बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

४६ राष्ट्रविरुद्ध जित हात पार्ने खेलाडी बने अफगानिस्तानका यी अलराउन्डर !

बिहीबार, ०३ असोज २०८१, १२ : ४९
बिहीबार, ०३ असोज २०८१

काठमाडौँ । पछिल्लो समय अन्तर्राष्ट्रिय क्रिकेटमा एकपछि अर्को सफलता हात पार्दै गएको अफगानिस्तानले आफ्नो पछिल्लो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा दक्षिण अफ्रिकालाई ६ विकेटले पराजित गर्यो । अन्तर्राष्ट्रिय क्रिकेटमा अफगानिस्तानले पहिलो पटक दक्षिण अफ्रिकालाई हराएको हो ।

दक्षिण अफ्रिकाविरुद्धको उक्त खेलमा अफगानिस्तानका मोहम्मद नाबीले पनि एउटा गजबको कीर्तिमान बनाए । दक्षिण अफ्रिकालाई हराउने अफगानिस्तानको टोलीमा नाबी पनि सहभागी थिए । उनी अन्तर्राष्ट्रिय क्रिकेटमा ४६ वटा फरक राष्ट्रलाई हराउने खेलाडी बन्न पुगेका छन् ।

मोहम्मद नाबीले अफगानिस्तानको टोलीका लागि खेल्दै हालसम्म ट्रिनिडाड एन्ड टोबागो, अमेरिका, भुटान, माल्दिभ्स, बार्बाडोस, युगान्डा, बर्मुडा, आयरल्यान्ड, स्कटल्यान्ड, नामिबिया, नेदरल्यान्ड्स र क्यानडालाई हराइसकेका छन् ।

यसैगरी, ३९ वर्षीय नाबी सम्मिलित टोलीले केन्या, हङ्कङ, संयुक्त अरब इमिरेट्स, जिम्बाबे, वेस्ट इन्डिज, नेपाल, श्रीलंका, बंगलादेश, इङ्ल्यान्ड, न्युजिल्यान्ड, अस्ट्रेलिया, डेनमार्क, बहराइन, मलेसिया, साउदी अरेबिया र कुवेतलाई पनि हराइसकेको छ ।

यसैगरी, अफगानिस्तानले कतार, थाइल्यान्ड, जापान, बहामास, बोत्सवाना, जर्सी, फिजी, तान्जिनिया, इटाली, अर्जेन्टिना, पपुवा न्यु गिनी, केम्यान आइल्यान्ड्स, ओमान, चीन, सिंगापुर, पाकिस्तान र दक्षिण अफ्रिकालाई हराउँदा पनि मोहम्मद नाबी टोलीमा थिए ।

अनुभवी अलराउन्डर मोहम्मद नाबीले अफगानिस्तानलाई थुप्रै ऐतिहासिक सफलता दिलाएका छन् । पछिल्लो समय अफगानिस्तानले अन्तर्राष्ट्रिय क्रिकेटमा महत्त्वपूर्ण सफलता हात पारिरहेको छ । हालै आईसीसी टी–२० विश्वकपमा पनि अफगानिस्तान सेमिफाइनलसम्म पुगेको थियो ।

अफगानिस्तानले सन् २०२३ को एकदिवसीय विश्वकपमा पनि इङ्गल्यान्डजस्तो बलियो टोलीलाई हराएर धेरैको मन जितेको थियो । टी–२० विश्वकपमा पनि अफगानिस्तानले न्युजिल्यान्ड र अस्ट्रेलियालाई पराजयको स्वाद चखाएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप