माओवादीको महाधिवेशन भएको दुई वर्ष ९ महिनामा पनि मधेस प्रदेशले पाएन नेतृत्व
काठमाडौँ । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशन सम्पन्न भएको २ वर्ष ९ महिना पुग्न लाग्दासमेत मधेस प्रदेश नेतृत्वविहीन छ । लामो समय नेतृत्वविहीन हुँदा संगठनिक संरचना अस्तव्यस्त भएको छ ।
२०७८ साल पुस (११–१८)मा कमलादीमा सम्पन्न महाधिवेशनका क्रममा मधेस प्रदेशबाहेक सबै प्रदेशमा सम्मेलन भएको थियो । तर मधेसमा उपमहासचिवद्वय गिरिराजमणि पोखरेल र मात्रिका यादवबिच देखिएको शक्ति सङ्घर्षका कारण सम्मेलन हुन सकेको थिएन ।
अन्तरविरोध, गुट–उपगुटले शिथिल भएको मधेसमा पार्टीले थालेको तीन महिने रूपान्तरण अभियानपछि तङ्ग्रिने तरखर छ । अहिलेसम्म उपमहासचिव यादवसहित सचिवद्वय गणेश साह र लीलामणि पोखरेल मधेसको इन्चार्ज भइसकेका छन् । तर उनीहरूले स्थायी रूपमा आन्तरिक विवाद हल गर्न सकेका छैनन् ।
यही जेठको पहिलो साता सर्लाहीमा इन्चार्ज पोखरेलसहित बसेको बैठकले भदौमा सम्मेलन गर्ने गरी छलफल अगाडि बढाएको थियो । २५ र २६ गते अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित बसेको परामर्श समिति बैठकमा पनि यस विषयमा कुुरा उठेको थियो । तर सम्मेलनको विषयमा कुनै निर्णय नभएको इन्चार्ज पोखरेलले जिकिर गरे ।
‘प्रदेश सम्मेलनको विषयमा कुनै निर्णय भएको छैन । अहिले हामी संगठन विस्तार र सुदृढीकरणकै अभियानमा छौँ । यस विषयमा पछि निर्णय होला,’ उनले भने ।
सहइन्चार्ज विश्वनाथ यादवले तत्काल प्रदेश सम्मेलन नहुने स्पष्ट पारे । तर महाधिवेशनअघि सम्मेलन हुने उनले बताए ।
‘प्रदेश सम्मेलनबारे पार्टीभित्र छलफल भए पनि कुनै निर्णय भएको छैन । सम्मेलनका लागि वडा, पालिकादेखि निर्वाचन भएर प्रतिनिधि प्रदेशमा आउनुपर्छ । केही क्षेत्रमा विवाद पनि हल भएको छैन । सबै तयारी पूरा भएपछि सम्मेलन हुन्छ’, यादवले भने ।
माओवादी स्थायी समिति सदस्य प्रह्लाद बुढाथोकीले मधेसमा छुट्टै सम्मेलन गर्नेभन्दा पनि सबै प्रदेशमा एकैपटक हुने बताए । लामो समय मधेसमा समितिविहीन हुँदा सम्मेलन गर्न समस्या भएको उनको भनाइ छ ।
‘आठौँ महाधिवेशनको बेला सबै प्रदेशमा सम्मेलन गर्ने निर्णय भएको थियो । सोही निर्णय अनुसार अन्य प्रदेशमा भयो । मधेसमा समितिविहीन भएका कारणले तयारी पुगेन,’ बुढाथोकीले भने ।
राष्ट्रिय सम्मेलनले प्रतिनिधि छनोट टुङ्ग्याउने र सोही अनुसार प्रदेश सम्मेलनको विधि तय गरेर स्थगित गरिएको थियो । राष्ट्रिय सम्मेलनले प्रदेश समिति टुङ्ग्याउनुपर्ने भए पनि नटुङ्गिएको उनले बताए ।
बुढाथोकीले भने, ‘अब लामो समय भइसकेपछि अर्को छुट्टै सम्मेलन गर्ने स्थिति रहेन । दसैँपछि बस्ने केन्द्रीय समितिले यसबारे निर्णय गर्छ ।’
मधेसमा मात्रै सम्मेलन गर्न पार्टीको पदाधिकारी वा स्थायी समिति बैठकले निर्णय गर्न सक्ने भए पनि महाधिवेशनअघि सबै प्रदेशमा गर्दा उपयुक्त हुने उनको भनाइ छ ।
गत फागुनको दोस्रो साता बसेको माओवादीको स्थायी समिति बैठकले इन्चार्जमा पोखरेललाई नै निरन्तरता दिएको थियो । उनले जिम्मेवारी लिएपछि विवाद समाधानका लागि पहल गरेका थिए । संगठन विस्तार तथा सुदृढीकरणमा ध्यान दिएका थिए । जनतासँग माओवादीको तीन महिने अभियानपछि संगठन चलायनमान भएको नेताहरूले बताएका थिए ।
मधेस प्रदेशका आठ जिल्लामध्ये महोत्तरी, धनुषा तथा सिरहामा बढी विवाद देखिएको थियो ।
सहइन्चार्ज यादवले वडा तहदेखि समिति निर्माण हुँदै माथिसम्म कार्यविभाजन हुँदै आएकाले आन्तरिक विवाद पनि आफैँ समाधान हुने बताए । उनले पार्टीभित्रका विवाद व्यवस्थापन गरेर साङ्गठनिक कामलाई अगाडि बढाएमा अहिले पनि मधेसमा माओवादीको धेरै सम्भावना रहेको बताए ।
आन्तरिक विवाद हल नभइ ०७९ को निर्वाचनमा जाँदा माओवादीले मधेसमा ठुलो क्षति बेहोरेको थियो ।