेलाडी हामी माझ छन् । तर, भविष्य निर्माणका लागि विदेश पलायन हुने भन्ने ठेगान छैन’ उनले भने ।

बागमती प्रदेश सरकारले कार्यविधि नै तयार गरेर खेलाडीहरूलाई सम्मान र पुरस्कार दिने व्यवस्था गर्ने योजना रहेको मन्त्री महर्जनले बताए । खेलाडीहरूले खेलेर नै जीविकोपार्जन गर्ने र भविष्य उज्ज्वल गर्ने प्रदेश सरकारको ध्येय रहेको उनले बताए ।

उनका अनुसार युवा तथा खेलकुद मन्त्रालयबाट कार्यविधि नै तयार पारेर खेलाडी प्रोत्साहन स्वरूप विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताको नतिजा र पदक अनुसार पुरस्कृत गर्ने योजना बनाएको छ । बागमतीको खेलाडीहरूको भविष्य उज्ज्वल पार्न र अन्य प्रदेशलाई पनि सिकाउने उद्देश्य अनुसार नीतिगत र कानुनी रूपमा नै पदक विजेता खेलाडीलाई निश्चित रकम तोकेर पुरस्कृत गर्ने योजना रहेको उनको भनाई छ ।

‘बागमती प्रदेशबाट प्रतिनिधित्व गर्ने खेलाडी पलेसाले देशका लागि पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक ल्याएकी छिन् । यो बागमती प्रदेशको लागि महत्त्वपूर्ण क्षण हो । एरिका गुरुङले २५ वर्ष पछि एसियन गेम अन्तर्गत कराँतेमा रजत पदक प्राप्त गरेकी थिइन् ।

देश चलाउने नेताहरूलाई पदक विजेता खेलाडी पलेसालाई सम्मान गर्न भ्याइनभ्याइ छ । राष्ट्रपतिदेखि प्रधानमन्त्री र ठुला प्रतिष्ठित नेताहरूले उहाँलाई सम्मान गरिरहेका छन् । यो नै खेलकुदको प्रतिष्ठा हो ।’ मन्त्री महर्जनले भने ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप