संयुक्त राष्ट्र संघमा नेपालले कुन–कुन विषय उठाउने ?
काठमाडौँ । ‘आन्तरिक मामिलाहरूमा हस्तक्षेप नगर्ने, कसैको सार्वभौमसत्तामा दखल नदिने र आफ्नो स्वतन्त्र हैसियतको नीतिमा कुनै हस्तक्षेप पनि अस्वीकार गर्ने नेपालको नीति छ । त्यो कुरा पनि म संयुक्त राष्ट्र संघमा राख्दैछु ।’
‘कसैलाई पनि पछाडि नछाड्ने : वर्तमान र भावी पुस्तालाई शान्ति, दिगो विकास र मानव प्रतिष्ठाको उन्नतिको लागि एकजुट भएर काम गर्ने’ मूल नाराका साथ सुरु भएको संयुक्त राष्ट्र संघ (युएन)को ७९ औँ महासभामा भाग लिन अमेरिका जानुअघि प्रधानमन्त्री केपी शर्मा ओलीले भदौ ३१ संसदमा दिएको अभिव्यक्ति हो यो ।
प्रधानमन्त्री ओली असोज ५ गते युएनको महासभामा भाग लिन जाँदैछन् । त्यहाँ उनले असोज १० गते सम्बोधन गर्ने र त्यसपछि अन्य विभिन्न कार्यक्रममा सहभागी भएर असोज १२ गते नेपाल फर्किने कार्यक्रम छ ।
नेपाल असल छिमेकीको रूपमा बस्न चाहन्छ र त्यस्तै व्यवहार छिमेकीहरूबाट पनि चाहेको बताउँदै प्रधानमन्त्री ओलीले आफ्ना जायज र न्यायोचित राष्ट्रिय हितहरू अन्तर्राष्ट्रिय उत्तरदायित्वभित्र रहेर पूरा गर्ने कुरामा नेपाल प्रतिबद्ध रहेको विषय युएनमा राख्ने जानकारी गराएका थिए ।
लोकतन्त्रप्रतिको प्रतिबद्धताका साथै जलवायु परिवर्तन तथा लागु पदार्थलगायतका विषयमा पनि कुरा उठाउने उनको भनाइ थियो ।
युएनमा अर्को उठाउनुपर्ने कुरा शान्ति सुव्यवस्था हो । रुस–युक्रेन, इजराइल–हमासबिचको द्वन्द्व अझै साम्य भएको छैन । यही बेला युएनको बैठक बस्न गइरहेको छ । त्यसलाई समाधान गर्न सबैको तर्फबाट पहल हुनुपर्ने कूटनीतिक मामिलाका जानकार बताउँछन् ।
परराष्ट्र विज्ञ जयराज आचार्य भन्छन्, ‘अहिले युएनको कार्य नै प्रभावकारी देखिएको छैन । युक्रेन–रुसको युद्ध रोकिएको छैन । हमास–इजरायलको अवस्था पनि त्यस्तै छ तर युएनले त्यसमा ठोस पहल लिन सकेको छैन ।’
शान्ति प्रक्रिया तथा सुव्यवस्थाका लागि युएनका सदस्य राष्ट्रहरूले महासभामा कुरा उठाउनुपर्ने उनले बताए ।
जलवायु परिवर्तन पनि एउटा ठुलो समस्या बनेको छ । नेपालको तर्फबाट कुरा उठाउने भनिए पनि त्यहाँ कति सुनुवाइ हुन्छ भन्ने कुरा महत्त्वपूर्ण हुने आचार्यको भनाइ छ । ठुला देशले यसमा चासो लिनुपर्ने बताउँदै उनले अमेरिका र चीनले यसमा कस्तो भूमिका खेल्छन्, त्यो पनि चासोको विषय हुने प्रस्ट पारे ।
आचार्यले भने, ‘अमेरिका आफैँ अन्योलनमा छ । डोनाल्ड ट्रम्पले चुनाव जितेमा उनी पेरिस सम्झौता नमान्ने पक्षका व्यक्ति हुन् ।’
जलवायु परिवर्तनका लागि चीनले पनि चासो लिनुपर्ने बताउँदै उनले शान्ति सेना पठाउनेमा पहिलो नम्बरमा रहेको नेपालले त्यसलाई निरन्तरता दिन पहल गर्नुपर्ने सुझाव दिए ।
पूर्वपरराष्ट्रमन्त्री भेषबहादुर थापाले राष्ट्रिय तथा अन्तर्राष्ट्रियका पुराना समस्या नै समाधान नभएको अवस्थामा झन् नयाँ समस्या थपिँदै गएको बताए । ‘अन्तर्राष्ट्रिय रूपमा थुप्रै चुनौती थपिएका छन् तर त्यसलाई समाधान गर्न कहीँ कतैबाट पहल भएको छैन,’ उनले भने, ‘युएनमा उठाउनु पर्ने पुराना समस्या यथावत छन् । नयाँनयाँ द्वन्द्व सुरु भएको छ । युएनमा विश्वका साझा समास्या उठाउनुपर्छ ।’
प्रधानमन्त्री ओलीले युएनमा के के कुरा राख्ने भने कुरा संसदमा राखिसके पनि त्यहाँ आफ्नो र अरुको पनि साझा कुरा राख्न उचित हुने थापाको सुझाव छ । उनले भने, ‘नेपालकै छिमकी देशहरूमा थुप्रै समस्या देखिएका छन् । विभिन्न क्षेत्रीय समस्या बाहिर आएका छन् । त्यसलाई समाधान हुने गरी साझा रूपमा कुरा उठाउनुपर्छ ।’
जलवायु परिवर्तन पनि सबैको साझा समस्या भएकाले नेपालको तर्फबाट विशेष रूपमा कुरा राख्नुपर्ने थापाले बताए ।
पूर्वराजदुत विजयकान्त कर्णले पनि अहिलेको अन्तर्राष्ट्रिय द्वन्द्व समाधानका लागि युएन प्रभावकारी नदेखिएको बताए । युक्रेन, रुस, इजरायल जस्ता देशमा युद्ध जारी रहँदा युएनले केही गर्न नसकेको उनको भनाइ छ । यस विषयमा नेपाललगायत अन्य देशले पनि कुरा उठाउनुपर्ने उनले बताए ।
‘युएन त्यसका स्थायी सदस्य राष्ट्रहरू चीन, अमेरिका, रुस, फ्रान्स, संयुक्त अधिराज्यको कब्जामा छ । ती देश आ–आफ्नो स्वार्थ अनुसार भिटो लगाइरहेका हुन्छन्,’ उनले भने, ‘युक्रेनको कुरा आयो भने रुसले भिटो लगाउने, इजराइलको कुरा आयो भने अमेरिका, फ्रान्सजस्ता देशले भिटो प्रयोग गर्छन् । अहिलेको अवस्थामा युएनले ग्लोबली केही गर्ने अवस्था छैन ।’
नेपालले गरिबी निवारण, विकास निर्माण, जलवायु परिवर्तनजस्ता विषयलाई प्राथमिकतामा राखेर त्यहाँ कुरा राख्नुपर्ने कर्णले बताए । संसदमा प्रधानमन्त्री ओलीले युएनको महासभामा आफूले राख्ने विषय जे–जति सुनाए, त्यो त्यत्रो अन्तर्राष्ट्रिय मञ्चका लागि उपयुक्त नरहेको उनको भनाइ छ ।
‘नेपाल असल छिमेकीको रूपमा बस्न चाहन्छ र त्यस्तै व्यवहार छिमेकीहरूबाट पनि चाहन्छ’ भन्नेजस्ता कुरा एएनको महासभाका लागि उपयुक्त विषय नभएको कर्णको भनाइ छ । ‘यस्ता कुरा आन्तरिक रूपमा राख्दा र समाधानका लागि पहल गर्दा राम्रो हो,’ उनले भने, ‘तर यी सानातिना कुरा त्यहाँ राख्दा कसैले मतलब राख्दैनन् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपाबारे ओली : ‘पपुलिज्म’को जगमा उभिएका समूहहरूको ‘नयाँपन’ को व्यर्थता उदाङ्गो
-
सेतो जर्सीको प्रतियोगितामा आर्मीका ब्याट्सम्यानको कमजोर प्रदर्शन, पुलिसका ललितले लिए ७ विकेट
-
प्रधानमन्त्री भएको भोलिपल्टबाटै प्रचण्डमा पुरानै चरित्र प्रदर्शन हुन थाल्यो : ओली
-
माओवादीले पूर्व राजावादीहरूसँग बाक्लै बसाउठी गरिरहेको ओलीको आरोप
-
हृदयाघातबाट पालिका कर्मचारीको निधन
-
विद्युत् प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउँछौँ : कुलमान घिसिङ