मङ्गलबार, ११ मङ्सिर २०८१
ताजा लोकप्रिय

बागमती विश्वविद्यालयको उपाध्यक्षमा सुवेदी नियुक्त

बुधबार, ०२ असोज २०८१, १८ : ०३
बुधबार, ०२ असोज २०८१

हेटौँडा । बागमती विश्वविद्यालयको उपाध्यक्षमा कुसुमराज सुवेदी नियुक्त भएका छन् । मङ्गलवार बसेको बागमती विश्वविद्यालयको कार्यकारी परिषद्ले सुवेदीलाई उपाध्यक्ष पदमा नियुक्त गरेको हो । चितवन खैरहनी–५ निवासी सुवेदी करिब २० वर्षदेखि शिक्षण पेसामा आबद्ध छन् ।

खैरहनी–३ स्थित सहिद स्मृति बहुमुखी क्याम्पसमा अध्यापन गराउँदै आएका सुवेदीले त्रिभुवन विश्वविद्यालयबाट शिक्षा शास्त्र संकायको शिक्षाशास्त्र तथा पाठ्यक्रम मूल्याङ्कन अन्तर्गत पेडागोजी विषयमा विद्यावारिधि गरेका छन् ।

बागमती विश्वविद्यालयको विधान २०८० को परिच्छेद ६ को दफा १२ मा व्यवस्था गरिएको कार्यकारी परिषद्ले सुवेदीलाई उपाध्यक्षमा नियुक्त गरेको हो । सोही विधानको परिच्छेद ८ को दफा १५ मा उपाध्यक्षको व्यवस्था गरिएको छ ।

उक्त दफाको उपदफा (१) मा उपाध्यक्ष विश्वविद्यालयको प्रशासकीय प्रमुख हुने व्यवस्था गरिएको छ भने उपदफा २ मा उपाध्यक्षको नियुक्ति संरक्षक समितिले गठन गरेको छनौट समितिले सिफारिस गरेका तीन जना उम्मेदवारमध्येबाट कार्यकारी परिषद्ले गर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार संरक्षक समितिले सुवेदीलाई जिम्मेवारी दिएको हो ।  विधानअनुसार उपाध्यक्षको पदावधि ४ वर्षको रहने व्यवस्था गरिएको छ ।

उनीसहित ५ जनालाई उपाध्यक्ष नियुक्तिका लागि सिफारिस समितिले सर्ट लिष्ट गरेको थियो । सो लिस्टमा खेमराज जोशी, देवचन्द्र मानन्धर, धर्मदत्त तिवारी र शिवराज सन्जेल समावेश रहेका थिए । सिफारिस समितिले उपाध्यक्ष नियुक्ति मापदण्ड अनुसार माग गरेका कागजात र कार्य योजनाअनुसार सुवेदीले आवेदन पेस गरेका थिए । उनले व्यवहारिक शिक्षा प्रणालीका बारेमा आफ्नो कार्य योजनामा समावेश गरेका थिए ।

विश्वविद्यालयको पाठ्यक्रम निर्माण, संरचना विकास तथा अध्ययन, अध्यापनका विषयमा उनले आफ्नो कार्य योजना बनाएका थिए । उनले अध्ययन समिति निर्माण गरी बजार माग अनुसारको जनशक्ति निर्माण गर्नेगरी विश्वविद्यालयको पाठ्यक्रम र कार्यक्रम तयार पार्ने आफ्नो कार्य योजनामा समावेश गरेका थिए ।

उपाध्यक्षको काम, कर्तव्य र अधिकार

विश्वविद्यालयको उपाध्यक्षले अध्यक्षको सामान्य रेखदेख र निर्देशनमा शैक्षिक, आर्थिक र सामान्य प्रशासन सम्बन्धी कार्य गर्ने व्यवस्था विधानमा गरिएको छ । उपाध्यक्षले विश्वविद्यालयको वार्षिक योजना तथा बजेट तयार गरी कार्यकारी परिषदमा पेस गर्ने, विश्वविद्यालयको सञ्चालन खाताको जिम्मेवारी लिई सञ्चालन गर्ने, विश्वविद्यालयको लेखा राख्ने, लेखा परीक्षण गराउने जिम्मेवारी रहने छ ।

विश्वविद्यालयमा अध्ययन अध्यापनका लागि आउने विदेशी विद्यार्थी तथा शिक्षकहरूको प्रवेशाज्ञा अनुमति तथा अध्यागमन सम्बन्धी कार्य मन्त्रालयमार्फत नेपाल सरकार समक्ष पेस गर्ने, विश्वविद्यालयमा विद्यार्थी रजिस्ट्रेसन गर्ने, विद्यार्थीहरूको तथ्याङ्क राख्ने, माइग्रेसन प्रमाणपत्र जारी गर्ने, गराउने जिम्मेवारी उपाध्यक्षमा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप