१० बजे, १० समाचार
आज २०८१ असोज २ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- पहिलो राष्ट्रिय भेला
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको राजनीतिक प्रतिवेदन पारित भएको छ । नेपाल प्रज्ञा प्रतिष्ठानमा भएको पार्टीको पहिलो राष्ट्रिय भेलामा लामिछानेले पेस गरेको प्रतिवेदन पारित भएको हो ।
- नेपालले कुन–कुन विषय उठाउने ?
प्रधानमन्त्री ओली असोज ५ गते युएनको महासभामा भाग लिन जाँदैछन् । त्यहाँ उनले असोज १० गते सम्बोधन गर्ने र त्यसपछि अन्य विभिन्न कार्यक्रममा सहभागी भएर असोज १२ गते नेपाल फर्किने कार्यक्रम छ ।
- विश्वासको मत
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यही कार्यकाल दोस्रो पटक विश्वासको मत पाएका छन् । बुधबार बसेको प्रदेश सभा बैठकमा उनले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा ६६ मत र विपक्षमा १५ मत परेको छ ।
- स्थानीय तह उपनिर्वाचन
स्थानीय तह उपनिर्वाचनका लागि निर्वाचन आयोगले कार्यातालिका सार्वजनिक गरेको छ । आउँदो मङ्सिर १६ गते आइतबारका दिन हुने स्थानीय तह उपनिर्वाचनलाई व्यवस्थित रूपले सञ्चालन गर्न आयोग र अन्तर्गतका कार्यालयहरूले सम्पादन गर्ने कार्यहरूलाई समयबद्ध रूपमा समावेश गरी आयोगबाट कार्यतालिका स्वीकृत भएको आयोगका प्रवक्ता नारायण प्रसाद सापकोटाले जनाएका छन् ।
- भिड्दै एमाले र माओवादी
माओवादी जनयुद्धलाई सत्तारुढ एमालेका सांसद योगेश भट्टराईले ‘हिंसा’ शब्द प्रयोग गरेपछि माओवादीका सांसदहरू क्रुद्ध बने । सोही विषयलाई लिएर एमाले र माओवादीबिच संसदमा झण्डै भिडन्तको स्थिति सिर्जना भयो । वामपन्थी जनमत अत्यधिक भए पनि वर्गीय सङ्घर्ष अन्त्य गरी समाजवादमा पुग्न उनीहरू किन एक ठाउँमा उभिन सक्दैनन् ?
- बढेन कर्जाको माग
ब्याजदर घटेपछि ऋणको माग बढ्छ भनेर आम रूपमा स्वीकार गरिएको बुझाइ पछिल्लो समय गलत साबित भएको जस्तो देखिएको छ । अहिले वित्तीय क्षेत्रमा ब्याजदर घटिरहेको छ । अघिल्लो वर्ष साउन मसान्तमा १२.२४ प्रतिशत रहेको कर्जाको औसत ब्याजदर यो साउन मसान्तसम्म ९.६८ प्रतिशतमा झरेको छ । अघिल्लो वर्ष साउन मसान्तमा ४९ खर्ब १२ अर्ब रुपैयाँ बराबरको कुल ऋण प्रवाह भएकोमा भदौ मसान्तसम्म ५२ खर्ब १३ अर्ब कर्जा प्रवाह पुगेको छ ।
- संविधान दिवसमा भएन कैद माफी
यस वर्ष संविधान दिवसको अवसरमा कुनै पनि कैदीहरूको कैद माफी नहुने भएको छ । विगतमा संविधान दिवस, गणतन्त्र दिवस, प्रजातन्त्र दिवस जस्ता विशेष अवसरमा कैदीहरूको माफी मिनाहा गर्ने प्रचलन भएपनि यो पटक राष्ट्रपति रामचन्द्र पौडेलको विशेष चासोका कारण कैद माफीसम्बन्धी कुनै निर्णय नभएको हो ।
- साझा कार्यक्रम
नेपाली कांग्रेकसा महामन्त्री गगन थापाले अर्थतन्त्र चलायमान बनाउने र युवा साझेदारीको कार्यक्रम अघि बढाउने विषयलाई जोड दिएर सरकारको न्यूनतम साझा कार्यक्रम तयार पारिएको बताएका छन् ।
- सरुवा
गृह मन्त्रालय अन्तर्गत ३६ जना कर्मचारीको सरुवा गरिएको छ । १२ जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ)हरु फेरिएका छन् ।
- सहकारीसम्बन्धी प्रतिवेदन
सरकारले सहकारीसम्बन्धी संसदीय विशेष छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि सम्बन्धित मन्त्रालयहरूमा पठाएको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्ले पठाएको प्रतिवेदन अगाडि बढाउने बताएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय ब्याट्सम्यानको निराशाजनक प्रदर्शन, पहिलो दिन ११ विकेट खस्यो
-
वरिष्ठ अमेरिकी सेना थिए ट्रम्पको होटल अगाडि पड्किएको ट्रकको चालक
-
पशुपति क्षेत्र विकास कोषका दुई जना परिषद् सदस्यविरुद्ध दायर रिट खारेज
-
कर्तव्यज्यान मुद्दाका आरोपी प्रहरी कार्यालयमा हाजिर
-
एमसीसीद्वारा नेपाल कम्प्याक्टका लागि थप पाँच करोड अमेरिकी डलर सहयोग स्वीकृत
-
कीर्तिमानी पर्वतारोही मिङ्मालाई भव्य स्वागत, तस्बिरहरू