संविधान दिवसमा सडकमा राजेन्द्र (तस्बिरहरु)
काठमाडौँ । राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति क्रान्ति नेपालले आज संविधान दिवसको विरोधमा सडक प्रदर्शन गरेको छ । ‘असोज तीन कालो दिन’ भन्दै सो पार्टीका नेता कार्यकर्ताहरुले माइतीघरमा प्रदर्शन गरेका हुन् ।
सो प्रदर्शनमा सरकारले सडक विस्तारबारे गरेको निर्णयको पनि उनीहरुले विरोध गरेका छन् । प्रदर्शनपछि आयोजित सभामा अध्यक्ष महतोले संविधान पुनर्लेखनको माग गरेका छन् । यसअघि जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मात्र संविधान पुनर्लेखनका लागि आवाज उठाउँदै आएका थिए । अहिले अध्यक्ष महतोले पनि संविधान पुनर्लेखनको माग अघि सारेका छन् ।
महतोले एकल राष्ट्रिय राज्यको चरित्रलाई बदलेर नेपाललाई बहुल राष्ट्रिय राज्यको रूपमा घोषणा गर्नु आवश्यक भइसकेको बताउँदै त्यसका लागि संविधान संशोधन नभई पुनर्लेखन गर्नुपर्ने बताए ।
‘सबै मुद्दालाई बेवास्ता गर्दै संविधान जारी गरेर यो दुनियाँको उत्कृष्ट संविधान भनियो तर त्यही संविधान जारी गर्ने पक्षले आज संशोधनको कुरा अपरिहार्य भन्दैछन्’ अध्यक्ष महतोले भने, ‘तर अब संशोधन गरेर मात्र पुग्ने स्थिति छैन । त्यसकारण संविधान पुनर्लेखन हुनु आवश्यक छ ।’
२०७२ असोज ३ गते संविधान जारी हुँदा मधेसीको छातीमा गोली ठोकिएको भन्दै उनले अहिलेको संविधान रक्तरञ्जित संविधान रहेको दावी गरे ।
सीमांकन हेरफेर, नागरिकताको समस्या समाधान, समान जनसङ्ख्याको आधारमा निर्वाचन क्षेत्र निर्धारण, राष्ट्रियसभामा जनसङ्ख्याको आधारमा प्रतिनिधित्व, विभिन्न राष्ट्रिय भाषामा सरकारी कामकाज, अधिकार सम्पन्न प्रदेश लगायतका माग आफूहरूले राखेको तर त्यसलाई बेवास्ता गरी संविधान जारी गरेको महतोले बताए ।
स्वदेशवाद, बहुलराष्ट्रवाद र सामुदायिक समाजवादको मार्गनिर्देशक सिद्धान्त अहिलेको संविधानमा नसमेटिएसम्म आफूहरूले संविधानको विरोध जारी राख्ने र असोज ३ लाई कालो दिनकै रूपमा सम्झिरहने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘समयसापेक्ष पत्रकारको न्यूनतम तलब निर्धारण हुनुपर्छ’
-
कटुवाल बेलायतका सय प्रभावशाली व्यक्तिको सूचीमा
-
अक्षयको खुलासा - मलाई भुल भुलैयाबाट निकालिएको थियो
-
आफूलाई अस्पताल पुर्याउने अटो रिक्सा चालकलाई भेटे सैफले
-
वामदेवलाई तत्काल पार्टीमा नल्याउने ‘एमाले नीति’, विद्याबारे मौन
-
असोजका बाढीपीडितले अहिले पाए राहत सामग्री