बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय
अर्थ

भन्सारमा बढ्यो चाप : बढेर आयो मूल्य, दसैँमा प्रभाव पर्ने

बजारमा कोभिडअघिको जस्तो अझै छैन रौनक
बिहीबार, ०३ असोज २०८१, १३ : ३०
बिहीबार, ०३ असोज २०८१

काठमाडौँ । नेपालीहरूको महान् चाड दसैँ नजिकिएसँगै बजारमा बिस्तारै चहलपहल बढ्न थालेको छ । थोक व्यवसायीहरूले सामान आयात बढाएका छन् भने स्वदेशी वस्तुको उत्पादन पनि जोड दिइएको छ । 

तर, यस वर्षको चाडबाड थोरै महँगो हुने  व्यवसायीहरू बताउँछन् । व्यवसायीहरूले यो वर्ष आयात गर्दा नै हरेक सामान ५–१० प्रतिशत सम्म महँगो भएर आएको बताएका छन् । नेपाल कपडा उद्योग संघका महासचिव उमेश लाखेले भने, ‘आयात गर्दा नै सामान्य साडीको १०० रुपैयाँ बढेको छ । यसले खुद्रा बजारमा कम्तीमा ५ प्रतिशत मूल्य बढी हुन सक्छ ।’ 

दसैँ नजिकिएसँगै उपत्यका बाहिरका व्यवसायीले काठमाडौँलगायत सहरबाट थोक सामान अर्डर बढाएका छन् । दसैँको करिब ८, १० दिन अघिसम्म थोक सामान अर्डर हुने व्यवसायीहरू बताउँछन् । त्यसपछि खुद्रा पसलमा उपभोक्ताको भीड बढ्छ । घटस्थापनापछिको हप्ता दिनमा सबैभन्दा बढी माग हुने व्यवसायीको भनाइ छ । 

भन्सार नाकाहरूमा चाप

दसैँका कारण बजारमा माग बढ्न थालेसँगै भन्सार नाकाहरूमा चाप बढेको छ । चाडबाडलाई लक्षित गरी सामान भित्र्याउने बढेसँगै भारत र चीन दुवैतर्फका भन्सार नाकाबाट हुने आयात उल्लेख्य बढेको हो । 

रसुवा भन्सार कार्यालयका अनुसार भदौ १५ यता दैनिक ५० भन्दा बढी ट्रक, कन्टेनर जाँचपास गरेर नेपाल भित्रिने गरेका छन् । यसअघि दैनिक १२ देखि १५ वटा ट्रक तथा कन्टेनर भित्रिने गरेका थिए । करिब ४०० गाडी भन्सार जाँचपासका लागि नाकामै छन् । गाडीको चाप एक्कासि बढेका कारण जाँचपासमा समय लागेको भन्सार निर्देशक रवीन्द्रप्रसाद प्याकुरेलले जानकारी दिए । उनले भने, ‘भदौ लागेपछि नेपाली व्यापारीहरूले चीनबाट सामान आयात बढाएका छन् । यसको चापले गर्दा जाँचपासमा ढिलाइ भएको हो ।’

चीनबाट विशेषरी विद्युतीय सामग्री, लत्ताकपडा, घरायसी सामग्री र फलफूल आयात हुने गरेको छ । पछिल्ला केही वर्षदेखि चिनियाँ विद्युतीय गाडीको आयात पनि उल्लेख भइरहेको छ । नेपाली बजारमा विद्युतीय गाडीमा चीनको एकाधिकारजस्तै छ भन्दा फरक पर्दैन । भदौयता विद्युतीय सवारी साधनको आयात थप बढेको छ । अहिले दैनिक ३०–४० विद्युतीय गाडी नेपाल भित्रिने गरेका छन् । 

साउनमा मात्रै चीनबाट नेपालले २४ अर्ब ५४ करोडको सामान भित्र्याएको छ । यो अवधिमा नेपालबाट १५ करोड ७६ लाखको सामान चिनियाँ बजारमा पुगेको छ । सोही अवधिमा भारतबाट ७७ अर्ब ६८ करोडको सामान आयात हुँदा ७ अर्ब ५७ करोड ८८ लाख रुपैयाँको सामान निर्यात भएको छ । 

भारतसँग जोडिएको भैरहवा, विराटनगर, वीरगन्ज, नेपालगन्ज लगायत ठुला नाकामा पनि सवारी साधनको चाप लागेको छ । साउन महिनामा भैरहवाबाट २० अर्ब ६८ करोड, वीरगन्जबाट ४१ अर्ब ५१ करोड र नेपालगन्जबाट ५ अर्ब ५९ करोड रुपैयाँको सामान आयात भएको थियो । 

चीनसँग जोडिएको तातोपानी नाकबाट ४ अर्ब ३ करोड र रसुवा नाकाबाट ४ अर्ब ६४ करोडको सामान आयात भएको छ । यसरी नेपालमा सबैभन्दा धेरै स्थल मार्गबाट वस्तु आयात हुने गरेको छ । सामुद्रिक मार्गबाट हुने ढुवानीमा भारतको विशाखापट्टन र कलकत्ता बन्दरगाहको प्रयोग गरिन्छ । 

यसका साथै हवाईमार्ग भएर पनि चीन र अन्य तेस्रो मुलुकबाट उत्तिकै सामान आउने गरेको छ । साउन महिनामा त्रिभुवन अन्तर्राष्ट्रिय भन्सार कार्यालयबाट मात्रै १० अर्ब ९३ करोड रुपैयाँको सामान भित्रिएको भन्सार विभागको तथ्याङ्क छ । यसको तुलनामा भदौ र असोजमा सबै भन्सार नाकाको तथ्याङ्क योभन्दा करिब ३० प्रतिशत हाराहारी बढ्ने भन्सार विभागको भनाइ छ । विभागका निर्देशक हरिहर पौडेलले भने, ‘भदौ १५ यता भन्सारमा चाप निकै बढेको छ । यसको एउटै कारण चाडबाडमा देखिने बजारको माग नै हो ।’

चाडबाडलाई लक्षित गरेर भदौमा धेरै सामान आएको छ । कति आउने क्रममा छ । दसैँ लक्षित सामानहरू असोजको १५ सम्मै आयात हुने व्यवसायीहरू बताउँछन् । हिमालय सीमापार व्यवसायी संघका अध्यक्ष रामहरि कार्की दसैँको समयमा सबैभन्दा बढी लत्ताकपडा र खाद्यान्नको व्यापार हुने बताउँछन् । 

‘वर्षभरमा हुने करिब ६० प्रतिशत व्यापार असोज र कात्तिकमा मात्रै हुन्छ,’ उनले भने, ‘दसैँमा लत्ताकपडा र खाद्यान्नको माग उच्च हुन्छ । तिहारमा सुनचाँदी, विद्युतीय तथा घरायसी सामग्री लगायतको माग बढ्छ ।’ 

कोभिडअघिको जस्तो अझै छैन रौनक 

नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको उद्योग समितिका सभापति राजेशकुमार अग्रवालले अहिले थोक व्यवसायीहरूबाट आएको मागका आधारमा बजार कोभिडअघिको समयमा अझै नफिर्किएको बताए । 

 ‘कोभिड अघिको समयमा दसैँका लागि एक महिनाअघि नै थोक अर्डर आउँथ्यो । अहिले त्यसको ५० प्रतिशत पनि पुगेको छैन,’ उनले भने, ‘अघिल्ला एक, दुई वर्षभन्दा त यो पटक बढ्छ भन्ने संकेत देखिएको छ । तर कोभिड अघिको जस्तो हुने सम्भावना भने छैन ।’ 

हिमालय सीमापार व्यवसायी संघका अध्यक्ष कार्कीले समेत दसैँका कारण विदेशबाट सामान आयात गर्ने सङ्ख्या बढे पनि केही वर्षअघिका दसैँको जस्तो माग नभएको बताए । ‘स्वाभाविक रूपमा दसैँ तिहारजस्ता चाडबाडमा बजारमा माग बढ्छ । तर कोभिड अघिको जस्तो माग अहिले पनि छैन’, उनको भनाइ छ ।  त्यो समयको भन्दा करिब १५–२० प्रतिशत माग कम रहेको उनले बताए । 

चाडबाडको समयमा पनि अपेक्षित माग नबढ्नुमा थुप्रै कारण रहेको व्यवसायीहरूको भनाइ छ । अग्रवालका अनुसार युवाको पलायन, काठमाडौँबाट देशका ठुला सहर जोड्ने बाटोको बिजोग जस्ता अवस्थाले पनि व्यवसायीलाई केही अप्ठ्यारो परेको छ । विगतमा एक दिनमै पुग्ने ठाउँमा समेत बाटोले गर्दा दुई–तीन दिन लाग्न थालेको छ । यसले गर्दा कतिपय व्यवसायीले आफैँ भारत पुगेर सामान आयात पनि गर्न थालेका छन् । बाटोको बिजोग अवस्थाले गर्दा महेन्द्र राजमार्ग आसपासका सहरका व्यवसायीलाई काठमाडौँभन्दा भारतका बजारबाट सामान ल्याउन सहज भएको थोक व्यापारीहरूको भनाइ छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मस्त केसी
मस्त केसी
लेखकबाट थप