बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

टिकट बुकिङ खुलाउने विषयमा छलफल, पहिले सडक मर्मत गर्न व्यवसायीको माग

बुधबार, ०२ असोज २०८१, १७ : ०६
बुधबार, ०२ असोज २०८१

काठमाडौँ । दसैँ लक्षित सार्वजनिक यातायातको टिकट बुकिङ खुलाउने विषयमा सरकारी निकायका पदाधिकारी र व्यवसायीबिच छलफल भएको छ ।  भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा बुधवार भएको छलफलमा व्यवसायीहरूले पहिले सडक मर्मतको काम सक्न सरकारलाई आग्रह गरेका छन् । 

छलफलमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले प्रत्येक यात्रुलाई सुरक्षित रूपमा घर पुर्‍याउने व्यवस्था मिलाउन मातहतका निकायलाई निर्देशन दिए ।  उनले भने, ‘टिकट काउन्टर, बसपार्क, राजमार्ग तथा बस बिसौनीमा सुरक्षा प्रबन्ध बलियो बनाउनुस् । भय, त्रास र ठगीरहित यात्राको प्रबन्ध मिलाउन सम्बद्ध सबै क्षेत्र लाग्नपर्‍यो ।’ 

मन्त्री दाहालले चाडपर्वलाई दुर्घटनारहित बनाउन सडक मर्मतलाई अहिले मुख्य प्राथमिकतामा राखिएको पनि बताएका छन् ।  मन्त्रालयका सचिव केशवकुमार शर्माले हाल निर्माणाधीन सडकहरूमा समेत खाल्डा पुर्ने, सम्म्याउने, सुरक्षा प्रबन्ध गर्ने लगायतका काम भइरहेको ब्रिफिङ गरे । विशेष परिस्थिति बाहेक २ घण्टाभन्दा बढी सडक जाम हुन नदिइएको भन्दै शर्माले चाडपर्व नजिकिएसँगै यस कार्यलाई थप प्राथमिकतामा राखिएको बताए । 

यातायात व्यवस्था विभागका महानिर्देशक उद्धव रिजालले सडक सुरक्षा र व्यवस्थापनमा विशेष ध्यान दिइएको जानकारी गराए ।  कार्यक्रममा नेपाल यातायात राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष विजय स्वाँर लगायत व्यवसायीहरूले सरकारसँग विगतमा भएको सहमति कार्यान्वयन गर्न र सडक मर्मतलाई जोड दिन आग्रह गरे । छलफलमा व्यवसायीहरूले भने, ‘पहिले सडक चुस्त, दुरुस्त बनाउनुपर्‍यो । अनि बुकिङ खुलाउने विषयमा थप छलफल गरौँला ।’ 

छलफलमा सरोकारवालहरू १० गतेसम्म सडक मर्मत गर्ने र दोस्रो चरणको छलफल गरेर टिकट बुकिङ खुलाउने मिति तय गर्ने निष्कर्षमा पुगेका छन् ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप