मङ्गलबार, २० कात्तिक २०८१
ताजा लोकप्रिय

सबैभन्दा ठुलो अमेरिकी कर्मचारी सङ्गठनले ट्रम्प वा कमला कसैलाई समर्थन गर्न मानेन

बिहीबार, ०३ असोज २०८१, १० : २०
बिहीबार, ०३ असोज २०८१

वासिङ्टन डिसी । अमेरिकाको सबैभन्दा प्रभावशाली श्रमिक संगठनमध्ये एक हो, इन्टरनेशनल ब्रदरहुड अफ टिमस्टर्स । अमेरिकाको राष्ट्रपति चुनावमा कुनै पनि उम्मेदवारलाई समर्थन गर्न यो सङ्गठनले अस्वीकार गरेको छ । यो सङ्गठनले कुनै पनि राष्ट्रपतिको उम्मेदवारलाई समर्थन नगरेको यो सन १९९६ पछि पहिलो पटक हो ।

अमेरिका र क्यानडा भरमा यो मजदुर सङ्गठनमा करिब १३ लाख सदस्यहरू आबद्ध छन् । रिपब्लिकन उम्मेदवार डोनल्ड ट्रम्प र डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिस दुवैले टिमस्टर्सका केही मुद्दाहरूमा आफ्नो प्रतिबद्धता व्यक्त गरेको चाहिँ सङ्गठनले बताएको छ । युनियनले आफ्नो पद तथा फाइल सदस्यहरूमाझ गरेको सर्वेक्षणमा दुवै उम्मेदवारले निश्चित समर्थन नपाएको बताइएको छ ।

यसअघि सङ्गठनले आफ्ना सदस्यहरूबिच गरेको सर्वेक्षणमा ट्रम्पलाई एकतर्फी समर्थनको सङ्केत देखिएको थियो । चुनाव आउन ५० दिन पनि बाँकी नरहेको स्थितिमा श्रम सङ्गठनको यो निर्णयले कमला ह्यारिसलाई घाटा हुने आशङ्का गरिएको छ । उनी अमेरिकाका श्रमजीवी मतदाताको मत तान्ने प्रयासमा छिन् । टिमस्टर्स युनियनका हजारौं सदस्यहरू पेन्सिलभेनिया, मिशिगन र विस्कन्सिनमा बस्छन् । सङ्गठनले जुन उम्मेदवारलाई आफ्नो समर्थन दिन्छ उसले यी क्षेत्रमा ठुलो चुनावी फाइदा लिन सक्छ ।

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप